अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले सांगीतिक यात्रा गर्ने भएका छन्।
नेपालीहरूको महान् चाड दसैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो। उनीहरूले ड्यालस, एक्रोन ओहायो, बोस्टन, न्युयोर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा कन्सर्ट गर्न लागेका हुन् । अक्टोबर २१ देखि सुरू हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ।
लिभ एट प्रिजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने 'फर्स्ट युएसए म्युजिकल यात्रा' राखिएको छ। कार्यक्रममा फुजोन इन्टरनेसनल, कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ।
कार्यक्रमको लागि आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन्।
अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन्। युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले फिल्म पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छन्। उनको पछिल्लो गीतहरू 'परेली झिम झिम भो' र 'काले केटाले' चर्चित छन्।
हर्कुलसका 'के यो माया हो, माया संसार, हिजो भन्दा आज' लगायत गीतहरू चर्चित छन्।