बौद्ध र हिन्दु धर्ममा कुनै पवित्र तीर्थस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई 'कोरा' भनिन्छ। मानसरोवर र कैलाश पर्वत कोरा गर्नु बौद्ध र हिन्दु धर्मावलम्बीका लागि जीवनकै ठूलो सपना हुन्छ।
हाम्रो यो कोरा काठमाडौं उपत्यकाको हो। त्यो पनि साइकलमा।
'काठमाडौं कोरा साइकल च्यालेन्ज' मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरु स्वयम्भू, खास्ती चैत्य (बौद्ध स्तुप) र पशुपतिनाथ परिक्रमा गरिन्छ।
यो साइकल यात्रा सन् २०११ बाट हरेक वर्ष आयोजना गरिँदै आएको छ। यसमा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहको साइकल यात्रा हुन्छ। पचास किलोमिटरमा नयाँ साइक्लिस्ट बढी सहभागी हुन्छन्। दोस्रो र तेस्रो तहमा प्रोफेसनल राइडरले भाग लिन्छन्।
पाटन दरबारबाट सुरु हुने यात्राको रुटमा कीर्तिपुर, चोभार, नैकाप, स्युचाटार, स्वयम्भू पछाडि हुँदै नागार्जुन जंगल पुगिन्छ। त्यहाँ छेउछाउका बस्ती घुम्दै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध पुगिन्छ। समता स्कुलमा खाना र खाजा खाइन्छ। फेरि पशुपति पछाडिबाट गुह्येश्वरी, सिनामंगल, एयरपोर्ट, जडिबुटी, कोटेश्वर हुँदै पुन: पाटन दरबारमा पुगेर यात्रा टुंगिन्छ।
यो रुटमा काठमाडौं सेरोफेरोका बस्तीभित्रका बाटा, गल्लीहरू हेर्न पाइन्छ। हरेक वर्ष यो यात्रामा सहभागी हुँदै गर्दा ती बस्ती घना हुँदै गरेको देख्न सकिन्छ।
सन् २०११ देखि हुँदै आएको यो कार्यक्रमको प्रमुख उद्देश्य सहरलाई साइकलसँग जोड्नु र कुनै सामाजिक कार्यका लागि रकम उठाउनु हो।
यसरी काठमाडौं उपत्यकामा साइकल अभियानसँगै कयौं साइकल र्याली, राइड, टुर, प्रतियोगिता हुने गरेका छन्। त्यसमध्ये तीन-चार वर्षदेखि साइकलसम्बन्धी कार्यक्रम यति धेरै हुने गरेका छन्, विश्वमा साइकल कार्यक्रम हुने सहरमध्ये एसियामा काठमाडौं अग्रपङ्क्तिमै पर्छ।
विभिन्न साइकल तथा वातावरणसम्बन्धी संस्थाहरूले यस्ता कार्यक्रम गर्छन्। यी कार्यक्रमले उपत्यकामा सामाजिक सक्रियता धेरथोर बढाउने गरेको छ। यी कार्यक्रममध्ये 'काठमाडौं कोरा साइक्लिङ च्यालेन्ज' मा बृहत् सहभागिता हुन्छ।
यो कुनै प्रतियोगिता नभएर सामूहिक रूपमा बृहत् साइकल यात्रा गर्नु हो। यसमा माउन्टेन बाइकरहरूको बाहुल्य रहे पनि साधारण साइकल चलाउनेलाई समेत सहभागी गराउनु राम्रो हुन्छ। ह्विलचेयर यात्रीलाई सजिलो र सुरक्षित रुट तयार गरी समाहित गर्दै लैजाने प्रयास पनि गर्नुपर्छ। यसका लागि छुट्टै तयारी र स्रोतसाधन चाहिन्छ। त्यसको निम्ति सबैले आफ्नो तर्फबाट कोशिस गर्नुपर्छ।
काठमाडौं उपत्यका ट्राफिक समस्या र धुलोधुवाँसँग जुधिरहेको अवस्थामा काठमाडौं कोराले वातवरणमैत्री साइकल अभियानलाई प्रवर्द्धन गर्न खोजेको छ। यसलाई मनोरञ्जनमा मात्र सीमित पारिनु हुन्न। वर्षको एकदिन साइकल यात्रा गरेर बाँकी दिन पेट्रोल-डिजेल गाडीलाई बढावा दिनु उचित हुन सक्दैन।
हामी कोरामा सहभागी हुने साइक्लिस्टहरू सधैंजसो साइकल प्रयोग गर्न खोज्छौं। यसको निम्ति साइकल लेन निर्माण र सहरलाई साइकलमैत्री बनाउनुपर्छ भन्ने हाम्रो अभियान छ। कोरामा सहभागी हुने २५ सय, तीन हजार साइक्लिस्ट काठमाडौंलाई साइकल सहर बनाउने अभियानलाई अझ सशक्त ढंगमा अघि बढाउन चाहन्छन्।
यति मात्र होइन, काठमाडौं उपत्यकालाई साइकलमार्फत् जीवन्त, सहज र सजीव राख्नु पनि हाम्रो उद्देश्य हो।
यो कार्यक्रम कसरी सुरू भयो त?
सन् २०११ मा 'सोसल टुर' र 'बाइक चेन' ले दुई जना १६ वर्षे युवा शशांक लामा र मेक्सिम जोनबाट यो यात्रा सुरु गरेका थिए। त्यस बेला ३५ जना युवा सहभागी भए। लगभग ५ लाख रुपैयाँ सहयोग जुट्यो। उक्त रकम काठमाडौंकै एउटा स्कुल र अनाथालयलाई दान गरिएको थियो।
त्यसयता हरेक वर्ष कार्यक्रमका सहभागी र सहयोग रकम बढ्दै गएको छ। भुइँचालो गएको वर्ष लगभग तीन हजार जनाले यसमा उत्साहपूर्वक भाग लिए। भुइँचालोले भत्केका मन्दिर र बस्तीबीच पनि यात्रा बेजोड, विशेष र रोचक थियो।
यसपल्ट नेपाल माउन्टेन बाइक च्याम्पियन स्वर्गीय नारायण गोपाल महर्जनको परिवार निम्ति आर्थिक सहयोग जुटाउनु यो यात्राको उद्देश्य थियो। गएको जुन १२ मा श्रीलंकामा भएको 'रम्बल इन जंगल' अन्तर्राष्ट्रिय साइकल च्याम्पियनसिपमा भाग लिँदा नदीमा डुबेर उनको मृत्यु भएको थियो।
मृदुभाषी र हंसमुख महर्जनलाई श्रद्धाञ्जलीस्वरुप 'काठमाडौं कोरा साइकल च्यालेन्ज' को पोखरा, हेटौंडा, बुटवल र धरान संस्करण त्यहाँका साइकल समुदायले पहिलोपटक सुरु गरे।
गत साउन ५ गते शनिबार बिहान ७:३० मा पाटन, हेटौंडा, बुटवल र धरानमा एकैपटक यो यात्रा भएको थियो। साइकल अभियन्ता उत्तम मानन्धरको संयोजकत्वमा ३५ जना साइकल यात्री काठमाडौंदेखि साइकल चलाएर चन्द्रागिरि डाँडा हुँदै चित्लाङ, कुलेखानी, देउराली, भिमफेदी नाघेर हेटौंडा पुगेका थिए।
हेटौंडा, धरान, बुटवल र पोखराको साइकल यात्राबाट उठेको रकम स्वर्गीय महर्जन परिवारलाई हस्तान्तरण गरिएको छ।
अन्तर्यमा कोराको भावार्थ जसरी आत्मालाई आध्यात्मिक उचाइसँग जोड्नु हो, 'कोरा साइकलिङ' को भावना पनि साइकलका माध्यमबाट देश, सहर, समाज र व्यक्तिलाई जोड्नु हो। यसले सहर र सरकारलाई साइकलमैत्री, ह्विलचेयरमैत्री हुन झक्झकाइ रहनेछ।
आउनुस्, तपाईंहरू पनि आउँदो वर्ष कोरामा सहभागी हुन साइकल चलाउन सुरु गर्नुस्। यो अभियानमा जोडिनुस्। र, काठमाडौं उपत्यकालाई साइकलमैत्री, पैदलमैत्री, ह्विलचेयरमैत्री, अपांगतामैत्री र बालबालिकामैत्री बनाउन आवाज उठाऔं।
हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?
आफ्ना बच्चाहरूका लागि धुवाँधूलोरहित स्वस्थ वायु, दुर्घटनामुक्त, ट्राफिक समस्यारहित सडक, सहर र समाज निर्माणमा लगानी गरौं, श्रम, समय र विचारको।
(लेखक साइकल अभियन्ता हुन्।)
तस्बिरहरू: काठमाडौं कोरा साइकल च्यालेन्जको फेसबुक