मातृत्वको मूल्यको के हिसाब हुनु र! आमाले कुनै मूल्यका लागि बच्चा पाउने होइनन्। सत्य कुरा यही हो।
यो कुरा सत्य नहुन पनि सक्ला! सत्य सापेक्ष हुन्छ कि निरपेक्ष! कसैलाई लाग्ला सापेक्ष हुन्छ, कसैलाई लाग्ला निरपेक्ष।
कर्णालीतिरकी हिमाली गृहिणी नौरतीले मानेको सत्य उसकै पति गोपीका लागि सत्य होइन। गोपीलाई थाहा छ, आफ्नी श्रीमतीले सत्य मानेको कुरा सत्य होइन तर उसले मनले होइन, तनले सत्य मान्नै परेको छ।
सत्य वा असत्य जेसुकै होओस्, मनले मान्नु र नमान्नुको द्वन्द्वले बनेको कथा हो काठमाडौंको मण्डला थिएटरमा प्रदर्शन भइरहेको नाटक 'हिउँभन्दा चिसो'।
'हिउँभन्दा चिसो' भारतीय लेखक सौरभ शुक्लकृत 'बर्फ' को नेपाली अनुवाद हो। ठ्याक्कै नेपाली अनुवाद भन्नुभन्दा नेपाली अपरिवेशको अनुवाद भन्नु उचित होला। कथा उही हो तर कथाको प्रस्तुतिले नेपाली भूगोल र नेपाली समाज समेटेको छ।
नौरती गर्भवती हुन्छे। सुत्केरी गराउन अस्पताल पुर्याएपछि मृत बच्चा जन्मिन्छ। बेहोस नौरती होसमा आएपछि उसले बच्चा खोज्छे। मृत बच्चा जन्मेको कुरा उसलाई विश्वास हुँदैन। ऊ विक्षिप्त हुन्छे, यसबाट बचाउन उसलाई बच्चा दिइन्छ।
मरेको बच्चा त कसरी दिनु र! गोपीले एउटा खेलौना बच्चा ल्याइदिन्छ। नौरती त्यसैलाई आफ्नो बच्चा मान्छे। उसका लागि वास्तविक बच्चा त्यही हो, उसले मानेको सत्य यही हो, उसले जन्माएको बच्चा त्यही हो, उसको छोरो त्यही हो।
यो पृष्ठभूमिमा बनेको छ नाटकको कथानक। कर्णालीको विकट हिमाली गाउँको परिवेश, त्यतैको भाषाशैली र बसाइँले रित्तिएको गाउँ खास नेपाली परिवेश हो। मूल कथानक मनले मानेको र नमानेको सत्यको द्वन्द्वका अतिरिक्त नाटकको खास आकर्षण त्यही नेपाली परिवेश हो।
नौरती र गोपीले बोल्ने भाषा र लवज, नौरतीको बेहिसाब मातृत्व, पत्नीले मानेको सत्य स्वीकार गर्नुपर्ने गोपीको बाध्यता र बच्चाको उपचारका लागि गएको डाक्टर सिद्धान्त आचार्यलाई आइपरेको फसादले दर्शकलाई आद्योपान्त उत्सुक बनाइरहन्छन्।
बच्चा त हुर्किँदै, बढ्दै जानुपर्ने हो, खानुखेल्नु पर्ने हो। खेलौना बच्चाले यसो गर्ने कुरै भएन। नौरती मान्छे मेरो बाबु बिरामी भयो, सुतेको सुत्यै गर्छ। उसले जसरी पनि आफ्नो बच्चा बचाउनु छ। ऊ बच्चा नबाँच्ने हो कि भनेर पिरोलिएकी छ।
बच्चाकी आमाको यही पिर दूर गर्न स्वास्थ्य कार्यालयको कर्मचारी रहेको गोपीले आफ्नै कार्यालयको डाक्टर सिद्धान्तलाई टाढाको आफ्नो गाउँमा लैजान्छ।
डाक्टरले खेलौना बच्चा देखेपछि नाटक चरमोत्कर्षतिर अघि बढ्छ। नौरती किन खेलौनालाई आफूले जन्माएको बच्चा ठान्छे, गोपीले त्यही बच्चा बिरामी छ भनेर त्यति टाढाको गाउँमा किन मलाई ल्यायो भन्ने कुराको रहस्य परगेल्न नसकेर डाक्टर आवेशमा आउँछ।
आवेशको परिणामले डाक्टर खम्बामा बाँधिन्छ। अब डाक्टर कसरी उम्केला, गोपीले डाक्टरलाई उम्काउला कि फसाउला! डाक्टरको ज्यानै जाने हो कि! यो उत्सुकताले दर्शकलाई दायाँबायाँ हल्लिन दिँदैन।
यी हिमाली दम्पतीले मानेको सत्यको आफ्नै संसार छ। नौरतीको आफ्नै विश्वास छ।
गाउँमा घरैघर छन् तर निर्जन। बसाइँले गाउँ रित्तिएको छ। गाउँमा नौरती र गोपीमात्रै छन् तर उनीहरू एक्लै भएको ठान्दैनन्। गाउँलाई माया नगर्नेहरूले, गाउँलाई केही नदिने तर गाउँबाट लिन खोज्नेहरूले गाउँ छाडेका हुन्।
नौरतीको विश्वास छ– गाउँमा आफन्तहरू छैनन् तर स्वर्गवासी आफन्तहरूका आत्मा छन्। ऊ ती आत्माहरू बोलाउँछे, ती आत्माहरूसँग कुरा गर्छे। गोपी त्यसमा साथ दिन्छ किनभने उसलाई पनि त्यस्तै विश्वास छ।
नौरती आफ्नो विश्वासलाई सत्य मान्छे। उसले मानेको सत्य दर्शकका लागि सत्य नहुन सक्छ।
नौरती ती निर्जन घरलाई आफ्नै सन्तानहरूले भरिभराउ गर्न चाहन्छे। यसनिम्ति उसले जसरी पनि आफ्नो छोरो बचाउनु छ। ऊ डाक्टरको प्रतीक्षामा थिई। गोपीले डाक्टर लिएर आयो।
डाक्टरले खेलौना बच्चाको उपचार कसरी गर्न सक्थ्यो र! नौरतीले सुतेको मानेको बच्चा कसरी उठाउन सक्थ्यो र!
अहँ, डाक्टरले आफ्नो मनको सत्य नौरतीलाई बुझाउन सकेन, उसलाई मनाउन सकेन। बरू डाक्टर आफैं पनि नौरतीले मानेको सत्य मान्न बाध्य भयो।
यस हिसाबले नाटक 'हिउँभन्दा चिसो' ले मातृमनोविज्ञानको मर्म छाम्न सकेको छ। दाम्पत्य प्रेमको गहिराइमा पुग्न सकेको छ। पूर्वजहरूको सम्मानको उचाइ छुन सकेको छ।
नेपालका दुर्गम गाउँहरूको दुःख र त्यहाँको अभाव, त्यहाँका बासिन्दाको (मूढ) विश्वास र बसाइँसराइको नराकात्मक प्रभाव नाटकको प्रकारान्तर प्रस्तुति हो।
नाटकको मञ्चमा आद्योपान्त तीन जना छन्– नौरतीको भूमिकामा रेणु नाथ योगी, गोपीको भूमिकामा गोविन्द सुनार र डाक्टर सिद्धान्तको भूमिकामा भोलाराज सापकोटा छन्। यी तीनै जनाको कला क्षमताले कलाको मर्मभेदन गर्न सकेको छ।
निर्देशक सोमनाथ खनाललाई बधाइ दिनै पर्छ। यस्तै बधाइकी पात्र हुन् अनुवादक नम्रता केसी।
पृष्ठभूमिमा बज्ने गीत 'हिउँभन्दा अग्लो सबैको दुःख हुन्छ, त्योभन्दा चिसो रित्तिएको कोख हुन्छ' गीतको शब्द र संगीत, घरको संरचना, प्रकाशको प्रयोग र संयोजन इत्यादि सबै साँच्चै प्रशंसनीय छन्।
नाटक 'हिउँभन्दा चिसो' का दृश्यहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी