चाहे स्वयम्भू-पुराणमा दहको रूपमा होस् वा गोपालराज वंशावलीमा पशुपतिको ज्योतिर्लिंग, संस्कृतसँग हातेमालो गर्दै नेपालको प्राचीनदेखि मध्यकालीन इतिहासलाई कुनै एक भाषाले साँचेर राखेको छ भने त्यो नेपाल भाषा नै हो।
२० औं शताब्दीयता राज्य-दमन खेपेको यस भाषामा उक्त समयअघि सिंगो काठमाडौं उपत्यकाको प्रशासन अडेको प्रशस्त प्रमाण भेटिन्छ। युनेस्कोले लोपोन्मुख भाषाको रूपमा सूचिकृत गरिसकेको नेपाल भाषा बोल्नेहरूको संख्या आज काठमाडौं उपत्यकामै चालीस प्रतिशतमुनि झरिसकेको बिडम्बना छ।
सूचना-प्रविधि विकाससँगै स्थानीय तहमा भाषिक संरक्षणप्रतिको जागरण जनमानसमा दिनानुदिन बढ्दो छ। काठमाडौं महानरपालिकाले समेत गएको महिनादेखि विद्यालयस्तरमा नेपाल भाषाको शिक्षा अनिवार्य गर्नुलाई एउटा महत्वपूर्ण कदम मान्नुपर्छ। तर चाहेको स्थान र समयमा भाषिक ज्ञान पाउन आधुनिक प्रविधिको उपयोग गर्नुको विकल्प छैन। सांस्कृतिक संरक्षणका ठूला चुनौतीको सामना गर्न विश्वमा उपलब्ध र प्रमाणित उपाय सदुपयोग गर्न हामी पछि पर्नु हुँदैन।
कुरा ५ डिसेम्बर, २०२० को हो। विश्व नेवा: संगठनका लागि आयरल्यान्डका दीपेश शाक्यको नेतृत्वमा विकसित अनलाइन नेपाल भाषा शब्दकोषको लोकार्पण काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको हातबाट हुने कार्यक्रम थियो। अमेरिकाका सिजन श्रेष्ठको अध्यक्षतामा भएको उक्त गोष्ठीमा क्यानडा, नेपाल, बेल्जियम, बेलायत लगायत विभिन्न देशका प्रतिनिधिको सक्रिय सहभागिता थियो। यस अन्तर्क्रियामा निकै उत्सुकताका साथ सहभागी थिए गुगलका एक युवा इञ्जिनियर उज्जवल राजभण्डारी।
लोकप्रिय कथाकार विजय मल्लका नाति राजभण्डारीले नेपाल भाषा बोल्न नआए पनि आफ्नो मातृभाषाप्रति उत्तिकै माया भएको र आफ्नो प्राविधिक सीपले भ्याएसम्म नेपाल भाषालाई गुगलबाट अनुवाद गराउनतर्फ पहल गर्ने इच्छा व्यक्त गरे।
उक्त प्रस्तावलाई सबैले सहर्ष स्वागत गरे भने त्यसको लगत्तै अमेरिकाबाट दया शाक्य र डा सुभाष प्रजापति, नेदरल्यान्डबाट डा. बालगोपाल श्रेष्ठ र बेलायतबाट म आफैं लगायतको एउटा कार्यदल बन्यो। गुगल ट्रान्सलेट भनिने अनुवाद प्रणालीमा नेपाल भाषा भित्र्याउन इञ्जिननियर राजभण्डारीलाई चाहिँदो सामग्री उपलब्ध गराइ गुणात्मक र संख्यात्मक आवश्यकता पूर्ति गर्ने जिम्मेवारीसहित विश्व नेवा: संगठनको कार्यसमितिले सो कार्यदलको चयन गरेको थियो।
चरण १ - अंकरूपण
अंकरूपण अर्थात् डिजिटाइजेसनको अर्थ हुन्छ भौतिक वस्तुहरूको डिजिटल प्रतिलिपि विकास गर्नु।
यस पहिलो चरणको उद्देश्य बढीभन्दा बढी नेपाल भाषामा प्रकाशित सामग्री संकलन गर्नु थियो। नेपाल भाषा जस्तो ऐतिहासिक रूपमा सीमान्तकृत भाषाले यस्तो आवश्यकताको पूर्ति गर्नु आफैंमा सहज काम हुन्न।
राणाकालीन नेपालमा यस भाषामा लेख्न-बोल्न प्रतिबन्ध थियो भने यसरी मातृभाषाको निहित मानव अधिकारबाट वञ्चित कैंयनले सर्वस्व-हरण, जेल सजाय र देश निकाला समेत भोग्नु परेको इतिहास साक्षी छ।
इतिहासको त्यस अँध्यारो कालखण्डमा नेपाल भाषाका हस्तलिखित किताब खोजी-खोजी जलाइन्थ्यो। नेपालमा प्रजातन्त्रको बहालीपछि मात्र जनताले मातृभाषामा लेख्ने-बोल्ने अधिकारलाई खुला रूपमा फिर्ता पाए।
लगभग एक शताब्दी लामो भाषिक दमन उपरान्त विश्वबाट एउटा अत्यन्त विकसित संस्कृति तीव्र गतिमा लोप हुने क्रममा छ। तर एक्काइसौं शताब्दीको आरम्भमा देवनागरी युनिकोड विकास भएसँगै नेपाल भाषालाई सूचना प्रविधिका माध्यमबाट प्रयोगमा ल्याउन कठिन भएन।
नेपाल भाषाको लेखन र प्रकाशनमा फेरि सास थपिएझैं भयो। फलत: विभिन्न डिजिटल पत्रिकाहरूको जन्म भयो भने सर्वसाधारणले यस प्रविधिको सक्दो प्रयोग गरे। यसरी प्रकाशित सामग्री संकलन क्रममा दशकौंदेखि सक्रिय ईलोहं प्रकाशन र झीगु स्वनिग: दैनिकले उल्लेखनीय योग्दान पुर्याए।
गुगल ट्रान्सलेटमा हजारौं संख्यामा नेपाल भाषामा प्रकाशित सामग्री भित्र्याउन अझै पर्याप्त भने थिएन। अन्तत: संख्यात्मक चुनौती पार गर्न भौतिक रूपमा प्रकाशित किताबहरू स्क्यान गरी ठूलो संख्यामा अंकरूपण गर्ने काम केन्द्रीय नेपाल भाषा विभाग (त्रिवि) का उपप्राध्यापक रवि शाक्यको अथक प्रयासबाट सम्भव भयो।
यो चरणमा विभिन्न फाइल फर्म्याट र टाइपसेटिङका चुनौतीलाई इञ्जिनियर राजभण्डारीसँगको सहकार्यमा कार्यदलले पार गर्दै गयो। यस प्रथम चरणको मुख्य प्रतिफल भनेको गुगल सर्च इञ्जिनले इन्टरनेटमा भेटिने हजारौं भाषामध्ये नेपाल भाषालाई छुट्टै भाषाका रूपमा चिन्नु थियो। यसमा हामीले ७५ प्रतिशत सफलता हासिल गर्यौं। अनि अन्य भाषाको तुलनामा यो उपलब्धि निकै उत्साहजनक भएको गुगलले पुष्टि गर्यो।
चरण २ - अनुवाद संकलन
दोश्रो चरण थियो, नेपाल भाषाबाट अन्य भाषामा अनुदित सामग्री संकलन।
राजभण्डारीका अनुसार अंग्रेजी अनुवादलाई प्राथमिकतामा राख्यौं भने गुगल प्रणालीमा सहज हुने देखियो। किनभने कुनै पनि भाषालाई गुगलको कृत्रिम बुद्धि प्रणालीले पहिले अंग्रेजीमा अनुवाद गर्ने रहेछ। अनि मात्र अन्य भाषामा विधिवत रूपमा पुन: अनुवाद गर्दै गएर भाषिक दूरीलाई चरणबद्ध रूपमा पार गर्दै जाने कुरा प्रष्ट भयो। यही रणनीतिलाई आधार मानी कार्यदलले सक्दो अंग्रेजी अनुवादको संकलनमा जोड दियो। अर्को विकल्प भने नेपालीमा अनुदित सामग्रीको थियो।
नेवा: संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि विदेशमा जन्मिएका संस्थामध्ये अमेरिकाको नावा: अर्गनाइजेसन अफ् अमेरिका र बेलायतको पासा पुच: गुथिले गएको दुई दशकमा असंख्य विज्ञप्ति र समाचार प्रकाशन गर्दा अंग्रेजीमा पनि उल्था गर्दै आएका थिए।
तीमध्ये धेरैभन्दा धेरै सामग्री यस चरणका लागि प्रत्यक्ष रूपमा उपयोगी ठहरिए। नेपाल भाषा चलचित्रका संवादको अंग्रेजी सबटाइटल समेत उपयोगी सिद्ध भयो। अझ आफ्ना व्यावसायिक रूपमा प्रकाशित पुस्तक समेत उपलब्ध गराइदिएर बालगोपाल श्रेष्ठ र मथुरा सायमि जस्ता मूर्धन्य रचनाकारले भाषाप्रेमको अनुपम उदाहरण समेत दिए।
अन्तत: एक महिना जतिको अथक प्रयासपछि संख्यात्मक दृष्टिले सन्तोषजनक परिणाम आयो र योजना तेश्रो र झनै चुनौतीपूर्ण चरणमा प्रवेश गर्यो।
योजना निकै अघि बढिसकेको हुँदा गुगलमा नयाँ भाषाका रूपमा सूचिकृत हुनुपर्ने राजभण्डारीले बताए। नेवारी, नेवा: भाय्, नेपाल भाय्, जस्ता विभिन्न नामले चिनिने भएकाले नामका बारेमा एकरूपता र परिचयात्मक सहजताका प्रश्न खडा हुनु स्वाभाविक थियो। विभिन्न नाम भए पनि नेपाल भाषा नै उपयुक्त नाम हो भन्ने विश्व नेवा: संगठनको कार्यसमितिले निर्णय गर्यो। यसै अनुरूप गुगलबाट अनुबन्धित भाषा सूचीमा नेपाल भाषा नामले नै सूचिकृत पनि भयो।
चरण ३ - परीक्षण तालिका
तेश्रो चरण वास्तवमा यस्तो चरण थियो जब यसै योजनाका लागि भनेर नयाँ सामग्री निर्माण गरियो।
१९ जनवरी, २०२१ का दिन गुगलबाट पार्टनरसिप टिमकी सुसन च्यानसँग एउटा सम्झौता पत्रमा विश्व नेवा: संगठनका तर्फबाट मैले हस्ताक्षर गरेँ। सम्झौताअनुसार गुगललाई चाहिए बमोजिमका १,२०० अंग्रेजी वाक्यको नेपाल भाषामा अनुवाद गर्नुपर्ने भयो।
ती वाक्य सामान्य बोलीचालीमा प्रयोग हुने मात्र नभएर धेरै जसो प्राविधिक र वैज्ञानिक लवजका पनि हुन्थे। समाजशास्त्र र राजनीतिदेखि लिएर ज्यामितीय गणित र भौतिकशास्त्र जस्ता प्राज्ञिक विषयबाट पनि हुन्थे।
फेरि एउटा वाक्यको अर्को वाक्यसँग कुनै सम्बन्ध नहुँदा सन्दर्भ परिवर्तन भएको हुन्थ्यो। कठिन विषय र परिप्रेक्ष्यमा पनि अंग्रेजी जत्तिकै प्रतिस्पर्धाका साथ नेपाल भाषामा पनि लेख्न-बोल्न सकिने कुराको कसीजस्तै थियो यो चरण। एकाध घन्टा घोत्लिँदा पनि दस वाक्यको अनुवाद गर्नै हम्मे-हम्मे हुने।
अमेरिकाका सुभाष प्रजापतिसँग उनको भर्खरै विकसित नेपाल भाषा शब्दकोष वेबसाइटको नेपालस्थित समूह तयार थियो भने बेलायतमा पासा पुच: गुथिको मेरो समूह। यस कठिनतम् तेश्रो चरणको कार्यभारलाई प्रजापति र मैले लगभग आधा-आधा बाँड्यौं।
महिनादिन बितिसकेपछि यो चरण पार गर्न हामीलाई अझै पनि वेल्सबाट कृष्ण चंखु र नेदरल्यान्डबाट बालगोपाल श्रेष्ठले समेत सहयोग गर्नुपर्ने भयो। मध्य मार्च पुगिसक्दा जब मैले सुसनलाई सम्झौता अनुसारको परिणाम बुझाएँ, उनकै समूहका अर्का इञ्जिनियर इसाक कास्वेलले खुसी भएर लेखे, 'दिस इज वन्डरफुल, थ्यांक यु।'
यी १,२०० वाक्य एउटा परीक्षण तालिकामा भित्र्याइए। गुगलले गरेको अनुवादको जाँच गर्ने उद्देश्यले यो परीक्षण तालिका विकास गरिएको थियो। यसको शुद्धताले भविष्यमा गुगल प्रणालीबाट गरिने नेपाल भाषा अनुवादको स्तर निर्धारण हुनु स्वाभाविक थियो।
जे होस्, यस चरणपछि नेपाल भाषा पनि गुगलका सामुदायिक सक्षमतायुक्त भाषामा सूचिकृत भयो। यस वर्षका लागि मात्र विश्वका दुई सयभन्दा बढी भाषा गुगलबाट अनुवादका लागि क्रमबद्ध भए पनि नेपाल भाषा र आइसल्यान्डिक गरी दुई भाषाले मात्र तेश्रो चरण पार गरेको तथ्य सुन्न पाउँदा हामीले गहिरो सन्तोष र गर्व एकै सासमा अनुभव गर्यौं।
चरण ४ - सामुदायिक सक्षमता
नेपाल भाषा अनुवाद प्रणालीको गुगलसँगको यात्रा अब अन्तिम चरणमा छ। यसमा कुनै व्यक्ति र समूहको नभएर यस भाषालाई बचाएर राख्ने सिंगो समुदायकै योगदान चाहिएको छ। करिब-करिब १२,००० अंग्रेजी वाक्यको नेपाल भाषामा अनुवाद गर्न सम्पूर्ण नेवा: समुदाय नै लाग्नुपर्ने आवश्यकता छ।
पहिला तीन चरण पूरा भइसकेकाले गुगलले निम्नलिखित लिंकमा गएर कसैले पनि अनुवाद गर्दै जति सक्छ उति वाक्य भित्र्याउन ढोका खोलिदिएको छ - https://translate.google.com/contribute
जब १२,००० वाक्यको लक्ष्य पूरा हुनेछ, युनेस्कोमा 'निश्चित रूपमा लोपोन्मुख' भनिएको र आफ्नै देशमा एक शताब्दीसम्म दबाइएको नेपालको एक राष्ट्रिय भाषा हाम्रो भावी सन्ततिका लागि अंग्रेजीबाट अनुवादका लागि तयार हुनेछ।
यस चरणको सफलता अब हामी सबैको हातमा छ। प्रविधिसँग मिलेर हामीले यस भाषाको भविष्य बदल्न सक्छौं। यही बाटो नेपालका अन्य १२७ भाषाले पनि लिन सक्छन्। ती सबैले प्रविधिको सही उपयोग गरून् भन्नु पनि यस लेखको अभिप्राय हो।
मानिसहरू संगठित भए भने एक-दुई व्यक्तिले गर्न नसक्ने कठिन योजनालाई सफलतासम्म पुर्याउन सक्छन्। विश्व नेवा: संगठन यस्तै एउटा संगठन हो।