नेपथ्यले क्यानडाको पहिलो कन्सर्ट सम्पन्न गरेको छ।
आइतबार क्यानडास्थित क्यालगरी सहरको 'द प्यालेस थिएटर' मा कन्सर्ट सम्पन्न गरेको हो।
प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेट स्वरूप 'सा कर्णाली' म्युजिक भिडिओ गुञ्जिएको थियो। दर्शकहरूबाट चर्को स्वागतबीच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुती 'कोशीको पानी यो जिन्दगानी' सुनाइएको थियो। त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरू 'भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, आँगनैभरि र खान्न म त लामपाते सुरती' ले निरन्तरता दिएको थियो।
कन्सर्ट हेर्न आएका दर्शकहरूको भिडमा गायिका मीना निरौला पनि थिइन्। नेपाली फिल्म जगतलाई 'ठमेल बजार' र 'काले दाइ' जस्ता गीतहरू दिएकी मीना पछिल्लो समय क्यानडामै बसोबास गर्दै आएकी छन्।
'मलाइ त तीज दशैंजस्ता चाडपर्वका बेला माइती नै आएको जस्तो लागिरहेको छ,' गायिका मीनाले भनिरहेकी थिइन्, 'मञ्चमा बसेर गाउने बानी त छँदै थियो, आज दर्शकसँग बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो।'
गायक अमृतले त्यसपछि पनि 'चरि मर्यो, जोमसोमे बजार, शिरफूल र लाहुरेहरूले ल्याएको, नैनाताल' जस्ता गीतहरू सुनाउँदै गए।
गायक अमृतले यो भ्रमण मानवसेवा आश्रमप्रति समर्पित रहेको बताए। कन्सर्टको अन्त्यतिर 'रेशम, तालको पानी र रातो र चन्द्रसूर्जे' सुनाइएको थियो।
'नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महसुस गरिरहेका छौं,' स्थानीय आयोजक टोलीका जगदीश कँडेलले भने।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब नेपथ्यले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको 'द भोग थिएटर' मा र अन्तिम शो ८ तारिखमा टोरन्टोस्थित क्यानडाकै सभागृह 'म्यासी हल' मा हुनेछ।
सबै तस्बिर: दिपित राज, नेपालय