आजभन्दा ठिक २३ वर्ष अगाडि २०५४ माघ २९ गतेको राति माओवादी जनयुद्वको उद्गमथलो रूकुम (अहिलेको पश्चिम रुकुम) को सुदूर उत्तरमा अवस्थित प्रहरी चौकीको नेतृत्व सम्हाल्न सदरमुकामदेखि ३ दिनको बाटो हिँडेर पुग्दैगर्दा एम्बुसमा पारेर त्यहीँ चौकीका २ जना प्रहरी मार्दै प्रहरीको २ नाल राइफल माओवादी छापामारले कब्जा गरेको भर्खर ५ दिन मात्रै भएको थियो।
सोही हतियार नै माओवादीले प्रहरीबाट कब्जा गरेको पहिलो हतियार थियो।
दिन प्रतिदिन माओवादीको त्रास बढ्दो थियो। मध्यपश्चिम पहाडका दुर्गम गाउँहरू माओवादी जनयुद्वका परेड मैदानमा परिणत हुँदै थिए। मैले जुन चौकीको कमाण्ड सम्हाल्न पुग्दै थिएँ, पुगेर राम्ररी सुस्ताउन पनि नपाउँदै जिल्ला सदरमुकामबाट जिल्ला प्रहरी प्रमुखको सञ्चार आएको थियो, ‘शिब सा'ब, आज राति तपाईँको चौकी हान्दैछ भन्ने सुराक आएको छ है, एलर्ट रहनू।’
त्यसै पनि त्यो साँझ माओवादी जनयुद्वको दोस्रो वर्षगाँठ थियो, त्यसैले उनीहरुको विशेष कार्यक्रम हुने सर्कुलर हामीले पाईसकेका थियौं। त्यसैले उनीहरूको आक्रमणको तयारी नजरअन्दाज नगर्ने कुरै भएन।
उनीहरूलाई काउन्टर दिन आफैं निस्कने सोँच बनाएँ। तर साँझ मात्र आइपुगेको मैले अँध्यारोमा त्यहाँको भौगोलिक अवस्था देख्न त के, अनुमान पनि गर्न पाएको थिइनँ। हतारहतार खाना खाएर उनीहरू आउनसक्ने सम्भावित नाकामा एम्बुस थाप्न गएँ। त्यसबखत मेरो कमाण्डमा सँगै एम्बुस थाप्न गएका त्यस चौकीका अनुभवी सिपाहीलाई गाउँको समसामयिक अवस्थाबारे सोधेँ।
उनले निरस भावमा भनेका थिए, ‘सर, आशले हो कि त्रासले यहाँ माओवादी विरूद्ध कसैले चुँ पनि गर्दैनन् हजुर’, मैले अनुमान गरेँ त्यहाँको मुर्दा शान्ति। ती सिपाहीको २ वटा शब्द ‘आशले हो कि, त्रासले’ भने मलाई पछिसम्म तरंगित गराइरह्यो।
रातको ११-१२ बजेसम्म वरपर केही चहलपहल अनुभूति गरे पनि आक्रमण गर्न सकेनन्। मध्यरातमा हामी चौकी फर्कियौं, चौकीमा हुने टोलीले रिपोर्ट गरे, ‘चौकी वरपर उनीहरुको हर्कत सुनिएको थियो।’
भोलिपल्ट बिहान थाहा भयो, ‘उनीहरू आक्रमणको लागि आएका थिए। तर आक्रमणको लागि आउने र उम्कने नाकामा हामीले एम्बुस थापेको कारण हिम्मत गर्न सकेनन्।
मलाई यसरी स्वागत गरेका गाउँमा माओवादीका प्रभाव बुझ्दै जाँदा थाहा भयो- २०४९ को स्थानीय निर्वाचनमा एमाले र जनमोर्चाले जितेको स्थानीय निकायको २०५४ सालको निर्वाचनमा शून्य मत खसेको रहेछ। अर्थात निर्वाचन पूर्णत बहिस्कार भएको रहेछ।
प्रहरी चौकीनै रहेको त्यस ठाउँमा निर्वाचन शत प्रतिशत बहिस्कार? प्रश्न उठ्न सक्छ- के त्यहाँका जनताले माओवादीले चाहेजस्तै ब्यवस्था परिवर्तन चाहेका थिए कि? अर्थात सुरक्षा नपुगेकाले माओवादीले बलजफ्ती निर्वाचन बहिस्कार गराएका थिए त?
भएको के रहेछ भने, निर्वाचन प्रक्रिया शुरू भयो। मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, राप्रपाले स्थानीय निकायको सम्पूर्ण पद (४७ सिटमै) उम्मेदवारी दर्ता गरेका रहेछन्। मतदान कार्यको लागि निर्वाचन आयोगका कर्मचारी समयमै मतदान स्थलमा पुगे, नेपाली सेना नजिकै आफ्नो अड्डा जमाएर निगरानी गर्दै बसे, नेपाल प्रहरीले सुरक्षा ब्यवस्था मिलाएको रहेछ।
भोलिपल्ट बिहानै निर्वाचन आयोगका कर्मचारी, सुरक्षाकर्मी, अनि दलका एजेन्टहरु मतदान स्थलमा पुगे, मतदाता आफ्नो लाइनमा बसे, ४-५ सय जना लाइनमा छन् भिड जम्मा भएको छ, तर मत हाल्न कोही अघि सरेनन्।
सबै मतदान केन्द्र रहेको स्थानीय स्कुलको डिलमा रहेको ठूलो रूखको फेदमा टाँसिएको सेतो कागजमा लेखिएको सूचना पढ्दै चुप बस्दा रहेछन्। अघिल्लो रात माओवादीले टाँसेको त्यस कागजमा लेखिएको थियो, ‘आदरणीय जनसमुदायहरू, सामन्ती सरकारको निर्वाचनमा अरूलाई त हामी केही गर्दैनौं, तर जसले आज पहिलो भोट हाल्छ, त्यसको सम्पूर्ण परिवार नै सफाया गर्नेछौ।’
बिहानदेखि दोस्रो भोट हाल्ने तयारीमा दिनभरी लाइनमा सबै बसे। ५ बजेसम्म पहिलो भोट हाल्ने कोही नभएकोले खाली मतपेटिका शिलबन्दी गरेर निर्वाचन कर्मचारी सदरमुकाम फर्किएछन्। यसबाटै अनुमान भयो गाउँको अवस्था, भनौं त्यस क्षेत्रलाई माओवादीले कसरी प्रभावमा पारिसकेका रहेछन भन्नेबारे।
समय बित्दै गयो, हामी जनताको बिचमा भिज्दै गयौं, यथार्थ थाहा पाउँदै गयौं। माओवादीले राज्य अझ भनौं सत्तापक्ष बिरूद्धमा भड्काउन कुनै कसर बाँकी राखेका रहेनछन्। नभडकाओस् पनि कसरी? विकासको नाममा एउटा पुरानो स्कुल, नाम मात्रको औषधि र डाक्टर बिहिन हेल्थपोष्ट अनि १५ वर्ष अगाडि राजा विरेन्द्र हेलिकप्टरमा आएको बेला आदेश गरेर बनेको जिर्ण झोलुङ्गे पुल।
बस यस्तैमा क्रान्तिको बिज सजिलै रोपिने रहेछ। क्रान्तिकारीले सपना राम्रै बाँडेका रहेछन् - डाँडाँबाट चोर औलाले देखाउँदै भनेका रहेछन, ‘ऊ त्यो ठकुरीको ३ तले घर छ नि, हो हाम्रो सरकार आएपछि तपाईँहरूको, अनि त्यो तलको ठूला ठूला टार (खेत) तपाईँहरूको भाग लाग्छ, हाम्रो जनसरकार आएपछि सबै तपाईहरू गरिबको भागमा।’ बस के चाहियो र?
त्यस भेगमा गरिबी कस्तोसम्म थियो भने, बेलाबखत हामी प्रहरी शंका लागेको घरमा खानतलासी गर्न जाँदा घर भित्र दिउँसै अन्धकार, अनि बत्ति (कुपी) बाल्नुस् न भन्दा छैन हजुर भन्ने, किन भन्दा ‘मट्टीतेल किन्ने पैसा छैन, हामीले बाल्ने त उहीँ सल्लाको दियालो हो हजुर।’ यस्ता अवस्थाका गरिबलाई आशा देखाउँदा आश लाग्ने नै भए, त्यसैले जनता माओवादीले जे भने पनि मान्ने अवस्थामा थिए। हुनसक्छ, कुनै आशमा अनि कुनै त्रासमा।
सँगै जोडिएका ३ जिल्ला जाजरकोटमा काली बहादुर खाम, रूकुम-रोल्पामा नन्द किशोर पुन ‘पासाङ’ (हाल उप-राष्ट्रपति), वर्षमान पुन (मन्त्री), ओनसरी घर्ति (सभामुख), सन्तोष बुढाहरूको चलखेल थियो।
समय गुज्रदै गयो। स्कुल त नाम मात्रैको थियो। विद्यार्थी कम आउने, साना साना कक्षाका विद्यार्थी देखिन्थे, तर माथिल्लो कक्षाका विद्यार्थी कम, सुनिन्थ्यो शिक्षकहरु नै माओवादीको राजनीतिक कक्षा लिने गर्छन्, अनि शिक्षकहरू माओवादीको निगरानीमा।
एसएलसी आयो। गाइगुइ सुनियो-एसएलसी बहिस्कार हुँदैछ। हामीले प्रयास गर्यौं त्यस वर्ष एसएलसी दिने विद्यार्थीलाई भेला गराएर सम्झाउने प्रयास गर्यौं, कोही बोल्दैनन्, टाउको निहुराएर बसेका छन्।
बुर्जुवा शिक्षा बहिस्कारको नारा राम्रै चलेको रहेछ, बुर्जुवा शिक्षा बहिस्कार गर्दै जनताको विश्व विद्यालयमा अध्ययन गर्न (क्रान्तिमा हिँड्न) दवाब दिएको सुनियो।
त्यसबखत बाबुराम भट्टराईको नाम धेरै चलेको, 'प्रचण्ड' भन्दा प्रकाण्ड को नाम बरू सुनिन्थ्यो, प्रचण्ड भनेको मिथ्या हो भन्ने सुनिन्थ्यो, तर प्रहरीले भने प्रचण्डको फोटो समेत सर्कुलर गरिसकेको थियो। हामीले उदाहरण दिएका थियौं-तपाईहरुको सबैभन्दा ठूला नेता डा बाबुराम भट्टराईले नेपाल र इन्डियाको बुर्जुवा शिक्षा नै हासिल गरेका हुन्। तपाईहरू यहाँ बुर्जुवा शिक्षा भन्दै बहिस्कार गराउने, उता उहीँ डा. भट्टराइको छोरी बुर्जुवा शिक्षा भारतमा पढ्दैछन्। तर माओवादीको सपनामा बहेका विद्यार्थीले बुर्जुवा शिक्षाको एसएलसी बहिस्कार गरेरै छाडे, हामी हेरेको हेर्यै भयौं।
यहीबीच हामीले रूकुम र डोल्पाको सिमानामा माओवादीको तालिम केन्द्र पत्ता लगायौं। केही सामाग्री हात लाग्यो - माओ, होची मिन्ह, फिडेल क्यास्ट्रो, लु सुन, कन्फ्यूसियसका रणनीति र गुरिल्ला वारफेर पढाइँदोरहेछ। गज्जब लागेको चाहीँ कन्फुसियसको ‘यदि तिमी एक वर्षको लागि सोच्छौं भने बालि लगाऊ, १० वर्षको लागि सोच्छौं भने रूख रोप, तर १०० वर्षको लागि सोच्छौ भने जनतालाई शिक्षित गराउ’ तालिम यस्तो, तर बुर्जुवा शिक्षाको नाममा अनेक सपना देखाएर तिनै किशोर केटाकेटीलाई शिक्षा बहिस्कार गराइरहेका थिए।
सबैभन्दा दुर्भाग्य बुर्जुवा शिक्षाको नामा जनताको विश्व विद्यालय पढ्ने भन्दै भर्खर किशोरवयका भविष्यका कर्णधारले पढाई छाडे, कति पढाई मात्रै हैन गाउँ पनि छाडे र जंगल पसे। बिचरा बाबु आमाका आशा र सपनाको त्यान्द्रो चुड्याउँदै स्कुले विद्यार्थी लाखापाखा लागे। कोही जंगल, कोही भारतको कालापहाडतिर आफ्नो कर्मको खोजीमा लागे।
गाउँमा उही बुढाबुढी घर रूङ्ग्दै बसे। एक जना शिक्षिकाले दुःखी हुँदै ती जंगल पस्ने विद्यार्थीका भनाइ सुनाएकी थिइन् ‘यी कुकुर (प्रहरी) हरूले आज हाम्रो खोजी गर्छ, हाम्रो सरकार आएपछि यीनलाई ठिक पार्नुपर्छ, यीनले हामीलाई सलाम गर्नेछन्।’
विस्तारै विस्तारै माओवादी प्रभाव बढ्दै गयो। आफ्ना राजनीतिक प्रतिष्पर्धीहरू गाउँबाट विस्थापित गराउन थाले। त्यसको लागि उनीहरूको नारा थियो, ‘कांग्रेस खोजी खोजी, राप्रपा रोजी रोजी, एमाले सोधी सोधी’ अर्थात कांग्रेस देख्यो कि (शत्रुको रूपमा) सफाया गर्ने, राप्रपाको गतिविधि हेर्दै छानेर सफाया दिने। तर एमालेलाई सोधेर (मित्र शक्तिको रूपमा) कारवाही गर्ने नीति थियो।
दलहरूमा एउटालाई सफाया गर्दा अर्को दल चुप लाग्ने प्रवृति देखिन्थ्यो। त्यसैले हेर्दाहेर्दै नेपाली कांग्रेस र राप्रपा कि त सफाया भए। कि त गाउँबाट बिस्तारै बिस्थापित हुँदै गयो। कालान्तरमा बाँकी रह्यो एमाले मात्र।
पछि अरू दल गाउँमा सकिएपछि बाँकी रहेको एमालेको पनि उहीँ हाल भयो अर्थात अब गाउँ खाली। माओवादीको त्रासमा गाउँ छाड्ने र माओवादीको सपनाको आसमा बाच्ने मात्र गाउँमा बाँकी रहे।
पछि त हामी बसेको चौकी नै माओवादीले कब्जा गरेछन्, गाउँमा अब सरकारी अंग कुनै बाँकी रहेन, सम्पूर्ण रूपमा माओवादीको नियन्त्रणमा गयो। हुँदा हुँदा सरकार बिस्तारै सदरमुकाममा केन्द्रीत हुँदै गयो, माओवादीको प्रभाव यत्रतत्र बढ्दै गयो। माओवादीको सपनामा आफ्नो भविश्य देख्नेको संख्या बढ्दै गयो। तिनै सपनामा मर्न र मार्न तयार हुनेको संख्या बढ्दै जाँदा धेरैका सिन्दुर पुछिए, काख रित्तिए, यसो गर्दागर्दै दुवै पक्षबाट मारिनेको संख्या १७,००० नाघ्यो।
कालान्तरमा कुनै बेला मर्न मार्न लगाउने उहीँ सत्ता पक्ष र बिद्रोही पक्ष १२ बुँदे सम्झौताको नाममा एकै ठाउँमा उभिए। उनीहरूको नाममा मार्न र मर्न तयारहरू चाहीँ रमिते भए। सत्ताको सिटहरू बाँडिए। हिजोका माओवादी सेनालाई छानि छानि नेपाली सेनामा समायोजन गरियो। तर त्यतिखेर उही बुर्जुवा शिक्षाकै सर्टिफिकेट खोजियो, कोही सेनामा समायोजन भए, कोही केही राहत बोकेर गाउँ लागे र ती पनि गाउँमा टिक्न नसकी कोही खाडी, मलेसिया अनि भारतको कालापहाड लागे।
हिजो कल्कलाउँदो उमेरमा देखेका सपना उमेरसँगै निमोठिए, आशाहरू निराशामा बदलिए। हिजो आफूले देवत्वकरण गरेका नेता र उनका आफन्तले ठूला ठूला ठाउँ पाए, तिनै नेताहरू पनि स्वार्थ अनुसार बिभक्तिए। देश फेरि उहीँ हिजैको डढेलोमा सल्किने अबस्थामा पुगेको छ।
आज भन्दा ठिक २५ वर्ष अगाडि आजकै दिनबाट माओवादीले आमुल परिवर्तनका ठूला नारासहित रोल्पाको होलेरी, रूकुमको आठबिसकोट (रारी), सिन्धुलीको सिन्धुलीगढ़ी प्रहरी चौकीमा सशस्त्र कारवाही गरी जनयुद्वको शुरूवात गरेका थिए।
नेपाली राजनीतिको शान्त तलाउमा यसले ल्याइदिएको एउटा ठूलो तरंग वि.स. २०६३ मङ्सिर ५ गतेको बृहत शान्ति सम्झौता पश्चात रोकियो। त्यस तरंगको झनझनाहट भने अझै अन्तर कुन्तरमा महशुश भईरहन्छन्।
आजकै दिन २५ वर्ष अगाडि अर्थात १ फागुन २०५२ सालदेखि बाँडेका ती सपना आखिर कहाँ पुगे होलान्? बुर्जुवा शिक्षा पढ्न छाडेर जनताका विश्व विद्यालय पढ्न जंगल पसेकाको पढाईको स्तर कहाँसम्म पुग्यो कुन्नि?
हिजो गाउँका धनिमानीका घर देखाउँदै जनयुद्व सफल भएपछि ती सबै सम्पत्ति तिमीहरूका हुनेछन भन्ने नेताहरु काठमाडौंमा धनि धनीका विशाल घरमा बस्ने भए। तर ती गाउँमा धनिमानिका घर आफ्नो हुने सपना देखेकाहरू खाडी र मलेसियामा ती भन्दा पनि ठूला ठूला गगनचुम्बी महल हेर्दैछन क्या रे।
गाउँमा २५ वर्ष अगाडि आमुल परिवर्तन गर्छु भन्नेहरू आफैं परिवर्तन भए, तर जसको काँधमा चढेका थिए तिनका अवस्था चाहीँ परिवर्तन भएनन्। हिजो परिवर्तनका ठूला ठूला नारा दिनेले राजनीतिक परिवर्तन त गराए, तर राजनीतिक स्थिरता दिन सकेनन्।
न त आर्थिक अनि सामाजिक परिवर्तन नै दिन सके। अझ उराठलाग्दो त हिजो तिनै परिवर्तनका लागि सँगै लडेर १२ बुँदे सम्झौता गर्दै शान्ति प्रक्रियामा आएकामध्ये कोहि फेरि उही सपना देखाउँदै जंगल पसेका छन्।
विरक्त लाग्छ, अझै कतिले फेरि सपनाका नाममा आफ्ना सपनाहरू मेट्ने हुन् अनि कति चाहीँ आफैं मेटिने हुन्। त्यसैले फेरि पनि एउटा कुरा सोध्न मन लागेको छ- ‘के पायौं ए हिजो सपना देखाउने र देख्नेहरू हो?’