नेपथ्यले क्यानडाको दोस्रो कन्सर्ट सम्पन्न गरेको छ।
बुधबार क्यानडास्थित भ्यानकुभर सहरको 'द भोग थिएटर' मा कन्सर्ट सम्पन्न गरेको हो।
सहरको मुटुमै रहेको 'भोग थिएटर' मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए। कतिपयले 'भ्यानकुभरमा आज सम्मकै सबैभन्दा भब्य नेपाली कार्यक्रम' भनेर प्रतिक्रिया व्यक्त गरिरहेका थिए।
कन्सर्टको सुरूवात अघिल्लो पटकजस्तै 'सा कर्णाली' म्यूजिक भिडिओबाट भएको थियो भने त्यसलाई वैदेशिक रोजगारीमा गएकाहरूको भावमा उभ्याइएको 'मैमरि जाउँला' गीतले निरन्तरता दिएको थियो।
मञ्चमा नेपथ्य टोली आएपछि भने 'कोशीको पानी यो जिन्दगानी' ब्याण्डको पहिलो प्रस्तुती बन्न पुग्यो। गीतमा रहेको 'आमाको कोखमा बासमात्र लिएँ, कुन देशको मरन हौ हजुर' गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थ्यो।
कन्सर्टमा त्यसपछि 'भेँडाको ऊन, छेक्यो छेक्यो, आँगनैभरि र लामपाते सुरती' सुनाइएको थियो। कन्सर्टको दशौं प्रस्तुतीका रूपमा ब्याण्डले 'यो जिन्दगानी' गीत सुनाएको थियो।
नेपथ्यका गायक अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्याण्डले थालेको 'मानवताका लागि संगीत' अभियानबारे पनि बोले।
'सडकमा अलपत्र परेर बाँचिरहेका मानिसहरू देख्दा दिक्क लाग्थ्यो,' अमृतले भने, 'केही वर्षयता मानवसेवा आश्रमले त्यस्ता मानिसहरूको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौं।'
कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरूसँगै 'अब कुन गीत सुन्ने?' भनेर प्रश्न गरेका थिए। त्यसमा अधिकांश दर्शकले 'रेशम' भनेर चिच्याए।
यसरी 'रेशम' पछि 'तालको पानी' हुँदै 'रातो र चन्द्रसूर्जे' गीतमा पुगेपछि कार्यक्रम ठिक ९ बजे अन्त्य भएको थियो।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
भ्यानकुभरको दोस्रो कन्सर्टपछि अब ब्याण्ड ८ तारिख आइतबारका दिन टोरन्टोमा प्रस्तुत हुने भएको छ।