अभिनेता विजय बराल र नाजिर हुसेन नाटक अभिनयमा फर्किएका छन्। थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक 'हरि हजुरबा' मञ्चन हुँदैछ।
नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुने नाटकमा विजय र नाजिर दुवै देखिँदैछन्। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ।
अभिनेता विजय नाटक 'मितज्यू' पछि मञ्चमा देखिन लागेका हुन् भने नाजिर १० वर्षपछि नाटकमा फर्किएका हुन्।
यो नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे गरी दुइटा शो हुनेछन्।
चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत हुनेछ। द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई नाटकले उजागर गर्ने जनाइएको छ।
यो नाटकको निर्मातामा अभिनेताहरू दयाहाङ राई र बुद्धि तामाङ छन्।