कोरोना (कोभिड-१९) महामारीले विश्वका समुन्नत र सम्पन्न भनिएका मुलुकलाई समेत थला पार्दै लगेको छ। यसले विशेषतः अध्ययनमा रहेका बालबालिका र युवाको शिक्षाको नियमित क्रमभंग गरिदिएको छ।
विद्युतीय सूचनाप्रविधिको पहुँच शिक्षाका विभिन्न तहसम्म विस्तार गरिसकेका विभिन्न मुलुकका विद्यालय, महाविद्यालय र विश्वविद्यालयले भने अनलाइन दूरशिक्षा चलाएर शैक्षिक प्रयासलाई व्यवस्थित गरेका छन्। प्रारम्भिक तहका बालबालिकाको पठनपाठनमा भने यो विधिले खासै काम नगर्ने हुनाले ती मुलुकले पनि पठनपाठनमा अवरोध बेहोर्नै परेकै छ।
नेपालमा पनि कोरोनाको प्रभावस्वरूप शिक्षा क्षेत्र ठप्पै छ। केही विद्यालय, महाविद्यालय र विश्वविद्यालयले अनलाइन दूरशिक्षा चलाउन पहल गरेका छन्। यस्ता पहलबारे सरोकारवालाहरूबीच तीव्र मतभेद उदय भएको छ। केही मतभेदले विरोधका रूप लिइसकेका छन्।
पोखराका विद्यालयलाई अनलाइन कक्षा नचलाउनू भनेर त्यहाँको महानगरपालिकाले गरेको निर्देशन यस्ता मतभेदको ज्वलन्त दृष्टान्त हो। आनलाइन दूरशिक्षाबाट पठनपाठनका अपेक्षित सबै शैक्षिक क्रियाकलाप प्रत्यक्षमा जस्तो सञ्चालन गर्न सकिँदैन।
अवलोकनमूलक प्रायोगिक कक्षाका लागि यसबाट भनेजति गर्न/गराउन नसकिने कुरा त घामजतिकै छर्लंग छ। के यसो भन्दैमा अनलाइन दूरशिक्षा अनुपयोगी, देखावटी, प्रभावहीन र निरर्थकै होला त? यो प्रश्न अगाडि राखेर सोचियो भने पक्कै पनि दूरशिक्षालाई फजुल तरिका र विषय मान्ने निचोडमा पुग्न सकिँदैन।
हो, यो प्रारम्भिक तह विशेषगरी आधारभूत विद्यालय तहसम्मको पढाई र सिकाईका लागि शैक्षिक शत्रै व्यवस्थित गर्ने गरी यो विधि अवलम्बन गर्न सकिँदैन नै। अन्य तहमा यसलाई लागू गरेर शैक्षिक सत्रको तालिकालाई नै राहत पुग्नेगरी उपयोग गर्न सकिन्छ।
अहिलेको लोकबन्दी र कोरोनाको रोकथाम तथा नियन्त्रणको प्रयोजनमा विद्यालय खोलेर प्रत्यक्ष कक्षा चलाउनमा बाधा लम्बिन सक्ने सम्भावना ठूलै छ। यस पक्षलाई ख्याल गर्दा विशेषगरी, विद्यालयको माथिल्लो तह र उच्च शिक्षाका कार्यक्रममा अनलाइन दूरशिक्षा अवलम्बन नगरी नहुने अवस्था छ।
यसरी हेर्दा अहिलेको परिवेशलाई कठिनाईबीचको अवसरका रूपमा लिएर अगाडि बढ्नु श्रेयस्कर र उपयोगी पनि हुने देखिन्छ।
समस्या प्रविधिमा भन्दा शिक्षक-विद्यार्थीमा
हाम्रा शिक्षकहरू मोबाइल चलाउँछन्। इमेल इन्टरनेट प्रयोग गरेर फेसबुक युट्यूब आदि प्रयोग गर्छन्। दुर्भाग्यवश हाम्रा यी विद्युतीय साधन र माध्यमलाई हामी शिक्षाका उपयोगी माध्यम र साधन कसरी बनाउन सक्छौँ भन्नेमा हामीले ध्यान दिदैँ आएनौँ।
यी साधनको प्रयोग थोरै सूचना र धेरै मनोरञ्जनका लागि भयो र हुँदैछ। शिक्षा र सूचना अन्तरसम्बन्धित विषय हुन्। कतिपय अवस्थामा मनोरञ्जनलाई पनि शिक्षा र सूचना सम्प्रेषणको साधनका रूपमा प्रयोग गर्न सकिन्छ। यसका लागि विद्युतीय वा डिडिटल प्रविधिको प्रयोग आवश्यक हुन्छ। विडम्बना हो, कतिपय शिक्षकलाई नै पनि अनलाइन शिक्षणको पद्धति थाहा छैन।
शिक्षक र विद्यार्थी दुवै फेसबुक युट्यूब त जान्दछन् तर दूरशिक्षाका डिजिटल अनुप्रयोगबारे अनविज्ञ छन्। अनि, लोकबन्दको अवस्थामा धेरै शिक्षकहरू विद्यालय र विद्यार्थीको सघन पहुँचभन्दा प्रायः टाडाको आफ्नो घरगाउँ फर्किसक्नुभएको र त्यतै रहनुभएको अवस्था छ। यसले कतिपय शिक्षक इन्टरनेटको पहुँचबाहिर पर्नुभएको छ।
विद्यार्थीको हकमा पनि त्यही अवस्था छ। जोजोसँग इन्टरनेटको पहुँच छ, त्यो पनि कमजोर छ वा कम क्षमताको छ। जसले अनलाइन शिक्षाका लागि चलाउने अनुप्रयोग चलाउन दिँदैन। कतिजना काठमाडौँमा एउटा मात्र डेरा लिएर सपरिवार बस्नुभएको हुनसक्छ। जसको कारण उहाँहरूसँग इन्टरनेटको पहुँच भएता पनि प्रत्यक्ष प्रसारण हुन नसक्ने अवस्था देखिन्छ।
के हो त अनलाइन दूरशिक्षा?
हजारौँ कोश टाढा भएतापनि इन्टरनेटको माध्यमबाट पढ्ने पढाउने पद्धतिलाई अनलाइन दूरशिक्षा भनिन्छ। विद्यालयमा गरिने प्रत्यक्ष कक्षाकोठाको पढाइजस्तै यसमा शिक्षक विद्यार्थी विद्युतीय माध्यमको प्रसारणमा प्रत्यक्ष सम्पर्कमा हुन्छन्।
कक्षामा पढाएजस्तै पाटीमा लेखेको देखाउँदै वा तयार पारेको सामग्री शक्तिविन्दू प्रस्तुति (पावरपोइन्ट प्रिजेन्टेसन) जस्ता श्रव्यदृश्य साधनबाट शिक्षकले पढाउँछन्। स्मार्ट मोबाइल फोन वा कम्प्युटरबाट शिक्षकहरू एक आपसमा श्रव्यदृश्यमा जोडिन्छन्।
जुम र गुगल क्लासरूमजस्ता अनुप्रयोग (एप्लिकेसन) बाट दोहोर श्रव्यदृश्यमा प्रतीयमान (भर्चुअल) कक्षा सञ्चालित हुन्छ। अहिलेको सन्दर्भमा सिक्ने सिकाउने प्रक्रिया ज्यादै लोकप्रिय भैरहेको छ।
विवाद हैन, सुझबुझ गर्ने विषय
अनलाइन दूरशिक्षाको नेपालमा अर्थै छैन भन्ने तर्क एक थरीको छ। उनीहरू नेपालमा मोबाइलको श्रव्यात्मक सञ्जाल त कामयाबी छैन धेरै ठाउँमा नेटवर्क नै राम्ररी टिप्दैन भने इन्टरनेटको के कुरा भन्छन्। अर्को कुरा, अनलाइन जोडिनका लागि कति विद्यार्थीको सवल साधन (स्मार्टफोन वा कम्प्युटर) मा पहुँच छ र! भन्ने पनि छ।
केहीसँग साधन हुने र केहीसँग नहुने हुँदा नहुनेलाई 'आकाशको फल आखाँ तरी मर' भन्ने भन्ने प्रश्नमा पक्कै ठूलो दम छ। यसैले अनलाइन शिक्षा सञ्चालन गर्न गराउनका लागि सरकारले धेरै पक्षमा बन्दोबस्त र सहयोग गर्नुपर्ने आवश्यकता छ। अहिले यो चाहिन्छ कि चाहिँदैन भन्ने बारेमा पक्षविपक्षमा बहस गर्ने होइन।
यसको व्यवस्थापन कसरी प्रभावकारी बनाउने र अगाडि बढ्ने भन्ने बारेमा चिन्तनमनन गर्ने हो। शिक्षालाई नागरिकको मौलिक हक मान्ने सरकारले तिनको परिपूर्तिका लागि यस पाटोको ठोस काम गर्नै पर्छ; सबैले संवेदनशील हुनै पर्ला।
तत्कालको लागि यी अनुप्रयोगको उपयोग गर्न सकिन्छ भन्ने अर्थमा यी ठीकै देखिन्छन्। यसमा केही राम्रा पक्ष छन्। कक्षाकोठाको तुलनामा यो विधिमा शिक्षकको तयारी बढी आवश्यक हुन्छ। उसले शैक्षिक सामग्री कम्प्युटरबाट बनाएर प्रदर्शन गरेन भने कक्षा प्रभावकारी हुँदैन।
विद्यार्थीले पनि अध्ययन सामग्री यसैबाट तत्कालै पाउन सक्ने हुनाले उनीहरूलाई यो सजिलो हुन्छ। दीर्घकालीन हिसाबले चाहिँ यो परनिर्भर कुरा हुनाले ठीक हुँदै होइन। एकातिर यो विधि अर्काको प्रविधिमा निर्भर हुनुपर्ने अनि अर्कातिर कक्षाकोठाको परम्परागत पढाइकै सादृश्यको मात्रै हुने हुनाले यसको विकल्प विकास गरिनै पर्छ।
यसका लागि हामीसँग दुई वटा विकल्प अगाडि छन्ः तत्काल यसबाट अगाडि बढ्ने अनि योभन्दा प्रभावकारी अनुप्रयोग नेपाली कम्प्युटर वैज्ञानिकबाट विकास गराएर त्यसलाई अगाडि बढाउने, र शिक्षा विज्ञहरूको सहयोग लिएर पढ्ने/पढाउने रचनात्मक र प्रभावकारी तरिका विकास गर्ने। त्यसो गर्न नसकुन्जेल यो विधिलाई नै अपनाएर अगाडि बढ्नुको हामीसँग तत्काल विकल्प देखिँदैन।
दूरशिक्षामा सबैलाई समेट्न सकिएला?
विद्यालयले व्यवस्थापन मिलाउने हो भने सकिन्छ। सरकारले क्षमतावान् इन्टरनेट सेवा प्रदायकमार्फत उपलब्ध गराउनुपर्छ। विद्यार्थी र शिक्षकलाई कम्प्युटर वा मोबाइलको पहुँच हुनेगरी पालिकाहरूले बन्दोबस्त गरिदिनुपर्छ। विद्यालयले सिकाउने र सिक्ने छुट्टै वेबसाइट बनाउन आवश्यक छ र त्यो कम्तीमा नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराइनुपर्छ।
विद्यालय विद्यार्थी र शिक्षकको अवस्थालाई विचार गरेर जुम वा गुगल क्लासरूमजस्ता अनुप्रयोगबाट सोझै कक्षा सञ्चालन गर्ने र तिनका अभिलेख वेबसाइटमा राख्नुपर्छ। यसो गर्दा अनलाइन कक्षामा सामेल नभएका वा सामेल भएकैले पनि त्यो अभिलेख हेरेर पढाइको क्रम अगाडि बढाउन सक्छन्।
शिक्षक विद्यार्थीलाई प्रभावकारी क्षमतावान इन्टरनेट उपलब्ध नभएको अवस्थामा दूरशिक्षा कसरी सञ्चालन गर्ने भन्ने कुराले अर्कै महत्व राख्छ। यसलाई सम्बोधन गर्न हरेक कक्षाका पाठ्यक्रमअनुसार हरेक विषयका शिक्षकले आफ्नो व्याख्यान (लेक्चर)लाई ज्यादै रचनात्मक ढङ्गले प्रस्तुत गरेर श्रव्यदृश्य सामग्री (भिडियो) बनाएर विद्यालयलाई उपलब्ध गराउनु पर्छ। विद्यालयले त्यो सामग्री वेबसाइटमा अभिलेख (अपलोड) गरेर विद्यार्थीलाई जतिबेला पनि उपलब्ध हुने बनाउनुपर्छ।
शैक्षिक सामग्रीलाई एनिमेसनका विधि प्रयोग गरेर कति प्रभावकारी बनाउन सकिन्छ भन्नेमा शिक्षक गम्भीर हुनुपर्छ। शिक्षकको सामग्री निरस नहोस् र विद्यार्थीलाई बुझ्न ठ्याम्मै कठिन नहोस्।
उदाहरणका लागि बन्दुकबाट गोली निस्कदा न्यूटनको तेस्रो सिद्धान्तले काम गर्छ भन्ने पाठ कन्ठ गर भन्नुको साटो गोली अगाडि जाँदा बन्दुक पनि पछाडि ढकेलिएकै एनिमेसन गरिएको कार्टुनमा देखाउँदा बढी चाखलाग्दो र बुझिँदो हुन्छ। यसरी एनिमेसन र प्रश्नोत्तर विधि अपनाउँदा शैक्षिक कार्यक्रम चाख लाग्दो त हुन्छ नै शिक्षकले पनि आफ्नो रचनात्मक सीपको अधिक उपयोग गरेर सन्तुष्टि लिन सक्छ।
अन्त्यमा
पौडिन नजान्ने मानिसले खोलो तर्दै गर्दा बाढी आयो भने आ! बगाओस् भन्ने अवश्यै होइन। बाढीसँग आएका बुट्यानलाई समातेर भएपनि वारी होस् वा पारी किनारा लाग्नै कोशिस गर्छ र गर्नुपर्छ। अहिले हामी त्यही अवस्थामा छौँ। यस्तो बेलामा रहेका शिक्षक विद्यार्थी र विद्यालयलाई सरकार र इन्टरनेट प्रदायकहरूले यो प्रविधिको साहरा दिनैपर्छ जसलाई समाएर हाम्रो शिक्षा अहिलेको कोभिड १९ को बाढीले बगाउन नसकोस्।
प्रविधिमा काम गर्नेले प्रविधिको टेवा सबल बनाइदिऔँ। विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनले दूरशिक्षा सञ्चालन गर्न चाख राखेर अलिकति जाँगर चलाऔँ।