त्यो गाउँ जहाँ म हुर्किएँ, त्यहाँका केही स्मराण्हरु मेरो मानसपटलमा अझ ताजा नै छन्। सायद तिनै स्मरणको प्रबल शक्तिले मलाई यहाँसम्म डोहोर्याएर ल्याई पुर्याएको छ। आज म जे छु, त्यसै गाउँम बुनेका काल्पिनिक सपनाहरु प्रतिविम्बित मात्र भएका हुन।
म सिन्धुली जिल्लामा रहेको कमला छेउको त्यस भलुवाही भन्ने गाउँको धुलो माटोसँग निकै ओतप्रोत छु, त्यहाँको हावापानीसँग पनि चिरपरिचित छु। त्यहाँको मनोरम दृष्यसँग आलौकिक सम्बन्ध छ मेरो। त्यसैले बेला-बेलामा मलाई आफ्नो बल्यकालमा फर्केर रमाउने बनी नै परिसकेको छ। म सानो छदाँ मेरा गुरुवर्गहरुले मलाई सधैं एउटा प्रश्न गर्नु हुन्थ्यो, अबोध बालकलाई भविष्यको गन्तब्यको प्रश्न, सायद पढाईमा अब्ब्ल छ भन्ठानेर होला।
त्यसबेला अबोधताका कारण होला फ्याट्ट उत्तर फर्काई हाल्थेँ, डाक्टर! मेरो बुझाइमा डाक्टर निकै ओजश्वी शब्द लाग्थ्यो, त्यसैले पेशा पनि निकै शसक्त होला भन्ने भान थियो। इज्जत, मान, प्रतिष्ठा सबै छ यसमा, यही बुझ्थेँ म। मैले नै बुनेको सपनाहरु मध्येको एक सपना भएर होला, डाक्टर बन्नु मेरो लक्ष्यको एउटा भाग बन्दै गया। मेरो स्नायु तन्तुहरु पनि यस शब्दसँग परिचित हुदै गए, कहिल्यै साथ नछोड्ने गरी। सायद केही यथार्थ पनि सँगै जोडिएर होला, मेरो त्यो सपना बन्नुमा।
वर्षा याममा कहिल्यै गाडी नआउने त्यस गाउँमा, जाडो याममा कमला नदीमा पानीको बहाव कम हुन्थ्यो। एक दुई हप्तामा एउटा ट्रक आउथ्यो, व्यापारीको धान ओसार्न। बाल्यकालमा केही अनौठो लाग्थ्यो, आक्कल झुक्कल हेर्न पाइने त्यत्रो ठूलो ट्रक देख्दा, मेरो दाइ रितेश र म ट्रक नै बनाउने कल्पना पनि गर्थ्यौँ।
प्रयास पनि गरियो, किराना दुकनको एउटा अंकलसँग एउटा खाली कार्टुन मागेर दाइले ल्याउनु हुन्थ्यो म भने माटोको चार चक्का बनाएर राख्थेँ। केही साथी पनि थिए- रोशन, मीन र भीम, कसैले डोरी त कसैले चक्का फसाउने काठ खोजेर ल्याउथे, अन्तमा सबै जोडेर डोहोर्याउने ट्रक बनाई छाड्थ्यौँ।
केही घण्टा सबै बालसखा रमाउथ्यौँ तर दुर्भाग्य, त्यो माटोको चक्का भएको ट्रक टिकोस पनि कसरी? हामी सबैको सपना भताभुंग हुन्थ्यो। आकाशमा उडेको हवाइ जाहाज हेर्यो भने कागजको जहाज बनाउनेको पनि समूह नै थियो, त्यो पनि टिक्दैनथ्यो। त्यसैले होला यस क्षेत्र तिर त्यति लगाव भएन।
मेरो गाउँमा एउटा सानो औषधी पसल थियो, करिब दश गाउँको बासिन्दाको सहारा, जीवन रक्षाको। त्यसै पसलमा एक जना स्वास्थ्य सम्बन्धी जानकार व्यक्ति थिए, हाम्रा लागि अब्ब्ल डाक्टर, डा. मुरलीधर। सबैले उनलाई सम्मानका साथ डाक्टर साहब नै भन्थे, इज्जत दिन्थे।
उनले अफ्नो ज्ञानले भ्याएसम्म धेरैको जीवन रक्षा गरे, धेरैको पीडा कम गरे, घाउमा मलहम लगाए। जे गरे सबै सेवा भावले ओतप्रोत भएर नै गरे तर केही सिकिस्त बिरामी बाँचेनन् पनि तर त्यस दुर्गम गाउँमा भएको सीमित साधानको प्रयागमा उनले जे गरे, प्रशंसनीय कदम नै ठान्थ्यो समाजले। किनकी बुझ्ने मनोभाव थियो त्यो समाजमा, छलकपट, इर्ष्या केही थिएन।
त्यस समाजका लागि उनी डाक्टर भगवानतुल्य सामाजिक व्यक्ति, नैतिकवान, इमान्दार, सहयोगी भन्ने नजरिया स्थापित थियो। त्यस बखत गाउँघरमा डाक्टर बस्ने त परिकल्पनामा मात्र सीमित थियो, डाक्टर त सीमित सहरमा मात्र थिए, त्यस गाउँमा कसरी होस्।
कुनै-कुनै गाउँमा हुने स्वास्थ्य चौकीमा बस्ने स्वास्थ्यकर्मी पनि थिएनन् त्यहाँ। दश गाउँका कोही बिरामी परे भने उनी एक्ला सहरा थिए, जीवन रक्षक पनि उनि नै थिए। घाउमा मलहम दल्ने पनि उनी, दुख्दा पीडा कम गर्ने पनि उनी। दश गाउँ पर पनि उनी जस्तै अर्का डाक्टर थिए, डा. हरिदेव।
दुवै जना मेडिकल कलेजले प्रमाणित डाक्टर थिएनन् बरु समाजले स्थापित गरिदिएका अब्बल डाक्टर थिए। उहाँहरु दुवै जनको समाजमा ओज थियो, मान मदर्न, प्रतिष्ठा, सबै थियो, के थिएन र? ती सबै समाजको देन थियो त्यसबखत, डाक्टरप्रतिको बुझाई, इमान्दारिता, नैतिकता सबै कायम थियो त्यस समाजमा।
जब म आफू बस्ने कोठाको झ्यालबाट हेर्थैँ, कहिले प्रकृतिसँग रमाउथे त कहिले त्यसै समाजका व्यक्तिहरुको भावना प्रतिबिम्बित कार्यहरुबाट। त्यसै झ्यालको आडमा उभिएर कमला नदीबाट उच्च बहाबको साथ आउने चिसो बतासको आनन्द पनि उठाउँथे। प्रायः तिनै मनोरम दृष्यका लागि मेरो झ्यालको ढोका सधैं खुल्ला हुन्थ्यो।
मेरो बुवा पनि त्यसै गाउँको प्रधानाध्यापक हुनुहुन्थ्यो। श्री सूर्यदेव, सबैले चिन्थे। बुवालाई भेट्न भनेर पनि उहाँहरु आईराख्नु हुन्थ्यो। जब ती अब्बल जीवन रक्षक आउँथे, सबै समाजले भिड गर्थे, उनका कुरा सुन्थे, त्यसै समाजले उनको सम्मान गर्थे र इज्जत गर्थे, म त्यसै झ्यालबाट हेरी राख्थे।
मेरो मन पनि खुसीले गद्गद् हुथ्यो। किन नहोस् मेरो लक्ष्यरुपी डाक्टरलाई समाजले सम्मान गर्दा। म आफै आफैमा वाह! भन्दै मुठ्ठी कस्थेँ, कुइनो खुम्याउथेँ अनि कसिलो बनाउथेँ, मुसुक्क हाँस्थेँ र तरंगीत हुन्थेँ। अनि मनमनै सोच्थेँ- आहाँ! मेरो सपना, आहाँ! डाक्टर, आहाँ! यो समाज।
सायद, उहाँ डाक्टर साहबले अनि त्यस समाज र त्यसै झ्यालबाट देखिने दृष्यहरुले मेरो मानसपटलमा सृजना गरिदिएको डाक्टरप्रतिको सकारात्मक बुझाइले होला, मैले पनि डाक्टर बन्ने काँडेबाटोमा यात्रा प्रारम्भ गरे, बीचमा धेरै बिरामीहरुको सेवामा हुमिने मौका पनि पाएँ, अहिले म काठमाडौँमा एमडी अध्ययनरत छु, त्यो काँडेबाटोमा यात्रा अझै जारी छ।
काडमाडौँ धेरैको सपनाको सहर पनि हो, बाल्यकालमा मेरो पनि सपना थियो। त्यही भएर अहिले काठमाडौँमा प्रफूल्लित छु। अचम्म नमान्नु होला! मेरा ती बालसखाहरु पनि सुखमय पारिवारिक जीवनमा व्यस्त छन् तर मेरो यात्रा भने जारी छ। म मात्र हैन, यस्तै यात्रामा हजारौ डाक्टरहरु छन्, म त केबल प्रतिनिधि पात्र मात्र हुँ।
काँडेबाटोको यात्राबाट कोही डाक्टर आत्तिदैनन्, म पनि छैन्। तर केही दिन अगाडिको कुरा हो म बाल्यकाल जस्तै आफ्नो कोठाको झ्यालबाट हेर्दै थिएँ। त्यहाँ पनि भिड नै थियो, समाजका प्रतिष्ठित व्यक्तिहरुको। एक अस्पतालले डाक्टर लगायत स्वास्थ्यकर्मीलाई राख्ने व्यवस्था मिलाएको बानेश्वर स्थित एउटा घरलाई घेरी रखेका थिए, उनीहरुले।
म अफ्नो बाल्यकाल तिर के फर्कन खोज्दै थिएँ, डाक्टर विरोधी आवाजले मेरो झ्यालका ढोका समेत तरंगीत भए, मेरो कान तरंगीत नहुने त कुरै भएन। म चनाखो भएर कुरा बुझ्न खोजेँ, झ्यालको डन्डी समाएर अझ नजिक भएँ। अहिलेको कोरोनाको जोखिम समयमा तिनै बिरामीको उपचार गर्न आफ्नो जीवन दाउमा राखेर अहोरात्री खटेका डाक्टर पो रहेछन् उनीहरु।
मेरो चासो झन बढ्यो, म भ्यालमा चिपिक्क टाँसिए, अनि बुझ्ने प्रयास गरें। केही संक्रमित बिरामीको सम्पर्कमा आएकोले ती डाक्टरहरुलाई छुट्याए बस्ने व्यवस्था मिलाइएको रहेछ अस्पतालले त्यहाँ, कोही संक्रमित पनि थिए होलान् तर बिरामीकै उपचारकै क्रममा भएका त हुन नि। अझै ती डाक्टरहरुमा त सेवाभाव नै ओतप्रोत छ, बिरामीको सेवा नै गर्न चाहन्छन्।
चाहे आफ्नो जीवन जोखिमा किन नहोस्, आफ्नो परिवारको पनि माया मारेका छन्। केही एक्कल दुक्कल डाक्टरबाहेक डाक्टरको भावनामा कुनै परिवर्तन छैन्, त्यो इमान्दारिता, त्यो सेवाभाव, त्यो नैतिकता सबै कायम नै छ। हरेक बिरामी बचाउने उनीहरुको प्रथम प्रयास हुन्छ। बचाउन सम्भव भएकालाई आवश्य बचाइ छाड्छन्।
आफ्नो ज्ञान, सीप, साधान र श्रोतले भ्याएसम्म, कालगतिले मरेकालाई कुनै डाक्टरले बचाउन सक्दैन, डाक्टर भगवान हैन, ज्ञानको उच्चतम प्रयोग गर्ने समाजका व्यक्ति नै हुन्, तपाई हामी जस्तै, मैले बुझेको यही हो।
तर मैले झ्यालबाट जे देखेँ, समाजले नै डाक्टरलाई तिरस्कार गरेको पाइयो, अझ कोरोनाको महामारीको समयमा जोखिम मोल लिएर तपाई हामीलाई नै बचाउन अहोरात्री खट्ने डाक्टरप्रति नै नकारात्मक भावना पैदा गर्ने मेरो सपनाको सहर काडमाडौँको त्यो समाज देखेँ मैले। आफू बिरामी पर्दा उपचार गर्नुपर्ने डाक्टर बिरोधी नारा गर्ने प्रगतिशील व्यक्तिहरुको हुल देखेँ मैले।
तर मैले जे देखेँ, म स्तब्घ छु। म निःशब्द छु। झ्यालको डण्डीमा कसिएको मेरो हात विस्तारै सिथिल हुँदै गए, दुवै हात आफै खुले, म भ्यालबाट टाँढा हुँदै गए। मैले बल्यकालमा भ्यालबाट हेर्दा देखिने समाज रहेनछ अहिले, प्रगतिशील ठानिएको यो समाज त झन् चेतनाहीन पो बन्दै रहेछ, मात्र आफ्नो स्वार्थमा लिप्त रहेछ यो समाज।
अरुको पीडालाई आत्मसाथ गर्ने साहस बिहीन समाज रहेछ। काडमाडौँको झ्याल, बाल्यकालमा मैले हेर्ने गाउँघरको त्या झ्यालभन्दा फरक रहेछ, निकै फरक। त्यसैले मेरो झ्यालको ढोका बन्द गर्नुको मसँग अर्को विकल्प थिएन, अनि म आफ्नो सपनालाई दोष दिंदै झ्याल बन्द गर्छु।
र मनमनै रुदै भन्छु, बाल्यकालको ती दिनहरुमा, झयालबाट हेर्दा.... जे देखेँ, त्यो दिन कहिले आउला…?
(लेखक पाटन अस्पतालमा एमडी अध्ययनरत विद्यार्थी हुन्।)