रोटीलाई मिठो चिनीले पार्छ, कसारलाई भेलीले
बत्तीले भन्दा उज्यालो पार्ने माइती घर चेलीले...
'हाम्रा बाबाको तीनतले घर' एल्बमका गीतले बालापनको गाउँले तीज सम्झाइदियो।
स्याङ्जाको अधेरी र डन्डुरेको वन रन्काउने तारा पौडेलले स्थानीय भाका र शब्दलाई मर्न दिएकी छैनन्। उनले गाउँका वनपाखा र ढुंगा-माटोलाई छाम्न सकेकी छन्। उनका गीतमा गाउँले मुटुको ढुकढुकी भेट्न सकिन्छ।
आमाले घाँटीका नसा फुलाई–फुलाई खुब गीत गाउनु हुन्थ्यो। लामा–लामा कथात्मक तीज गीत आमालाई कण्ठै आउने। गीतिकथा सुन्न म प्रत्येक रात लुसुलुसु आमाको पछिपछि लाग्थेँ। झमझम झरी, मादल र थपडीको संगीत। भदौ लाग्नेबित्तिकै मेरा स्मृतिमा त्यही गाउँको झल्को लाग्छ, जुन पिँढीमा हामी गाउँभरका भेला भएर गाउँथ्यौं।
अहिलजस्तो कहाँ हो र त्यति बेला! गीत गाउने त पर्म चल्थ्यो। लगभग एकमहिना पूरै तीज घन्कन्थ्यो गाउँमा।
ती पुराना भाका र शब्द पक्रन अहिलेका गायक गायिकालाई हम्मे-हम्मे परिरहेको छ। कतिपयले त तीज गीत भनेर रत्यौली गाइदिए। अनि लोकगीत भनेर छाडा लोकदोहोरी गाउनेहरू पनि कम छैनन्। यसरी लोक संस्कृति नै नबुझेकाले लोकगीतमा 'नेम' र 'फेम' खोज्दा विकृतिको 'ग्रेटवाल' ठड्याइरहेका छन्। यो अध्ययनको अभाव र सहरीकरणको प्रभाव दुवै हुन सक्छन्। नेपाली समाज संस्कृतिलाई फुटपाथको नाङ्ले पसलमा राख्ने सस्ता गायक-गायिकासँग सर्तक हुने बेला आएको छ।
'हाम्रा बाबाको तीनतले घर' गीति एल्बममा शिव ओखेलीको शब्दसंयोजन छ। यसमा तारा पौडेलको स्वरले मिठास भरेको छ। यसमा दुईवटा गीति भाका समेटिएका छन्।
शीर्ष बोलको गीतले पुरानो तीज संस्कृतिको झल्को दिन्छ।
मैले ती संस्कृति नियाल्ने मौका पाएकी थिएँ। हाम्रो गाउँभरिका आमा, बुबा दिदी, बहिनी जम्मा भएर गोरेटोमा झर्थ्यौं। पूरा झिलीमिली तीज। हाम्रो यात्रा गोद्गोदे, वाडखोला, प्रगतिनगर हुँदै स्याङ्जा बजारमा टुङ्गिन्थ्यो। आमाहरू गीत गाउँदै हिँड्नु हुन्थ्यो। हामी केटाकेटी अघिअघि नाच्दै नाच्दै। हाम्रो हुलमा सहरका मान्छे पनि थपिन्थे। तीजको एउटा भव्य जुलुस।
स्याङ्जा बजार पुग्दा त भीड नियन्त्रण गर्न प्रहरीलाई नै हम्मे हम्मे। उनीहरु पनि हाम्रो अघिअघि प्रशासनको ठूलो चौरमा पुग्थे। खुट्टा राख्ने ठाउँ हुँदैनथ्यो। बाटोभरिको हाम्रो फूर्ति चौरमा पुगेपछि आमाको पटुकीमा झुडिन्थ्यो। नत्र हराइने डर।
बालापनको जस्तो भव्य र विशाल तीज आजसम्म देखेकी छैन। सानैमा सुनेको पशुपति पनि पुगेँ। फिक्का लाग्यो। हाम्रा हजुरआमा-आमाले जस्तो पो मनाउनू तीज!
तीज बन्धन होइन। स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र रुपमा मनका भावना एकआपसमा गीत मार्फत् पोख्ने पर्व हो।
तारा पौडेलको गीति एल्बमले गाउँका यिनै मर्मस्पर्शी शब्दलाई टपक्कै टिप्न सफल भएको छ।
हाम्रा बाबाको तीनतले घर
पालीमा माकुरी जाल बरिलै...
यस्ता गीत हाम्रा हजुरआमा र आमाका दुःख-पीडाको सारथी थिए। वेदनाको भारी बिसाउने भावनाका चौतारी थिए। यो गीतमा पाली, माकुरी जाल, मादलु, छ्याप्प, छमछमी, मकैका खोइला जस्ता आफ्नै परिवेशका शब्द प्रयोग भएका छन्। जसले गीतलाई मर्मस्पर्शी र श्रुतिमधुर बनाएका छन्।
चेली ननाचेको आँगन शून्य मान्छन् गाउँतिर। गाउँभरिका दिदीबहिनी आमा, बुबा भेला भएर नवविवाहिता नारीका दुःख, पीडा गीतमार्फत् सुन्थे। आँखा रसाउने भाकाले छोरीको दुःख बाआमालाई बुझ्न करै लाग्थ्यो।
पौडेलले आफ्नो पहिलो गीति एल्बममा प्राचीन तीज समेट्न सक्नु संस्कृतिप्रतिको सचेतना हो। नौडाँडा पारि बिहे गरेर दिएकी चेलीलाई तीजमा माइती लिन जानु र चेलीले माइतमा आफ्ना पीडा, मर्का गीत मार्फत् पोख्ने हाम्रो पुरानो तीज संस्कृति हो।
अहिलेको तीजमा माइत जानी हो
आमाले पकाको दर खानी हो...
अझ त्यो समयमा दर आमाले होइन बुबाले पकाउँथे।
मेरो बाबाको स्वर्गारोहण भइसकेकाले तीजको दर दाइले पकाउनु हुन्थ्यो। काँक्राको अचार र तामाको तरकारी तीजका विशेषता। आमा र दिदीबहिनीहरू आँगनमा बसेर खुब गीत गाउनुहुन्थ्यो। पीडा पोख्ने गीतमा हँसिलो नचाइ पनि। आमाका कथात्मक गीत पूरा महिना दिनलाई पुग्ने। हामी केटाकेटीलाई त्यसै रमाइलो।
पौडेलको 'गाउँ जाने जीप' गीतले गाँउले जीवनको दर्दानक चित्र उतारेको छ।
भदौरे झरी अनि ठाडो खहरेको भेल। चेली लिन जाने फर्कने हुन वा होइन आमालाई सधैंको सुर्ता।
अहिले त गाउँमा जीप जान्छ। कच्ची बाटोको ठूला-ठूला खाल्डा छिचोल्दै चेली माइत आइपुग्ने हुन वा होइनन्। आमा—बाबा दिनभरि छोरी आउने जीप कुरेर बस्छन् दोबाटोमा।
उनको गाउँ जाने जीपको भाकाले अहिलेको गाउँले जीवनलाई छर्लङ्याएको छ।
सहरमा जस्तो एक महिना अघिदेखि दर खाने चलन गाउँमा कहाँ छ र? चेलीले आँगनमा आउने जीप कुरेर दरखाने अघिल्लो दिन माइत हानिनु पर्छ। जाऊँ, नालीबेली र डरलाग्दो कच्ची मोटर बाटो। नजाऊँ, मुजा परिसकेको आमाको अनुहार र मक्किइसकेको बाबाको हाड। दूधे नानीहरू काखी च्यापेर जीप चढ्दाको भयानक अवस्था गीतमा उतारिएको छ।
हाम्रो लोक संस्कृति र तीजको साख यी गीतमा भेटिन्छन्।
(लेखक शर्मा स्याङ्जा, पुतलीबजार नगरपालिकाकी बासिन्दा हुन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा लोक-साहित्यमा विद्यावारिधि गर्दैछिन्।)