अन्योलता र लामो समयको प्रतिक्षापछि एसइई परिक्षा-२०७६ को नतिजा प्रकाशित भएको छ। फरक पृष्ठभूमि भएको हुनाले नतिजासँगै यसका बारेमा विभिन्न टीका-टिप्पणी पनि सुरु भइसकेक छन्। पुरानोमा शंका गर्ने तर नयाँमा विश्वास गर्न गाह्रो मान्नु मानिसको विशेषता नै हो।
सायद यही मनोविज्ञानको कारणले हुनसक्छ जिम्मेवार निकाय तथा व्यक्तिबाट नै यसपालीको नतिजाको बैधानिकताका बारेमा विद्यार्थीको मनोबल गिर्ने गरी विभिन्न प्रतिक्रिया आइरहेका छन्। जसलाई विद्यार्थी जिम्मा लगाइएको हुन्छ, उसैले गरेको मूल्यांकनमा नकरात्मक टिप्पणी गर्नु वा विश्वास गर्न नसक्नु एउटा बिडम्बना नै हो। भलै कतिपयले यसलाई सकारात्मक कदमको रुपमा पनि चित्रण गर्नु भएको छ।
फरक कोणबाट विश्लेषण गर्ने हो भने कुनै पनि मूल्यांकन सर्वस्वीकार्य नहुन सक्दछ। तर संवेदनशील विषयमा स्पष्ट आधार बिना हचुवाको भरमा अरुको उपलब्धिलाई अबमूल्यन गर्नु भनेको गैरजिम्मेवार पनको पराकाष्ठा हो। कसैले पनि यो विषयमा आफ्नो धारणा बनाउनु पुर्व शिक्षाका परिवर्तित मान्यता र उत्कृष्ट शैक्षिक अभ्यास गरेका देशका मूल्यांकन प्रणालीहरू अध्ययन गर्न जरुरी छ।
परिवर्तित तर स्थापित मान्यता अनुसार त्यस्ता देशहरुमा निरन्तर मूल्याकंनदेखि निर्णयात्मक सम्मको सम्पूर्ण मूल्यांकन सम्बन्धित शिक्षकबाट गरिन्छ। त्यसलाई बैधानिक बनाउने काम मात्र आधिकारिक बोर्डले गर्द्छ। यसो गर्नुको मुख्य कारण आफ्ना विद्यार्थीको वास्तविक क्षमता कस्तो छ भन्ने कुरामा सबैभन्दा जानकार पक्ष उसको शिक्षक हो भन्ने मान्यता हो।
अर्कोतर्फ यस्तै मूल्याकंन प्रणालीबाट छानिएका जनशक्तिले नै समकालीन समाजको हरेक बिधाको नेतृत्व गर्न सक्दछन् र गरिरहेका छन् भन्ने हो। यसरी हेर्दा यो मूल्यांकन विधि झन् बढी सान्दर्भिक देखिन्छ। अपवादलाई छोडेर पेशागत रूपमा मूल्यांकन गर्ने हो भने पनि शिक्षकको विश्वसनीयता अरु कसैको भन्दा कमि छैन, बरु अब्बल नै छ। त्यस्कारण पनि यो विषयमा बढी पुर्वाग्रह राख्नु उपयुक्त हुँदैन।
अहिलेको पृष्ठभुमिमा प्राबिधिक हिसाबले आन्तरिक मूल्यांकनको लागि शिक्षकलाई अझ बढी सबल, सक्षम र उत्तरदायी बनाउन तर्फ लाग्नु पर्नेमा अनावश्यक टिप्पणी गर्नु आफैमा खेदजनक छ।
विगत र अहिलेको नतिजामा देखिएको उपलब्धि भिन्नतालाई लिएर विवाद गर्नुभन्दा यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न जरुरी छ। हिजोका दिनमा परीक्षा दिनुभन्दा अगाडिदेखि हुने मनोवैज्ञानिक, पारिवारिक, सामाजिक लगायतका अन्य दबाबलाई एकपटक स्व-मूल्यांकन गरौँ त, के यस्तो परिवेशमा विद्यार्थीले आफ्नो शत-प्रतिशत क्षमता देखाउन सक्छ? कम्तिमा यो वर्ष यस्तो अबस्था सृजना भएन बरु बिना दबाबमा भिन्न-भिन्न समयमा गरिएका आन्तरिक उपलब्धिलाई उनीहरुको अन्तिम मूल्यांकनको आधार मानियो।
जसले गर्दा परिणाम केही सकरात्मक आयो। अब यही परिणामलाई लिएर नकारात्मक टिप्पणी गर्नुभन्दा यस मूल्यांकन प्रणालीका शिक्षइक्षोऊमितताहरु केही छन् भने पत्ता लगाएर त्यसको समाधानमा लाग्नु अहिलेको मुल आवश्यकता हो। सामान्य अवस्थामा परीक्षा र मूल्यांकन प्रणालीमा यो किसिमको छलाङ् आत्मसात गर्नु हाम्रो परिवेशमा असम्भव प्रायः नै हुन्थ्यो। परिस्थितिजन्य कारणले हामिले उन्नत किसिमको अभ्यास गर्न पाएका छौँ। अब यो वा त्यो बाहानामा यसबाट पछाडि हट्न हुदैँन।
यो मूल्यांकन प्रणालीले विद्यार्थीको पढ्ने बानीमा कमि आउँछ, अर्कोतिर आफ्नै हातमा ताला साँचो भएपछि शिक्षकहरु पनि कम उत्तरदायी हुन्छन् भन्ने तर्क पनि गरिएको पाइन्छ। एकपटक सोचौँ त, यदि कुनै विद्यार्थी परीक्षामा पास हुनको लागि मात्र अध्ययन गर्दछ भने भोलिका दिनमा उ कस्तो किसिमको जनशक्तिमा परिणत होला र उबाट समकालीन समाजले कस्तो किसिमको अपेक्षा राख्न सक्ला?
अर्कोतर्फ कुनै पनि विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउनको लागि मात्र शिक्षक ले मेहनेत गर्छ भन्नु सिकाइको आधारभुत अवधारणा पनि नबुझ्नु हो। विद्यार्थीमा रहेका अन्तर्निहित क्षमतालाई पहिचान गर्ने र त्यसलाई व्यवहारमा प्रयोग गर्न सक्ने बनाउनु शिक्षकको दायित्व हो। के यो मूल्यांकन प्रणालीले शिक्षकलाई आफ्नो दायित्व पूरा गर्नबाट बन्चित गराउँछ त? अवश्य गराउँदैन।
सिकाईमा रुचि जगाउने कुरा परीक्षा होइन भन्ने बुझ्न धेरै ढिला भइसकेको छ। परीक्षाले बाध्यात्मक रुपमा विद्यार्थीलाई सिकाइसँग जोड्न सक्दछ तर निरन्तरता प्रदान गर्न सक्दैन। विद्यार्थीलाई सिकाइमा जोड्नको लागि पाठ्यक्रमको गतिशीलता, उपयुक्त शिक्षण विधि, आवश्यक शैक्षिक सामग्रीको उपलब्धता, सहजकर्ताको प्रस्तुतीकरण, विद्यार्थीको रुचिअनुसारको विषयवस्तु छ्नोट, उत्प्रेरणा, अठोट र वातावरण जस्ता कुराहरुले ठूलो प्रभाव पारेका हुन्छन्।
यी कुराहरुलाई आधारस्तम्भ मानेर सिकाइलाई अगाडि बढाउने हो भने अब पुरानो मूल्यांकन प्रणालीको आवश्यकता पर्दैन। र अर्कोतर्फ विद्यार्थी वा शिक्षक कोही पनि आफ्नो जिम्मेवारीबाट पछाडि हट्दैनन्। त्यसकारण अब मूल्यांकनको यो नयाँ प्रयोगलाई निरन्तरता दिएर यसलाई नै मुलधारको मूल्यांकन प्रणालीको रुपमा स्थापित गर्नतर्फ सम्बन्धित निकाय लागि पर्नुपर्ने देखिन्छ।
यो प्रणालीलाई स्थापित गराउनको लागि हरेक शिक्षकले आफ्नो जिम्मेवारी र कार्य प्रति आत्मसमीक्षा गर्दै विद्यार्थीमाथि न्याय गर्न सके वा नसकेको बारे स्वमूल्याकंन गर्न जरुरी छ।
अबोध विद्यार्थीलाई ज्ञान र बोधका अनेक प्रश्नहरु सोधेर नहेरीकन उत्तर लेख्न सक्नेलाई उत्कृष्ट विद्यार्थीको रूपमा चित्रण गर्ने समग्र शिक्षा प्रणालीमा पुनरावलोकन गर्न जरुरी छ। मूल्यांकन प्रणालीमा स्वीकारिएको परिवर्तनलाई त्यसको प्रस्थानबिन्दु मानेर अगाडि बढ्न सकिन्छ।
(लेखक प्रधानाध्यापक हुन्।)