काकाकी छोरी, हाम्री कान्छी बहिनीको विवाह थियो। कोरोनाले गर्दा सरेको सरै गरेर मङ्सिरको विवाह माघमा हुँदै थियो। काकालाई घरको कान्छो बिहे सुटुक्क गर्ने मन थिएन। सबैलाई सामेल गरेर धुमधामसग बिहे गर्नकै लागि मङ्सिरबाट माघ पुगेको थियो।
काठमाडौं बसेपछि मुस्किलले विवाह/व्रतबन्धमा सामेल हुन पाइन्छ। काठमाडौं वरपर भए त जेनतेन गइन्छ र सामेल भइन्छ। टाढा जान त तारतम्य मिलाउनै पर्छ। साइत जुराउनै पर्छ। सबैकी कान्छी बहिनी बिहेमा जान साह्रै मन थियो। मौका पनि जुर्यो।
छोरीको स्कुलमा जाडो बिदा सुरु भएको थियो। अफिसमा बिदा पनि मिल्यो। 'त आँट म पुर्याउँछु' भनेजस्तै भयो। जाने तरखर गरियो। किनमेल पनि भयो सानोतिनो। जाने अघिल्लो रात झोलामा सरसामान मिलाउँदा एउटा झोलामा कपडा पनि अटेनन्।
अघिपछिभन्दा धेरै कपडा चाहियो। बिहेमा जानु पर्ने हुँदा त्यो दिन लगाउने लुगा पनि चाहिए। त्यसमाथि जाडोको समय बाक्ला र न्याना कपडाको भारी। उसै पनि मलाई लामो यात्रा गाह्रो लाग्छ। लुगाले भरिएका झोला उफ्! हामीहरूले लगाउने एक सरो कपडा राख्दा पनि दुई वटा झोला भए।
बिहे घर पुग्दा रमझम सुरु भैसकेको थियो। लामो यात्राबाट थाकेकै भए पनि बिहेको रमझममा थकाइ मार्ने मन भएन। सबै परिवार र आफन्तलाई एकै ठाउँमा भेट्ने मौका यस्तै कार्यक्रममा त पाइन्छ नि। विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता सामाजिक, धार्मिक र सांस्कृतिक जमघटले आत्मियता साट्ने अवसर पनि दिन्छन्। सबै आफन्तलाई भेट्न पाएर मनै फुरुङ्ग।
छरछिमेकी आफन्तहरू फिनी, खुदे रोटी, चिनी रोटी पकाउन व्यस्त थिए। साँझ पर्न थालेपछि 'हल्दीको रस्म' भन्ने कार्यक्रम भयो। योभन्दा अगाडि सरिक भएका बिहेमा यस्तो कार्यक्रम भए जस्तो लागेको थिएन। बेसारका गानामा तोरीका गेडा पिसेर बनाएको बुकुवा दलेको देखेकी थिएँ।
सानो-सानो विवाहको नै झल्को दिने 'हल्दीको रस्म' भन्ने चलन हाम्रो मौलिक चलन हैन। सामाजिक सञ्जालमा हल्दी र मेहन्दीका तस्वीर भनेर पहेँला र हरिया लुगा लगाएर राखेको फोटाहरू त देखेकी थिएँ तर सरिक नै भएकी भने थिइनँ।
निम्तोमा आएका महिला, पुरुष, केटाकेटी सबैले पहेँला लुगा लगाएका थिए। हामीहरूसँग त्यस प्रकारको लुगा थिएन। हामीहरू कागका बथानमा बकुल्ला जस्ता भएका थियौँ। हामीलाई खल्लो लागेकै थियो, सानी छोरी त आफ्नो पहेँलो लुगा भएन भनेर रुन थाली।
धन्न घरै छेउ बजार थियो, गएर छोरीलाई एउटा पहेलो लुगा किनिदियौँ। छोरीकै करकाप र कचकचले गर्दा हामीले पनि किन्यौँ र लगायौँ। हामी मध्यम वर्गका मान्छेहरू विरोध गर्न नि नसक्ने, देखासिकी गर्न पनि गोजीले नधान्ने।
ओहो! अब त बिहेको बजेट बढ्ने भो। मनमनै महिना भरिको बजेटको फेहरिस्त आयो सररर।
भोलिपल्ट कसार बटार्ने दिन थियो। दिउँसो कसार बटार्न छरछिमेकीहरू, आफन्तहरू आए। साँझ पर्न थालेपछि बहिनीका साथीहरू हरियै भएर आउन थाले। 'मेहेन्दीको रस्म' भन्ने कार्यक्रम रै'छ। जो आउथे हरियै लुगा लगाएर आउथे। तराईका सीमावर्ती जिल्लामा मात्र हैन पहाड तिर पनि आयातीत संस्कृतिको प्रभाव बढेको अनुभूति भयो।
सानी छोरीले मन अमिलो बनाएकी थिई तर लुगा किन्नका लागि आग्रह गर्न सकेकी थिइन। कनकन गर्दागर्दै आफूजस्ता साना साथीहरू भेटिछ उनीहरूसँग भुली। आजको गर्जो टर्यो भनेर म पनि दङ्दास भएँ। कति बेला बिहे सकिन्छ र फर्कुँला जस्तो उकुसमुकुस भयो।
काकाले जवानीका पसिना विदेशमा बगाउनु भयो। भाइ विदेश नै छ। उनीहरूले विदेशमा रगतसँग साटेको पैसा पानीभन्दा सस्तो भएर बगेको थियो।
'त्योभन्दा कान्छी बहिनीलाई आत्मनिर्भर बनाउने कुनै सीप इलमतिर पैसा लगानी गरिदिएको भए कति राम्रो हुँदो हो' मनभरि कुरा आयो। मुख फोरेर भन्ने आँट आएन।
'अहिलेको जमानामा पनि कस्तो हजुरआमाका जस्ता कुरा गर्छे यो दिदी?' भनेर पहिलै सुनिसकेकी हुँदा मन बाँधेर बसेँ।
भोलिपल्ट कान्छीलाई दिने दाइजो आँगनमा थियो। दाइजो लिनु र दिनु कानुनले दण्डनीय मानेको छ। तर सामाजिक रुपमा दाइजोको लेनदेन भैरहेको छ। दाइजोका नाममा पीडामा परेका छोरी चेलीका समाचार खररर मस्तिष्कमा सलबलाए। हाम्री बहिनीलाई यस्तो नहोस् भन्ने कामना गरेँ। आजको मज्जा, रमझम भोलिको पछुतो नबनोस्।
भोलिपल्टको विवाह पनि भव्य भयो। सबै आमा, भाउजू, बुहारी, दिदी, बहिनी एकै खाले सारीमा सजिएका थिए। गहनाले पनि ढाकिएका थिए। साह्रै राम्रो र चिटिक्क सजिएको मण्डपमा कान्छी बहिनी परी जस्तै देखिएकी थिई।
हामी सबैकी प्यारी परी नयाँ घरमा पनि सम्मानजनक जीवन बाँच्न सकोस् भन्ने शुभेच्छा दिएँ मैले। विवाह दुई मनको मिलन हो। दुई परिवारको सुख दु:ख बाड्ने अवसर हो। तडकभडक बिना सामान्य तरिकाले विवाह गरेर पनि गृहस्थ जीवनलाई सुखी बनाउन सकिन्छ।
उत्पादकत्व शून्य भएका आयातित संस्कृतिको प्रवर्द्धन गरेर, पहेँला, हरिया लेहेँगा र सारी लगाएर समाजमा मै हुँ भन्ने धाक जमाउनभन्दा दु:ख गरेर कमाएको पैसा उत्पादनशील काममा खर्च गर्न सके समाजमा हुने विवाहजन्य हिंसाका घटना न्यूनीकरणमा सहयोग पो पुग्थ्यो कि? समाजको समुन्नत विकासमा टेवा पो पुग्थ्यो कि?
रेमिट्यान्सले भरथेक गरेको हाम्रो अर्थतन्त्रमा विदेशबाट आएको पैसाको ८५% घरव्यवहारमा नै खर्च हुने तथ्याङ्ले देखाएको छ। रगत पसिना साटेर कमाएको पैसा सामान्य घरव्यवहार धन्दामा सकिएपछि भविष्यका लागि लगानी गर्ने कसरी? भविष्यको लागि जोहो गर्ने कसरी?
विकसित देशमा जस्तो सक्षम सामाजिक सुरक्षा हाम्रो देशमा छैन। उता पो बुढेसकालमा सरकार सहयोगी हुन्छ। यता केही भवितव्य परे हेर्न सरकारको उपस्थिति हुँदैन। बेलामा होस नगरेपछि पछुतो सिवाय केही हुँदैन।
मङ्सिर महिना विवाह मौसम हो। किसानलाई धान भित्राउने चटारो पनि यही बेला हुन्छ। हामी स-साना हुँदा विवाहका लागि पुराना धान सुकाउन कुट्न भ्याइनभ्याई हुन्थ्यो हजुरआमाहरूलाई। नेवारी वस्ती तिर चिउरा पनि कुट्थे। झिलिङ्गा बनाउथे विवाहका लागि।
आजभोलि विवाहका लागि गरिने यस्ता काम भएको देख्न पाइँदैन। हाम्रो परम्परागत विवाह संस्कारमा आजभोलि निकै परिवर्तन देख्न पाइन्छ। हुन त परिवर्तन प्राकृतिक नियम हो। परिवर्तन बिना जीवनको अस्तित्व नै हुँदैन। तथापि हाम्रा कतिपय मौलिक संस्कृतिलाई जोगाएर पहिचानलाई कायम राख्ने अभिभारा पनि हामीले निर्वहन गर्नैपर्छ।
विकृतिलाई छोड्दै हाम्रा परम्पराका सकरात्मक पक्षलाई अझै मजबुत पार्नु हाम्रो कर्तव्य हो। हाम्रो मौलिक नेपाली परम्परामा विवाह एक महत्वपूर्ण संस्कार हो। 'जोडी दैवले जुराएको हुन्छ' भन्ने मान्यता प्रखर रहेको हाम्रो समाजमा विवाह सात जन्मसम्मको पवित्र बन्धन हो भनिन्छ।
विवाह बन्धनले दुई परिवारलाई जोड्छ। परिवार भित्रका नाता कुटुम्बलाई जोड्छ। यो माया, प्रेम र समर्पणको सम्बन्ध हो। यो त्याग र सम्झौताको सम्बन्ध पनि हो। दुई फरक परिवार, समाज रहनसहन भित्रका मानिसलाई पनि जोड्न सक्ने विवाहको नाता वास्तवमा मनले मन जोड्ने नाता हो।
विडम्बना! दाइजो र तिलकका नाममा विवाहका नाता तोडिएका छन्, सहयात्रा छोडिएका छन्। अशिक्षाले मात्र होइन, अहमता र अराजकताले पनि महिलामाथि हुने विवाहजन्य हिंसा बढेका छन्।
'छोरीलाई बोझ होइन बल, छोरीलाई दाइजो होइन सम्मानजनक आर्थिक आत्मनिर्भरताका उपाय' दिने परम्पराको थालनी नभएसम्म छोरीले भोग्ने विवाहजन्य दुर्व्यवहारमा कमि आउँदैन। दिन नबिराई आउने महिला हिंसाका समाचारले मन अमिलो बनाउने भन्दा अरु के नै पो गर्न सकिएको छ र? विवाहमा हुने तडकभडकलाई कम गर्न सके मात्र पनि समाजमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ।
जन्मोत्सव, व्रतबन्ध, विवाह मात्र होइन आजभोलि मृत्यु संस्कारलाई पनि अनावश्यक रुपमा भड्किलो बनाएको अनुभूति मैले गरेकी छु। हुने खानेले त गर्लान् खर्च, हुँदा खानेले के गर्ने? सामाजिक, धार्मिक, सांस्कृतिक र हाम्रो मौलिक परम्परा बोकेका संस्कृतिलाई भड्किलो नबनाउँ।
अनावश्यक अनाधिकृत र आयातीत संस्कृतिको अनुसरण गरेर हाम्रा उत्सवहरूको मौलिकतामा आँच आउन नदिउँ। मौलिकता हाम्रो पहिचान हो। यसको संरक्षण गरौँ। तडकभडक गरेर हिंसालाई प्रसय नदिउँ।