नेपाली कांग्रेसको चौधौं महाधिवेशनको निर्वाचनको परिणाम लगभग आइसकेको छ। विभिन्न प्यानलमा बाँडिएर प्रतिस्पर्धामा उत्रिए पनि परिणाम मिश्रित रूपमा युवाहरूलाई उत्साहपूर्ण जिम्मेवारीसहित सन्देश दिने खालको छ। यस अर्थमा यो महाधिवेशनले पार्टीलाई रूपान्तरण अनि पुस्तान्तरणतर्फ लाग्न खोजेको देखिएको छ।
सन् १९४७ जनवरी २६ मा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो राष्ट्रिय अधिवेशन भएको थियो। त्यसमा सभापति विश्वेश्वरप्रसाद कोइरालाले सभापतिको मन्तव्य राख्दै भनेका थिए, 'जापान र टर्की पनि नेपालजत्रै राष्ट्र हुन्। तर नेपाल र उनीहरूमा तुलना गर्ने मिल्दैन। उनीहरूभन्दा हामी कुनै कुरामा हीन थियौं? तर किन यस्तो अवस्था छ? प्रजालाई स्वतन्त्रताको ढोकामा राख्ने नेपालका शासकहरूले यसको उत्तर दिऊन्। हामीहरूले निकैपछि चेत्यौं। संसार हामीभन्दा निकै अगाडि बढिसक्यो। उसलाई हामीले दगुरेर भेट्टाउनुपर्यो। अब हामीसँग गड्यौंलाको चालले बामे सर्ने समय छैन।'
पहिलो महाधिवेशनको झन्डै साढे सात दशकपछाडि आइपुगेर चौधौं महाधिवेशनमा पार्टी उबेलाका सभापतिले भनेभन्दा कति फरक भएको छ? सोचनीय छ।
आजभन्दा ७४ वर्षअगाडि यति प्रगतिशील सोच राखेको कांग्रेसले स्थापनाको चार वर्षमै क्रान्ति गर्दै नेपालमा प्रजातन्त्र स्थापना गर्यो। राजनीतिक परिवर्तनको तीन वर्षपछि नै प्रजातान्त्रिक समाजवादलाई आफ्नो घोषित नीति बनायो।
सन् १९५६ जनवरीमा वीरगञ्जमा आयोजित पार्टीको छैठौं महाधिवेशनमा आफ्नो सामाजिक दृष्टिकोण अन्तर्गत 'नेपाली कांग्रेसले आफ्नो कार्यक्रम स्वीकृत गरेर देशका जनतासामु राखिदिएको छ। यो कार्यक्रम सिलसिलाबद्ध रूपले कार्यन्वयन हुनेछ। यो कार्यन्वयन गर्दा कार्यक्रमको एक अंशको प्रतिक्रिया दोश्रो अंशमा हुनेछ र नयाँ शक्ति पनि पैदा हुनेछ। त्यसलाई मौलिक उद्देश्यका साथ समन्वय गर्नुपर्नेछ। अतः केवल कार्यक्रम मात्रै पर्याप्त हुँदैन, यसलाई परिस्थिति कुन दिशातर्फ जाँदैछ भन्ने भ्रम पैदा हुन् नदिन र मूर्त रूप दिन आवश्यक छ। हाम्रो मौलिकता, आफ्नो दर्शन र आफ्नो सामाजिक दृष्टिकोणप्रति जागरुक भएनौं भने हाम्रोसामु घट्दै गएका नेपालका महत्वपूर्ण ऐतिहासिक घटनाले हामी सबैलाई उखेलेर फ्याँक्ने छन्' भनेर लिपिबद्ध गरेको दियो।
त्यो बेला यसरी लिपिबद्ध गरेर आफ्नो राजनीतिक, सामाजिक र आर्थिक नीति प्रष्ट पारेको कांग्रेस आज त्यही दृष्टिकोणको वरिपरि नै घुमिरहेको छ।
बिपी कोइरालाले ४१ वर्षको उमेरमा यो घोषणापत्र लिपिबद्ध गरेका थियो। यसको मूल धेयमा अडिग रहेर समसामयिकीकरण गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने दायित्व पार्टीको उमेरसँगैका समवयी शेरबहादुर देउवाको नेतृत्वमा र बिपी कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति भएको उमेरमै महामन्त्री भएका गगन थापा, विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङ लगायतमा पुगेको छ।
अहिलेको पार्टी नेतृत्व एवं मुख्य पदाधिकारीहरू नेबिसंघको केन्द्रीय उपसभापति वा सभापतिबाट आएकाहरू नै छन्। चाहे सभापति देउवा हुन् वा उपसभापति खड्का र गुरुङ, वा महामन्त्रीद्वय थापा र शर्मा।
नेबिसंघ २०२७ बैशाख ६ गते कृष्णप्रसाद भट्टराइले उद्घाटन गरेका थिए। बखानसिंह गुरुङले २०२८ भदौ २९ गते चितवनमा उद्घाटन गरेको दोश्रो अधिवेशनबाट शेरबहादुर देउवा अध्यक्ष बनेका थिए। बिपी कोइरालाले २०३६ फाल्गुन २९ मा जनकपुरमा उद्घाटन गरेको तेश्रो अधिवेशनमा अध्यक्ष बिमलेन्द्र निधिको कार्यसमितिमा नेतृत्वमा सदस्य हुँदै पछि पूर्णबहादुर खड्का उपाध्यक्ष भएका थिए। भलै उक्त अधिवेशनलाई अमान्य गर्दै त्यही बेला बखानसिंह गुरुङले कुलबहादुर कार्कीको अध्यक्षतामा पुष्पा गौतम (भुसाल) समेतको अर्को समिति बनाएका थिए।
जनमत संग्रहअगाडि र त्यही समयका अघिल्लो पुस्तामा रहेका नेतृत्वसँगै बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात नेबिसंघ नेतृत्वमा पुगेकाले अब पार्टीको बागडोर संयुक्त रूपमा अगाडि बढाउने भएका छन्। यसरी अहिलेको महाधिवेशनमा प्रतिनिधिहरूले समग्रमा परिपक्व र परिवर्तनकामी सन्देशसहितको निर्णय दिएका छन्।
चौधौं महाधिवेशन र साढे छ दशकअगाडि पार्टीको कोशेढुंगाका रूपमा प्रजातान्त्रिक समाजवादको क्रान्तिकारी छलाङ मार्ने छैठौं महाधिवेशनमा समानता भेट्न सकिन्छ।
के भने- अहिले जसरी नै पार्टीको केन्द्रीय समितिमा अधिकांश नयाँ र युवा अनुहार ल्याइएको थियो। त्यसबखत बिपी आफू सभापति थिए। तर उनी एउटै हुनु हुँदैन, अब नयाँ नेतृत्व आउनुपर्छ भन्थे। अनि उनले आफ्नै प्रस्तावमा सूवर्ण शमशेरलाई सभापति उम्मेदवारका रूपमा अगाडि सारे।
तर सो कुरामा असहमत हुँदै गणेशमान सिंह आफैं सभापतिको उम्मेदवार भए। ४० वर्षीय गणेशमानलाई पराजित गर्दै ४६ वर्षीय सुवर्ण शमशेर सभापति चुनिए।
सभापतिले कार्यसमिति बनाउने तत्कालीन वैधानिक व्यवस्था अनुसार बिपीकै सल्लाहमा उनले पार्टीमा नयाँ रक्तसञ्चारका लागि युवा कार्यसमिति बनाउनुपर्छ भने। नयाँ युवा समेटेर कार्यसमिति बनाए। त्यसमा बिपी कोइराला, गणेशमान सिंह एवं सूर्यप्रसाद उपाध्याय जस्ता वरिष्ठ नेता नै कार्यसमितिभन्दा बाहिर परे। महामन्त्रीमा २९ वर्षीय विश्वबन्धु थापा र ३० वर्षे तुलसी गिरी ल्याइएका थिए।
यस्तो युवामय इतिहास भएको कांग्रेसको पछिल्लो इतिहासमा भने वर्षौंसम्म उनै पुरानै अनुहार वरपर मात्रै घुमिरहेको छ। नयाँ पुस्ता र अनुहार जाममा परेको अवस्था छ।
त्यसैले कांग्रेसले आफ्नो युवावय इतिहास दोहोर्याउँदै अब मनोनित गर्दा पुरानालाई अभिभावकत्व (सल्लाहकार वा जेष्ठ नागरिक सभा) र युवा एवं नयाँ अनुहारलाई कार्यकारी भूमिकामा अवसर दिने नीति बनाएर अगाडि बढ्नुपर्ते देखिन्छ। यसो हुँदा पार्टीले नयाँ गति लिन सक्छ। महाधिवेशन प्रतिनिधिले यसपटक दिएको सन्देश र मतको सम्मान गरेको पनि ठहर्छ।
कांग्रेसको पहिलो महाधिवेशनमा बिपी कोइरालाले भनेको फेरि उल्लेख गरौं= संसार हामीभन्दा निकै अगाडि बढिसक्यो। उसलाई हामीहरूले दगुरेर भेट्टाउनुपर्यो। अब हामीसँग गड्यौंलाको चालले बामे सर्ने समय छैन।
तर साढे सात दशकपछाडि हाम्रो अवस्था धेरै फरक भएको छैन। अहिले फेरि तीन दशकअगाडि जस्तो जेल नेल र पार्टीमा लामो समय कुरबान गरेका आधार स्तम्भ मात्रै मानिरहने समय पनि छैन। अब समसामयिक विचार र दृष्टिकोण बोकेका नेतृत्व समयको माग हो।
दुई दशकअगाडिको एउटा दृष्टान्त सम्झिन्छु- हामी नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको शान्ति मिशन अन्तर्गत इस्ट टिमोरमा थियौं। त्यो बेला अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्वाचित पूर्वमन्त्री सुनिल थापा पनि युएन अन्तर्गत इस्ट टिमोरमै कार्यरत थिए।
करिब ५०० वर्ष पोर्चुगल र २५ वर्षसम्म इन्डोनेसियाको उपनिवेश भोगेर बल्ल जनाना गुज्माओको नेतृत्वमा वर्षौं गुरिल्ला क्रान्ति गरी उपनिवेशबाट मुक्त भएको इस्ट टिमोरमा संयुक्त राष्ट्र संघीय मिशनअन्तर्गत संविधानसभाको निर्वाचनपछि बनेको संविधानअनुसार राष्ट्रपति निर्वाचन हुँदै थियो।
गुज्माओ लगभग सर्वस्वीकार्य नेता थिए। सबैले उनै राष्ट्रपति हुनेछन् र हुनुपर्छ भन्ने धारणा राख्थे।
तर गुज्माओले घोषणा गरिदिए, 'वर्षौं गुरिल्ला युद्ध लडेँ। ७ वर्ष इन्डोनेसियाको जेलमा बसेँ। गुरिल्ला युद्धको नेतृत्व गरेर देशलाई उपनिवेशबाट मुक्ति दिलायौं। तर मलाई देश विकासको नेतृत्व दिन आउँदैन। त्यसैले मैले होइन समसामयिक रूपमा देश हाँक्न सक्ने युवालाई नेतृत्व दिनुपर्छ।'
उनी त्यसबखत ५६ वर्षका मात्र थिए।
उनको त्यस अभिव्यक्ति र त्यागमय विचारले एउटा आँधी नै ल्यायो। कसैले त्यसलाई स्वीकार गरेनन्। उनको पार्टी नेसनल कंग्रेस फर टिमोरिज रिकन्सट्रक्सनले मात्रै होइन अन्य विपक्षी पार्टीले पनि उनैलाई राष्ट्रपतिको उम्मेदवार भनेर प्रस्ताव गरे। सबैको अनुरोधमा उनी राष्ट्रपति उम्मेदवार हुन तयार भए।
उनी तयार भएपछि उनी नै निर्विरोध राष्ट्रपति हुन्छन् भन्ने ठानिएको थियो। तर फ्रान्सिस्को जाभिएर अमारल उनीविरूद्ध खडा भए जो सन् १९७५ मा इस्ट टिमोर पोर्चुगलबाट स्वतन्त्र भएपछि नौ दिन इस्ट टिमोरका राष्ट्रपति भएका थिए।
तर एउटा अचम्म भइदियो। ६५ वर्षीय जाभियरले आफूलाई राष्ट्रपति उम्मेदवारका रूपमा त उभ्याए तर आफ्नो भाषणमा भनिदिए, 'मैले राष्ट्रपति उम्मेदवारका रूपमा आफूलाई गुज्माओविरूद्ध उभ्याए पनि तपाईंहरूले भोट गुज्माओलाई नै दिनुहोला। किनकी उनी नै नवराष्ट्र इस्ट टिमोरको नेतृत्व गर्नलायक छन्। उनी नै राष्ट्रपति हुनुपर्छ भन्ने मेरो धारणा हुँदाहुँदै पनि मैले किन आफूलाई उनीविरूद्धमा उम्मेदवारका रूपमा उभ्याएँ भन्ने कौतुहलता होला। प्रजातन्त्रमा निर्विरोध हुनु हुँदैन। प्रतिपक्ष पनि हुनुपर्छ। नत्र यसले निरंकुशता जन्माउने डर हुन्छ। त्यही सजगताका लागि मात्रै म उभिएको हुँ। तर देश त युवाले नै हाँक्नुपर्छ।'
यस्ता अभिभावकीय त्याग हाम्रो देशको सम्पूर्ण पार्टीहरूमा पनि हुनु सान्दर्भिक देखिएको छ। हिजोको जेलनेल अनि त्याग र पार्टीमा लगानीका कुरा सान्दर्भिक थिए। विगत तीन दशकदेखि उनीहरूले पाउनुपर्ने अवसर र सम्मान पाइसकेका छन्। तर अब पार्टीमा दुई-तीन दशक बिताएर पनि जाममा परेका युवा नेतृत्व र पुस्तालाई अवसर दिने बेला भइसकेको छ।
हाम्रो देशमा पनि यस्ता केही उदाहरण छन्। २०१८ सालमा पञ्चायतविरूद्ध हतियार उठाएर क्रान्तिमा होमिएका कांग्रेस नेता भूविक्रम नेम्बाङले २०४८ सालको निर्वाचनमा पराजय भोगे। त्यसपछि अब नयाँ पुस्ताले अवसर पाउनुपर्छ भन्दै २०५१ को मध्यावधि निर्वाचनपछि सक्रिय राजनीतिबाटै अवकाश लिए।
त्यसै गरी कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्र नारायण निधिले २०५१ सालमा ७३ वर्षको उमेरमा पार्टी र अन्य पदीय राजनीतिबाट अवकाश लिए। ७४ वर्षको उमेरमा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्ने गणेशमान सिंहको कदम प्रंशसनीय छ।
तसर्थ अहिलेको अधिवेशनले बाहिर पुर्याएको तर पटकपटक अवसर पाइसकेका नेताले अब आफ्नो भूमिकाबारे सोच्नुपर्ने भएको छ। अब उमेर र विचारले पनि आफूलाई 'आउटडेटेड' हुँदै गएको त होइन भनेर आफैं गम्नुपर्ने भएको छ।
पश्चिमा मुलुकमा युवा नेतृत्वले देश चलाउने अवसर पाउँछन्। एकपटक अवसर पाएर बाहिरिएका वा पार्टीका प्रतिनिधिबाट नेतृत्वको दौडमा छनौटमा नपरेकाले दोस्रोपटक प्रयास नै गर्दैनन्। अरूका लागि बाटो खुला गरिदिने राजनीतिक परम्परा छ। सक्रिय भए पनि 'ब्याक-बेन्चर'का रूपमा बसेर अरूलाई अगाडि बढाउँछन्। यसो हुँदा उमेरले मात्र होइन, विचारले पनि नयाँ पुस्ताले अवसर पाउने हुन्छ।
बेलायतको प्रमुख प्रतिपक्षी पार्टी आमनिर्वाचनमा पराजित भएपछि तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनले राजीनामा दिए। अनि लेबर पार्टीका नेताका निर्वाचनमा मिलिब्यान्ड दाजुभाइ खडा भए। भाइ एड मिलिब्यान्डले एक प्रतिशतभन्दा कम मतले जितेपछि उनका दाजु डेबिड मिलिब्यान्ड ४५ वर्षको उमेरमै नेतृत्वको दौडबाट सदाका लागि पन्छिए। उनी ब्याक-बेन्चर हुन तयार भए। उही भाइ एड मिलिब्यान्डले पनि सन् २०१५ को आम निर्वाचनमा आफ्नो पार्टी दोश्रो भएपछि पार्टी नेताको पदबाट राजीनामा दिएर ४५ वर्षको उमेरमै ब्याक बेन्चमा गएर बस्न तयार भए।
हाम्रा पटकपटक 'टेस्टेड' नेताहरूले भने यो अभ्यास सुरू गर्नै नमानेको देखिन्छ। उमेर र विचारले मात्र होइन, जनता र पार्टी प्रतिनिधिले पनि ब्याक-बेन्चमा बस्ने वा सक्रिय राजनीतिबाट बाहिर जानुपर्ने सन्देश दिँदा पनि ढसमस भएर अघिल्लो बेन्चमै बस्न खोज्ने वा प्रयास गरिरहने प्रवृत्ति छ। यही कारण हाम्रो देशमा ५० वर्ष उमेर काटेकालाई पनि युवा नेता भन्नुपर्ने अवस्था छ।
यसपालिको महाधिवेशनमा १३ वटा पदाधिकारीमा दुई जना मात्रै पुराना अनुहार दोहोरिनु भनेको पार्टी प्रतिनिधिले परिवर्तन र नयाँ पुस्तालाई अगाडि बढाउनु भन्ने सन्देश दिन खोजेको हो भन्ने बुझ्नुपर्छ।
नयाँ पुस्ताले नेतृत्व अवसर पाउनुपर्ने सन्दर्भ उठिरहेको प्रसंगमा अहिले महामन्त्रीका रूपमा चयन भएका थापा र शर्माले पनि आफूले सो पदमा निर्वाचित हुनुअघि दिएका वचन अर्थात् अगाडि सारेका अवधारणालाई कार्यरूप दिन पहल गर्नुपर्छ। चाहे थापाले भनेझैं निश्चित उमेरका कुरा हुन् वा शर्माले प्रस्तावित गरेझैं १, २, ३, ४ नम्बरका अवधारणा।
उनीहरूले यिनै कुरालाई व्यापक रूपमा तल्लो तहदेखि माथिसम्म छलफल गराएर केन्द्रीय समितिबाट नीतिगत रूपमा पारित गराएर समयक्रममा हुने महासमिति बैठक वा अधिवेशनबाट पारित गराएर विधानमा नै समेट्न सके अहिलेको महाधिवेशनमा प्रतिनिधिले गुट र फुट नहेरी दिएको सन्देशसहितको मतको सम्मान पनि भएको मानिनेछ।