एसएलसी भर्खर सकिएको थियो। साथीहरू सिलाइ बुनाइ, ब्युटिसियन, कम्प्युटर आदि सिक्न थालेका थिए। संयोगले मलाई पद्म नर्सिङ होममा डाक्टरको सहयोगी भएर बिरामीको नाम बोलाउने काम मिलेको थियो।
रेडियोलोजी तथा अल्ट्रासाउण्ड विभागमा मैले अल्ट्रासाउन्ड गर्न आउने बिरामीको सेवा गर्नु पर्दथ्यो। स्वाथ्यको अवस्था हेरी पेट सम्बन्धी समस्या भएकालाई पिसाब रोक्न लगाउनु पर्थ्यो, गर्भवतीलाई चाहिँ पिसाब रोक्नुहोला भन्नु पर्दैन थियो। नाम बोलाउँदा सोधेर भित्र पठाउनु मेरो काम थियो। बिरामीको लुगा मिलाइदिनु पर्दथ्यो।
यस्तो काम गर्दा कोही-कोही हेर्दा निकै पढेकाजस्ता सुकिला मुकिला देखिनेले मलाई गर्ने व्यहोरा तुच्छ हुन्थ्यो। हुन त म सानी फुच्ची थिएँ तर उनीहरूले होच्चाएर बोल्दा चित्त दुख्थ्यो। गाउँतिरबाट आएका कोही-कोही बुढाबुढीहरू मलाई डाक्टर नानी भनेर नमस्कार गर्नुहुन्थ्यो। निकै सम्मान गरेर बोलाउनु हुन्थ्यो। त्यो सुन्दा पनि मलाई दकस लाग्थ्यो। मलाई मेरो उमेर र कामअनुसार सुहाउँदो सम्बोधन गरे हुन्थ्यो जस्तो लाग्थ्यो।
छोरी पढ्ने स्कुलका शिक्षिकाहरू र आयाहरूलाई पनि मैले भेट्दा नमस्ते गर्थे। सानी छोरीले एकदिन भनिन् 'ममी, सिस्टरलाई त कसैको ममीले नमस्ते गर्नु हुन्न!'
मैले छोरीलाई भनेँ, 'सिस्टर मभन्दा ठूलो उमेरकी हुनुहुन्छ। तिम्री टिचरले तिमीलाई पढाउनु हुन्छ, सिस्टरले पनि त तिमीलाई अरु धेरै कुरामा सहयोग गर्नुहुन्छ। उहाँलाई पनि नमस्ते गर्नुपर्छ नि।'
उसले बुझी कि बुझिन तर कहिलेकाहीँ भेट हुँदा आयाहरू मलाई खुसी हुँदै भन्नुहुन्थ्यो 'मैयाँले त हामीलाई खोजेर भए पनि गूड मर्निङ भन्नुहुन्छ, बाटोमा भेट्दा नमस्ते भन्नुहुन्छ। हामीलाई कति खुसी लाग्छ।'
एक त आफूभन्दा ठूलोलाई आदर गर्नु र सानालाई माया गर्नु पर्छ भनेर हाम्रो संस्कृतिले भन्छ। त्यसमाथि कामको सम्मान गर्ने यो सानो तरिका पनि हो।
अफिसमा काम गर्ने सानो तहका कर्मचारीलाई उपल्ला तहका कर्मचारीले बिरलै पहिला नमस्ते गर्छन्। आफूभन्दा उमेरमा ठूला भए पनि ओहोदामा सानो भएकालाई नमस्ते गर्नु त परै जाओस्, नमस्ते फर्काउने पनि चलन छैन नेपालमा। समकक्षी महिला कर्मचारीलाई पनि पुरुष मित्रले पहिला नमस्ते गर्ने चलन छैन। नमस्ते मात्र 'नमस्ते' होइन, काम प्रतिको सम्मानको द्योतक पनि हो। काम र कामदारलाई गरिने आदरको सूचक पनि हो।
म पेसाले गृहिणी हुँ। यसका अलवा मैले फुर्सदको समय समसामयिक विषयमा लेख, गीत, कविता लेख्छु। विकसित देशमा लेख्नु, साहित्य सृजना गर्नु पेसा हुन्छ। नेपालमा त्यस्तो परिवेश छैन।
सिधा-सिधा भन्ने हो भने मेरा दुई पेसा गृहिणी र लेखक आर्थिक उपार्जन नहुने पेसा हुन्। यद्यपि पछिल्लो समय लेखेर आर्थिक उपार्जन गर्ने धेरै महिला मित्रहरू हुनुहुन्छ। तर सबैले लेखकीय बापत आर्थिक लाभ लिन सक्नु भएको छैन। अझै लेख्ने कला र सीपप्रति सम्मान गर्ने परिपाटी समेत पाइन्न।
स्वर्णीम वाग्लेज्यूको 'अतृप्त अवसर'को विमोचन समारोहमा कार्की ब्याङ्क्युट बबरमहल पुगेकी थिएँ। पोखराका केही पुराना साथीहरू भेटिनु भयो। बिएको ऐच्छिक विषय पत्रकारिता लिएकी थिएँ। ४५ दिन व्यवहारिक प्रशिक्षण लिन दैनिक पत्रिकामा काम गर्नु पर्दथ्यो। डाक्टर रामनाथ ओझा हाम्रो पत्रकारिता विषयको गुरु हुनुहुन्थ्यो।
त्यही प्रयोगात्मक प्रशिक्षणका समयमा समाधान राष्ट्रिय दैनिकमा काम गर्दाका साथी हुनुहुन्थ्यो उहाँ। सामान्य भलाकुसारी भए। के गर्दै हुनुहुन्छ त भन्ने प्रश्नमा पूर्णकालीन गृहिणी, अल्पकालीन लेखक भन्ने मेरो जवाफ सुनेर उहाँले जनाएको प्रतिक्रिया अत्यन्त निराशाजनक थियो।
उहाँ त एक प्रतिनिधि पात्र हो। पैसा कमाएर, नाम कमाएर सेलिब्रेटी भएका लेखक, कवि र साहित्यकारहरूलाई पनि सम्मानित दृष्टिले हेर्ने जमात निकै सानो छ। त्यसैले लेखक पेसाका रुपमा अझै स्थापित भइसकेको छैन नेपालमा। गृहिणी पेसाका रुपमा स्थापित होला भनेर कल्पना पनि गर्न सकिँदैन।
गृहिणीलाई सम्मानको दृष्टिले हेर्ने दिन आउला र? एउटा अनलाइन पोर्टलमा भर्खरै निर्वाचित काठमाडौँ महानगरका प्रमुख बालेन शाहको बायोपिक हेर्दै थिएँ जहाँ उनकी पत्नीको पेसा लेखक भनेर लेखिएको थियो, खुसी लाग्यो। मेरी छोरीलाई पनि उसले भर्नुपर्ने स्कुलका विवरणमा ममीको पेसा लेखक भनेर भर भन्ने गरेकी छु। भलै मैले लेखेर आर्थिक उपार्जन गर्न सकेकी छैन।
एउटा कविताको किताब निकट भविष्यमा निकाल्ने योजना छ। कविताको किताबलाई व्यावसायिक प्रकाशकले निकाल्न त्यति रुचि दिँदैनन् भन्छन्। साहित्य त्यसमाथि पनि कविता विधा व्यावसायिक लाभ लिन नसकिने विधा मानिन्छ। कला साधकहरूलाई सम्मान गर्ने परिपाटी पनि राम्रोसँग विकास भएको छैन, यो पनि तितो यथार्थ हो।
शब्दकोषको सानो शब्द नमस्कारले ठूलो महत्व राख्छ। स्कुले जीवनमा पढेको वीपी कोइरालाको 'दोषी चस्मा'को झलक्क याद आउँछ।
मैले पढाउने स्कुलमा उमेर ढल्केकी सहयोगी दिदी हुनुहुन्थ्यो। स्कुल जाँदा पहिलो दिनमा मैले उहाँलाई नमस्ते गरे। उहाँ अकमक्क पर्नु भो। अन्य मेरा मित्रहरूलाई उहाँले पहिला नमस्ते गर्नु हुँदो रै'छ। धेरै पुरानो कर्मचारी उहाँले म नयाँ शिक्षक हो भन्ने थाहा पाउने गाह्रो भएन।
मैले पहिला नमस्ते गर्दा आफूलाई दकस लागेको भनेर पनि सहयोगी दिदीले भन्नु भयो। मेरो काम मेरो ठाउँमा ठूलो छ, यसो भन्दैमा उहाँको काम सानो कसरी हुन्छ? आ-आफ्नो ठाउँमा सबैको काम ठूलो हुन्छ। कामलाई सम्मान गर्ने, कामदारलाई सम्मान गर्ने संस्कार विकास गर्न पदीय मर्यादाभन्दा माथि हाम्रो मौलिक संस्कार सानालाई माया ठूलालाई आदर गर्न नमस्कार गर्ने कि!