जब कोरानाको महाब्याधिले सिँगो विश्व, र विशेषगरी म बस्ने सहर न्यूयोर्कलाई च्याप्न थाल्यो, तब समय पूर्वरत् रहेन। संवेदनाहरु पूर्वरत् रहेनन्, दिनहरु पूर्वरत् रहेनन् न दिनचर्या नै।
त्रासको बतास त छँदै छ, एउटा अनिश्चयको बादलले आकाश ढाकेको छ गर्लम्म। समाचारले भन्छ मर्नेको संख्या घटेको छैन, बिरामीहरु बढेको बढ्यै छन्। अस्पतालहरु भार थेग्न नसक्नेगरी थिचिएका छन्- केबल अंकमा मात्रै मोक्ष देख्ने आधुनिकताको वजनले, मान्छेमा मेशिनभन्दा बढी देख्न नसकेकोको व्यवस्थाको वजनले।
तर अहिलेसम्म जो जोगिएका छन्, उनीहरु पनि जोगिएका छैनन्। न भाइरसबाट, न भाइरसको भयबाट। यो के भइरेको छ भन्ने आश्चर्यबाट। अझ बढी भोलि के होला भन्ने अन्योलबाट, यो सम्हालिन्छ कसरी भन्ने अनविज्ञताबाट। सुनु त कसलाई सुनुँ, पत्याउँ त कसलाई पत्याउँ, गरुँ त के गरुँ भन्ने अस्तव्यस्तताबाट।
एउटा अत्यासलाग्दो अभ्यस्तताले गाँजेको छ समयलाई। सडकहरु सुनसान छन्। सभ्यताका स्मारकहरु परित्यक्त छन्। आरुका फूलहरु फुलेर खसिसके। मुर्दाघरमा मुर्दा पुरिन्छन्, र मह्लम लगाउने मलामीको अभावमा मुर्दा नै रुन्छन्।
हिजोसम्मका सरल मान्यताहरु गिजोलिएका छन्। युद्धकालिन बिम्बहरु पनि प्रयोग नभएका होइनन्। अदृश्य शत्रुसँगको युद्धका रुपमा महाव्याधिलाई चित्रण गरिएका खबरहरु पनि नसुनिएका होइनन्। यदि यो युद्ध नै हो भने, हामी को हौँ? घरभित्रका युद्ध बन्दी? या त्यो शत्रुलाई नै मजलज गर्न सक्ने सम्भावित शत्रुहरु?
या युद्धको मारमा परेका निर्धाहरु? या युद्धको अग्रमोर्चामा अरुलाई पठाएर निर्धक्क सुस्ताएका विलाशी शरीरहरु?
सायद, हामी यी सबै हौँ। वा अझ बढी केही।
हामी पिँजडाको त्यो सुगा हौँ, जसलाई हामीले नै थुनेर बेचेका थियौँ बजारमा। चिडियाघरको त्यो मयुर हौँ हामी, जसलाई हामीले नै बन्द गरेका थियौँ ती अत्याशलाग्दा पर्खाल भित्र। हामी एक्वारियमको त्यो माछा हौँ, जसको समुन्द्रको आयतन हामीले नै तोकेका थियौँ चारपाटे बाक्साभित्र।
हामी त्यो सबथोक हौँ जो हामी आँफू हुन चाहँदैनौँ। र त्यो सबथोक हौँ, जो हामी अरुमा थोपर्न पारंगत छौँ।
जर्मन भाषामा एउटा शब्द छ- चुगनरुह् (Zugunruhe)। केही चराहरु हुन्छन् जो बसाई-सराई गर्छन वर्षको निश्चित महिनामा। उनिहरुसँग पात्रो हुँदैन। समयको बोध हुँदैन। तर जब बसाईसराईको समय आउँछ, तब आँफै यात्रामा निस्कन्छन् उनीहरु।
तर यदि त्यस्तो चरा पिँजडामा थुनिएको छ भने बसाईसराईको याममा उसमा तीव्र छट्पट्टी देखिन्छ। उ उड्न खोज्छ, सक्दैन। उ पखेटा फट्फटाँउछ, अहँ उसको अबोध कोमलताले पिँजडाको कठोरता किन्चित पग्लिँदैन।
उसँग आफ्नो भन्नु केवल एउटा छट्पटाहट हुन्छ। त्यो छट्पटाहटलाई चुगनरुह् भन्छन्। मलाई शब्द थाहा थियो। सायद अर्थ पनि म अरुलाई बताउन सक्थेँ, बुझाउन सक्थेँ। तर अरुलाई बुझाउनुभन्दा कैँयौ गुणा कठिन हुन्छ आफैँलाई बुझाउन। अहिलेको संकटले यसको माने बल्ल बुझेको छु। त्यो छट्पटाहटको अत्याशलाग्दो आयतन र गहिराई म जान्दछु अब।
ढिलो-चाँडो यो समय टरेर जाला। अदृश्य शत्रुलाई परास्त गर्न सफल भएको जस लिन तछाडमछाड गर्नेहरुको सपाट दृश्य पनि आँफैले देख्न पाइएला। तर यो संकटका घाउहरु जो छन्, तिनी माथि पाप्रा बस्न समय पक्कै लाग्ने छ। घाउ सुकोस, तर चेतनाको जुन पालुवा पलाएको छ सानै भएपनि त्यो नकुल्चियोस्।