चर्चित ब्याण्ड कन्दरा काठमाडौंमा पहिलोपटक गुञ्जिने भएको छ।
यो लोकप्रिय लोकपप–रक ब्याण्ड आफ्नो प्रभावशाली सांगीतिक यात्राको ३२ वर्ष पूरा गरेको उत्सव मनाउँदै २४ कात्तिकमा क्लब एलओडीमा गुञ्जिने भएको हो।
'काठमाडौं कलिङ कन्दरा' नाम दिइएको कन्सर्ट ऐतिहासिक हुने विश्वास लिइएको छ।
शुक्रबार कन्सर्टबारे जानकारी दिन आयोजित कार्यक्रममा कन्दराका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठले ३२ वर्षको यात्रामा आफूहरूले काठमाडौंमा पहिलोपटक कार्यक्रम गर्न लागिएको जानकारी दिए। कन्सर्ट अविष्मरणीय बन्ने विश्वास रहेको उनले बताए।
कन्सर्टमा कन्दराका पुराना हिट गीतहरूको पुनः प्रस्तुतिसँगै बिल्कुल नयाँ सांगीतिक सिर्जनाहरूलाई पनि सुन्न पाइनेछ।
ब्याण्डले काठमाडौंपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ। यी सहरको मिति तय हुन बाँकी छ।
आफ्नो सांगीतिक विरासतको उत्सवका अलवा कन्दराको ३२ औं वार्षिकोत्सव कार्यक्रमले 'पहिले घर देश, अनि परदेश' शीर्षकको विश्वव्यापी अभियान पनि सुरू गर्नेछ।
नेपाली संस्कृतिको गहिराइ देखाउने उद्देश्यका साथ यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोपमा सम्पन्न हुनेछ।
सन् १९९० को दशकको प्रारम्भमा पोखरामा स्थापना भएको कन्दराको पुराना पुस्ता र युवा पुस्ता दुवैलाई अपील गर्ने समकालीन धुनहरूसँग लोक तत्वहरूको फ्यूजन प्रदान गर्ने संगीतले आधुनिक नेपाली संगीतलाई परिभाषित गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ।
ब्यान्डका 'तिमी पारी', 'हङकङ पोखरा', ‘लेककी हे माया’, ‘तगारोमा रूमाल राखी’ जस्ता गीत हिट छन्।
ब्याण्डको ड्रम्समा सुनिल थापा छन्। लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा निरज बि.क., ब्यान्ड म्यानेजर आयुष धमला छन्।