अमृताजीले सधैं युद्ध नै गर्नुभयो।
लैंगिक चेतनाको युद्ध। पीडितलाई अधिकार दिलाउन जिम्मेवारहरूलाई झक्झकाउने युद्ध। पीडितहरूलाई आशा र भरोसा दिलाउने युद्ध।
उहाँका अनेकन लेख रचना, उहाँको फेसबुक र ट्विटरका भित्ताहरू यसका प्रमाण हुन्।
यतिखेर अमृताजी अर्को युद्ध लड्दै हुनुहुन्छ- क्यान्सरसँग।
एक किसिमले आफैंसँग, आफ्नो नियतिसँग। स्तन क्यान्सर भएर शल्यक्रिया भइसकेपछि छैठौं दिनमै उहाँले लेखेको लेखमार्फत मैले उहाँलाई क्यान्सर भएको थाहा पाएँ र स्तब्ध भएँ एकछिन।
क्यान्सर यतिखेर पहिलाजस्तै उपचाररहित र भयावह त मानिँदैन, यद्यपि यो अप्ठ्यारो रोग उहाँलाई नै लाग्नुपर्ने कारण को सँग सोध्ने?
यसैबीच पनि क्यान्सरका विरूद्ध, क्यान्सर सम्बन्धी भ्रमहरूका विरूद्ध जति सूचनाहरू अमृताले खोज्नुभयो र हामी सबैलाई जानकारी दिनुभयो, त्यसैले झक्झकाएर म जस्तो डाक्टरकहाँ जान सकेसम्म टार्ने मान्छे पनि जँचाउन अस्पताल पुगेँ। सायद अरू पनि पुगे होलान्!
हाम्री ममी हामीलाई केटाकेटीमा भनिरहनुहुन्थ्यो- मान्छेले कि आँटले खान्छ, कि ढाँटले।
‘ढाँट’ शब्द तुक्का मिलाउन राखिएको होला उखानमा, ढाँटैले खाए पनि त्यो मनलाई सधैं पोल्ने विषय बन्ला।
तर यतिखेर चाहिँ म सोच्दैछु- अमृताजी चाहिँ आँटले खाने मान्छे हो!
२०५३-५४ सालतिर हो कि, पुनर्जागरण लगायत केही अरू पनि पत्रपत्रिकामा अमृता बाँस्कोटा नामकी एउटी लेखकका विचारोत्तेजक रचनाहरू निस्किन्थे। महिला पत्रकारहरूको संस्था 'सञ्चारिका' पनि भर्खर सुरू भएको थियो। अमृताजी त्यसकी संस्थापकमध्येकी एक हुनुहुन्थ्यो।
एउटी सचेत, जागरुक, सक्रिय महिलाका रूपमा चिन्थेँ म उहाँलाई। म त्यतिखेर नेपाल परिवार नियोजन संघमा तालिम शाखामा जागिरे थिएँ, समसामयिक मुद्दाहरूमा कार्यक्रमहरू चलाउने गर्थ्यौं हामी। हामीलाई सम्बन्धित विषयका अभियन्ता र विज्ञहरूको आवश्यकता परिरहन्थ्यो। यसै क्रममा गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भन्ने विषयको एउटा गोष्ठीमा अमृताजीलाई पनि हामीले निम्तो गरेका थियौं। उहाँसँगको मेरो पहिलो भेट त्यही थियो।
त्यसपछि धेरै समय हाम्राबीच कुनै सम्पर्क रहेन, आ-आफ्ना तुनेलामै रूमल्लिरह्यौं सायद।
धेरै पछि, २०६६ सालतिर मेरो फेसबुक मेसेन्जरमा एउटा सन्देश खस्यो- अमृता लम्सालको नामको।
प्रोफाइल हेरेँ। तस्बिर अमृता बाँस्कोटाकै थियो। सुखद आश्चर्य भयो मलाई। त्यसपछि मेसेन्जरमा हाम्रो कुरा हुन थाल्यो। उहाँ अमेरिका बस्न थाल्नुभएको रहेछ। म केही समय दिल्लीतिर जागिर खाएर फेरि काठमाडौं फर्केकी थिएँ। कान्तिपुरमा मेरा लेखहरू छापिन्थे त्यसताका। पढ्नुहुँदो रहेछ, टिप्पणी पनि पठाउनुहुन्थ्यो।
मलाई पनि अमृता बाँस्कोटादेखि अमृता लम्सालसम्मको उहाँको यात्राबारे जान्ने उत्सुकता भएको थियो। सोधेँ, उहाँले खासै केही भन्नुभएन।
लाग्यो- असजिला कुराहरू होलान्।
हाम्रोजस्तो समाजमा महिलाको जिन्दगीमा सजिलाभन्दा असजिला कुरा नै अधिक हुने गर्छन्। के लाग्यो कुन्नि, केही वर्षपछि एकदिन, मैले उहाँलाई आफ्ना अनुभवहरू लिपिबद्ध गर्दै जानोस् भनेर अनुरोध गरेँ। अमृताजी जस्ती मान्छेलाई धृष्टतापूर्वक केही सुझाव पनि दिएकी थिएँ, कसरी लेख्ने भनेर। अहिले हाँसो उठ्छ।
तर असजिला कुराहरूले नै त हो लेखनलाई सम्झिरहने बनाउने, अरूका निम्ति पनि उपयोगी र प्रेरणाप्रद पनि बनाउने।
कुरै कुरामा अमृताजीको कुनै प्रसंग आउँदा, एकजना मेरा हितैषी भाइले एकपल्ट मलाई विस्तारै भन्नुभएको थियो फोनमै- ए…उहाँ त फेमिनिस्ट हो नि…!
उनको आशय अमृताजी उग्र, महिलावादी, खतरनाक भन्ने प्रष्ट बुझिन्थ्यो। म मनमनै हाँसेँ। मान्छे डराउँदा रहेछन् उहाँसँग भन्ने बुझेँ मैले।
मलाई लाग्यो- अमृताजीको शक्ति यही हो।
लैंगिक असमानताका ज्वलन्त मुद्दाहरू समातेर अमृताले सामाजिक सञ्जालबाटै उथलपुथल मच्चाइदिनुहुन्छ बारम्बार। अन्याय परेका, पीडामा रहेका धेरै कमजोरहरूका निम्ति आफ्ना अधिकारका विषयमा बोल्न, कुरा उठाउन यतिखेर पनि अमृता एउटा दह्रो प्रेरणा हुनुहुन्छ।
कुनै पदीय जिम्मेवारीमा नरहीकन पनि उहाँले जति गर्नुभयो र गरिरहनुभएको छ महिला अधिकारका पक्षमा; पीडितहरूका पक्षमा; मलाई लाग्छ, लैंगिक समानताको जिम्मेवारी लिएर महत्त्वपूर्ण पदमा रहेका धेरैले त्यो गर्न सकेका छैनन्। महिलासँग जोडिएका संवेदनशील मुद्दाहरू उछालेर त्यसको व्यवस्थित टुंगो नलगाउने चरित्र जिम्मेवारीमा बसेका धेरैको छ। जसका कारण पीडितहरू निरन्तर सुरक्षा-त्रासमा रहने र तिनले पाउनुपर्ने न्यायमा अधिकांश सम्झौता हुने गर्छ। कर्मकाण्डका रूपमा समानताका कार्यक्रम चलाइरहेका व्यक्ति र संस्थाहरूले अमृताबाट सिक्ने कुरा धेरै छन्।
सामाजिक सञ्जालबाटै सही, नेपालमा महिलावादलाई आन्दोलन बनाउन सक्ने जुझारू 'एक्टिभिस्ट' हो अमृता; सायद पहिलो हो; म यो कुरा बारम्बार घरमा चर्चा गर्ने गर्छु।
लैंगिक विभेदका विषय मात्र होइन, कुनै पनि मुद्दामा अमानवीय र असंवेदनशील विचार राख्ने कसैसँग पनि अमृता सम्झौता गर्न तयार हुनुहुन्न, न त डराउनुहुन्छ। लेखिहाल्नुहुन्छ, भनिहाल्नुहुन्छ, ठोकिहाल्नुहुन्छ। कतिपय विज्ञ, वरिष्ठ मानिने व्यक्तिहरूले समेत प्रतिवाद गर्दै उहाँलाई अपमानित गरेर लेखेका अप्ठ्यारा टिप्पणीहरू हेरेकी छु मैले। तर जतिसुकै तिक्त विन्दुमा संवाद पुगेको भए पनि उहाँले संवादको ढोका बन्द गरेको म देख्दिनँ। उहाँको उग्रता मुद्दामा हुन्छ, व्यक्तिका रूपमा मैले उहाँलाई सधैं विनम्र र सुलह गर्न खुला देखेकी छु।
कतिपय मेरै रचनाहरूमाथि पनि कठोर टिप्पणी गर्नुभएको छ अमृताले। आफ्ना भनाइको बचाउमा मेरा आफ्ना तर्क र दृष्टिकोण होलान्, तर उहाँका टिप्पणी उपेक्षा गर्न मिल्ने किसिमका पनि हुँदैनन्।
मेरो त्यतिखेरको अनुरोधअनुसार आफ्ना अनुभव त अमृताजीले लेख्नुभयो कि लेख्नुभएन, थाहा भएन। तर यसबीचमा उहाँले एउटा महत्त्वपूर्ण काम चाहिँ गर्नुभएको छ- विविध तप्का र परिवेशका ८० वर्ष कटेका हजुरआमाहरूलाई भेटेर तिनका जीवन भोगाइहरू लिपिबद्ध गर्न थाल्नुभएछ।
सेतोपाटीमा प्रकाशित ती कथाहरू म कहिले पढ्थेँ, कति छुट्थे। सबै कथाहरू समेटेर सँगालो बनाएपछि भने छुटेको समयको एउटा जीवन्त कोलाज बन्नपुगेछ- हाम्रो हजुरआमा पुस्ताले बाँचेको जीवनको तस्बिर, उनीहरूकै बोलीमा। उनीहरूका दु:ख, उनीहरूका संघर्ष, उनीहरूका खुसी र सन्तुष्टिका कुरा।
आ-आफ्ना परिवेशमा महिलाका आँखाले देखेको, भोगेको, अनुभव गरेको करिब एक शताब्दी पछिल्तिरको समय र समाज यी आलेखहरूमा छ। महिलाको बोलीलाई खासै सार्वजनिक मान्यता र महत्त्व नदिइने, खासै अभिलिखित नगरिने जमानाका स्वास्नीमान्छेको जीवन-दृष्टि र अभिमत उहाँले सुन्दरतापूर्वक टिप्नुभएको छ।
प्राय: नदेखिने, नसुनिने आमाहरू उत्साहले आफ्ना कथा भनिरहेछन्। कतिपय हजुरआमाहरू त त्यो बखतमै पनि विशिष्ट चेतना भएका, बलिया र नेतृत्वदायी देखिन्छन्। समाजको चेतना विस्तार गर्न उल्लेखनीय काम पनि गरेका छन्।
हजुरआमाहरूका कथा तिनकै समयका हजुरबाहरूले भन्ने भन्दा फरक यस अर्थमा छन्- प्रायः टिप्न आवश्यक नठानिने, उपेक्षा गरिने, छुटेका, छुटाइएका जीवनका सूक्ष्म व्याख्या र स्पन्दनहरू त्यहाँ भेटिन्छन्। महिलाले भन्ने कथामा जीवन र जगतका मसिना कुरा बढी भेटिन्छन्, निजत्व बढी हुन्छ। जीवनलाई मन र मुटुले बढी ग्रहण गर्छन् महिलाहरू!
आफ्ना कुरा कति भन्ने र कति नभन्ने भन्ने विषय स्वतन्त्र व्यक्तिको आफ्नो रूचि र छनौटको विषय हो। तर के हजुरआमाहरू आफ्नो छनोट गर्न स्वतन्त्र हुन्छन्? उनीहरूसँग अन्तर्वार्ता लिँदाका सीमा अमृताजीले पुस्तकको भूमिकामै उल्लेख गर्नुभएको छ।
मलाई लाग्छ, हाम्रा अधिकतर हजुरआमा, आमा र हामी आफैं पनि यस मामिलामा स्वतन्त्र छैनौं। आफ्ना कथा निर्धक्क भन्नसक्ने परिस्थिति यतिखेर पनि सीमित छ हाम्रो। आफूले परिवार र समाजमा भोगेका दुर्दान्त पीडाका, विवादका कुरा; यहाँसम्म कि कतिपय आफ्ना खुसीका, सन्तुष्टिका कुरा पनि छानीछानी फुकीफुकी भन्नुपर्ने अवस्था धेरैको छ। हामी या त डराउँछौं या परिवारको इज्जत जाने कुरा, समाजको नीति परम्परासँग बाझिने कुरा भन्न हुँदैन भन्ने गहिरो मानसिकताले निर्देशित छौं।
पीडितहरू मौन रहेर पीडकको इज्जत जोगाइदिनुपर्ने अवस्थाले पनि स्वास्नीमान्छेका कथा अधुरै भनिन्छन् हाम्रो समाजमा, अधुरै सुनिन्छन्। अथवा साधारणीकरण गरेर गोलमटोल बनाइन्छन्। यो ग्रन्थ पढ्दा, त्यो पक्ष पनि कतै अनुभव हुन्छ।
नि:सन्देह, हाम्रा हजुरआमाहरूको समय पनि इतिहासमा लेखिएकै छ। कतिपय व्यक्तिले आत्मसंस्मरणहरूमा समेटेका पनि होलान्। तर अधिकांश ती कुरा पुरूषले बुझेका, बेहोरेका, आत्मसात गरेका कुरा छन्, पुरूषकै बेहोराका छन्। तर महिलाले कसरी बुझे त्यो समयलाई र कसरी भोगे? कति संघर्ष गर्नुपर्यो उनीहरूले जिन्दगीमा? यो पक्षमा सायद विचारै गरिएन।
अमृताजीले ‘हजुरआमाका कथा’ लेखेर त्यो अभावलाई थोरै भए पनि सम्बोधन गर्नुभएको छ।
जुन बेला अमृताजीसँग मेरो भेट भयो, साना केटाकेटीहरूका आमा थियौं हामी। यतिखेर चाहिँ आफैं हजुरआमाको पंक्तिमा उभिन आइपुगेका छौं। हजुरआमा हुनु भनेको एउटा लामो कालखण्डलाई आफूभित्र समाविष्ट गर्नु हो। त्यो कालखण्डका उथलपुथलका अनेकन कथाहरूको भोक्ता र साक्षी बन्नु हो। हजुरआमाका रूपमा, स्वास्नीमान्छेको जुनी लिएर यो समाज समुदायमा आफूले बिताएको जिन्दगीको गाह्रोसाङ्ग्रो अनुभव थोरबहुत हामीले पनि बटुलेका छौं।
कुनै दिन हाम्रा नातिनी पुस्ता हाम्रा कथा लेख्न यसैगरी अघि सरे भने सायद हामी अलि बढी स्वतन्त्रतापूर्वक आफ्ना कुरा गर्नसक्ने परिस्थितिमा हुनेछौं।
जीवनमा छनौट हुँदैन आफ्नो, जे आइपर्छ त्यसको सामना गर्नुबाहेक। हामी सबैका सामर्थ्यको परीक्षण हुने असजिला-अप्ठ्यारा बेलामै हो। कुनै न कुनै समय, कुनै न कुनै रूपमा हामी सबैले परीक्षाहरू दिनैपर्छ जीवनमा।
अमृताजी पनि परीक्षामा हुनुहुन्छ यतिखेर। रोग अथवा कुनै पनि विपत्तिभन्दा भयावह कुरा त्यसको डर हो। यो बोध गर्न सक्ता मान्छे उत्तीर्ण हुन्छ।
अमृताजी पनि उत्तीर्ण हुनुहुनेछ।