यतिबेला लोकरक ब्याण्ड नेपथ्य कन्सर्टका लागि जापान पुगेको छ।
नेपथ्यले जापानको टोकियो, फुकुओका र ओसामा कन्सर्ट गर्ने लागेको हो। नेपथ्यले मंगलबार टोकियोस्थित तोयोसु पिटमा आफ्नो पहिलो प्रस्तुति दिएको छ।
यसैगरी फुकुओकास्थित सिभिल हलमा १२ अगस्ट र ओसाकास्थित नाम्बा ह्याचमा १७ अगस्टमा प्रस्तुति दिनेछ।
नेपथ्यले टोकियोमा 'कोशीको पानी' बोलको गीतबाट आफ्नो प्रस्तुति सुरू गरेको थियो। त्यसपछि 'भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, यो जिन्दगानी, मै नाचे छमछमी, रेशम, तालको पानी' हुँदै अन्तिममा 'रातो र चन्द्रसूर्जे' बोलको गीतमा प्रस्तुति दिएको थियो।
गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
आयोजक सुभाष लामिछानेका अनुसार कन्सर्ट हेर्नका लागि जापानी सहर होकाइडो मात्र नभई दक्षिण कोरियादेखि आएका दर्शकहरू आएका थिए।
सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लो पटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित टोकियो डोममा प्रस्तुत गरेको थियो।
सन् २०२३ मा नेपथ्यका सबै प्रस्तुतिहरूलाई 'मानवताका लागि संगीत' को नारासहित मानवता प्रबर्द्धन अभियानको शृंखलाको रूपमा प्रस्तुत गरिएको छ।