सत्तारूढ दल नेकपा पछिल्लो समय निकै आलोचित बनेको छ। वाइडवडी प्रकरण होस् अथवा निर्मला हत्याकाण्डलगायत चिकित्सा शिक्षा विधेयक, सुनकाण्ड, एनसेलको कर काण्ड, प्रदेश नं. ५ को ५२ लाख घोटला, भेनेजुयलाको बारेमा जारी वक्तव्य र कर्मचारी समायोजन।
यी र यस्तै घट्ना परिघटनामा थुप्रै आलोचना खेप्न बाध्य भएको छ।
वाइड बडी प्रकरणले पनि सडक र सदनमा चर्चा पायो। यसलाई प्रतिपक्ष नेपाली कांग्रेसले पनि सडकदेखि सदनसम्म ततायो र तर त्यसको कुनै खास निर्क्यौल आउन सकेन भनौं अथवा दोषी न त पत्ता लागे न त प्रयास नै गरियो।
त्यस्तै, चिकित्सा शिक्षा विधेयक पनि डा. गोविन्द केसीले चिकित्सा शिक्षा सर्वसुलभ हुनुपर्छ भनी अनसन गरिरहँदा नेपाली कांग्रेसले गोविन्द केसीको सहयात्री भएर आन्दोलनमार्फत् कुराको उठान गरे। त्यसमा पनि सरकारले धरपकड गरेर नै विधेयक पारित गर्यो। त्यस्तै एनसेल प्रकरणमा पनि परमादेश जारी भएको छ।
अब आयो अर्को महत्त्वपूर्ण कुरा भेनेजुयलाको प्रेस वक्तव्यका बारेमा।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि वैदेशिक कुटनीतिक सम्बन्ध नभएको देशको पक्ष लिएर सुख र दुःखमा सधैं साथ दिइरहने राष्ट्र अमेरिकालाई चिढाउने गरी वक्तव्य जारी गर्यो।
एउटा अधिनायकत्वको भावना मिलेकै कारण अधिनायक शैलीका मडुरोका पक्षमा वक्तव्य जारी गरिनुले प्रचण्ड अपरिपक्व राजनीतिको शिकार हुन पुगेका छन्। यस्तो अपरिपक्वताले पञ्चशीलताको सिद्धान्तमा टिकेको नेपालले शक्ति राष्ट्रहरूको संघर्षका बीचमा खेलिने भूमिकाले वैदेशिक चिसोपना बढ्ने र लगानीका बाटाहरू पनि बन्द हुने सम्भावना रहन्छ। वैदेशिक कुटनीतिमा आफैं असफल राष्ट्र नेपालले यस्ता उच्छृङ्खल वक्तव्यहरू जारी गर्यो भने दिर्घकालीन रूपमा विकासको स्तरोन्नतिको बाटोमा रहेको नेपालका लागि शुभ लक्षण होइनन् । यस्तो कृयाकलाप कसैबाट पनि हुनु हुन्न। भैहालेछ भने पनि सम्बन्ध सुधारमा जानु बेश रहन्छ।
माघ २३ गते कर्मचारी समायोजन अन्तर्गत उपसचिवहरूको समायोजन सकिएको छ। कर्मचारी समायोजन गर्दा कम्प्युटर सफ्टवेयरले आफैं रेन्किङ गरेर सूची तयार गर्ने कुरा लालबाबु पण्डितले विश्वास दिलाएका थिए । र, एउटा जनताको प्रतिनिधले बोलेका कुराको विश्वास पनि गर्नै पर्यो । तर, त्यो कुरा पनि उपसचिवहरूको समायोजनले विश्वास गर्न लायक देखिएन । बोल्ने कुरा र कार्यान्वयन शैलीमा धेरै भिन्नता रहेको छ।
यदि लालबाबु पण्डितले भने जस्तै कम्प्युटर सफ्टवेयरले आफैं काम गर्छ भन्ने तर्कमा यहाँ उदाहरणसहित प्रष्ट पार्न चाहन्छु।
कुनै पनि सफ्टवेयरमा अनलाइन डाटाहरू भरिसकेपश्चात् सफ्टवेयरले रिजल्टका रूपमा आउटपुट दिन्छ। जसरी हामीले मोबाइलमा रिचार्ज गर्दा तुरुन्तै रिचार्ज हुन्छ र म्यासेज पनि दिन्छ। त्यस्तै प्रकारले विभिन्न व्यवसायिक सफ्टवेयर तथा वित्तीय संस्थाहरूमा प्रयोग हुने सफ्टवेयर पनि अनलाइन डाटा इन्ट्री गर्ने वित्तिक्कै आउटपुट दिइहाल्छ। त्यसैकारण समायोजनको फाराम भरिसकेपश्चात् आपसेआप कर्मचारी समायोजनको सूची तयार हुनुपर्दथ्यो। यसमा भैइरहेको ढिलाइ र उपसचिव पदको समायोजनबाट धाँधली भैरहेको प्रष्ट भइरहेको छ। ठूला कर्मचारीहरूलाई उनको माग अनुसार र तल्लोस्तरका कर्मचारीहरूलाई अनुकूल र प्रतिकूलको अवस्थाबाट समायोजनको लेखाजोखा हुने संकेत देखिएका छन्। यसो गर्नाले सरकारको कर्मचारीप्रतिको व्यवहारमा पनि शंका लागिरहेको छ।
यसरी चौतर्फी रूपमा बोल्ने र कार्यसम्पादनमा भिन्नता देखिएको छ। यसले सरकारले गर्ने हरेक निर्णयहरू र कार्यसम्पादन फितलो भैरहेका छन्। प्रधानमन्त्री जस्तै उनका मन्त्रीहरूको रवैयामा पनि कमी छैन। त्यसकारण बहुमतको सरकारभित्र भ्रष्टाचार र झूटतन्त्रको व्यापक आलोचना भैरहेको छ।
नेकपा सरकार आन्तरिक मामिला लगायत वैदेशिक कूटनीतिमा समेत चुकिसकेको छ। यस्तो बहुमतको शक्तिशाली सरकारले विकासको लहर ल्याउनको सट्टा जताततै अन्याय, अत्याचार र भ्रष्टाचारमा रुमलिरहेको छ।
यो सरकार विकासको बाटो बनाउन होइन बुटिक बनाउनमा उद्दत छ। यी कृयाकलापहरूले बहुमतको साख गुमाएको छ र झूटतन्त्रभित्रको आलोचना खेप्न बाध्य भएको छ ।
बहुमतको शक्तिशाली सरकार बन्नु भन्दा पूर्वनिर्वाचनको पूर्वसन्ध्यामा नेपाली मतदातासामू आफूहरूले कहिले पनि सरकारमा बसेर निर्णय गर्न नपाएकोले देशको विकास गर्न सकेनौं। यसको बाधक नेपाली कांग्रेस भन्नसम्म छोडेका थिएनन्। तर, ठीक अहिले नेपाली कांग्रेस सरकारको प्रतिपक्षमा रहेको छ। र अहिले नेकपा सरकारको नारा परिवर्तन भएको छ। नेपाली कांग्रेसले काम गर्न दिएको छैन भन्ने। तर, यस्तो झूटतन्त्रले नेकपाले आफ्नो विश्वास आफैं गुमाएको छ।
यस्तो विभिन्न आरोप र प्रत्यारोपका बीच रुमलिएको नेकपा सरकार चलिरहँदा नेपाली कांग्रेसले पनि नेपालको स्वाधीनताका रक्षा र समृद्धिको लागि एउटा गन्तव्यसहितको यात्रा तय गर्नुपर्ने बेला आएको छ।
जसरी नेपाली कांग्रेसले २०६२/०६३ को आन्दोलनमा राजा ज्ञानेन्द्रबाट अपहरित संसदीय व्यवस्थाको पुर्नवहाली, राष्ट्र र लोकतन्त्रलाई बचाउनका लागि गन्तव्यसहित यात्रा तय गरेर आन्दोलन गरेर सुरक्षित अवतरण गरेको थियो।
त्यसैगरी, अहिले पनि जुन एउटा अधिनायकवादीहरूको अर्कमण्यता चलिरहेको छ, देशको आर्थिक अवस्था कमजोर भैरहेको छ, दण्डहीनता मौलाएको छ, भ्रष्टाचारले प्रशय पाएको छ।
यसमा कांग्रेसले लोकतन्त्र बचाउन सरकारलाई प्रतिपक्षको हैसियतबाट लगाम लाउनै पर्छ।
जब कुनै पनि देश वितरणमुखी आर्थिक प्रणालीबाट अगाडि बढेको हुन्छ त्यो देश आर्थिक रूपमा टाँट पल्टिन्छ। खनिज, खानी, तेल र ग्यासका रूपमा शक्तिशाली राष्ट्रका रूपमा परिचय भएको भेनेजुयला अहिले आर्थिक रूपमा टाट पल्टिएर देशका पचास लाख जनता शरणार्थी बन्न पुगेका छन्। अहिले विदेशी हस्तक्षेप बढेको छ। शक्तिराष्ट्रहरूको संघर्ष यही हो जसरी रुसमा युक्रेन विलय हुन पुग्यो।
यसकारण नेपाली कांग्रेसले समग्र राष्ट्रहितको लागि सोच्ने बेला आएको छ। कमजोरी मानसिकता लिएर आलोचना खेप्ने बेला होइन। नागरिकको हक अधिकार र राष्ट्रहितलाई सर्वोपरी ठानी व्यापक विश्लेषण र बहसका माध्यमबाट रचनात्मक प्रतिपक्षको भूमिकामा र आफ्नो गन्तव्य जनतासामू छर्लंग पार्न सक्नुपर्छ।
देशका ७५३ वटा स्थानीय सरकारमध्ये नेपाली कांग्रेस पनि हाराहारीमा छ। जनताको सबभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो। सबभन्दा बढी सेवा सुविधा लिनुपर्ने ठाउँ भनेका पनि स्थानीय सरकार नै हो र जनताको नजिकको पहुँच हुने सरकार पनि स्थानीय नै हो।
यसर्थ नेपाली कांग्रेसले केन्द्रीय सरकारको बृहत विरोध र्याली गर्दैगर्दा आफू मातहतका जितेका प्रतिनिधि र बनेका स्थानीय सरकारहरूको कार्यसम्पादन ठीक छ कि छैन यस बारेमा सोच्न पनि जरूरी देखिन्छ र यसले आन्दोलनको औचित्यता पनि प्रष्ट पार्छ।
यदि आफू, आफू निकटका प्रतिनिधि र पात्रहरूको कार्यसम्पादनको स्थान ठीक छैन भने त्यहीबाट आवाज उठाउन र सुर्धान सकिएन भने विश्वास गर्ने ठाँउ रहँदैन। त्यसकारण नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले अबको गन्तव्यका बारे सबै तह र तप्कामा व्यापक चेतना जगाई कार्यसम्पादनमा कडाइ गर्नुका साथै शक्तिशाली बहुमतको सरकारले गरिरहेको कार्यसम्पादनका बारेमा पनि अनियन्त्रित हुनु दिनु हुँदैन। यो नेपाली कांग्रेसको राष्ट्रमोह र जिम्मेवारी हुनुपर्दछ।
झूटको खेती र भ्रमको पुलिन्दाबाट गुज्रिरहेको नेकपा सरकारका बारेमा सडकमा बहस र सदनमा लोकतन्त्रको लगाम लगाएर अगाडि बढ्यो भने मात्र देश जोगिने र जनता सुखी हुने हुन् नत्र भने जुन जोगी आए पनि कानै चिरिएको भन्न बाध्य हुनेछन् स्वाभिमानी नेपाली जनता।