सयौं मठमन्दिर, स्तुपा, फल्चा (सत्तल) मा जीवन्तझै लाग्ने हजारौं मुर्तिमा बास लिएका देवताको बास भएको उपत्यकामा थुप्रिएका मानिस, तिनले बनाएका कंक्रिटको जंगल, अब्यवस्थित सडक जंजालबाट नेपा: उपत्यकाको स्वरूप र स्वभाव विकृत र विसंगत रूपमा फेरिँदै छ।
मन्दिरै मन्दिरको शहर भनेर विश्व प्रसिद्ध नेपा (काठमाडौं) उपत्यकाको जीवन्त चिनारी र परिचय अब्यवस्थित र सबैभन्दा वायु प्रदुषित शहर भनेर फेरिँदैछ।
एल विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालयबाट हरेक वर्ष निकाल्ने ईन्भाईरोमेन्ट पर्फोमेन्स ईन्डेक्स (EPI) मा सन् २०१४ देखि नै पुछारमा परेको नेपाल यसपाली २०१७ मा पनि पुछारमै परेर संसारकै वायु प्रदुषित देशमा गनिएको छ। यो सँगै काठमाडौं विश्वकै वायु प्रदुषित शहरमा परेको छ।
११लाख मोटर गाडी र बाईक यहाँको सडकमा गुड्दाको परिणाम धुलो धुवाँ, ट्राफिक जाम र दुर्घटनाको आंतक यति छ की बिहान घरबाट हिँडेको मानिस साँझ सहिसलामत घर फर्किने हो कि होईन ढुक्क हुन गाह्रो छ।
सफा लुगामा निस्केको ब्यक्ति घर फर्किदाँ धुलो मैलो भएर आएको हुन्छ।
उपत्यकामा हाल ८ लाख बाईकसहित ११ लाख सवारी साधन छन्। हरेक महिना १० हजार जति सवारि साधन थुप्रि रहेका हुन्छन्।
उपत्यका भित्र १५९४ किमी जति सडक छन् भने सवारी साधन गुड्ने ब्यस्त सडक ४७२ किमी छ।
सन् २००३ मा गरेको अध्ययन अनुसार उपत्यकाको वायु प्रदुषणमा प्रमुख जिम्मेवार ३८% डिजेल पेट्रोलले चल्ने सवारी साधनले निकाल्ने धुवाँ र २५% ती सवारीले उडाउने सडकको धुलो हो।
उक्त वर्षसम्म लगभग २ लाख मोटर गाडी, बाइक गुड्थे। अर्थात २ लाख बाईक, मोटरगाडीले धुवाँ निकाल्दा ३८% र धुलो उडाउँदा २५% को योग सम्पूर्ण वायुप्रदुषणको ६३% जिम्मेवार थिए।
१५ वर्षपछि यहाँ २ लाखको पाँच गुणाभन्दा बढी ११ लाख बाईक, मोटरगाडी थपिए। महिनैपिच्छे १० हजार थपिएको अवस्थामा वायु प्रदूषण कति हदसम्म बढेको छ अनुमान गरौ! हाम्रो दैनिक जीवन र भोगाई नै तथ्यांकहरु भन्दा बढी चिच्याएर बोलिरहेको छ।
हावा यति दूषित भईसकेको छ कि नेपाल र काठमाडौं विश्वकै सबैभन्दा वायुप्रदुषित देश र शहरमा गनिन पुग्दा हामीलाई पीडा र रिस मात्र उठ्छ तर सरकारप्रति वायु प्रदुषणबारे शसक्त आवाज उठाउन हामी नागरिक समाजहरुले सकेका छैनौ।
जसले देश, शहर र समाजको साख गिरेको छ, शिर नुहिरिएको छ। भयावह धुलो, धुवाँ, ट्राफीकजामको अवस्था मेलम्ची खानेपानी र सुस्त सडक बिस्तारले झनै आगोमा घ्यू हाले झै बनाइरहेको छ।
यही अवस्थामा हामीले विगत १० वर्षदेखि साईकल मुद्दा उठाईरहेका छौं। विविध साईकल र्याली, क्याम्पिएन, छलफलमा साईकलका महत्व र गुरूत्वलाई सरकार, समाज, शहर, नेता, कर्मचारीतन्त्रलाई बुझाउन खोजिरहेका छौ।
समय समयमा हाम्रो साईकल आवाजहरु हाम्रो क्षमता, विवषता, सक्रियतासँगै कहिले उठ्ने गर्छ भने कहिले सेलाउने।
एक अध्ययन अनुमान अनुसार उपत्यका भित्र यातायातको ६५%जति १-५ किमी सम्मको दुरीको यात्राको लागि हुने गरेको छ। यस दुरी पार गर्न पनि सवारीसाधनमा औसत १०-३० मिनेट लाग्ने गरेको छ। जुन छोटो दुरीको यात्रा गर्न सडकमा सुरक्षित रूपमा साईकल चलाउन मिल्ने साईकल लेन बनाइएको भए मानिसहरू कार, मोटर गाडी, बाईक छोडेर साईकलमा यात्रा गर्ने थिए।
बिना कुनै झन्झट, बिना कुनै जाम, ठेलमठेल, कोचाकोच, धुवाँ, धुलोबाट बचेर त्यतिनै समयमा गन्तब्यसम्म नै पुगिन्छ।
शहरी यातायातमा उपत्यकामा हालका ११ लाख सवारीसाधनमध्ये एक तिहाईलाई मात्र पनि साईकलले बिस्थापन गर्न सक्यो भने धेरै नै सडकमा सहज र वायु प्रदुषण र जाममा सुधार आउनेछ।
यसका लागि प्रमुख चौडा सडकहरुमा अनिवार्य सेग्रेगेटेड साईकल लेन र मध्यम र साना बाटाहरुमा मिक्स्ड शेरिङ साईकल लेन बनाउन सकिन्छ।
उपत्यकाको हावापानी, भुगोल, संस्कृति र सम्पदाले साईक्लिङ उपयुक्त र विशेष छ। यहाँका नेवारी बस्तीका भित्री गल्लीहरू जहाँ बिभीन्न मन्दिर, स्तुपा र सत्तलहरु भएर साईकल चलाउनुको विशेष मज्जा छ। ती पुराना ऐतिहासिक गल्लीहरू ठूला गाडी, कार, मोटरसाईकलका लागि बनाईएका थिएनन्। ती गल्लीका बाटा ठूला सवारीले खाल्डाखुल्डी पारेका छन् र बाटोमुनिको ढल बिगार्छन्।
गाडी गुड्दाको कम्पनले गल्ली गसँगैका पुराना नेवारी घरहरू चर्किएर क्षति भईरहेको हुन्छ। ती गल्लीलाई ठूला सवारीसाधन निषेध गरेर साईकल, पैदल यात्राको लागि खोलिनुपर्छ। यसले उक्त बाटाहरु बिग्रिन कम हुनेछ भने त्यहाँका गल्लीमा पर्यटकीय सम्भावना र ब्यापार ब्यवसाय फस्टाउनेछ।
यसका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालगायत उपत्यकाका सबै नगरपालिकाले साईकल मैत्री नीति लिन सक्नुपर्छ। साथै साईकलमैत्री, व्हिलचेयर मैत्री सडक र शहरको अवधारणा तयार गर्नुपर्छ।
नेपाल सरकार लगायत सम्पूर्ण स्थानीय सरकारले गाडी केन्द्रित यातायात नीति (Vehicle-Centric Transportation Policy) होइन मानिस केन्द्रित यातायात नीति (People-Centric Transportation Policy) अपनाउन ढिलो भईसक्यो। यी नीतिहरू देशभरीका नगरपालिकाहरुमा लागू गरिए बुद्धिमानी हुनेछ।
यी साईकलको महत्वलाई बुझ्दै गम्भीर चासो र चिन्तन स्थानीय सरकारका मेयर, उपमेयर लगायत जनप्रतिनिघीहरुबाट हुनुपर्छ।
हराभरा, स्वच्छ सुन्दर शहरको नारा कहाँ हरायो? साईकल घोषणापत्रसहित ल्याएर चुनाव जित्नु भएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबाट साईकल मुद्दाहरूमा कुनै खासै कदम नचालिँदा साईकलप्रेमी, वातावरणप्रेमी प्रश्न गरिरहेका छन्।
पशुपतिदेखि टेकुसम्म साईकल लेन बनाउने विषयमा नगरपालिकाले यस वर्ष छुट्याएको बजेटमा कनसल्टेन्सीको टेण्डरसम्म आव्हान गरेको छैन। अब उक्त बजेट फ्रीज हुँदैछ।
कोटेश्वरदेखि कलंकीसम्मको चीन सरकारबाट बन्दै गरेको बिस्तारित रिङरोड सडकमा साईकल लेन छैन।
मिडियन लाईन भएको, साईकल लेन हटाइएको, सानो फुटपाथ बनाईएको, निकै लामो दूरीमा जेब्रा क्रस राखिएको यस रिङरोड सडकमा कयौं प्राविधिक त्रुटि रहेको विज्ञले कुरा उठाइरहेका छन्।
अब सुरू हुन लागेको कलंकी-महाराजगन्जको रिङरोड बिस्तारमा पनि यही अवधारणा आउँदैछ। यसमा सम्बन्धित स्थानीय सरकारका प्रतिनिधिले समयमै चासो दिनुपर्छ।
भयावह वायु प्रदुषण, ट्राफिक जाम, सडक दुर्घटनाले उपत्यकाको जीवनयापन नर्कतुल्य बनाउनु अघिनै यसका समाधानका लागि नीतिनियम लगायत, अन्य बिकल्प खोजिनुपर्छ।
यसका लागि सहज, सस्तो, स्वास्थ्य र वातावरणमैत्री साईकल लेन यसको प्रमुख बिकल्प हो।
नेवारी संस्कृति सम्पदाबाट धनी र जीवन्त उपत्यकाकामा साईकल संस्कृतिबाट अझै जोडिनु पर्छ। जहाँ खुला ठाऊ होस्, स्वच्छ वायु बहोस्, सुन्दर,स्चच्छ बागमती गंगा बगोस्।
त्यही संगीत सुन्दै साईकल चलाउनुको जस्तो मिठो यात्रा दैनिक अनुभवले हाम्रा दिनहरु कति स्वस्थ र ताजा हुनेछ, जसले हाम्रा कार्य, ब्यवहारमा पनि कति स्फूर्ति भर्दै कार्य सफल हुनेछन्।
अत: साईकल लेनको राम्रो शुरूवात बागमती करिडोर, अन्य नदी कोरिडोरबाट शुरु गर्न सकिन्छ। बागमती नदिको सरसफाई अभियान र नदीमा ढल मिसाउने कार्य बन्द गर्दै जानु आवश्यक छ। बनेका अनुपयुक्त साईकल लेनहरु पनि सुधार गरेर सक्दो सदुपयोग गर्नुपर्छ।
सरकारी लगानीमा साइकल लेनहरुको राम्रो नेटवर्क बनाईए धेरैभन्दा धेरै गाडी, कार, मोटरबाईक चलाउने पनि साईकलमा यात्रा थाल्नेछन्। साईकल लेन बिनाको हालको सडक एकदमै असुरक्षित छ। यहाँ ज्यानको जोखिममा राखेर किन साइकल चलाउनु?
त्यसैले साईकल लेन, पथहरू, स्टाण्डहरुमा सरकारले लगानी गर्नु शहर, समाज, नागरिक, देश सबैको स्वास्थ्यमा लगानी गर्नु हो। जुन अत्यावश्यक र अनिवार्य छ।