जुन महिनाको ११ गते बुवाआमा क्यानडा जाँदै हुनुहुन्थ्यो। बिहान साढे ७ बजेको उडान समय थियो। तीन घण्टाअगाडि हवाईअड्डा पुग्नु पर्ने हुँदा हामीहरू साढे ४ बजे त्यहाँ पुगिसकेका थियौं।
छोरीलाई एक्लै घर छोड्न मनले मानेन। उसलाई पनि निन्द्रामै उठाएर लिएर गयौं। छोरी कनकन गर्दै थिई। एयरपोर्ट पुगेर त्यहाँ जम्मा भएका मान्छेको भिड देखेर छक्क परी। फर्कंदा भन्दै थिई 'मम्मा, कति धेरै मान्छे हुन् है यति बिहान पनि!'
कोही माला र खादा लगाएर सुक्कसुक्क गर्दै भित्र छिर्दै थिए, कोही सारीका सप्कोले आँखा पुछेर बाहिरिँदै थिए। कोही-कोही फोटो खिचिरहेका थिए, हँसिमजाक गरिरहेका थिए। त्यो ठाउँ रंगमञ्चभन्दा कम थिएन। लाग्थ्यो त्यहाँ आँसु, हाँसो सबै छ।
जीवन बुझ्ने त्यो रंगमञ्चमा मलाई एउटी आमाले हातै तानेर बोलाउनु भयो। एक निमेष त म तर्सिएँ, कसले हात तान्यो भनेर। आमाको बोली सुदूरपश्चिम तिरको हो भन्ने छुट्याउन मलाई गाह्रो भएन। उहाँले भन्नुभयो, 'यति बुढा भ'याकालाई क्यान विदेश प'ठाएका हुनन्, पैसा कमाउन्यालाई त नाई?'
उहाँको एक आँखामा प्रश्न थियो, अर्को आँखामा आँसु। त्यो मिर्मिरे उज्यालो हुँदै गरेको समयमा झलमल्ल बलेका बत्तीमा उहाँका आँखाको भाव पीडादायक थियो।
मैले जवाफ दिन नपाउँदै उहाँसँगै रहेकी अधबैँसे महिलाले उत्तर दिइन्, 'पैसा कमाउन्या नाई, छोरा हुनन् छोरी हुनन्, उनैलाई भेटन्या जादाँ हुन्।' बाँकी के-के भनिन् कुन्नी, उनको बोली मैले त्यति बुझिनँ।
एकछिन त्यहाँ बसेर हेरेँ। लोकसेवा पढ्दा पढेको मानव संसाधन, एक युगमा एक पटक आउने जनसांख्यीक लाभका कुरा सम्झिएँ। पसिनासँग पैसा साट्न विवश युवायुवती, हातमा समाएको पासपोर्ट, आँखामा टलपल-टलपल तप्किन नसकेका आँसु देखेँ अनि आँखा रसिलो, मन अमिलो बनाएँ। गैरी खेतमा उम्रिएको वनमारा र बोके झार सम्झिएँ। आमाबुबालाई बिदाइ गरेर फर्किएँ। आँखामा आँसु तप्किए, मनमा सन्ताप। कस्तो विवशता हो, यो पसिना पनि आफ्नै माटोमा बगाउन नपाउने?
'मौकामा हिरा फोर्नू, बेमौकामा कौडी पनि नफोर्नू' झलक्क बुबाले सानो हुँदा सिकाएको उखान याद आयो।
जाँदा हतार थियो, अँध्यारो थियो, सामान थियो र सार्वजनिक बस सेवा पाउने सम्भावना पनि थिएन। ट्याक्सी चढ्नुको विकल्प हामीसँग थिएन। मितव्ययी हुनु भनेको लोभी हुनु पक्कै होइन। फर्कंदा गेटमा नै बस पार्क गरेर यात्रुलाई पर्खेर बसेको थियो। शनिबारको दिन स्कुल जाने हतार पनि थिएन। हामी आमाछोरी बसमा उक्लियौं।
सबेरै भए पनि एयरपोर्टमा आफन्त पुर्याएर फर्कने मान्छेको भिड थियो तर बसमा हामीहरूले सिट पायौं। नेपालको सार्वजनिक यातायत सुविधाजनक र भरपर्दो नभएर हो, विदेशको जस्तो भए त हाम्रोजस्तो सानो देशमा धेरै निजी सवारी साधनको आवश्यकता नै पर्दैनथ्यो।
हामी बसेको सँगैको सिटमा अघि भेट भएका आमा र बहिनी हुनुहुन्थ्यो। खै! ती आमालाई कस्तो लागेछ कुन्नी, मलाई देख्दा आफ्नै आफन्त भेटेझैँ गर्नुभयो। मलाई पनि आमालाई देख्दा कस्तो-कस्तो भयो।
अघि भेटेको भएर हो कि कुन्नी चिने-चिनेजस्तो लाग्यो। तर न उहाँले मलाई न मैले उहाँलाई योभन्दा पहिला कहीँ कतै भेटेका थियौं, देखेका थियौं। कहिलेकाहीँ कसै-कसैलाई भेट्दा यस्तो हुन्छ। बस अगाडि बढ्यो। सहचालक साना भाइले घाँटी सुक्ने गरी यात्रु बोलाइरहेका थिए- कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी...।
गाडी हुँइकिन थाल्यो। आमा र सँगै बसेकी बहिनीले कुरा गर्न थाले। हुन त अरुले गरेका कुरा सुन्न हुँदैन भन्छन् तर आमाले आफ्नी छोरीसँग गरेका कुराकानी नसुनेर म बस्न सकिनँ। अझै भनुँ, उनीहरूका कुरा मैले ध्यान दिएर नै सुनेँ।
सुदूरपश्चिमको बोली आधाआधी मात्र बुझेँ तर पीडाको, दु:खको सार्वभौम भाषा हुन्छ क्यारे सायद, उनीहरूको बोली नबुझ्दा पनि मैले भाव बुझेकी थिएँ। बेलाबेला छोरीले म टोलाएको देखेर सोध्थी, 'ममी, आमाबुबा जानुभयो भनेर हजुरलाई नरमाइलो भयो? दशैँमा त आइहाल्नु हुन्छ नि।'
म टाउको हल्लाएर उसको समर्थन गर्थें। आमाबुबा घुमघाम गर्न छोरा-बुहारी, नातिनी भेट्न जानु भएको थियो। मलाई दु:ख मान्नु पर्ने कारण थिएन। भेट्नु, छुट्नु जीवनको रित हो भन्ने थाहा हुँदाहुँदै पनि छुटिँदा मन दुखिहाल्छ। दुख्दिनँ भनेर कहाँ हुन्छ र? मलाई जति दुःख आमाबुबासँग छुटिँदा लागेको थियो त्योभन्दा बढी दुःख आमाका कुरा सुनेर लागेको थियो।
१० वर्षे जनयुद्धमा भएका ४ मध्ये एक छोरा र छोरी गुमाउँदा कस्तो भए हो! शासन फेरियो। समय फेरियो तर हामी भुइँमान्छेका भोगाइ ज्युका त्युँ छन्। कर्णालीले यो बीचमा धेरै पानी बगायो तर सुदूर गाउँ वस्तीमा अभाव र दु:ख खोजिहिँड्न पर्दैन। घर-घरमा छताछुल्ल भेटिन्छन् दु:खका कुटुराहरू, दु:खका पोकाहरू। यो तिनै दु:खीहरूको प्रतिनिधि कथा हो।
आमा आज आफ्नी काखकी छोरीलाई अरबका कुनै देशमा पठाएर फर्कंदै रै'छिन्। नाकमा बुलाकी हल्लिन्थ्यो आमाले सुक्क-सुक्क गर्दा। सँगै बसेकी छोरी सम्झाउँथिन्, 'रुन्या बात नाइ, गरिबका भाग्या यतै बसिजा भनेर के खादो? के लाउदो? तिमईले जान्या भन्या मु के भनम् भन्या त बुइनिका आत दरिन्या। उड्न्या चरी अब फड्क खुरुक्क भन्या पनि बात मान्या नाइ। पिर सुर्ता नगर। सबै रामरो भैजाला।'
मैले मन थाम्न सकिनँ। आमासँग बोलेँ। मैले बोलेको नबुझ्दा छोरीले बुझाइदिन्थिन्। बसको घ्यार्र-घुर्रले झर्को लाग्दो बनाउथ्यो। आमाले त सुदूरपश्चिमको लबजमा आफ्नो कथा भन्नुभयो, मलाई त्यो लबज लेख्न आएन।
'यी दुई बहिनी यतै काठमाडौंमा काम गर्थे। स-साना हुँदै उताका मान्छेका साथ लाएर आए। पहिला मोबाइन नहुँदा त खबर पनि पाउथिनँ। कतै यी छोरीहरूलाई केही भयो कि भनेर मन आत्तिन्थ्यो। ईश्वर दाहिना भएर मेरो पुकार सुने। आजभोलि त मोबाइलले दिनदिनै कुरा हुन्थ्यो। साथीका लै-लैमा लागेर कान्छीले विदेश जान्छु भनि भनेर यसैले मलाई सुनाएकी।
म सहर त नदेखेकीलाई विदेश के हो के थाहा हुनु। यसैले सम्झाइबुझाई। कान्छी पासफोटोको कागज बनाउन जाँदा म पनि सँगै काठमाडौं आएँ। तीन महिना जति भयो। मलाई त पढ्न पनि आउँदैन। यी दुई बैनी अक्षर चिन्छन्। मभन्दा तिमीहरू नै जान्ने छौ, म के भनुँ भनेँ।
यसका बा यिनीहरू साना हुँदा भारत पसेका आजसम्म केही खबर छैन। दुई भाइ बैना मारिए भन्दा सुनेकी हुँ, लास पनि देखिनँ, सास पनि देखिनँ। बाँचेका भए त आउँदा हुन् कहीँ कतैबाट। हाम्रा भागका दु:ख जहाँ गए पनि छुट्ने होइनन्। सानीलाई त्यता हुँदी केही दु:ख, पीर नपरोस् भनेर भाकल गरेकी छु। अब त उता पनि मेरा मन नै खाने आफ्ना कोही छैनन्। यिनै छोरीका आडभरोसामा बाँच्ने हो।
यतै बस आमा भनेकी छे। बस्न सक्छु कि नाइ थाहा छैन। गाउँघरमा जस्तो यता हुन्न। मैले कसैलाई चिन्दिनँ। यताका मान्छे त हत्तपत्त कसैसँग बोल्दा रहेनछन्। यता त यस्तै हो आमा भन्छन् यिनीहरू। अब यतैको बानी पार्नु पर्ला। अरु त ठूलो खेतीपाती पनि केही थिएन। गाई डिया (गाईवस्तु) पनि छैनन्। यसैका बा कतैबाट टुपलुक्क आउँछन् कि जस्तो लाग्छ। मरे ज्युँदाको थाहा नभएपछि फर्किआउँछन् कि भन्ने आशा लाग्छ। यही आशाको त्यान्द्रोले त बचाएको छ। म यता हुँदा आउने हुन् कि?
सानी छोरीले त बाको मुख पनि देखिन। उनी मुग्लान पस्दा गर्भमा थिई। अब छोरी नै मुग्लान पसी। बालाई जस्तै बिरानो बनाउँछ कि भनेर मात्र तर्कना आउँछ। नभए हामी गरिब पाखुरा नखियाएसम्म जहाँ गए नि उस्तै हो। गएका त गए, भएकाहरूको कपाल नदुखे हुन्थ्यो जस्तो लाग्छ।
यतै सहरमा काम पाएको भए सानी छोरी पनि साथै हुन्थी। दुई बैनीका साथमा बस्न पनि पाउथेँ म। तर मेराजस्ता कतिका छोराछोरी उडाएर लाँदो रै छ त्यो जहाजले। सबैलाई हेरेर चित्त बुझाउँछु। के गर्नु, गरिबको कर्म- बर्मा गए नि कर्मसँगै।'
आमा र बहिनी बल्खु झरे। कता बस्नुहुन्छ भनेर पनि सोधिनछु। नाम के भनेर पनि सोधिनछु। आमाका कति लामा कथा थिए होलान्। आधा अधुरा भएजस्तो लाग्यो। आमाका आँखामा आँसु छचल्किएको देखेर मेरो मन पनि थामिएन। मेरा आँखामा पनि आँसु बगिरहे।