कोरोनापछि...
दस कक्षा उत्तीर्ण गरेपछि नै सरकारी जागिर खान पुगेका मेरो बुबा र अक्षर चिन्न सक्ने मेरी आमाको जीवनको लक्ष्य नै आफ्नो बालबच्चाको जीवन सफल र कुशल बनाउने रह्यो। सीमित मानसिकताले कोर्न खोजेको हाम्रो भविष्य जागिरेभन्दा बाहिरको दायरा कोर्न सकेन। अनि जागिरलाई प्राविधिक क्षेत्रमा सीमित गर्दै मेरो लक्ष्यलाई झन् साँघुरो भएको रहेछ।
आधारभूत आवश्यकताहरूसँगै परिवेश र समयानुकूल आधारमा मेरो शिक्षादीक्षाको आवश्यकता पूर्ति भएर होला, मैले मौका पाउँदा प्रणालीको अन्यायविरूद्ध विद्रोह गर्थेँ। मध्यम वर्ग परिवारको औसत विद्यार्थी म, मलाई तह लगाउने हतियार नै परिवारको औकात स्मरण गरउने चेस्टा भने घरदेखि विद्यालयसम्मै रहन्थ्यो। कुल, घराना, मर्यादा जस्ता अनेकौं 'स्युडोप्रेस्टिज' को जञ्जीरले बाँधिएको म। किताबभित्रको ज्ञान, शिक्षाको दायरा र समाजको सोचभन्दा बाहिर निस्कन धेरै नै गाह्रो हुँदो रहेछ!
जब मैले स्नातक तह पढ्न सुरू गरेँ, कोरिएको रेखामा हिँड्न खोज्दा उकुसमुकुस हुन थाल्यो। मैले इञ्जिनियरिङ शिक्षा, कलेज र विश्वविद्यालयको उद्देश्यलाई नै प्रश्न गर्न थालेँ। चर्चित सांगीतिक ब्यान्ड 'पिंक फ्लोयड' को 'हामीलाई कुनै शिक्षाको आवश्यकता छैन' भन्ने गीतमा देखिएको विद्यार्थी र विद्रोह गर्ने जमातझैं मभित्र तरंगहरू उम्लिरहन्थे।
मेरो भावले जुन प्रणालीलाई चुनौती दिन थालेको थियो, दुर्भाग्यवश लगभग सबै शिक्षकहरू र सम्पूर्ण प्रणाली नै इनपुट-प्रक्रिया-आउटपुट प्रणालीगत उपनिवेश मेसिनको उत्पादन मात्र थिए। विद्रोही भाव प्रकट गर्दागर्दै विद्रोही स्वभाव नै चित्रण गर्न थालेँ मैले। फलस्वरूप मेरो अध्ययनलाई मैले पूर्वनिर्धारित मार्गको अनुकूलतामा सीमित नगरी अभिनव मार्गहरू खोज्न थालेँ।
उद्यमशीलता र राजनीति दुई नयाँ क्षेत्रहरू पाएँ मैले। तिनको अध्ययनले थप ऊर्जावान् हुन्थेँ। यी दुवै क्षेत्रमा सुखद गन्तव्यको भोगभन्दा नयाँ आयाम ल्याउने अभ्यास गरेको प्रशस्त उदाहरणहरू पाउन थालेँ। जब मैले आत्मवृत्ति पछ्याएर जोखिम लिने मनोवृत्ति भएका धेरै अद्भूत व्यक्तित्वका बारेमा थाहा पाएँ, तब मलाई सुरक्षित जीवनमा आफूलाई नराख्ने साहस पाएँ।
एकातिर ममा प्रस्फुटन हुन लागेको अंकुर, अर्कोतिर देशमा द्रुत गतिमा परिवर्तन भइरहेको राजनीतिक परिस्थितिले मलाई अझै धेरै जिज्ञासु बनाएको थियो।
जब राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई असक्षम भनेर पदमुक्त गर्दै सत्ता हत्याए, राजनीतिक दलको वकालत गर्ने युवाहरू नै राजाको छत्रछायामा अडेस लाग्न गए। सकारात्मक नेतृत्व र विद्यार्थीको चौतर्फी विकास र उच्च मनोबल हुनुपर्ने मानसिकताका साथ विद्यार्थी राजनीतिमा लागेको म। त्यही कालमा नेतृत्वमा रहेका कलेजका केही वरिष्ठ विद्यार्थी नेताहरू विचलित हुँदा झन् जिज्ञासु भएँ। उहाँहरूले एकदमै सरलता साथ भन्नुभयो- पञ्चायतझैं यो प्रणाली धेरै समय टिक्छ, तसर्थ हामी यसमै लाग्नु पर्छ।
शक्ति र सत्ताको मोहमा नलागी देशमा राजतन्त्र हुँदा पनि राजतन्त्रको वकालत गरिनँ। मैले राजालाई प्रभु मान्न सकिनँ। मोटामोटी डेढ वर्षपछि माओवादीले विद्यार्थी संगठन विस्तार गर्दा वा अलिपछि मधेसी जनअधिकार फोरम र तराई-मधेस लोकतान्त्रिक पार्टीमा जाने मौका पाउँदा मैले नजाने निर्णय गरेँ।
नयाँ स्थापित राजनीतिक दल सीमान्तकृतको आवाज बनेको यथार्थ र पुरानै स्थापित दलहरूको क्रमबद्ध योगदानलाई पनि मैले कहिले नकारिनँ। यी दलहरूसँग सहमत नहुने अनेकौं कारण भए पनि विद्यार्थी कालमा कुनै पनि दलसँग आवद्ध नहुनुको महत्वपूर्ण कारण एउटै थियो मेरो लागि- विद्यार्थीले नेतृत्व गर्ने वातावरण हुनु पर्छ तर शिक्षामा राजनीतिकरण हुनु हुँदैन।
तसर्थ विद्यार्थी समयभर कलेज र विश्वविद्यालयमा मैले स्वच्छ रूपको नेतृत्व देशमा मात्रै नभएर विदेशमा पनि गरेँ। तर कुनै राजनीतिक दलसँग आबद्ध भइनँ।
देशलाई आक्रान्त बनाएको राजनीतिक दललाई चुनौती दिँदै विवेकशील दलले वैकल्पिक राजनीतिको सम्भावना देखाउँदा होस् वा पढेलेखेको मान्छेले राजनीतिक नेतृत्व लिन पछि हट्नु हुँदैन भन्ने सम्भावना साझा दलले दर्शाउँदा, आफूलाई यस दुवै समूहमा अटाउन सकिनँ मैले। राजनीतिक दलको सिद्धान्त र दर्शनलाई नबुझी त्यस अभियानमा जुड्ने सम्भावना देखिनँ।
वैकल्पिक राजनीतिको विचार कमजोर हुँदै गर्दा प्रमुख राजनीतिक दलहरूले संविधान, कानुन, सिद्धान्त र नीतिको कमीकमजोरी पहिचान गरी राज्यको दोहन गरिरहे। देशमा लामो समयको महामारीको बेला शासन प्रणालीको अकर्मण्यता छताछुल्ल भयो। गाउँमै बसेर केही सकारात्मक प्रयास गर्नुपर्ने जिम्मेवारी बोध भएर गाउँमा काम गर्दाको हाम्रो समाजका सकारात्मक र नकारात्मक प्रविधिसँगको अनुभव सामान्य नै लाग्यो।
तर संघीयतासँगै आम मानिसले दिनदिनै भ्रष्टाचारसँग अवगत हुन थालेको देख्दा असह्यनीय भयो। पालिकाहरूले काम गर्न सहयोग नगर्ने होइन तर सहयोग गरेको आर्थिक रकमको कमिसन र प्रतिशत कटौतीको यथार्थ थाहा नभएको को होला र! दुई दशकपछि स्थानीय सरकारले पूर्वाधार विकास तुलनात्मक रूपमा गरेको छ। तर प्रायः जसो हरेक उपलब्धिमा भ्रष्टाचारको गन्ध आउँछ। दुर्भाग्य के हो भने, विकास भनेको हार्डवेयरमा सीमित हाम्रो सरकारले सफ्टवेयरमा खासै योगदान गर्न नसकेको हो।
इतिहासमा जब नेपालमा पढ्न बञ्चित थियो, त्यति खेर हाम्रो गाउँमा संस्कृत पाठशाला खुलेको थियो। त्यस भेगका विभिन्न ठाउँबाट मेरो गाउँ तिलाठीमा पनि शिक्षा आर्जन गर्न जनमानस आउँथे। देशभित्रबाट मात्रै होइन, भारतबाट पनि यहाँ पठनपाठन गर्नेको घुइँचो हुन्थ्यो। विगत केही वर्षमा गाउँमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा दर्जनौं मदिरा बेच्ने पसल खुलेका छन्। पहिले गाउँ आगमनसँगै विद्यालयले स्वागत गर्थ्यो भने आहिले मदिरा पसलले। पहिले आगन्तुकहरू यहाँ शिक्षा लिन आउँथे भने आज मदिरा पिउन आउँछन्। विद्यालय नजिकै मदिरा पसल राख्नु कानुनको लागि सामान्य भइसक्यो।
मैले विश्वास गरेको संघीयता र स्थानीय सरकारले काम नगर्नुमा प्रणालीको दोषभन्दा पनि प्रणाली हाँक्ने पढेलेखेका कर्मचारी, जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता र सोचविचार भएका व्यक्तित्वहरू कारक हुन्। यहाँ दोष नै देखाएर बस्नुभन्दा पनि विकास सुनिश्चित गर्ने हेतुले गत स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेँ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुने क्रममा, राजनीतिक उपलब्धिहरूको आधारमा हामी धेरै नै प्रगतिशील भइसकेका छौं। कागजमा देशलाई हामीले जति नै प्रगतिशील बनाए पनि यथार्थमा धेरै काम गर्नुपर्ने छ। देश विकासको बाटोमा जाने संकेत आधारभूत आवश्यकता सुनिश्चित गर्नुले देखाउँछ। हामीले पालिका स्तरबाट रूपान्तरण सम्भव छ भनेर हाम्रो कार्यले देखाउन सक्ने हो भने देशमै सकारात्मक तरंग ल्याउन सकिन्छ। सकारत्मक तरंग ल्याउन क्षमतावानसँगै निष्ठावान जनप्रतिनिधि चाहिन्छ।
म समाजलाई रूपान्तरण गर्छु, तसर्थ म स्वतन्त्र उम्मेदवारी दिन्छु भनेर गाउँ समाजमा परामर्श गर्न थालेँ। मसँग ज्ञान छ, देशविदेशमा पढेको, काम गरेको अनुभव छ र सबभन्दा महत्वपूर्ण कुरा चाहिँ म पवित्र निष्ठा साथ यहाँ आएको हुँ।
प्रतिक्रिया स्वरूप म जस्तो पढेलेखेको मान्छेले कुनै पार्टीको झोला बोकेर नेताहरूको चाप्लुसी गर्दै विभाग प्रमुख हुने सम्भावना देखाए। गाउँभन्दा काठमाडौंमा राजनीति गर्न सुझाए। त्यस्तै कतिले पढेलेखेको मान्छे सुटबुट लगाएर टाइवाला बाटोमा जान सुझाए। पढ्दै नपढेको, कहीँ कतै जागिर नपाएकाले गाउँ आएको तर्क दिनसम्म भ्याए। म कुनै नेताको कठपुतली भएको र चुनावमा त्यही नेताको हितका लागि उमेदवारी दिएको कुप्रचार पनि भयो। विभिन्न पार्टीका कार्यकर्ताले चुनावपछि मेरो राजनीतिक छवि सकिने र मलाई बर्बाद गरिदिने भनेर धम्काए पनि। प्रवासी भएर कहिलेकाहीँ गाउँ आउँदा अपनत्व पाइन्छ वा प्रवासमा लिइएको नेतृत्वको सम्मान र उपलब्धिको सकारात्मक चर्चा हुन्छ। गाउँमै बसी केही गर्ने प्रयास गर्यो भने नकारात्मक टिकाटिप्पणी मात्रै हुँदो रहेछ।
जे होस्, मैले उद्देश्य नै आफ्नो गाउँपालिका बनाउन आफैं जमर्को गर्ने हेतुले राजनीतिमा आउने प्रण गरिसकेको थिएँ। ममा प्रस्फुटन भएको विद्रोही आवाजले नै मलाई प्रण लिन हौसला दिएको हो।
केही साथ र प्रेरणासँगै मैले तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्ष पदका लागि स्वतन्त्र भई उम्मेदवारी दिएँ। स्वतन्त्र उम्मेदवारी त पहिला पनि धेरै नै हुन्थ्यो तर प्रायः स्वतन्त्र उम्मेदवारको नियत धमिलै हुँदो रहेछ। अरूको भोट काट्न, पार्टीका उमेदवारलाई प्रचार गर्न, शून्य समयमा, चुनावको दिनमा र मतगणनामा सहयोग गर्न पनि स्वतन्त्र उम्मेदवारी र डमी उम्मेदवारी दिने चलन रहेछ। यसपालि भने राजनीतिक पार्टीसँग निराश भएर देशका विभिन्न स्थानबाट स्वतन्त्रको आवाजहरू गुञ्जिन थालेको थियो। स्वतन्त्र आवाजले एक अभियानसरह जोडतोडले स्थापित शक्तिहरू सशंकित हुने गरी चुनौती दिइरहेको थियो। म पनि मेरो क्षेत्रमा गौण रहिनँ। मेरो आवाज सुन्न भीड पनि जम्मा हुँदै गए।
मैले उम्मेदवारी दिएपछि शुभचिन्तकहरूले कुनै दलबाट आउन पनि सुझाए। केही दलले चुनावी सहकार्य गर्न प्रस्ताव पनि राखे। आजसम्म म कुनै दलमा आवद्ध नहुँदा एक्कासि चुनावको मुखमा आवद्ध हुनु उचित लागेन। नेपालमा गठबन्धन साझा मूल्य मान्यताभन्दा पनि निहित स्वार्थमा हुँदा दिगो नभएको प्रशस्तै उदाहरण छन्। अवश्य पनि भविष्यमा मेरो सिद्धान्त र दर्शनअनुसार कुनै राजनीतिक दलमा प्रवेश गर्न सक्छु। तर चुनाव जित्ने उद्देश्यले मात्रै आज कसैसँग समन्वय गर्दिनँ। भोलि परिणाम जे सुकै होस्, पालिका हितको समन्वय गर्न पछि हट्दिनँ भनेर प्रतिबद्धता जनाइरहेँ।
अपेक्षा अनुरूप नै चुनावमा निर्वाचित पदभन्दा निकै नै कम मत आयो मेरो। तर एकदिन गाउँमा मलाई बधाइ दिँदै कोहीकोहीले भने- तपाईंको दलले पनि केही पालिका जितेकोमा बधाइ छ।
राजनीतिमा स्नातकदेखि नै रूचि बढ्दै गएको भए पनि आजसम्म कुनै दलको सदस्य भएको छैन म। पछि बल्ल थाहा पाएँ, उहाँहरूले मलाई बालेन शाह र हर्क साम्पाङ राईको उदाहरण दिएका रहेछन्। सिद्धान्त र दर्शन समान वा असमान जे भए पनि जितेका स्वतन्त्र उम्मेदवारहरूको काँधमा राजनीतिक र चुनावी अभियान नै परिवर्तन गर्ने जिम्मेवारी आएको रहेछ। उनीहरूलाई देशको विभिन्न कुनाबाट जनताले अवलोकन गरिरहेका छन्। केही स्वतन्त्र व्यक्तिलाई जनताले निर्वाचित गराएर रूपान्तरणको बिगुल बजाउन आश गरेका हुन्। उनीहरूको सफलता र असफलताले आगामी दिनलाई चित्रण गर्ने छ। तसर्थ यी स्वतन्त्र नेतृत्वसँग अपेक्षा गर्दै सहयोग गर्ने र उपेक्षा गर्दै भाँझो हाल्ने दुवै समूह हाबी हुनेछन्।
यी निर्वाचित स्वतन्त्र प्रतिनिधिहरूले सफलतापूर्वक आफ्नो कार्यकाल समापन गर्ने एउटा चुनौती छ। अर्को चुनौती, यो स्वतन्त्र अभियानलाई निर्मूल पार्ने क्षणिक स्वार्थमा लिप्त, छोटो अवधिमै अत्यधिक लाभ लिन खोज्ने जमातको 'स्टन्ट' पनि हुन सक्छ। विगत दशकलाई फर्केर हेर्दा डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति अभियान, रवीन्द्र मिश्र र यिनका समूहको वैकल्पिक राजनीति अभियान धमिलो भएझैं स्वतन्त्र अभियानलाई पनि धमिलो पार्ने प्रयास भइरहेको छ। क्षणिक स्वार्थमा लिप्तहरूले आजको समयमा राजनीतिक दलको झोला बोक्न नचाहेर स्वतन्त्र राजनीति गर्ने चाहना हुने प्रक्रियालाई नै जटिल बनाइदिएको छ।
रूपान्तरणको सपना देख्ने पुस्ताले यी सच्चा स्वतन्त्र नेतृत्वहरूलाई असफल हुन दिँदैनन् भन्ने आश अझै जीवितै छ। स्वतन्त्र नेतृत्वहरूले उच्च ध्यान दिनुहोस्!
क्रमशः
भाग १- राहत वितरणले सिकाएको पाठ
भाग २- अनि मैले 'एम्बुलेन्स' बनाएको गाडी बेचिदिएँ
भाग ३- यो त सुरूआत मात्रै हो!
भाग ४- 'छोरा गतिलो अफिसमा काम गर्छ भनेको त गाउँमै भौंतारिने भयो'
(शैलेन्द्र झाका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @sailjha