चिसो मौसममा च्यातिएको लुगाले कति न्यानो देला!
दिनभर चर्को घाममा खाली खुट्टा हिँड्दा कति दुख्ला!
पानीको तिर्खाले प्याकप्याकी सुकेका ओठलाई कति सताउला!
भोको पेटले कति पिरोल्ला!
सहरको गल्लीमा चामलको पोका बोकेर हिँड्ने उनीहरूलाई कुकुरले समेत भुक्छ र टोक्न झम्टिन्छ।
भिखारीको उपमा दिँदै भिखारीमुक्त सहर बनाउने अभियान भन्दै सरकारले समेत लखेट्न खोज्छ।
के सहर सुकिला–मुकिलाको मात्र हो?
थापागाउँस्थित मण्डला नाटकघरमा प्रदर्शन भइरहेको नाटक 'बुद्ध र भिखारी' ले यस्ता यावत प्रश्नको उत्तर खोतल्छ।
के भिखारीले आफ्नो प्रश्नको उत्तर पाउँछ? कि पाउँदैन?
उसलाई किन ती प्रश्न प्यारा छन्?
नाटक हेर्दा तपाईंले थाहा पाउन सक्नुहुन्छ।
भिखारी भनेको चामल, पैसा माग्ने व्यक्ति मात्र होइन; अरूको जीवन बचाइदिने करूणादायी व्यक्ति पनि हो। उसलाई पनि अरूको चासो छ। त्यसैले नाटकमा ऊ आफ्नो आत्मसन्तुष्टि मारेर अरूको सन्तुष्टिका लागि तयार हुन्छ।
भनिन्छ नि, जसले अरूका लागि राम्रो सोच्छ, उसलाई पनि राम्रो हुन्छ। के अरूलाई सहयोग गर्ने भिखारीले पनि जीवनमा खुसी पाउला?
नाटकको मुख्य पात्र मुसा, भिखारी अनि बुद्ध हुन्।
'स्याडो प्ले' अन्तर्गतको यो नाटक झट्ट हेर्दा 'कार्टुन' जस्तो लाग्छ। तर यो केटाकेटीले मात्र हेर्ने नाटक होइन। नाटकमा सानादेखि सबै उमेर समूहले हेर्नुपर्ने र बुझ्नुपर्ने कथा समेटिएको छ। नाटकको मूल सन्देश भिखारीको पनि आत्मसम्मान हुन्छ र उसलाई पनि मान्छेसरह व्यवहार गर्नुपर्छ भन्ने हो।
हँसाउदै सरल भाषामा सुरू हुने यो नाटकमा भिखारी पटकपटक पहाड उक्लिन खोज्छ। उसले पहाड उक्लिन खोज्दा यस्तो लाग्छ, के अरू मान्छेले पनि ऊजस्तै पहाड उक्लिए वा त्यसै छाडे होलान्? भिखारीजस्तै अरू मान्छे जीवनमा कतिपटक लडे–उठे?
हामीले प्रयास गर्यौं भने जस्तोसुकै कठिन यात्रा पार गर्न सम्भव छ भन्ने सन्देश पनि भिखारीले हामीलाई दिन्छ।
घरघरबाट एक-एक मुठी चामल मागेर सरल जीवन बाँचिरहेको भिखारीलाई एउटा प्रश्नले छट्पट् पार्छ।
उनलाई नाटकको मुसा पात्रले भनेको हुन्छ, 'आफ्नो भागमा जे लेखिएको छ, त्यही पाउने हो। नपत्याए बुद्धलाई सोध्नु।'
बुद्ध खोज्दै जाँदा भिखारीको थप तीन प्रश्नसँग साक्षात्कार हुन्छ।
चर्को घाम, हल्लिएको झोलुंगे पुल तर्दा काँपिरहेको ज्यानभन्दा उसलाई प्रश्नको उत्तर भेट्ने कुरा नै प्यारो लाग्छ। इच्छा र आत्मसन्तुष्टि छ भने जस्तोसुकै कठिनाइ पार गर्न सकिन्छ भन्ने हिम्मत बोकेको भिखारी आखिरमा सन्तुष्ट हुन्छ त?
नाटकमा सीमित प्रश्नको उत्तर खोज्दै हिँडेको भिखारी देख्दा यस्तो लाग्छ, वास्तविक जीवनका भिखारीहरूसँग त योभन्दा बढी प्रश्न होलान्!
जस्तो, किन मलाई भिखारीको उपमा दिइयो? भिखारी देख्दा मान्छे किन नाक खुम्च्याउँछन्? किन ढोका बन्द गर्छन्? किन कुकुरले समेत देखेर भुक्छ? भिखारीलाई किन सम्मान गरिँदैन? किन फोहोरीको रूपमा हेरिन्छ? किन मान्छेसरह व्यवहार गरिँदैन? के उसलाई अरूजस्तै सम्मानजनक बाँच्ने अधिकार छैन?
यस्ता यावत प्रश्नको उत्तर भिखारी मान्छेसँगै खोजिरहेको हुन्छ।
नाटकमा त भिखारीलाई मान्छेसरह व्यवहार गरिन्छ। तर वास्तविक जीवनमा भिखारीले यस्तै सम्मानजनक व्यवहार पाएका छैनन्। भिखारीको भोक, तिर्खा, थकाइ, निद्रा, रगत, पसिना जस्तै मान्छेको उपनाम पाएका व्यक्तिको पनि उस्तै हुन्छ। फरक यति हो, उसले चाहेको कुरा पाउन सहज छैन।
नाटकले भिखारीलाई पनि मान्छेको दर्जा दिनुपर्छ, सम्मान गर्नुपर्छ भनेको छ। भिखारी र मान्छेको उपमा पाएकाहरूले बाँच्ने जीवन उस्तै हो भनेर देखाउँछ।
नाटकमा परम्परागत ढंगले देखाइएको पात्रको कथा आध्यात्मिक तरिकाको छ। हरेक प्रश्नको उत्तर स्वयं आफूलाई थाहा नभए पनि भगवान बुद्धलाई थाहा हुन्छ भन्ने विश्वास छ। छोटो नाटकले धेरै प्रश्नसँगै उत्तर छाडेको छ।
रंगकर्मी अनिल सुब्बाले निर्देशन गरेको यो नाटकले मान्छे र जनावरको कथा प्रस्तुत गरेको छ। सुब्बा जनावरप्रेमी हुन्। त्यसैले यो कथामा जनावरको भाषाशैली जोडदार छ। जनावर र बुद्धमार्फत नाटकमा भिखारीको परिचय फराकिलो पारिएको छ। नाटकको बीचमा गाइने गीत र धुनले दर्शकलाई भावुकतासँगै शीतलता दिलाउँछ।
मुसाबाट सुरू हुने कथा मान्छेको खुसीमा गएर सकिन्छ। नाटकमा मुसा, कछुवा, सिंह, चरा, जरायो, माछा, लोखर्के, भ्यागुता, गोरू लगायत जनावर छन्। यी जनावर मान्छेकै भाषा बोल्छन्।
साँच्चै मान्छेजस्तै जनावर भएको भए के हुन्थ्यो? मिलेर बस्न सक्थे? अहिले उनीहरूको बासस्थान मान्छेले खोस्दै छन्। तर नाटकमा यस्तो देखाइँदैन। मान्छे र जनावर मिलेका छन्। कछुवाकै सहयोगले भिखारीले नदी पार गर्न सक्छ। यस्तो देख्दा नाटकमा जनावर र मान्छेको सम्बन्ध सुमधुर लाग्छ।
नाटकमा रूपेश लामाले भिखारी, सगुन लिम्बूले बुद्ध, सन्जीव योगीले चतुरे, वेदना राईले घरबेटी आमा सानु, मोहन राईले घरबेटी बा गोलु, प्रतिना राईले छोरी, प्रवीण मगरले जादूगर भोकु, सुनिल तामाङले घाम, रमिता राईले भ्यागुता र गणेशप्रसाद पौडेलले कछुवा पात्रको भूमिका निर्वाह गरेका छन्।
नाटकमा बालकृष्ण राई, प्रवृति राई र सुरज तमूले संगीत भरेका छन्। पोस्टर डिजाइन भरत राई र ब्रोसर डिजाइन इँगिहोपो कोइँच सुनुवारले गरेका हुन्। गीतमा अनिल सुब्बा र मञ्च निर्माणमा ताण्डव टोली छन्।
चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकको परिकल्पना पनि निर्देशक सुब्बाले गरेका हुन् भने नाट्य रूपान्तरण तथा अनुवाद चेतन आङ्थुपोले गरेका हुन्।
नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी 'स्याडो प्ले' मार्फत मञ्चन गरिएको यो नाटक यसअघि राष्ट्रिय नाचघर जमलमा आयोजित 'बुद्ध नाट्य महोत्सव' र 'अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९' मा मण्डला नाटकघरमा मञ्चन भइसकेको थियो। दर्शकको रूचि बढेकाले चौथोपटक नाटक मञ्चन गरिएको निर्देशक बताउँछन्।