माहामारीले पहुँचलाई सिमित बनाइदिएको छ। घरमै बस्ने, लेखपढ गर्ने, सामाजिक सञ्जालमा केही समय बिताउने, समाचार सुन्ने/हेर्ने, परिवारका सदस्यसँग गफिने, यसैगरी समय बितिरहेको छ।
महामारी आउनु, औषधि र खोप पत्ता नलाग्नु त हाम्रो वशमा मात्र रहेन, नवउदारवादी चिन्तनले मानवीयतालाई खासै महत्त्व दिएन।
नाफा र शक्ति सञ्चय बाहेक अन्य सेवाको क्षेत्रमा लगानी गर्न जरुरी पनि ठानेन जसको परिणाम आाजको परिस्थिति सृजना भयो र आफूलाई सर्वशक्तिमान मान्ने मुलुकहरूलाई एउटा तुलनात्मक रुपमा कमजोर भाइरसको सामना गर्न पनि असहज भयो।
आशा गरौँ उनिहरुले यसको गम्भीरतापूर्वक विश्लेषण गर्नेछन्। तर हाम्रो चासो केही फरक छ। हाम्रा राजनितिज्ञको नियतमा पहिला पनि गम्भीर आशंका त गरिएकै हो, झन् यो बिपत्तिले आशंकालाई यथार्थमा बदलिदिएको छ।
राजनीतिज्ञमा नैतिकता पूरै हराएछ, दुरदर्शिता भन्ने शब्द घोषणापत्रमा मात्र हुने रहेछ, मानवता भन्ने कुरा धेरैले बिर्सेछन्। नेपालका कम्युनिष्टहरुले कम्युनिजममा नयाँ चरित्र प्रवेश गराउन सफल भएछन्। प्रतिपक्षले बिपत्तिमा नागरिकसँग हामीलाई किन भोट नदिएको भनेर बदला लिन खोज्दा रहेछन्, कसै-कसैलाई सत्तामा बस्न नपाउँदा छटपटि हुँदो रहेछ।
नेता भएपछि जस्तोसुकै शब्द, भाषा प्रयोग गरेपनि कार्यकर्ताले सही अर्थ लगाउने रहेछन्। छताछुल्ल भएर पोखिँदा पनि भ्रष्टाचारको प्रमाण पुग्दो रहेनछ। विभागीय मन्त्री बन्न क्षमता र योग्यताले कुनै फरक नपार्ने रहेछ, सरकार एजेन्ट र विभागका डिजिहरुले चलाउने रहेछन्।
हामीमा जेको पनि बिरोधमात्रै गर्नुपर्छ भन्ने मानसिकता विकास भएछ। विपत्तिमा सरकारलाई आफ्नैले पनि सहयोग नगर्ने रहेछन्, स्थानीय रुपमा आफूलाई समाजको मसिहा सम्झिने लालबुझ्कडहरु आफ्नो पार्टीका नेताको अनावश्यक बचाउमा लाग्दा आफू नै स्खलित भएको पनि थाहा नपाउने रहेछन्।
युवा राजनीतिज्ञमा बौद्धिक दरिद्रताले सीमा नाघेछ, समाजको चरित्र यति जटिल भएछ कि सबै कुरालाई समाजशास्त्रीय आँखाले हेर्नु पर्ने पो भएछ। हामीमा जुनसुकै अवस्थामा जोसुकैसँग पनि कमिसन लिएर वैभब जोड्नु पर्ने अनौठो खालको पुँजीवादी सोच (परिभाषितभन्दा भिन्नै) विकसित भएछ।
राजनीतिमा तरलता भएपछि दलालहरुले विपत्तिलाई कमाउने अवसर ठान्दा रहेछन्। चंगुलमा परेपछि जति नै दृढ व्यक्ति पनि हायल कायल बन्दो रहेछ। यी त केही बाहिर देखिने दृश्य मात्र हुन्। केलाउँदै जाने हो भने सायद थिति नबिग्रेको क्षेत्र नै छैन होला।
यस्तो नहोस् पनि किन, यो देशमा राजनीति सबैलाई समयअनुसार कमाई खाने माध्यम बन्यो। व्यवस्था परिवर्तन भएमा देशको अवस्थामा कायपलट हुन्छ भनेर सोझा नागरिकलाई पटकपटक आन्दोलनको मोर्चामा होमाएर बलिको बोका बनाउने कथित नेत्रित्व कालान्तरमा जनताका लागि श्री ४ नै ठहरिए।
यो दौरानमा केही आशलाग्दा प्रतिभा नजन्मेका पनि होइनन्। तर दुर्भाग्यवश नेपाली समाजले लामो समय उनीहरुसँग सहयात्रा गर्न पाएनन्। उनिहरुले सृजना गरेका समाज परिवर्तनका जनमुखी विचारधारा अहिलेका समृद्धिका ठेकेदारहरुलाई नागरिकलाई चुनावमा दिने आाश्वासनका आधार शिवाय केही भएनन्।
नागरिकको मुक्तिका नाममा भएका आन्दोलन र परिवर्तनले नयाँ महाराजा र दलालको जन्म भयो। प्रकारान्तरले तिनै दलालहरु नै राजनीतिका मसिहा हुँदै गए। स्थायी सरकारको रुपमा हेरिने कर्मचारीतन्त्र पनि राजनीतिको शिकार भयो। दर्शन, सिद्धान्त, भिजन भएका राजनीतिज्ञ मुलधारको राजनीतिबाट पाखा लाग्दै गए।
अर्कोतर्फ देशको स्वास्थ्य, शिक्षा, अर्थ व्यवस्थापन लगायतका महत्त्वपूर्ण पक्षहरू धरासायी बनाइयो। कृषि, पर्यटन, जलविद्युत जस्ता देश विकासका आधारहरु सञ्चालन गर्ने नीति निर्माणमा दुरदर्शिता देखिएन। लगानी, उत्पादन, वितरण र पुनः लगानीको देश सुहाउँदो मोडल बनाउन सकिएन, बरु विप्रेषणमा आधारित अर्थतन्त्रको हिसाबकिताबमा रमाउन थालियो।
जस्तोसुकै विपत्ति भोगेपनि कहिल्यै पनि पाठ सिक्न सकिएन। स्वाभिमान र राष्ट्रियता नागरिक झुक्याउने हतियार भयो हाम्रो पूर्वीय दर्शन, जुन पश्चिमी दर्शनभन्दा जीवन र जगतसँग नजिक छ। त्यसको हामीलाई कहिल्यै पनि महशुस भएन र यस्तैयस्तै नजिरले यो अवस्थामा पुगियो।
यसमा कुनै अमुक पार्टी वा पक्षलाई मात्र दोष लगाउन उचित हुँदैन। यसको जिम्मेवारी हामी सबै पक्षले लिन जरुरी छ। अब सकारात्मक केही छैन भन्न खोजेको हैन। केही सुधारका संकेत नदेखिएका पनि होइनन्। तर यतिले पुग्दैन। अब फरक ढंगबाट सोच्ने बेला आएको छ।
लोकप्रिय जनमत प्राप्त सरकार आफ्ना सिमित कमिकमजोरीलाई सुधार गरी दृढ संकल्पका साथ अगाडि बढ्नु पर्दछ र सबै पक्षले सरकारलाई खबरदारीका साथ रचनात्मक सहयोग गर्न जरुरी छ।
आशा छ, यो बिपत्तिले हामी सबैको आँखा खोलिदिनेछ र फेरि पनि नैतिकता, इमानदारी, मानवता, प्रेम, सद्भाव, जवाफदेहिता आदि हाम्रो समाज र राजनीतिका विशेषता हुनेछन्।