कोरोना कहर र बढ्दो लकडाउनले अरू देशमा जस्तै नेपालीको पनि जनजीवन प्रभावित भएको छ।
लकडाउनले अर्थतन्त्रमा चौतर्फी असर देखा परेको छ, लकडाउनसँगै अत्यावश्यक वस्तु बाहेकको उत्पादन, वितरण, उपभोग, आयात, निर्यात तथा विभिन्न पेशा व्यवसाय बन्द भएको छ।
आपूर्तिमा उत्पन्न अवरोध र त्यसबाट सिर्जित समस्याको कारण अर्थतन्त्रको गति मात्र रोकिएको व्यक्तिगत, सामाजिक र राजनीतिक गतिरोध पनि उत्पन्न हुन गएको छ।
लकडाउन जति लम्बिँदै जान्छ यी समस्या पनि त्यति नै बढ्दै गई आर्थिक तथा सामाजिक र राजनीतिक संरचना नै ध्वस्त हुन पुग्छ। कोरोनाभाइरस संक्रमण कहिलेसम्म लम्विन्छ अनिश्चित रहेको अवस्थामा लकडाउन मात्र पूर्ण विकल्प हैन।
तसर्थ अब हामीले सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने मोडल अवलम्बन गरी अगाडि बढ्न जरुरी छ जसका कारण कोरोनाको जोखिम पनि कम होस् र देशको अर्थतन्त्रको गति पनि पुरै नरोकियोस तसर्थ अब हामीले मध्यमार्गी बाटो अबलम्वन गरी जनस्वास्थ्य र अर्थतन्त्र दुबै बचाउन आवश्यक छ।
हाम्रो तुलनामा कोरोना संक्रमण उच्च भएको, कोरोनाको कारण हजारौं नागरिकको ज्यान गएको र आर्थिक गतिविधि चलायमान बनाउन खर्बौ डलरका आर्थिक राहत प्याकेज ल्याएका जर्मन, डेनमार्क, फिनल्यान्ड लगायत युरोपेली देशहरू र एसियाली देशहरू समेत सेमीलकडाउनको तयारीमा अगाडि बढेको अवस्थामा भाग्यवश अहिलेसम्म संक्रमण कम भएको र विशेष राहत प्याकेज पनि नआएको यहाँ वैशाख १५ पछि लकडाउनको विकल्पमा सेमिलकडाउन गर्दै चरणबद्ध रुपमा खुकुलो पार्नु पर्ने हुन्छ।
भारतसँगको सीमाना अझ कडाइ बनाई अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकेर बढी भिडभाड हुने स्थानलाई बन्द गरी सामाजिक दुरी कायम गर्दै संक्रमण देखिएको क्षेत्र लकडाउन गर्दै बाँकी ठाउँहरूमा आन्तरिक रूपमा विस्तारै खुकुलो बनाउन सकिन्छ।
कृषि क्षेत्र, उद्योग तथा कलकारखाना, निमार्णसँग सम्बन्धित काम र बैंक तथा वित्तीय संस्था तथा पूँजीबजार लगायतमा कोरोना संक्रमण फैलिन नदिने गरी सुरक्षात्मक उपाय अपनाएर अनलकतर्फ मुलुक अगाडि बढाउनुपर्छ।
सरकारी कार्यालय
अहिले पूर्ण लकडाउनमा खुलेका सरकारी कार्यलयहरूसँगै थप किसानहरूसँग सम्बन्धित कृषि, पशु सिंचाई कार्यालय पूर्ण रूपमा तथा मालपोत र नापी कार्यालयमा सीमित कर्मचारी राखेर हालका लागि बैंक तथा वित्तीय सस्थाबाट ऋण लिनको लागि आवास्यक धितो बन्धकको काम मात्र अगाडि बढाउनेगरी खुलाउने।
जसले गर्दा आवश्यक बैंकिङ गतिविधि र आर्थिक गतिबिधि अगाडि बढाउन मद्धत गर्छ कार्यालय समय 'अड आावर'मा सञ्चालन गर्दा अझ बढी उपयुक्त हुन जान्छ।
उद्योग र कारखाना
संक्रमण फैलिन नदिने गरी सुरक्षात्मक उपाय अपनाएर सीमित कामदार राखेर उद्याेग र कलकारखाना चलाउन सकिन्छ जसले गर्दा एकातिर उद्याेगको प्रतिस्पर्धी क्षमता पनि गुम्दैन।
श्रमिकको रोजगार गुम्दैन भने अर्कोतिर जटिल परिस्थितिमा राजश्वमा समेत टेवा पुग्ने र बैंक तथा वित्तीय संस्थाको संभावित कर्जा जोखिम कम हुन्छ।
कृषि क्षेत्र
देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई न्युनतम सुरक्षाको मापदण्ड बनाएर पूर्ण रूपमा खुलाउनु पर्छ। बर्खा लागेसँगै धान तथा तरकारी बालीको मौसम शुरू भएको छ।
पर्याप्त सिंचाइ सुविधाको अभावमा मौसममा निर्भर कृषि क्षेत्रलगायत अहिलेको समयमा लकडाउनको कारण थप प्रभावित भएमा लकडाउन पछि हामी फेरि भोकमरीको सिकार हुनुपर्ने अवस्था आउन सक्छ तसर्थ बेलैमा कृषि क्षेत्र खुला गरी आवश्यक बिउविजन र मलसमेत समयमै उपलब्ध गराउनुपर्छ।
बैंक तथा वित्तीय संस्था र सेयर बजार
अहिलेको पूर्ण लकडाउनमा समेत बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवा अन्तर्गत आवस्यकता अनुसार नगद कारोबारको लागि खुलेका छन्।
तर अब भने कर्मचारी तथा ग्राहकको सुरक्षा प्रबन्ध गरी अन्य वित्तीय कारोबार पनि सुरु गर्नुपर्छ जसमा फ्रन्ट लाईनमा काम र र सुरक्षा चुनौतिको कारण कार्यालयबाट मात्र गर्नुपर्ने कामबाहेक लोन, रिकोभरी, मानव संसाधन तथा जनशक्ति, प्रडक्ट, मार्केटिङ लगायतको विभागमा काम गर्ने कर्मचारीलाई वर्क फ्रम होम लागू गरे हुन्छ।
जनस्वास्थ्यसँगै बैंकिङ कार्य अगाडि बढाउन सकिन्छ भने अर्थतन्त्रको ऐनाको रूपमा रहेको सेयरबजार पनि अब खोल्नुपर्ने हुन्छ जसका लागि ब्रोकर कार्यलयमा न्युनतम सुरक्षा मापदण्ड कायम गरी स्क्रिन डिस्प्ले बन्द गरेर, यही समयमा अनलाइन कारोबारलाई बढावा दिँदै पूर्णअनलाइन कारोबार सुचारु गर्न सकिन्छ र भुक्तानीको लागि समेत डिजिटल प्रणाली प्रयोग गर्ने यो समय पुँजी बजारलाई अन्तराष्ट्रिय स्तरको अत्याधुनिक बनाउने अवसर पनि बन्न सक्छ।
निमार्णसँग सम्बन्धित काम
लकडाउनको समयमासमेत काम भएका केही राष्ट्रिय गौरवको आयोजना लगायत अन्य विकास निर्माणका क्षेत्रमा काम गर्ने मजरदुरको स्वास्थ्यमा ध्यान दिँदै संक्रमण फैलिन नदिने गरी आवाश्यकीय सुरक्षात्मक उपाय अपनाएर विकास निर्माण तथा घर लगायत निजी संरचना अगाडि बढाउन सकिन्छ।
निर्माण र अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले एकातिर लकडाउनको कारण बेरोजगार भएर चरम आर्थिक अभाव र भोकमरी सामना गरेका छन् भने अर्कोतिर विकास निर्माणाको कार्य अवरुद्ध हुँदा समग्र आर्थिक विकास श्रृङ्खला प्रभावित भएको छ, तसर्थ लकडाउन खुकुलो बनाउनेतर्फ अगाडि बढ्नुपर्छ।
निजी कार्यालयहरू
आवश्यकताका आधारमा अब प्राईभेट सेक्टरमा अफिसहरू पनि थोरै कर्मचारी राखेर निश्चित सामाजिक दूरी कायम गर्दै खुल्न दिनुपर्छ। जसका लागि अफिसले सरकारले तोकेको सुरक्षात्मक उपाय अपनाउँदै निजी साधन नहुने कर्मचारीलाई कार्यालयले नै ब्यवस्था गर्नुपर्छ र अन्यको हकमा वर्क फ्रम होम लागू ब्यवस्था गर्नुपर्छ।
शैक्षिक संस्थाहरू
विद्यालय तहको शैक्षिक गतिविधि अझ केही समयको लागि स्थगन गरी हालका लागि सिकाइस्वरूप आवश्यकताअनुसार अनलाइन कक्षाहरू सुचारू गर्दा हुन्छ।
यातायात
सार्वजनिक यातायातका ठूला सवारी साधनमा सुरक्षात्मक उपाय अपनाएर अलपत्र नागरिकलाई गन्तव्यमा पुर्याउने र अन्यको हकमा हलका लागि निजी सवारीसाधन तथा भाडाका ट्याक्सी र टुटल र पठाओको प्रयोग गर्न सकिने व्यवस्था गर्न तर ट्याक्सी तथा टुटल पठाओको हकमा आवश्यक पर्दा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भन्नका लागि यात्रुको अभिलेख राख्न लगाउने र अभिलेखको सही तरिकाले व्यवस्थापन गर्ने, जसले गर्दा आवश्यक पर्दा सम्बन्धित डाटा तुरुन्तै निकाल्न सकियोस्।
होटल तथा रेष्टुरेन्ट
होटल तथा रेष्टुरेन्टले सुरक्षात्मक उपाय अपनाएर र निश्चित मापदण्ड निर्धारण गरी रेष्टुरेन्टहरूमा बसेर खान नपाईने तर रेष्टुरेन्ट आफैंले वा फुडमान्डु, भोजजस्ता फुड डेलिभरी गर्ने कम्पनीमार्फत डेलिभरीलाई जाेड दिएर विस्तारै खोल्न सकिन्छ।
कोरोनाभाइरस प्रकोप कहिलेसम्म लम्बिन्छ अनिश्चित रहेको अवस्थामा लकडाउन विकल्प खोज्न अब ढिला गर्नु हुँदैन। ढिलै भएपनि लकडाउनको विकल्प खोज्नै पर्ने अवस्थामा हामीले समयमै विकल्पमा ध्यान दिएमा कोरोना संक्रमणको कारण हुने आर्थिक सामाजिक र राजनीतिक क्षतिलाई न्युनीकरण गर्न सकिन्छ अन्यथा रोगलेभन्दा भोकले मर्न पर्न अवस्था सिर्जना हुन जान्छ।