'काउली' को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्। आफ्नै शब्द, संगीत र स्वरमा उनले 'ए केटा मादलु पड्का' बोलको गीत ल्याएका हुन्। गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन्।
गीतले गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंश बताउँछन्। 'यो सन्देशमुलक गीत होइन,' उनले भने, 'यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो। यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ। गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ।' यद्यपी यो गीतमा चुनावमा हुने पैसा बाड्ने विकृतीलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन्। गीतको भिडिओमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन्।
नवराज उप्रेतीले छायांकन गरेको गीतलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। गीतको भिडिओलाई गम्भिर विष्टले निर्देशन गरेका छन्।
यो गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।