विश्वको करिब ७ अर्ब जनसंख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रुपमा प्रयोग गर्नेको संख्या ३ अर्ब बढी छ। संसारको कुल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एसियामा मात्र उत्पादन हुने गर्छ।
नेपालमा कुल ग्राहस्त उत्पादनमा धानको योगदान ७ प्रतिशत रहेको छ। आधा जनसंख्याको मुख्य आम्दानीको स्रोत धान हो। नेपालमा धानको उत्पादन प्रमुखतः वर्षे र चैते धान गरी दुई सिजनमा हुने गरेको छ र कुल कृषि उत्पादनमा २० प्रतिशत योगदान रहेको धानबाली अधिकांश स्थानमा वर्षे सिजनमा लगाइन्छ। सरकारले आयात प्रतिस्थापन गर्न बर्खे धान बालीसँग चैते धानबाली बढी जोड दिने भनेकै हो तर अहिले चैते धानको उत्पादन घट्ने विश्वास गरिन्छ।
नेपालमा धान दिवसको मनाउने दिन असार १५ आइसकेता पनि किसान धानमा हाल्ने मल पाउने कुरामा भने ढुक्क छैनन् किनकि चैते धान रोपेका किसानले अहिले मल बिनाको धानको उत्पादन गर्नु परेको नियती भोगिसकेको छन्। धानको उत्पादन गत वर्ष कुल उत्पादनमा करिब ८.७४ प्रतिशतले घटेको थियो। यसको प्रमुख कारण बेमौसमी वर्षात् थियो। देशको सात प्रदेशमामा सबभन्दा बढी असर सुदूरपश्चिम प्रदेशमा धेरै देखिएको थियो। यस प्रदेशमा धानको उत्पादनमा करिब ३१.४९ प्रतिशत ले गिरावट आएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विसं २०७८ मा आगामी पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको हो। तर वार्षिक ६ लाख मेट्रिक टन धान र चामल भारतलगायत देशबाट आयात हुने समेत विभागले बताउँदै आएको छ। नेपाललाई धानमा आत्मानिर्भर बनाउन ६ लाख मेट्रिक टन धान उत्पादन बढाउनु आवश्यक रहेको देखिन्छ।
यसको लागि समयमै बिउ, मनसुन र रासायनिक मलको तारतम्ब्य मिल्नु पर्ने हुन्छ तर हालसम्म किसान रासायनिक मल धानबारीमा हाल्न पाउने कुरामा निश्चिन्त छैनन्। पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साता धान रोपाइँ सुरु हुन्छ। जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक मल चाहिन्थ्यो। तर तो परिमाणको मल भित्रिएन।
मुख्य धान उत्पादन हुने क्षेत्र तराई जसले ७४ प्रतिशत क्षेत्र ओगटेको छ। हालसम्म सो क्षेत्रको लागि समेत प्रयाप्त मल भित्रिएको छैन। सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय तहको समन्वयनमा रासायनिक मल अभावलाई सामना गर्न जैविक तथा प्राङ्गारिक मल प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाउने भन्ने योजना समय कार्यान्वयन भएको देखिँदैन।
चालु आव २०७८/७९ का लागि युरिया छ लाख ५२ हजार, डिएपी तीन लाख ६५ हजार र पोटास एक लाख ५८ हजार मेट्रिक टन मल माग भइआएको थियो तर किन अहिले यो बेलासम्म एक लाख मेट्रिक टन मलसमेत आएको छैन? यो विषय नै आगामी वर्षको लागि धानको उत्पादन बढ्ने कुरामा शंका गर्नुपर्ने ठाउँ देखिन्छ।
देशमा वार्षिक करिब ४ लाख मेट्रिक टन आयात भइरहेको तथ्यांकले देखाउँछ। नेपालमा रासायनिक मलको कुल माग करिब १२ लाख मेट्रिक टन जतिको अनुमान गरिन्छ। सरकारले आफ्नो तर्फबाट वार्षिक रूपमा पाँच लाख मेट्रिक टन जति आपूर्ति गर्छ। त्योबाहेक अरू मल निजी क्षेत्रले ल्याउने गर्छन् भनिन्छ तर नेपालमा कृषि सामग्री संस्थानले कुल मागको ७० प्रतिशत र साल्ट ट्रेडिङ् कम्पनीले बाँकी ३० प्रतिशत रासायनिक मल आयात गर्ने गर्छन्।
उत्पादन झण्डै एक तिहाईले बढाउने घोषणासहित आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रको रुपान्तरणको परिकल्पना गरेको छ। प्रमुख कृषि बाली धानको नै प्रसङ्गमा यो वर्ष ५१ लाख ३० हजार मेट्रिक टनमा सीमित धानको उत्पादन बढाएर आउने वर्ष ६६ लाख ६९ हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखिएको छ। अर्थात्, रसायनिक मलको असुनिश्चितताका बीच पनि एकै वर्षमा ३० प्रतिशत बढी धान फलाउने योजना निःसन्देह अविश्वसनीय छ। अहिलेसम्म नेपालले सबैभन्दा धेरै धान उत्पादन गरेको आर्थिक वर्ष २०७७/७८ मा मात्रै हो। उक्त वर्ष ५६ लाख २१ हजार टन धान फलाएको थियो।
विसं २०१८ सालतिर नेपालमा प्रतिहेक्टरमा १.९ मेट्रिक टन धान फल्थ्यो। कृषिमा आधुनिक प्रविधिको प्रयोग सुरु नभइसकेको त्यसबेला संसारभरिको धानको उत्पादकत्व लगभग समान थियो। अहिले धेरै धान फलाउने चीन, भारतदेखि, बाङ्लादेश, इन्डोनेसिया, भियतनाम‚ थाइल्याण्डलगायत देशको धानको उत्पादकत्व उतिबेला लगभग एकै खालको थियो। नेपाललाई भने धानको उत्पादकत्व दोब्बर पार्न करिब ६० वर्ष लाग्यो।
आर्थिक वर्ष २०७८/७९ मा धानको उत्पादकत्व ३.४७ टन प्रतिहेक्टर पुगेको छ। यसले धानको उत्पादकत्व वृद्धिको सिथिल गतिलाई पुष्टि गर्छ। बजेटले लक्ष्य राखेअनुसार धान फलाउन उत्पादकत्व करिब ४.५ टन प्रतिहेक्टर पुग्नुपर्छ। धान उत्पादन बढाउनका लागि सिंचाइको उपलब्धता, उन्नत बीउको प्रयोग, रासायनिक मलको प्रयोगलाई मुख्य सूचाङ्कको रुपमा लिन सकिन्छ।
नेपालमा सन् १९५० को दशकबाट भारत र रसियाबाट रासायनिक मल आयात हुने गरेको भनिन्छ। सरकारले सन् १९७३/७४ सालबाट मलमा अनुदान दिन थालेपछि यसको प्रयोग ह्वात्तै बढेको हो। सन् १९९७/९८ तिर अनुदान रोके पनि सरकारले सन् २००८/०९ देखि पुनः अनुदान दिन थालेपछि प्रयोग झन् चुलियो। योसँगै धान, मकै र गहुँका रैथानेभन्दा पनि हाइब्रिड तथा उन्नत जात प्रयोग हुन थालेपछि मलको आवश्यकता झन् बढेको देखिन्छ।
धान खेती परम्परागतबाट आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुँदा नेपालमा जस्तै एसियाभर विभिन्न उत्पादनशील धानका प्रजातिको लोप हुँदै गैरहेका छन्। सघन खेति, एकोहोरो बाली र एकै जमिनबाट एकै वर्ष धेरै बाली लिने चलन, माटोमा खाद्यतात्वको अपुग, र हाइब्रिड धानको बिउको ज्यादा प्रयोगसँगै बढ्दै गरेको रासायनिक मलको माग र सोसँगै अड्किएको धानको उत्पादनले भावी नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव सहितको विश्लेषण गर्नु जरुरी देखिन्छ।
जनसंख्या वृद्धि र धानको उत्पादनको वृद्धिलाई तुलना गर्ने हो भने यसले केही समयपछि ठूलो अभाव सृजना गर्ने देखिन्छ। जहाँ धान मुख्य बालीको रुपमा छ त्यहाँकै जनसंख्या वृद्धि उच्च छ। हाम्रो नेपालमा धानको उत्पादनभन्दा जनसख्या वृद्धि नै उच्च छ। तसर्थ रासायनिक मलको अभावसंगै घट्दो हाम्रो उत्पादनको दिगो सावधानको उपायसहित धान वृद्धिमा सरकारको ध्यान सूक्ष्म रुपमा पुग्नु नै पर्दछ।
(लेखक कृषि विज्ञ हुन्।)