‘कसकी छोरी? के थरी?’, जमघटहरूमा सायद मैले सबैभन्दा धेरै उत्तर दिएको प्रश्न यही होला, ‘अनि बा के गर्नुहुन्छ?’
ममात्रै होइन, नेपाली समाजमा प्राय: सबै छोरीहरूले हरेक दिन यो प्रश्नको उत्तर तयारी अवस्थामा राख्नुपर्छ। किनभने हाम्रो सामाजिक संरचनाले बा लाईमात्रै सबैभन्दा पहिले चिन्छ।
बा र थरले हाम्रो जात, स्थान र वर्गको प्रतिनिधित्व गर्छ नेपालमा। महिलाको हकमा त झन् उनीहरूको परिचय नै त्यसैसित जोडिएर आउँछ। बिहे नगरून्जेल बा र बिहे गरेपछि पतिको थर जोडिएर।
बिहे गर्नुअघि र गरेपछि पनि म यही प्रश्न सामना गरिरहेको छु, ‘कसकी छोरी, के थरी?’
र म उत्तर दिइरहेको हुन्छु, ‘अमरराजकी छोरी, थर कैनी।’
कैनी मैले आर्जेको थर होइन। सायद थर कसैले आर्जिँदैन। यो मेरो ‘पारिवारिक’ थर हो। मेरो बुवाबाट पाएको। जसलाई मैले कहिल्यै छाड्ने विचार गरिनँ र छाड्दिनँ। कैनी भन्दा कतिले त भनेका पनि छन् ‘खैनी? यस्तो पनि थर हुन्छ?’ पहिले-पहिले यस्तो सुन्दा नमज्जा लाग्थ्यो, अहिले अभ्यस्त भइयो। बरू म उत्तरमा भन्छु, ‘हुन्छ, मेरो छ त।’
र मलाई कैनी थर दिने उनै बुबा सम्झेर केही लेख्न खोज्दैछु। सन्दर्भ पनि परेको छ बुवाको मुख हेर्ने औंसीको दिन। यद्यपि आफ्ना बाआमा सम्झिन कुनै विशेष दिन चाहिन्न, औंसी-पूर्णिमा चाहिन्न। यी सन्दर्भहरू त केवल बहाना हुन्।
हेर्न त हामी हरेक दिन बा-आमाको मुख हेरेर हर्षित भइरहेका छौं। उनीहरू छन् भन्ने सम्झेरै पनि खुसीखुसी छौं।
मेरो बुवा अमरराज कैनी तनहुँको दुर्गम डाँडा कर्लुंगमा साधारण किसान परिवारमा जन्मिनुभयो। उहाँको बाल्यकाल खेतीपाती र वस्तुभाउको रेखदेखमै बित्यो। केटोकेटी छँदा बुबाले हामीलाई आफ्नो बाल्यकाल सुनाउनुहुन्थ्यो। हामी ठान्थ्यौं त्यो कथा हो। आफ्ना संघर्षका कथा सुनाएर बुबा हामीलाई हाम्रो जरो के हो र हामी कुन अवस्थाबाट यहाँ आइपुगेका हौं भन्ने सम्झाउन चाहनुहुन्थ्यो।
पटक-पटक हामी छोराछोरीलाई उहाँले सुनाउनुभएको छ- बुबा कसरी खाली खुट्टा नारायणगढदेखि तनहुँ कर्लुङसम्म तीन दिनको बाटो नुनको भारी बोकेर हिँड्नुभयो? १८ वर्षको किशोर उमेरसम्म विद्यालय टेक्न नपाएको केटो आफूभन्दा दसक कान्छा ‘केटाकेटी’ सित सँगै कसरी स्कुल सुरू गर्नुभयो? र कसरी स्कुल भर्ना भएको पाँचै वर्षमा एसएलसी सक्नुभयो?
सुन्दा हामीलाई यस्तो पनि हुन्छ र बुबाले गफ पो दिनुभयो किजस्तो लाग्थ्यो। तर त्यो यथार्थ थियो।
सानै उमेरमा राजनीतिमा होमिनुभएका मेरा बुबाले जेलमा रहेकै बेला स्नातक र स्नातकोत्तर तहको पढाइ पूरा गर्नुभयो।
राजनीतिमा अहिले अमरराज कैनीको नाम छ। तर त्यो नाम रातारात र सम्पन्न भएर बनेको होइन।
हामी बुझ्ने हुँदा घरका भित्तामा बिपीका फोटाहरू टाँसिएका थिए। हामीलाई त्यो पनि थाहा थिएन को हुन् र ती फोटा किन भित्तामा टाँस्नु परेको छ? तर बिस्तारै हामी ती फोटावाला व्यक्ति लेखक र देशका नेता हुन् भन्ने बुझ्दै हुर्कियौँ। बिपी, बहुदल, प्रजातन्त्र, कांग्रेस शब्दहरू सुन्दै हामी हुर्कियौं। यद्यपि हामीले राजनीतिको बाटो भने पच्छ्याएनौं।
मलाई मधुरो सम्झना छ, राजनीतिकै दौरान बुबा दमौली र पोखरा जेलमा हुनुहुन्थ्यो। बुबा ‘अपराधी’ होइन भनेर हामीलाई बुझाइएको थियो। बुबा ‘ठूलो उद्देश्य’का लागि लागेको भनेर हामीले बुझेका थियौं र बुबा जेलमा रहे पनि हामीलाई ग्लानी थिएन।
घरमा हुने भेला, भेटघाटहरूमा बुबाले भनेको हामीले सुनेका थियौं, ‘बहुदल आएपछि देशको उन्नति हुन्छ। २०४६ को जनआन्दोलनका बेला हाम्रो घर एउटा केन्द्र थियो। बैठक, योजना निर्माण, छलफल र नेताहरूको बासका लागि।
वृद्ध हजुरबुवा दमौली हुनुहुन्थ्यो। उहाँको सेवा र राजनीतिका लागि बुबा तनहुँ बस्नुहुन्थ्यो र त्यो उहाँको कर्मथलो थियो।
लहैलहैमै विद्यार्थी बेलाबाटै कांग्रेसको राजनीति सुरू गर्नुभएका बुवा वर्षौंसम्म पार्टी र पार्टीकै लागि भनेर लागिरहनु भयो। त्यही राजनीति गरेबापत् उहाँको जागिर खोसियो। जेल पर्नु भयो। परिवार थियो, छोराछोरी थिए। दिनहरू अप्ठ्यारा थिए। र पनि उहाँले आफ्नो सिद्धान्त छाड्नु भएन। पार्टी प्रशिक्षण, संगठन निर्माण, कार्यकर्तालाई सहयोग सायद तनहुँका जनताले अहिले पनि बिर्सेका छैनन्। चार महिना श्रम राज्यमन्त्री हुनुबाहेक राजनीतिक हिसाबले कुनै पद पाउनु भएन। र पनि पदमात्रै भनेर उहाँले राजनीति प्रतिको आफ्नो प्रतिवद्धता कहिल्यै छाड्नु भएन।
बुबाको राजनीति, पद आफ्नै ठाउँमा थियो। हामी छोराछोरी र परिवारले पनि बुबाको पदलाई ‘ठूलो’ उपलब्धिका रूपमा लिएनौं। हाम्रा लागि त समाजमा उहाँले गरेको योगदान ठूलो थियो राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्ताका रूपमा।
त्यसैले बुबा हाम्रा लागि कांग्रेसको नेताभन्दा सामाजिक अभियन्ता धेरै हुनुहुन्थ्यो।
बुबा ठान्नुहुन्थ्यो, सामाजिक परिवर्तनको सुरूआत घरबाटै हुनपर्छ। जसको सुरूआत उहाँले घरबाटै थाल्नु पनि भयो। दिदी र मैले घरमा छोराभन्दा भिन्न खेप्नु परेन। मान्छेहरूलाई लाग्ला नेताको घरमा त्यो स्वाभाविक हो के ठूलो कुरा भयो र? तर होइन, राजनीतिमा लाग्ने, पदमा पुग्ने सबै सामाजिक अभियन्ता हुन सक्दैनन्। ती सबैको व्यवहार बोलीजस्तै हुन्छ भन्ने छैन। हामीले त्यस्ता सयौं नेता देखेका छौं जो परिवर्तनको गफ गर्छन् तर व्यवहारमा पितृसत्ताको जडसुत्रवादी छन्, त्यसैका पहरेदार छन्।
तनहुँका नागरिकले पक्कै अनुभव गरे होलान्, दलितप्रतिको भेदभाव समानताको भाषणलेमात्रै हट्दैन भनेर दलितका घरमा वृद्धवृद्धासँग टीका थाप्ने, कथित छुवाछुतको अन्त्य आफैंबाट सुरू गर्नुपर्छ भनेर सहभोज गर्ने काम मेरा बुबाले सुरू गरेका हुन् भन्दा मलाई गर्व नै लाग्छ।
महिलालाई घरायसी कामको बोझ घटाएर उनीहरूलाई पनि समान अवसर दिनुपर्छ भन्ने मान्यता बुबाको थियो। त्यसका लागि हरेक घरका पुरूषले विशेष पहल गर्नुपर्छ भन्ने कुरामा बुबा सधैँ प्रतिवद्ध रहनुभयो। लैङ्गिक विभेदको अन्त्य घरबाट नै सुरू गर्नुपर्छ भन्ने कुरामा बुवा सधैँ दृढ रहनुभयो। सामान्यजस्तो लाग्ने तर खाना पकाउने काम घरका सबैले पालोपालो गर्नुपर्ने, आफ्नो कोठा आफैं सफा गनुपर्ने, आफूले खाएका भाँडा आफैं माझ्नुपर्ने जस्ता घरायसी कामका अभ्यास हामीलाई बुबाले घरबाटै सिकाउनु भएको हो। राजनैतिक काम र चुनाव प्रचार-प्रसारमा गाउँगाउँ जाँदा बुबाले आफूले खाएको भाँडा अरूलाई माझ्न दिनुभएन। पार्टीमा कार्यकर्ताले बुबाको यो बानी कति ग्रहण गरे मलाई थाहा छैन तर हाम्रा घरका सदस्यबीच यो काम यसले मात्रै गर्नुपर्छ भन्ने बारबन्देज तोडिएको छ। अत्यन्त अशक्त भएका बेलाबाहेक आफ्ना लुगा बुबा आफैं धुनुहुन्छ र आमाका लुगा पनि धोइदिनुहुन्छ।
मलाई लाग्छ, कांग्रेसका उहाँका समकालीन नेताहरू सायदैले यसो गर्छन्। आजका युवा समानताको भाषण त मीठोसँग गर्न सक्छन् सायद व्यहारमा लागू गर्न सकेका छैनन्।
महिला पुरूषबीचको विभेद अन्त्यको भाषण गर्ने तर घरमा आफ्नै बोली लागू गर्ने राजनीतिक बाबुहरू मैले धेरै कम देखेकी छु। तिनै कममा पर्नुहुन्छ, मेरो बुबा। छोरा र छोरी बीच शैक्षिक, साँस्कृतिक, आर्थिक र व्यवहारिक कुनै विभेद गरेको अनुभव हामीले गर्नु परेको छैन अहिलेसम्म। कतिसम्म भने ‘कन्यादान’ जस्तो रूग्ण संस्कारलाई चटक्कै त्यागेर देखाइ दिनुभयो। विवाहित छोरीले पनि छोरासरह अंश पाउनु पर्ने कुराको वकालत मेरो बुबाले धेरै पहिले गर्नुमात्रै भएन लागू गर्नुभयो, जतिबेला देशमा यस्तो कानुनबारे छलफल पनि सुरू भएको थिएन। बरू अहिले उहाँकै समकालीन नेताहरू जसले यस्ता कानुन बनाए उनीहरूलाई आफैंले बनाएको कानुन व्यवहारमा लागु गर्ने चेत अझै आएको छैन। बुबाको व्यवहार देख्दा लाग्छ, नियत सफा हुने र परिवर्तन चाहनेहरूका लागि कानुन नै सबै कुरा होइन। नियत ठीक नभए कानुन भए पनि काम गर्दैन। नियत ठीक भए उसले व्यवहारिक रूपमा कानुनको पालना पहिले आफैंले गरेर देखाउँछ।
राजनीति परिवर्तनको साधन हो। तर यसलाई कमाइ खाने धन्दा बनाउने धेरै देखिन्छन्। राजनीतिक लाभका पदका लागि मरिहत्ते नगर्ने कमै छन्। तर बुबाको हकमा कुरा उल्टो छ, जिम्मेवारी आएका बेला उहाँले इमान्दर भएर पूरा गर्नुभएको छ र जिम्मेवारी नपाउँदा मेरी बाबै मैले केही पाइनँ भन्दै छटपटाउनु भएको छैन।
सादा जीवन मन पराउने र त्यसैमा रमाउने बुबा मनको धनी अनुभव गर्छु म। जो अरूलाई सहयोग गर्नमै आनन्द मान्नुहुन्छ र मानिरहनुभएको छ।
राजनीतिक, सामाजिक कामकै दौरान बुवाले पटक-पटक गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आउनु परेको छ। पहिलो पटक जापानिज इन्सेफ्लाइटिसले आक्रमण गर्दा बुवा करिब ३ हप्ता कोमामा बस्नु पर्यो। पार्टीको प्रशिक्षण कार्यक्रममा तराईका विभिन्न जिल्ला डुल्दा इन्सेफ्लाइटिस भयो र शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरियो। तर रोगको निदान भएन। उहाँ बेहोसीमा बर्बराउन थाल्नुभयो। बर्बराउँदा पनि उहाँ राजनीतिकै कुरा गर्नुहुन्थ्यो। भेट्न आउने पार्टीका अरू नेताहरू ‘ए उहाँलाई केही चोट परेछ र असन्तुलित हुनुभयो’ भन्थे। उनीहरूको तर्क हुन्थ्यो बुवा राजनीतिमा असफल हुनुभयो र त्यसले मानसिक समस्या सुरू गर्यो।
कुरा त्यसो थिएन। राजनीतिले उहाँलाई त्यसरी निराश वा मानसिक समस्या दिएको थिएन। त्यतिबेला डाक्टर उपेन्द्र देवकोटाले ‘म गर्छु भिनाजुको उपचार तर टिचिङमा होइन नर्भिकमा ल्याउनू’ नभनेको भए बुबाको अवस्था यसै भन्न सक्ने थिएन। एउटा अस्पतालमा भर्ना भइसकेको बिरामीलाई अर्कोमा सार्ने कुरा त्यति सजिलो भने रहेनछ। मामा भरत देवकोटा र सुधिर भिनाजुको सक्रियतामा हामीले बुवालाई नर्भिक पुर्याउँदा लगभग आशा मारिसकेका थियौं। बुबालाई नर्भिकको भेन्टिलेटरमा राखिएको थियो। डाक्टर देवकोटा र उहाँको टिम रातदिन खट्दा बल्ल २४ दिनमा बुबाको होस खुलेको थियो। ४५ दिनको अस्पताल बसाइपछि बुबा घर फिर्नु भएको थियो।
दोस्रो पटक बुवालाई हृदयघात भयो। फेरि पनि डाक्टर उपेन्द्र देवकोटाकै निर्देशनमा गंगालाल अस्पतालमा पुर्याइयो। आफ्नो विशेषज्ञता बाहेकको रोग र अस्पताल अर्कै भए पनि उहाँ आफू पनि उपस्थित भइदिनुभयो। डाक्टर अरूण मास्के लगायतको टिमले तुरून्त शल्यक्रिया गरेर बुवाको बन्द भएको अर्टरी खोल्यो। दक्ष चिकित्सक सहितको टोलीको उपचारले यसपटक पनि बुबा चाँडै तङ्ग्रिनु भयो।
करिब छ महिनाअघि बुबाले एक साँझ भन्नुभयो, ‘अब मेरो तेस्रो युद्ध सुरू भयो।’ हामी हतास भयौँ। बुबालाई फोक्सोको क्यान्सर भएको पत्ता लाग्यो। चिकित्सक भाइको सुझबुझ र सफल सल्यक्रिया पछि क्यान्सरबाट अहिले राहत मिलेको छ र बुवा तंग्रिदै हुनुहुन्छ।
हुर्केका सबै छोराछोरी एक न एक हिसाबले आफ्नो जिन्दगीको बाटो पहिल्याउँदै, अवसर खोज्दै मुकाम चौमुकाम पुगिरहेका हुन्छन्। हाम्रो पनि त्यस्तै छ। हामी छोराछोरी लाखापाखा छौं। बुबाआमासँग बस्ने, सेवा गर्ने, दु:ख सुख साट्ने कुरा तत्काललाई सम्भव भइरहेको छैन।
मेरा बुबा मगर गाउँमा हुर्किनु भयो। छोराछोरीलाई मात्रै होइन सयौं/हजारौं आम नागरिकलाई जीवनका विषम परिस्थितिलाई अंगाल्ने, झेल्ने र दृढ संकल्पसहित कसरी अघि बढ्ने भन्ने ज्ञान दिनु भयो। राम्रा र नराम्रा कामको विश्लेषण गर्दै मगर भाषामा भनिन्छ, ‘काट् गुन काट् वैगुन’ अर्थात ‘एक गुन, एक वैगुन’। पक्कै, कोही पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन। मेरा बुबामा पनि दोषहरू छन्। आखिर मान्छे भन्नुनै एक गुन र एक वैगुनको संयोग हो।
अहिले सामाजिक सञ्जालको भीडभाड छ। प्रत्यक्ष भेटघाटहरू हुन्छन्। सञ्जाल होस् वा भेटघाट हाम्रो ‘सामाजिक गुण’ कहाँ छुटिहालेको छ र। स्वदेशमा होस् कि विदेशमा, सञ्जालमा होस् वा प्रत्यक्ष जमघटहरूमा मान्छेहरू अहिले पनि मलाई सोध्छन्, ‘कसकी छोरी? के थरी?’
र म झट्ट उत्तर दिइरहेको हुन्छु, ‘अमरराजकी छोरी, थर कैनी।’