मलाई ‘प्लस टु’ मा बायोलोजी पढाउने सरले कक्षामा भनेको याद आउँछ, 'जिन्दगी सफल बनाउने हो भने तीनवटा कुरा चाहिन्छ- चाइनिज डाइट, अमेरिकन लाइफ अनि जापनिज वाइफ।'
मलाई चाइनिज खाना कहिल्यै मन परेन। अमेरिका बस्ने रहर छैन। सरले भनेको जापनिज वाइफ भने कता-कता तिमीजस्तै हुन्छन् जस्तो लाग्छ।
मैले पनि सबै श्रीमानझैं जापनिज वाइफजस्तै गुण हुने श्रीमतीको परिकल्पना गरेँ। त्यो पनि नेपाली भर्सनमा। मैले त्यस्तै श्रीमती पाएँ।
मैले जुन दिनदेखि प्रेमको अनुभूति गरेँ, त्यो दिनदेखि आफ्नो मन-मस्तिष्कमा एउटा आकृति बनाएँ। एउटा सपना सजाएँ। एउटा संसार बनाएँ। आज त्यो आकृतिका रूपमा तिमीलाई पाउँदा मेरा सपना साकार हुँदै छन्, मेरो संसार रंगिन बन्दैछ झैँ लाग्छ।
जीवन-संगिनीलाई ‘बेटर हाफ’ भनिन्छ। तिमी साँच्चै ‘बेटर’ छौँ। सबै श्रीमती ‘बेटर’ हुन्छन् कि नाइँ मलाई थाहा छैन। तिमी मभन्दा धेरै ‘बेटर’ छौ। मैले कल्पेको आकृतिभन्दा राम्री श्रीमती पाएको छु।
जिन्दगी बडो विचित्रको हुँदो रहेछ। सम्बन्ध अजीब संयोगले गासिँदा रहेछन्। केही सम्बन्ध स्वर्गमै बन्दा रहेछन्। २०६७ सालतिर म पहिलोपल्ट भिमढुंगामा एउटा कार्यक्रममा पुगेको थिएँ। सीतापाइलाबाट भिमढुंगा जाँदै गर्दा बिग्रिएको बाटो देखेर यो बाटो कहिल्यै आउँदिन भनेर साथीहरूलाई भनेको थिएँ। कसमै खाएको थिएँ। बाइक चलाउन थालेको धेरै भएको थिएन, त्यही भएर मलाई बाटो गाह्रो लागेको थियो होला।
तर, संयोग भन्ने कि भाग्य, तीन वर्षपछि मेरो त्यहीँ विवाह भयो। हाम्रो परिवारको कुनै सम्बन्ध थिएन। कहाँ कसरी एक जना बटुवाले हाम्रो परिवारलाई भेटाइदियो। हाम्रो भेट भयो। सम्बन्धहरू किन यसरी नै बन्छन्? किन देखेकोभन्दा लेखेको नै पाइन्छ? किन कोही कसैका लागि जन्मन्छन् अनि कोही कसैका लागि बाँच्छन्? किन प्रेम यति अजीब हुन्छ? यी प्रश्नका उत्तर कसैले खोज्न सकेनन्।
मलाई सधैँ अचम्म लाग्छ। संसारमा प्रेमबारे लाखौँ लाख लेख, कविता, सायरी, गजल लेखिएका छन्। ती लेख प्राय: प्रेमी अनि प्रेमिकाको प्रेम अनि बिछोडमा आधारित हुन्छन् तर, श्रीमान्-श्रीमतीबारे निकै कम लेखिएको छ। किन हो थाहा छैन। किन एउटा श्रीमतीको श्रीमानप्रतिको प्रेम कवितामा व्यक्त हुँदैन। किन श्रीमानले श्रीमतीको लागि प्रेमपत्र लेख्दैनन्। किन गीतहरू बन्दैनन्। थाहा छैन।
श्रीमान्-श्रीमतीको प्रेम शान्त हुदोरहेछ।
अन्जना, हाम्रो प्रेमको सम्पूर्ण श्रेय तिमीलाई जान्छ। किनकि तिमीले मैलेभन्दा कम ‘कम्प्लेन’ गर्छौ अनि मैलैभन्दा बढी ‘कम्प्रोमाइज’ गर्छौ जस्तो लाग्छ। सायद यही भएर हाम्रो प्रेम सन्तुलित छ। श्रीमानहरूको सोच्ने तरिकाको आधार ‘तर्क’ अनि ‘इगो’ मा टेकिएको हुन्छ। अनि श्रीमतीहरूको सोच ‘इमोसन’ (भावना) अनि ‘केयर’ (हेरचाह) को आधारमा टेकिएको हुन्छ। हामी पनि अपवाद होइनौँ। हाम्रो सम्बन्ध पनि अपवाद होइन।
यी आधार प्राकृतिक रहेछन्। हामीमा पनि लागू हुन्छन्। त्यसैले त, तिमी आफ्नो परिवारका लागि आफ्नो ठूलो करिअर छाड्न सक्ने हैसियत राख्छौ। म सक्दिनँ। सायद त्यसैले त तिमी आफ्ना खुसीहरू आफ्नो परिवारको निम्ति त्याग गर्न सक्छौँ, म सक्दिनँ। तिम्रो अगाडि कायर छु। स्वार्थी छु। कम्जोर छु। तिम्रो तारिफमा शब्दहरू खर्चनसमेत लोभी छु। तर पनि तिमीले स्विकारेकी छौ। मैले तिमीलाई बुझेको छु। त्यसैले पनि हामी अघि बढेका छौँ।
शिवशक्तिको स्वरूपमा महिला बायाँ हुन्छ। हाम्रो हृदय पनि बायाँ हुन्छ। त्यही कारण होला तिमी मनबाट सोच्छ्यौ। म हरेक कुरामा तर्क खोज्छु। तिमी प्रत्येकपटक हाँसेर बोल्दा के भन्न खोजेको भनेर अर्थ खोज्छु। तिमी विनाअर्थ माया गर्छौ। प्रत्येकपटक तिम्रो फोन आउँदा, केही भयो कि भनेर आत्तिन्छु। केही ल्याऊ भन्न होला भनेर तर्क खोज्छु। तर, मेरो तर्क, तिम्रो ‘इमोसन’को अगाडि सधैँ असफल भएको छ। मेरो ‘इगो’ तिम्रो ‘केयर’ को अगाडि हारेको छ।
हामी पार्टीमा जाँदा, म कहिल्यै ‘म कस्तो देखिएँ भनेर सोध्दिनँ, सायद पुरुषभित्रको ‘इगो’को कारणले होला। तिमी जस्तो झगडा परे पनि ‘म कस्ती देखिएकी छु’ भनेर सोध्छौ, त्यहाँ तिम्रो ‘इमोसन’ ले काम गर्छ। यो सबै प्राकृतिक नै रहेछन्। हाम्रा धेरै कुरा मिल्दैनन्। त्यही भएर सायद हामी मिल्छौँ। सेतोसँग कालोको सन्तुलन। आगोसँग पानीको सन्तुलन भनेझैँ। एकार्काको फरक कुरालाई हामी स्विकार्छौँ। ‘कम्प्लेन’ होइन ‘कम्प्लिमेन्ट’ गर्छौँ।
श्रीमान् श्रीमतीको सम्बन्ध यसरी नै टिक्छ, सायद।
तिमीबाट नै माया भनेको स्वीकारोक्ति हो भन्ने सिकेको छु। सच्चै, कमजोरीहरूका स्वीकारोक्ति रहेछ प्रेम। सबैका केही राम्रा अनि केही खराब पक्ष हुन्छ। यही बुझ्न सके सम्बन्धहरू टिक्न सक्दा रहेछन्। यसरी नै हाम्रो प्रेम टिकेको छ, है ?
तिम्रा प्रश्नहरू मेरा निम्ति निकै कठिन हुन्छन्, बेलुका के पकाउने ? बेलुका कति बेला आउने ? वा, पार्टीमा के लगाऊ ? मलाई सबैभन्दा गाह्रो लाग्ने प्रश्नहरू हुन् यी। के उत्तर दिने मलाई थाहा हुँदैन। तर, तिमी सोध्न छोड्दिनौ, म टार्न छोड्दिन। हो यसरी नै मजबुत छ हाम्रो सम्बन्ध। हाम्रो प्रेम यस्तै क्रियाकलापभित्र कहीँ कतै लुकेको छ। नत्र प्रेम कसरी देखाउने? प्रेम पनि देखाउने कुरा हो र?
हामी खुसी हुन्छौँ। हामी दुखी हुन्छौँ। हामी सबैभन्दा पहिले रिस एकअर्कामा पोख्छौँ। गाली गर्छौँ। सायद यही भावहरूको मिश्रणलाई प्रेम भनिन्छ। सायद यही भावको प्रस्तुति नै प्रेम रहेछ। अपेक्षा अनि आस्था बिच ‘प्रेम’ कहीँ कतै लुकामारी खेल्दो रहेछ।
म हाम्रो विवाह वर्षगाँठ बिर्सन्छु। जन्मदिन बिर्सन्छु। तिमीले ल्याऊ भनेका कुरा बिर्सन्छु। छोराका लागि चाहिने कुरा बिर्सन्छु। म क्रिकेट अनि फुटबल हेर्दा तिम्रो सिरियल छुट्छ। तिमीले भाडा माँझ्दै गर्दा पानी हालिदिने अपेक्षा, बिहान उठेर ओछ्यान मिलाउने अपेक्षा, आदि। सायद तिमीले बिर्सने छुट दिएकी छौ त्यही भएर बिर्सन्छु। सायद सम्झने तिमी छौ, त्यही भएर बिर्सन्छु। तिमीले गाली गर्छौ, त्यै पनि बिर्सन्छु। सायद तिम्रै गाली सुन्न बिर्सन्छु।
एउटा अध्ययनले प्रत्येक श्रीमानले श्रीमतीलाई दिनको औसत २१ मिनेट गाली गर्ने देखिएको रहेछ। तिम्रो गालीलाई पनि त्यही २१ मिनेटकै स्वरूपमा बुझेको छु। ओच्छ्यान मिलाउदिनँ, घरमा ल्यापटप मात्र चलाउँछु, छोरा हेर्दैन, तिमीले जे भने पनि हुन्छ भन्छु, गर्दिन। बिहान उठेर चिया खुवाएको छैन, तैपनि तिमी खुसी छौ। किनकि सायद हामीले एकअर्काको कमजोरी अनि शक्तिको पहिचान गरेका छौँ त्यसैले हामी खुसी छौँ।
हामी यो बिचमा बुवा आमा बन्यौँ, छोरा-बुहारी भयौँ, छोरी ज्वाई बन्यौँ। कहिलेकाहीँ अरू निकै परिचयसँगै हामी श्रीमान्-श्रीमती बन्न बिर्सियौँ कि जस्तो लाग्छ। त्यै पनि हामी साथी चाहिँ बनिरह्यौँ। साथी छौँ र त, कुनै कुरा शङ्का लागे सोध्न सक्छौँ अनि भन्न सक्छौँ। धेरै सम्बन्धहरू सोध्न अनि भन्न नसकेर टुटेका छन्। तसर्थ, श्रीमान् अनि श्रीमती साथी हुन जरुरी छ। जब मनमा कुरा गुम्सिन्छ तब त्यसले बिस्तारै ज्वालामुखीको रूप लिन थाल्छ, तसर्थ श्रीमान् श्रीमतीले साथी बन्न जरुरी रहेछ। श्रीमतीमा साथी पाउनु भाग्यको कुरा हो। श्रीमतीमा प्रेमिका पाउनु झन् ठुलो कुरा हो। मैले त तिमीमै साथी अनि प्रेमिका पाएको छु। त्यसैले त म मेरो काममा चुर्लुम्म डुब्न पाएको छु। सबै कुरा बिर्सिएर काम गर्न पाएको छु। हाम्रो जीवन अगाडि बढाउन पाएको छु।
मेरो सफलता अनि असफलता, तिम्रा लागि माने राख्दैनन्। तिम्रो लागि म माने राख्छु अनि मेरो लागि तिमी। तिमीले मेरा निम्ति तिम्रा सपना मारेकी छौ, तिम्रा सपना मर्दा विश्वास गर तिमीलाई भन्दा बढी पिडा मलाई भएको छ। एक दिन ती सपनाहरू तिम्रा झोलीमा ल्याएर राख्ने सपना बोकेको छु। तिम्रो सफलताको कारक अनि समर्थक बन्ने लक्ष्य बुनेको छु। जिन्दगीको यात्रा लामो छ। बुढेसकालसम्मको यात्रामा पुगेर कुनै दिन फर्केर हेर्दा ‘क्या जिन्दगी बाँचियो’ भनेर देखाउने सपना छ। तिमीलाई हँसाउने सपना छ। तिम्रो हात समातेर जिन्दगीको त्यो मोडसम्म पुग्ने उद्देश्य छ।
श्रीमान्-श्रीमतीको सम्बन्ध, दुईवटा खुट्टाजस्तो हुँदो रहेछ। एउटा खुट्टा अघि बढ्दा, अर्को पछाडि नै रहँदा पनि खुसी रहने अनि अगाडिको खुट्टा रोकिँदा पछाडिको खुट्टा अगाडि बढ्ने। जीवन यही यात्रा रहेछ। तिमी अनि म यात्री। सहयात्री। यात्रामा तिम्रो साथ छ र त मलाई म यो दुनियाँ नै जित्न सक्छुजस्तो लाग्छ। अनि, तिम्रै साथ छ र त म यो समाज बदल्न सक्छु भनेर हिँड्न सकेको छु।
दुईवटा कुरा सँगै पत्र सक्न चाहन्छु। पहिलो, तिमी माइती जाने भन्यौ भने किन हो मलाई त्यसै रिस उठ्छ। किन थाहा छैन। तर, तिमी माइती नजाओस्, मेरै वरिपरि बसोस्, मेरो हेरचाह गरोस्, माया गरोस् भन्ने झैँ लाग्छ। त्यसैले, हो की तिमी माइती जाने भन्नेबित्तिकै म झनक्क हुने।
अनि अर्को कुरा, मलाई तिमीसँग जहिल्यै सपिङ जान गाह्रो हुन्छ। दिनभरि घुमेर केही नकिनी पसलेलाई अनि मलाई नै उल्टै गाली गर्दै फर्कन्छौ। यो बानीको केही उपाय निकालौं न? अनि अँ अर्को कुरा, हाम्रो सानो छोरालाई म कहिले घर आउँछु भनेर फोन गर्न लगाएर सोधेको मलाई निकै मन पर्छ।
व्रत बसेर मेरो आयु अनि हाम्रो परिवारको स्वास्थको कामना गर्न सक्ने तिम्रो आस्थालाई नमन।
राम्रो श्रीमान् बन्ने कोसिसमा सधैँ रहनेछु। धेरै धेरै माया।