विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले गत वर्ष हरितालिका तीज बेला सेतोपाटी अनलाइनमा लेखेको लेख हिजो उहाँले फेरि सेयर गर्नुभयो। उहाँले आफ्नी श्रीमतीका नाममा लेखेको प्रेमपत्र पढेपछि मलाई लागेका केही कुरा:
मिलनजी !
तीजको दिन बिहान नौ बज्दै थियो। फेसबुकको भित्तामा तपाईंको तस्वीरसहितको लिंक देखापर्यो। सधैंजस्तो तपाईंको लेखनकी पाठक म, स्वाभाविक थियो तपाईंलाई पढ्नु ‘तीजमा व्रत बसेकी श्रीमतीलाई प्रेमपत्र’।
वाह, शीर्षक नै मीठो! पढ्न सुरू गरेँ। मेरो उत्साहको पारो दसौं अनुच्छेदमा पुग्दा घटिगयो।
नेपाली राजनीतिमा विकल्पका रूपमा आफूलाई दाबी गरिरहेको तपाईं आवद्ध विवेकशील नेपालीको स्थापनादेखि यसलाई चासोका साथ हेरिरहेकी छु। देशमा अझै एउटा सार्थक परिवर्तनको खाँचो छ। त्यो परिवर्तन राजनीतिले नै गर्छ। आजसम्म अभ्यास गरेको राजनीतिले नगरेपछि वैकल्पिक राजनीतिप्रति आम जनमानसको चासो तथा झुकाव बढेको सत्य हो। म पनि त्यही आम सर्वसाधारणको हारमा उभिएकी सर्वसाधारण हुँ।
मिलनजी !
लागेको थियो, नेपाली राजनीतिमा उदाउँदै गरेको यो राजनीतिक शक्ति जसले विकल्पको अभ्यास आफू उभिएकै जगमा गरिरहेछ। यो जग भनेको परिवार हो। परिवारमा जिम्मेवारीको समुचित बाँडफाँड हो। लागेको थियो तपाईं आबद्ध दलका सदस्यहरू आफू परिवर्तन भएर परिवर्तन गर्न लाग्नुभएको हो। यो देशको ठूलो हिस्साले आँखा बिछ्याएर प्रतीक्षा गरेको त्यो शक्तिले पनि हिस्स पार्यो भने यो नेपाली जाति अर्को के आशमा झुन्डिएला ?? त्यो तमाम ठूलो हिस्साकी एक अंश म बडो सोचमग्न छु।
मिलनजी !
पत्र पढ्न सुरू गर्दा लागेको थियो, केही त्यस्ता दृश्य पनि वर्णन होला जहाँ आफ्नी प्रियाले लुगा पखालिरहँदा तपाईं लुगा मिचिरहनू होस्! अञ्जनाजीले छोराको टिफिन बनाइरहँदा तपाईं उसलाई स्कुल ड्रेसमा तयार गरिरहनुहोस्...यस्तै...। तर, तपाईं भनिदिनुहुन्छ कि– म ‘कम्प्लेन’ बढी गर्छु, तिमी ‘कम्प्रमाइज’ बढी गर्छौ जस्तो लाग्छ। अझ भन्नुहुन्छ– सायद यही भएर हाम्रो प्रेम सन्तुलित छ। ओहो! यहीँनेर म खर्ल्यामखुर्लुम्म झरेकी छु मिलनजी !
लागेको थियो तपाईंले पनि श्रीमतीसँगै व्रत लिनुभएको पो छ कि! तपाईं त ती खिरिली पातली अञ्जनाले निराहार, निर्जल लिएको व्रतमा आफ्नो स्वस्थ जीवन र लामो आयुको पो कामना गरिरहनुभएको रहेछ। केही अनुमान, केही भ्रम तोडिएकै राम्रो सायद !
पत्नीको पल्लामा सम्झौता थोपरेपछि प्रेम कसरी सन्तुलित हुन्छ? र, यस्तो सन्तुलनले हाम्रै पालामा सम्वृद्धिको ढोका खोल्छ भन्ने कुरामा कसरी विश्वास गर्ने? म छक्क परिरहेकी छु।
तपाईंसहितको समूह तत्कालीन विवेकशील साझा पार्टीसँग असहमत हुँदै गत पुस २७ मा छुट्टियो। राजनीतिक दलको मान्यता सायद अझै पाइसकेको छैन। तपाईंहरूले आफू ती पुराना राजनीतिक शक्तिभन्दा पृथक हौं भनिरहनु भयो। हो भन्ने पनि लागिरह्यो। वैकल्पिक शक्ति हुँ भन्नेहरू एकीकरण नै नभए पनि स्थानीय निकायको निर्वाचनमा एउटै हारमा उभिएको देख्ने कत्रो धोको थियो। पूरा भएन। आ–आफूले नै त्यो बोध गर्नुभएपछि पार्टी एकीकरण भयो।
अब केही होला ! केही त भयो पनि। ३ नं. प्रदेशमा प्रदेश सभाका तीन सिट तपाईंहरूलाई प्राप्त भयो। केही फरक, केही नयाँ अभ्यास संसदले गर्दैथ्यो। तर, तपाईंहरू पुरानै अभ्यासमा फर्कनुभयो। फुट्नुभयो। हैट !
फुटपछिका तपाईंहरूका तर्क कति फितला। सिंगो देश, प्रणाली परिवर्तन गर्न लाग्नुभएका तपाईंहरू अर्को पक्षको केही थान व्यक्तिका टाउकासँग तर्सिनुभयो। र, आफ्ना दुई सांसदको पद जोगाउने गरी सुटुक्कै मैदान छोड्नुभयो। यो चलाखीले तपाईंहरूलाई नेपाली राजनीतिका सनातनी दलभन्दा कुन अर्थमा भिन्न बनायो? पदकै नामको सर्वोच्चसम्मको कुस्तीले कसरी तपाईंहरू फरक देखिनुभयो? तपाईंहरूको जग साझाको भन्दा पुरानो थियो र बलियो पनि। आफैंले बनाएको त्यो आधार किन पत्याउन सक्नुभएन? दुईचार संख्याले अल्पमतमा परे पनि भित्रै बसेर लड्न केले दिएन? यी सबले तपाईंहरू ओठे विकल्प मात्रै लिएर राजनीतिमा छिर्नुभएको हो भन्ने तर्कलाई थप पुष्टि गर्यो।
भिन्न हुने कोशिश गरिरहनुभएको छ, त्यो कोशिश बडो प्रशंसनीय पनि छ। तपाईं आवद्ध दलले भर्खरै रोल्पामा नीति सम्मेलन गर्यो। केन्द्रीय कार्यसमितिमा पचास प्रतिशत महिलालाई भनेर यो सम्मेलनले पारित गर्यो। तपाईंहरूले नेपालको इतिहासमै कुनै राजनीतिक दलले महिलाका लागि भनेर यति नगरेको र यति गर्ने पहिलो दल आफ्नो भएको डंका पिट्नुभयो।
मिलनजी !
आज तपाईंलाई पढेपछि लागिरहेको छ कि तपाईंजस्तै श्रीमान् रञ्जु दर्शनाको जीवनमा आए, तपाईंकी श्रीमतीले जस्तै कम ‘कम्प्लेन’ र बढी ‘कम्प्रमाइज’ रञ्जुले गर्नुपरे उनको भविष्यमा राजनीति मात्रै होइन सामाजिक जीवन कति खुम्चिँदो हो? रञ्जु खुम्चिए तपाईंको दलमा ५०% महिला सहभागिता होइन नेतृत्व कसरी सम्भव छ मिलनजी?
परिवारमा, घरमा, आँगनमा, करेसामा, बारीमा, खेतमा, भान्सामा, कोठामा, ओछ्यानमा ५०–५० नभए राजनीतिमा मात्रै ५० कसरी सम्भव छ मिलनजी? अघिल्लो पुस्ता त त्यसरी नै दीक्षित भयो रे। माफ गर्न सकिएला पनि। तपाईं त मेरो भाइ पुस्ता। यो पुस्ताले विश्वास गुमाए भविष्य कसको आँखाबाट हेर्ने?
राजनीतिक दलको फुट–फुट–एकीकरण–फुट हेरिरहेका आम सर्वसाधारणमा परेको चोटको हिसाब कसले राख्छ?
तपाईंले गरेका आत्मस्वीकृति छन् पत्रमा। त्यो ‘कन्फेसन’ले मात्रै तपाईंको बचाउ गर्न सक्दैन। किनकि, तपाईं नेपाली समाजको आमपुरुष होइन। आम बन्ने/भनिने छुट तपाईंलाई छैन। श्रीमतीले छोडेको करिअरमा तपाईं दुख्नुभएको छ तर आफू सुतेको ओछ्यानको तन्ना नतन्काउने तपाईंको त्यो दुखाइ असाध्यै सस्तो भावुकताभन्दा केही होइन भन्ने कुरा तपाईं आफैंले पुष्टि गरिदिनुभएको छ।
तपाईं आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राजनीतिक दलको सदस्य हो। तपाईं विवेकशील नेपाली दलको प्रवक्ता होर। वर्तमान नेपाली शैक्षिक व्यवस्थाको गम्भीर आलोचक हो। तपाईंकै दलका सदस्य आशुतोष तिवारीले भोलिको शिक्षामन्त्रीको रूपमा तपाईंलाई उल्लेख गर्नुभएको छ।
मिलनजी !
घरका अव्यवहारिक पुरुषकै हातमा सत्ता गयो यतिका वर्ष। अरूले पकाएको खाइदिनेहरूले चलाए राज्य अहिलेसम्म। अब देश चलाउँछु भन्नेले घर चलाउन सिक्नुपर्छ। भान्सामा तरकारी कसरी काटिन्छ? ग्यास कसरी बाल्नुपर्छ? तरकारीको झ्वाइँय्यको संगीतमा कस्तो लय मिसिन्छ स्वादको? कति सिठीमा दाल र कति सिठीमा भात पाक्छ? कुराउनी र खीरलाई कति आँचको आगो चाहिन्छ? अब यी नहेरी, नगरी, नजानी कोही राजनीति गर्छु भन्छ भने त्यो राजनीतिले लक्ष्य भेट्दैन। अबको राजनीतिको मियो प्रत्येक परिवारको भान्सा बन्नुपर्छ।
जन्मिएर बिसौं वर्ष बसेको घर परिवारसँगको भेटले नारीलाई दिने ऊर्जा केमा नापिन्छ? तपाईं भन्नुहुन्छ– तिमी माइत जाने भन्यौ भने किन हो मलाई त्यसै रिस उठ्छ। किन थाहा छैन। तर, तिमी माइती नजाओस्, मेरै वरिपरि बसोस्, मेरो हेरचाह गरोस्, माया गरोस् भने झैं लाग्छ।
मिलनजी !
तपाईंको पुस्ता पनि श्रीमतीलाई आफ्नो हेरचाह गर्ने मात्रै ठान्ने र त्यसकै लोभमा श्रीमती माइती गएको रिस गर्ने पुस्ता हो? माफ गर्नुहोला तपाईंका यी हरफले तपाईंको श्रीमतीप्रतिको लगाव/माया/आर्कषण अभिव्यक्त गरेका छैनन्। यी हरफले त केबल तपाईंको मालिकपन, पराधिनता बोल्छन्। के तपाईं त्यति परआश्रित हुनुहुन्छ?
संसार परिवर्तन गर्नुछ, सुरू आफैंबाट गर्ने कि!
तपाईंको सुखी दाम्पत्य जीवनको कामना गर्छु!