घटना नं. १:
कोटेश्वर निवासी राजिव नेपाललाई थाइल्याण्डबाट बैंकर जस्तो देखिने फ्रेन्चकट दारी काटेको, टाई लगाएको फोटो राखी James Thomas, CFDO Bank Thailand मा कार्यरत भनी फेसबुक म्यासेन्जरमा एउटा म्यासेज आउँछ।
'तपाईं नेपाली हुनुहुँदो रहेछ यहाँ थाइल्याण्डमा म कार्यरत बैंकमा एक जना नेपालीको पुरानो बैंक खाता थियो। उहाँको २० वर्ष अगाडि नै मृत्यु भैसकेको छ। उहाँको खातामा २० करोड नेपाली रुपैयाँ बराबरको रकम जम्मा छ। सो रकम दाबी गर्न हालसम्म कोही आएको छैन। बैंकको नियम अनुसार २० वर्ष पुगेपछि खाताको पैसा कसैलाई प्रमाण पुर्याएर दिनुपर्छ कि त सरकारीकरण हुन्छ यति धेरै पैसा किन सरकारीकरण हुन दिने तपाईंलाई तपाईंको थर नेपाल भएको कारण यो पैसाको हकदार बनाएर तपाईंको खातामा पठाउन सकिन्छ। यसको लागि म सहयोग गर्छु बरू यो पैसा तपाईं र म आधा आधा गरौँला यसमा प्रोसेस म मिलाउँछु। यसको लागि तपाईंको बैंक खाता उपलब्ध गराउनु भयो भने अरू प्रकृया गर्दै गरौंला यो पैसा सरकारीकरण हुन दिनुभन्दा तपाईं र म बाँडेर लिनुपर्छ। कृपया छिटो गर्नु होला।'
घटना नं. २:
'प्रिय रितीमा,
तिमी भाग्यमानी छौ र म पनि भाग्यमानी छु, आज म एकदम भावुक भएको छु। आज मैले फेसबुक हेर्दै गर्दा ३ वर्ष अगाडि सवारी दुर्घटनामा मृत्यु भएकी मेरी १६ वर्षकी छोरीसँग तिम्रो अनुहार मिल्न गयो। आज मेरी छोरीको जन्मदिन पनि हो। यस उपलक्ष्यमा म तिमीलाई छोरी सरह मानेर केही उपहार पठाउन चाहन्छु। उपहारमा यो हिराको हार, आइफोन प्रो-१६, केही डलर नगद, लेडिज ब्याग आदि पार्सल पठाएर मेरी छोरीको सम्झनासँगै मन हलुका बनाउन चाहन्छु। आशा छ, तिमीले मेरो यो आग्रह स्वीकार गरेर भाग्यमानी बनाउने छौ' भनी म्यासेन्जरमा Thomas, J. New York बाट म्यासेज आउँछ।
घटना नं. ३:
'डियर डा. हेमराज,
म आज तपाईंसँग कुरा गर्न पाएर खुसी छु। म एउटा अमेरिकन औषधि कम्पनीमा काम गर्छु। तपाईं एउटा एमबिबिएस डाक्टर पनि हुनुहुँदो रहेछ। तपाईंलाई अतिरिक्त आम्दानी पनि हुने, हाम्रो पनि सानो काम हुने हुन्छ। हामी रिसर्चको पनि काम गर्दछौं, त्यसैले सो प्रोजेक्टमा तपाईंले केही काम गरेर हामीलाई पठाउनु भएमा तपाईंलाई अतिरिक्त आम्दानी दिन्छौं। तपाईंको कामको मूल्य हामी कामसँगै तोकेर दिन्छौं। तपाईं काम गर्न पनि सक्नुहुन्छ र छोड्न पनि सक्नुहुन्छ यदि त्यसो हो भने तपाईंको बैंक डिटेल्स् सहित म्यासेज गर्नुहोला' भनी एउटा म्यासेज आउँछ।
(व्यक्ति र संस्थाको नामहरू परिवर्तित गरिएको छ।)
उल्लेखित घटनाहरू अनलाइन ठगी गर्नको लागि ठगी गर्ने मानिसहरूले पठाउने गरेका म्यासेजका केही उदाहरण मात्र हुन्। कहिलेकाहीँ म्यासेज पठाउने व्यक्तिले लोभ देखाउनको लागि यस्ता म्यासेज पठाइरहन्छन्।
एक पटक म्यासेज गरेपछि अनलाइन रजिष्ट्रेसन वा अन्य कुनै बाहनाले नेपालमै कुनै बैंकको खातामा केही पैसा जम्मा गर्न लगाउँछन्। व्यक्तिको सम्पूर्ण पारिवारिक पृष्ठभूमि र तत्कालीन अवस्थाको बारेमा जानकारी लिइसकेका हुन्छन्।
पटक-पटक विभिन्न बहानामा पैसा हाल्न लगाएर हजारौंदेखि लाखौं पैसा जम्मा गरिसकेपछि मात्र ठगिने व्यक्ति आफू ठगिएको हो भनेर शंका गर्न थाल्छ। त्यतिबेलासम्म ठूलो रकम गुमिसकेको हुने हुँदा पारिवारिक डर, सामाजिक डर र लाजले कसैसँग यो कुरा बताउँदैनन्। अझै उनीहरू आफ्नो गुमेको रकम फिर्ता आउने आशा लिएर बसिरहन्छन्, जो कहिल्यै पूरा हुँदैन। प्राय: उनीहरूले रकम जम्मा गरेको खाताहरू फर्जी हुन्छन् । खातावालालाई खाता खोलेको थाहै हुन्न। विदेशमा काम गर्ने आफन्तको वा यस्तै ठगिएका व्यक्तिहरूको खाताको प्रयोग हुने गरेको हुन्छ। एउटै बैंक खातामा नभई फरक-फरक व्यक्तिको फरक-फरक बैंक खातामा सानो सानो रकम जम्मा गर्न लगाउँछन्।
एक जना पीडितको ८० लाख रुपैयाँभन्दा बढी रकम ५२ वटा विभिन्न बैंक खातामा जम्मा गर्न लगाइएको समेत भेटिएको छ। यो बीचमा उनको बैंक खातामा यस्तै ठगिनेबाट पटक पटक गरेर लोभ्याउनको लागि २०० डलर बराबरको रकम आएको पनि पाइन्छ।
माथिको उदाहरण हेर्दा नै हामी अनुमान लगाउन सक्छौं कि ठगी गर्ने व्यक्तिले भावनात्मक रूपमा लक्षित मानिसलाई कति विश्वासको वातावरण तयार गरिसकेको हुन्छ।
हामीले प्रयोग गर्ने सामाजिक सञ्जालमा राखेको विवरण हेरेर पीडितको भावनामा खेल्न थाल्छ र विभिन्न बहानामा पैसा हाल्न लगाउने कार्य गरिरहन्छन्।
कतिपय अवस्थामा बैंक खाता, इसेवा, डिजिटल पेमेन्टको बारेमा जानकारी लिएर ओटिपी हात पार्ने प्रयास गर्छन्। ओटिपी हात लाग्यो भने क्षणभरमा नै खाताको रकम गायब हुन्छ यदि सो प्रकारले नहुने अवस्थामा ठगी गर्ने व्यक्तिको लागी उपहार वा अरू बहानाले मानसिक दबाब सिर्जना गरेर रकम हाल्न बाध्य बनाउँदै जान्छन्।
उनीहरू कहिल्यै फेस टु फेस आउन चाहँदैनन् र पहिचान लुकाउँछन्। ठगिनेलाई विश्वासमा लिन सोही प्रकारका पृष्ठभूमिमा खिचिएका फोटोहरू पठाउने समेत गर्छन्। कतिपय अवस्थामा तपाईंलाई सामान, उपहार पठाइएको वा हाल कार्गोमा छ, एयरपोर्टमा पुग्यो, भन्सारमा छ आदि बहाना बनाउँदै सोही प्रकृतिसँग मेलखाने फोटो समेत पठाई विश्वास र आशमा पार्ने गर्छन्।
यसरी ठगी गर्ने मानिसले कसैले आशंका नगरोस् भनी एकदमै आत्मविश्वासको साथ कुरा गरेको बहाना गरी चलाखीपूर्ण जबाफ दिने गर्छन्। बैंकिङ जटिलता र अनुसन्धानमा लाग्ने समयको कारणले गर्दा उजुरीकर्ता आफैमा दु:खी हुने गर्छन्। यस्तो परिस्थितिमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुराको बारेमा जानकारी हुनुपर्ने आजको आवश्यकता छ।
हामी कसरी यस्ता अनलाइन ठगीबाट जोगिन सक्छौं त?
१. लोभ्याउने खालको विज्ञापनमा विश्वास नगर्ने ।
२. अनलाइन सपिङको नाममा अविश्वासनीय सस्तो रकममा कुनै सामानको आग्रह आएमा सचेत रहने।
३. बुझ्नु पर्ने कुरा: कसैले कसैलाई सित्तैमा केही दिँदैन र नभरेको चिठा पर्दैन।
४. भाग्यमा होइन, कर्ममा विश्वास गर्नुपर्छ।
५. सामाजिक सञ्जाल प्रयोग गर्दा बलियो पासवर्ड राख्नुपर्दछ।
६. सामाजिक संजालमा नचिनेको र अनावश्यक फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्ने।
७. आधिकारिक साइट बाहेकबाट एप डाउनलोड नगर्ने।
८. आफूलाई बलियो र सुरक्षित अनलाइन सेक्युरिटी प्रोटेक्सनमा राख्नु पर्दछ ।
९. पटक पटक एउटै खालको शंकास्पद म्यासेज आएमा साइबर सेक्युरिटीको ज्ञान भएको व्यक्ति वा प्रहरीकोमा सम्पर्क गर्ने।
१०. आफू ठगिन लागेको वा ठगिएको आशंका भएमा तुरून्तै प्रहरीमा खबर गर्ने र आफन्तहरूमा कुराहरू सेयर गर्ने। तपाईं जस्तै अरूहरू समेत यस्तै समस्यामा परेका हुन सक्छन्।
११. अनलाइन सपिङ गर्नुभन्दा पहिला एक पटक अन्य माध्यमबाट समेत पुष्टि गर्नु पर्दछ।
१२. अनलाइन सपिङमा पेमेन्ट अन डेलिभरी प्रयोग गर्दा सुरक्षित हुन सकिन्छ।
१३. हरेक पटक आफूले कारोबार गर्दा, कुनै म्यासेज रिप्लाई गर्दा र म्यासेज प्राप्त गरेको विवरण स्क्रिनसट गरी राख्नु पर्दछ।
१४. अनलाइन कारोबार गर्दा आफ्नै नाममा दर्ता रहेको मोबाइलमार्फत् गर्ने, आफ्नो नामको मोबाइल अरूलाई प्रयोग गर्न नदिने।
१५. डिजिटल ग्याजेट्स अरूलाई प्रयोग गर्न नदिने, मर्मत गर्न दिँदा सम्पूर्ण विवरण रिकभर गरी फर्मेन्ट गरेर मात्र मर्मत गराउने।
१६. नचिनेको व्यक्तिको डिजिटल पेमेन्ट प्राप्त गरी नगद भुक्तानी गर्ने काम कदापी नगर्ने।
१७. आफ्नो बैंक खातामा शंकास्पद कारोबार भएको पाइएमा बैंकमा खबर गरी सुरक्षित उपाय अपनाउने।
१८. प्रहरी अनुसन्धानमा आफूसँग भएको सूचना र विवरण सम्पूर्ण रूपमा बताउनु पर्छ।
१९. डिजिटल पेमेन्ट लिँदा वा दिँदा यकिन गरी मात्र लिने दिने कार्य गर्नुपर्छ, अनुमानको भरमा कारोबार गर्दा धोका हुन सक्छ।
२०. फ्रि तालिमका नाममा आउने नेप्से एआई लगायतका एप्स डाउनलोड नगर्ने, इन्स्टल नगर्ने।
२१. नचिनेको व्यक्तिसँग भिडिओ कलमा गोप्य कुराकानी नगर्ने।
(लेखक नेपाल प्रहरीका डिएसपी हुन्।)