काठमाडौँ बसेको थुप्रै वर्ष भयो। करिब-करिब दुई दशक हुन थालेछ। टाढा जिल्लाबाट आएर डेरालाई घर बनाउनु, घर धनीलाई रिझाउनु, पानीको सास्ती त छँदै छ। तर जे-जस्तो भए पनि काठमाडौँको मोहनी रहिरह्यो। कहिले रहरले, कहिले बाध्यताले यो स्वर्गको टुक्रालाई छोड्न सकिएन।
उत्तर तिर देखिने हिमालका लहर, पशुपतिनाथको पुन्य भूमि, सुन्दर वातावरण, मनोरम ठाउँहरू, साँच्चै अनुपम सृजना हो जस्तो लाग्छ। मानिसको हातमा परेको हिराको टुक्रा चिन्न त कुन हिरा, कुन ढुंगा छुट्टाउन सक्ने खुबी पनि चाहियो नि। दीर्घकालीन सोच र योजना सहितको विकास गर्न सकेको भए संसारका सुन्दर सहर मध्यको एक हुन्थ्यो होला तर त्यस्तो अवस्था छैन। काठमाडौँ सहर प्रदुषण, अभाव र अव्यवस्थाको मारमा छ।
मास्टर डिग्री केन्द्रीय क्याम्पसमा पढ्न कीर्तिपुरको केन्द्रीय छात्राबासबाट सुरु भएको बसाइँको अनवरत यात्रामा ७७ जिल्लाका साथीहरू भए। बोलिचाली, रहनसहनमात्र होइन धेरै कुराका भिन्नता देखेँ। हुन त एकै हातका पाँच औंला त समान छैनन् भने विविधता त हाम्रो मौलिक विशेषता नै हो।
वास्तवमा हाम्रो पहिचानको आधार नै अनेकता हो विविधता हो। काठमाडौँ यस अर्थ पनि हाम्रो केन्द्र हो कि यहाँ नेपालका हरेक कुना कन्दराका मानिसको उपस्थिति छ।
ती उपस्थिती धेरै हिसाबमा बाध्यात्मक छन्।
विकासको विकेन्द्रिकरण हुन नसक्दा हरेक कुराको जोहो गर्न काठमाडौँको बाटो ताक्नु पर्ने बाध्यता संघियता कार्यान्वयनपछि केही कम भए पनि अझै पनि राम्रो अस्पताल, स्कुल, क्याम्पस, रोजगारीको अवसर खोज्न होस् वा वैदेशिक यात्रा गर्न भएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा मात्र हुनुले यहाँ मानिसको चाप हुनु स्वभाविक हो। त्यसै पनि देशको राजधानी सबै कुराको केन्द्र त हुने नै भयो।
काठमाडौँ छिर्दा १८/२० वर्षको अल्लारे उमेर ढल्केर ३५-४० को हुन लागिसक्यो। बागमतीले कति कष्ट सहेर ढल सहितको सयौँ लिटर पानी बगायो। स्वच्छ बागमतीमा नुहाएर पशुपतिमा एक अँजुली जल चढाएका कति पाका पुराना अझै जिउँदा छन्। सपनाजस्तो लाग्ने उनीहरूका कथा। घाम हरेक बिहान उसैगरी उदाउँछ र अस्ताउँछ।
काठमाडौँको परिवेश फेरिएको छ। मौसम फेरिएको छ। मिनपचासमा हुने जाडो पनि जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण उस्तै छैन। माटो अनि बाटो पनि उस्तै छैन। टाढाबाट हेर्दा कंक्रिट जंगलजस्तो छ। मान्छेको ठेलम ठेल भिड, गाडीको चाप, प्लास्टिक छरिएका सडक किनार, भावना शून्य मानव बस्ती, यसो टहल्न निस्कुँ भने पनि न खुला पार्क न कुनै खुला ठाउँ।
छोराछोरीले खाइ-नखाई जोडेको घर रुग्न आएका बुढा बा-आमाहरूको कलंकी मन्दिर छेउमा लागेको भिड देख्दा लाग्छ यी बा-आमाहरूलाई धित मरुन्जेल घाम तापेर आ-आफ्ना दौँतरीसँग गफिने एउटा सानो मात्र भए पनि आसपासमा पार्क भएको भए। एक इन्च नछोडी बाटोको मापदण्ड मिचेर बनाइएका घरजस्तै ओहो! किन साँघुरिएका होला है मानवीय सम्वेदनाहरू, मान्छेका मनहरू?
घरका काम कुरा मिलाउन नसक्दा हाल म नितान्त घरको काममा अल्झेकी छु। आफ्ना कोही साथ सहयोगी छैनन्। एकमात्र सन्तान हुर्केर आफ्नो काम आफै गर्न सक्ने त भएकी छे तर उसको मात्र भर गरेर एक्लै उसलाई छोडेर जान सक्ने परिवेश छैन। उसै पनि काठमाडौँ काम गर्ने मान्छे पाउन गाह्रो, पाएका मान्छेलाई रिझाउन झनै गाह्रो। होस् त भनेर आफैले काम छोडेर बसेँ। घरधन्दा, आर्थिक उपार्जन बिनाको काम। विदेशमा जस्तो २-४ घण्टाको काम पनि पाइँदैन। जीवनका युवा अवयवका उर्जाशील समय यसै खेर फाल्नु पर्दा खेद र दुःख व्यक्त गर्न सायदै शब्द होलान्। तर यो बाध्यताको मार भोग्नेलाई मात्र अनुभूत हुन्छ। मजस्ता धेरै छन् के गर्नु?
छोरीलाई स्कुल पठाएपछि केही समय फुर्सदमा आजभोलि आफ्ना पुराना साहित्यिक रचना टाइप गर्न लागेकी छु। घरको छ्तमा घाम तापेर यसो काम तिर अल्झिन्छु। फुर्सदमा भएकोले छोरीलाई स्कुल पुर्याएपछि टहल्दै कलंकी मन्दिरसम्म निस्किन्छु। कोरोनाभन्दा अघि त साँझ त्यहाँ नियमिता भजन हुन्थ्यो। बुढा बा-आमाहरूको बाक्लै जमघट हुन्थ्यो। आजभोलि अलिक पातलो हुन्छ।
धेरैजसो दुई ७५-८० वर्षका देखिने आमाहरूसँग भेट हुन्छ। आमाहरूको बोलीको आञ्चलिक लवज सुन्दा उहाँहरू गुल्मी/अर्घाखाची तिरको जस्तो लाग्छ। सोधेकी भने छैन। साँघुरो ठाउँ हुनाले उहाँहरूले एक-आपसमा गरेका कुरा पनि सुन्न सकिन्छ। उहाँहरूका गुनयविनय सुन्दा लाग्छ सिंगो पहाडजस्तो जीवन बिताएर पनि बुढेसकाल अझै अग्लो पहाड भएको छ।
'गाउँघर तिर बसौँ भने यसो तातोपानी तताएर खान दिने कोही छैन। सहरमा बस्दा साह्रै अत्यास छ। यसो खुट्टा तन्काउन जाने ठाउँ छैन। छोराछोरी व्यस्त छन्।मनका कुरा गर्ने कोसित? दामली साथी भए हुन्थ्यो। तर छोरा-बुहारीले बाहिर कसैसित नबोल्नू भनेका छन्। यसो घरको छ्त तिर कोही देखिए पनि बोल्दैनन्। आफूले बोलाउन पनि भएन। पुसको सिरेठो चल्छ। आगो ताप्नु कहाँ? चुलो बालेर चिया पकाउन जान्दिनँ। कहिलेकसो यसो पकाउँछु भन्दा कहिले कप फुटाल्छु, कहिले चिनीको भाडो पल्टाउँछु।
त्यही कुरामा छोरा-बुहारीको झगडा पर्छ। 'अस्तीभर्खर किनेको त्यति महंगो कप प्याट्ट फुट्यो, नजानेपछि किन चलाउनु? बुहारीले कटक्क मन काट्नेगरी भन्छे। बिराम त छ तर जानी-जानी होइन। के गर्नु? छोराछोरी साना हुँदा कति सामान फुटाए, कति सामान हराए। गिन्ती राखिएन। अहिले बुढैयाले गालेपछि हात थर्थराउँछ। भेउ पनि पाउदिनँ। बुढामाउले पनि बेलैमा छोडेर परलोक सुधार्नु भो।'
ती आमाका दुःखका पहाड साँच्चीकै अग्ला, सगरमाथाजस्तै अग्ला।
'आफू पढ्न जान्दिनँ। नाती छ एउटा। स्कुलबाट आउँदा लिन जान पनि सक्दिनँ। यसो तरकारी केलाई दिन्थेँ। 'कहिले के पर्छ, कहिले के। यस्तो फोहोरी पाराले के खाने हो? सकसक लाग्छ मलाई त। अबदेखि नबनाउनू होला' भनेकी छे बुहारीले। पर्दो पनि होला रौँ। आँखाले पनि राम्रो देख्दिनँ।
छोरा बिहान गएको बेलुका आउँछ। जाँदा आमा गएँ, आउँदा 'आमा के छ त? ठिकै छ नि?' त्यति बोली सुन्न छोरो कति बेला आउँछ जस्तो हुन्छ। नाती र बुहारी सितिमिती बोल्दैनन्। म बसेको कोठामा आउन पनि घिन मान्छन्। यिनै सारीका फुर्कामा कति पटक दिसा, पिसाब, सिँगान पर्यो। कति पटक खाना खाँदा खाँदै उठेर गुँहु-मुत सिहार्नु पर्यो। कसले हिसाब राख्यो र बाबै! अहिले हामीलाई के चाहिएको छ र? एउटा वचन मिठो बोली न हो। त्यही पनि पैसा पर्छ कि जस्तो गर्छन्। आफ्नो गाउँ-ठाउँ हुँदो हो त ओरतिर-पल्तिर छर छिमेकी बोल्दा हुन्, सन्चो बिसन्चो सोध्दा हुन्। यो बिरानो ठाउँ, न आफ्ना कोही न आफन्त कोही। पट्यारलाग्दो यो काठमाडौँको बसाइँ।'