पुरानै नामलाई निरन्तरता दिएर नयाँ फिल्म ल्याउनु नौलो रहेन। 'नाइ नभन्नू ल' को छैटौं शृंङ्खला प्रदर्शनमा आइसकेको छ भने 'छक्का पञ्जा ५' र 'कबड्डी ४' सम्म रिलिज भइसकेका छन्।
खासगरी हिट फिल्मको सिक्वेल वा शृंङ्खला बन्दै आइरहेका छन्। यस्तो चलन गीत संगीत क्षेत्रमा पनि छ।
पहिले हिट भइसकेका गीतको पछाडि २, ३ थपेर धमाधम नयाँ गीत आइरहेका छन्।
मंगलबार मात्रै पनि 'भन साइँला ३' सार्वजजिक भएको छ। 'खाडी मुलुक' शीर्षकमा आएको यो गीतलाई यसअघिको हिट गीत 'भन साइँला' को तेस्रो भागका रूपमा ल्याइएको छ। यसमा रमेशराज भट्टराई र रचना रिमालको स्वर छ। गीतको शब्द र संगीत रमेशराजकै हो।
भिडिओमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन्। प्रस्तुतकर्ता रमेशराजले कथालाई समेत निरन्तरता दिँदै गीत सिर्जना गरेका छन्।
पहिलो भागमा पैसा कमाउने सपना बोकेर परदेशिएको श्रीमान र घरमा रहेकी श्रीमतीको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको थियो।
दुर्घटनामा परेपछि श्रीमान घर फर्किन्छन् र त्यसपछि बाध्यताले श्रीमती वैदेशिक रोजगारीमा जान्छिन्। दोस्रो भागमा बाध्यताले विदेशिँदै गरेकी श्रीमतीको कथा प्रस्तुत गरिएको छ।
तेस्रो भाग 'खाडी मुलुक' मा श्रीमती घर छाडेर खाडी पसेपछिको कथा देखाइएको छ। यसमा खासगरी अप्ठ्यारो अवस्था आइपरेको खण्डमा एउटी छोरी मान्छेले पनि सारा परिवारको बोझ आफ्नो कॉंधमा बोकेर समस्याको समाधान गर्न सक्ने ल्याकत राख्छिन् भन्ने देखाइएको छ। त्यस्तै, खाडी मुलुक जानेलाई भेदभावको नजरले हेर्न नहुने सन्देश यसमा दिइएको छ।
'भन साइँला' को तीनवटै भागमा गायक–गायिका र मोडल पनि उही छन्।
यसअघि केही दिनअघि मात्रै हिट गीत 'ए होर माया' को भाग ५ सार्वजनिक गरिएको थियो। गायिका विष्णु माझीले त 'पुतलीको भट्टी' नाममा भाग २० सम्म ल्याइसकेकी छन्।
अन्य थुप्रै गायक/गायिकाले पनि गीतको विभिन्न भाग ल्याएका छन्।