‘अब यो पटक त पञ्चमीका दिन नुहाउन जानुपर्छ,’ आमाको यो वाक्य सुन्दै मेरा शरीरका रौं ठाडा भए।
पञ्चगव्य लिएर जाने बेलासम्म नुहाउन पर्दैनथ्यो। अरू काम्दै-काम्दै नुहाएको ढुंगामाथि बसेर मजाले नियाल्थेँ। पञ्चमी नुहाएर चोखिनेका लागि रजस्वला नभएकी केटीहरूले लैजाने 'शुद्ध पानी- पञ्चगव्य' बोकेर म धेरैपटक खोला गएकी छु। महिलाहरूले पञ्चगव्य खाएपछि पैसा पनि दिन्थे। म त्यही हिसाब गर्थेँ। स्कुलमा कति दिनलाई खाजा पुग्छ!
मेरो हातबाट फुत्केर एउटा मोहोर ढुंगाको सीमा पार गरेर खोला छेउमा मिसिन्थ्यो। म जामा भिजाउँदै त्यसकै पछि लाग्थेँ। खहरेको भेलले मोहोर मात्रै होइन, मलाई पनि सुँइकाइदिने। आमाले माथिबाट चिच्याएपछि म मोहोरको माया मार्थेँ।
'नछुने' भएको वर्ष म आमासँग खोलामा नुहाउन गएँ। जान मन थिएन। आमाले भनेजस्तो मैले 'नछुने' हुँदा कसैलाई छोएर पाप त गरेकी छैन। सकेसम्म स्कुलमा पनि केटा र सरहरूलाई छुन्नँ।
म किन जानु? गर्दै नगरेको पाप किन कटाउनु? मैले कसैलाई 'छोएर' गरेको पापको प्रमाण के?
म आमासँग जान्नँ भन्दै कचकच गरिरहन्थेँ।
'गाउँ-समाज सबैको अगाडि मैले यो कर्म गर्नै पर्छ' आमाको करकर।
'सबैका छोरीले त्यसै गर्छन्। छोएर मात्रै पाप हुने हो र? कति कुरा खानु हुन्न। देवीदेवताको थान भएको बाटो हिँड्न पनि हुन्न।'
आमाका कुरा सुनेर मेरो केटाकेटी मस्तिष्क चन्द्र भगवानको छेउ पुग्थ्यो। उहाँले प्रत्येक दिन पूजा गर्ने चन्द्र, सूर्य भगवान मुनि त म सधैँ 'नछुने' हुँदा हिँड्न पर्छ। म के पाप गरिरहेकी छु मलाई थाहा छैन। तर सबैका अगाडि 'नछुने' भएपछि म पापी भइरहेकी थिएँ।
म पहिलो वर्ष पञ्चमी नुवाउन आमासँगै खोलामा गएँ। आमाले माया गरेर सबै प्रक्रिया सिकाउनुभयो। छेउमै राखेर 'यसो गर, उसो गर' भन्नुभयो। अरु त ठिकै हो तर सबै आमा, सानीआमा-ठूलीआमा र दिदीहरूका अगाडि त्यसरी गुप्ताङ्ग पखाल्दा भने मैले अर्काे पटकदेखि पञ्चमी नुहाउन नजाने संकल्प गरेकी थिएँ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी महिलाहरूले महान चाड मान्छन्। त्यसो त ऋषिपञ्चमी रजस्वला हुँदा भएको छोइछिटोको पापबाट मुक्ति मिल्ने पर्व मानिन्छ। यस पर्वमा सप्तर्षी र अरून्धतीको पूजा गर्ने परम्परा छ।
पञ्चमीका दिन बिहानै हिन्दू महिलाहरूले ननुहाईकन घरको काम गर्नु हुँदैन भन्ने मान्यता पनि कतैकतै भेटिन्छ। यस दिन वैदिक सनातन हिन्दू धर्माबलम्वी महिलाहरूले खोला, नदी ताल-तलैया र पोखरीमा गएर दतिवनले दाँत माझ्छन्। तुलसी रोपेको माटो, हात्तीको पाउ परेको माटो, गाईको गोबर, कमलकोटी कीराले बनाएको गुँडको माटो, दतिवन, बाँस, सिरु, अदुवा र उखुको पात, भिरिङ्गी झार, अमलबुटी, धानको बिउ लगायत सामग्री चाहिन्छ।
त्यसो त पञ्चमीका बेला खोला बढेको र धमिलो हुन्छ। खहरे वेगले दौडिरहेको हुन्छ। सारा गाउँभरिका महिला खोलाको वारि र पारि भरिएका हुन्छन्। पञ्चमीका दिन खोलामा सहज ठाउँ खोज्ने महिलाको तँ छाड म छाड नै हुन्छ। सहज ठाउँ नपाइएको खण्डमा विधिमुताविक पञ्चमी नुवाउन नपाइनेमा सबैलाई अघिल्लै रातदेखि डर हुन्छ।
वर्षभरिको 'पाप' पखाल्न सबै विधि ३ सय ६५ पटक गर्ने चलन छ। कहीँकहीँ छोट्याएर २१ पटक गर्दै आएका छन्।
सर्वप्रथम महिलाहरूले एकसरो जिउ पखालेर दतिवन विधितर्फ लाग्छन्।
तुलसी, गोबर, हात्तीको पाउको र कमलकोटीको माटो र ढुंगालाई पात-पातमा आफ्नो वरिपरि राख्छन्। प्रत्येक माटोले सके ३ सय ६५ पटक, नसके २१ पटक खुट्टाको औँला, घुँडा, गुप्ताङ्ग, कुम र शिरमा लगाएर त्यति नै पटक पानीले पखाल्ने चलन छ।
यसरी माटोले पाउदेखि शिरसम्मका अंगहरूको शुद्धीकरण पछि मात्र दतिवन खाने चलन छ। दतिवन दुवैतिर आँख्ला भएको हुनुपर्छ। प्रत्येक दतिवनलाई दाँतमा लगाएर गन्दै दुवै आँख्ला फोडेर मात्र नदीमा बगाउने चलन छ। यसरी खाएर नदीमा बगाएको दतिवन कतै गएर सर्यो र हुर्क्यो भने आफूलाई पाप लाग्ने महिलाहरू बताउँछन्।
दतिवन प्रक्रिया पूरा भएपछि विभिन्न वनस्पतिका पातलाई सुनसहित चाल्नामा राखेर नदीको मझधारमा गई तामाको अम्खोराले पानी राखी नुवाउने चलन छ।
नुवाइसकेपछि कन्या केटीले (जो रजस्वला भएकी छैनन्) लगेको गाईको दूध, दही, घिउ, गहुँत, गोबर र जौतील राखेर मन्तरेर लगेको शुद्ध पञ्चगव्य खान्छन्। कन्या केटीले यसरी शुद्ध भएका महिलालाई निधारमा रातो टीका लगाइदिन्छन्। नुहाएका महिलाले पनि कन्यालाई रातो टीका लगाइदिई दक्षिणासमेत दिन्छन्।
दतिवन खाने र पानीमा बस्नुपर्ने प्रक्रिया ज्यादै लामो भएकाले कतिपय अशक्त महिलाहरू चिसो पानीले कठ्याङ्ग्रिएर बिरामी पर्छन्। पञ्चमी विधिविधान पूरा गर्न नपाएको थकथकी मान्छन्। कतिलाई खोलाबाटै अस्पतालको बेडसम्म पुर्यायाउन परेका घटना पनि छन्।
बिहानै उठी खोलामा गई
हामी पनि गरम्ला देवतीको ध्यान ।
× × ×
पञ्चमी पूजा लाम्ला पो भन्थे
बाबा जानू भयो नेपाल ।
फूलपाती टिपी राखूँ पो भने
सुकी र ओइलाइ गैजाला ।
चन्दनै घोटी राखूँ पो भने
सुकी र ओइलाइ गैजाला ।
के हुनन् बाका दरिबारे ढोका
के हुनन् बाबा नेपाल ।
दरिबारे ढोका पञ्चमी पूजा को लाउला ?
(हरिकला शर्मा)
यसरी शद्ध भएका महिलाले रातो लुगा लगाएर पञ्चमी गीत गाउँदै नदीदेखि घर फर्कन्छन्। त्यस्ता गीतमा महिलाका वेदना र सिङ्गो राष्ट्रका दुःख र पीडा पाइन्छन्। त्यसपछि मात्र पञ्चमी पूजा लगाउने चलन छ।
पञ्चमीका दिन महिलाहरू बिहानभरि माटो, वनस्पति, सुन र पानीसँग रजस्वला पाप कटाउन सङ्घर्ष गरिरहेका हुन्छन्। दिनभरि भोकै बसेर व्रत बसी पापमोचन गरिरहेका हुन्छन्।
सानो हुँदा त पञ्चगव्य लिएर खोला गइन्थ्यो। अब नुहाउन पर्ने भएपछि म खोला नै जान छाडेँ। त्यसपछि म पञ्चमी नुहाउन र पूजा गर्न कहिल्यै तयार भइनँ। आजसम्म पनि। कुनै कुनै पञ्चमीमा रजस्वला भएको भनेर ढाँटेँ। अलि ठूली भएपछि विचारले जितेँ। पाप नै नगरीकन कोही पापको दोष लिन्छ? गाउँमा सबै आमा, दिदीहरू मेरो कुरा सुनेर अचम्म पर्नुहुन्थ्यो।
खोलामा नगएपछि नाचगान पनि मेरा लागि टाढा हुँदै गयो। पञ्चमी ननुहाएका तर रजस्वला भएका महिला पूजा गरेको ठाउँमा समेत जान नपाइने। मेरा लागि त राम्रै भयो। घरमै बसेर आमाका लागि खाना, खाजा तयार गर्थेँ।
दिनभर व्रत बसेपछि साँझ आमाका गोडा फर्कन्थे। भोकले गोडा फर्केका भन्ने थाहा भएपछि आमालाई समेत भोको बस्न दिन्नथेँ। पूजाबाट फर्केपछि खाना खान कर गर्थेँ। आमाले पनि कुनै नाइनास्ति गर्नु भएन। त्यसपछि खुसी हुँदै गाउँमा गाउन म पनि आमासँगै लाग्थेँ।
एउटा श्रृष्टि चक्रको आरम्भलाई नै पाप ठान्ने परम्परा मलाई कहिल्यै मन परेन। म त रजस्वलालाई महिलाले मनाउनु पर्ने सबभन्दा ठूलो उत्सव सम्झन्छु। आमाको परिकल्पना त्यति बेला हुन्छ जतिबेला छोरी रजस्वला हुन्छिन्। रजस्वला पछि विवाह योग्य मानिने चलन पनि हाम्रो समाजमा कायम नै छ। हामी हाम्रो प्रकृति विरूद्धका संस्कारको पक्षपोषण गर्दै किन हिँड्छौं?
मैले त रजस्वलालाई जीवनकै मीठो अनुभूति मानेकी छु। रजस्वला चक्रको बीचतिर हुने मानसिक तनाव पनि रजस्वला भएपछि कस्तो शान्त हुन्छ। म अरु समयभन्दा रजस्वला भएको समयमा शरीरको अझै बढी ख्याल गर्छु। रजस्वला भएकोमा गर्वानुभूति हुन्छ। यो अनुभूतिलाई म कसरी पाप भनूँ?
(लेखक शर्मा त्रिभुवन विश्वविद्यालयमा लोक-साहित्यमा विद्यावारिधि गर्दैछिन्।)