घटना गत फागुन २८ गतेको हो।
चितवनबाट काठमाडौं आउँदा मुग्लिनमा तीन घण्टा जाममा नराम्ररी फसियो। कुनै न कुनै कारणले जाम भइरहने मुग्लिनमा यो पटक ट्रक आगलागी भएर जाम भएको थियो।
काठमाडौंबाट जाँदा चार घण्टामै चितवन पुगेकी थिएँ। त्यही सम्झिएर अपराह्न ४ बजेतिर पोखरा बसपार्कबाट माइक्रो समाएँ। हिसाब गरेँ, धेरै समय लागे ६ घण्टा लाग्ला, १० बजेसम्म त कसो नपुगिएला। तर त्यसो भएन, बसपार्कबाटै माइक्रो ढिलो हिँड्यो अनि ३ घण्टे जाम!
लामो समयसम्म जाममा बस्नुपरेपछि कलंकीमा राति सार्वजनिक गाडी पाइँदैन भन्ने कुरामा ढुक्क थिएँ। पठाओ पाइन्छ त्यसैमा जान्छु भन्ने मनस्थिति बनाएँ।
माइक्रोमा चढ्नेबित्तिकै ‘म घर आउँदैछु’ भनेर आमालाई फोन गरेकी थिएँ।
‘आज त्यहीँ बस्। छोरी मान्छे एक्लै राति घर आउनुपर्दैन। भोलि आइज, दिन आफ्नो रात अर्काको‘ भन्दै कराउन थाल्नुभएको थियो।
भाउजूले पनि बसपार्क जानुअगावै ‘नानी आज जान पर्दैन, ढिलो भइसक्यो भोलि बिहानै जानू’ भनेर भन्रुभएको थियो।
तर म चितवन जाँदा नै हिसाब गरेर गएकी थिएँ। त्यसैले सोही अनुसार घर जाने निर्णय गरेर माइक्रो चढिसकेकी थिएँ।
आमाले र अरू जोकोहीले पनि ‘छोरी मान्छे भएर यो र त्यो’ भनी गरेको कुराकानी कहिले पनि चित्त बुझेन, न अहिले बुझ्छ।
अनि सधैं छोरी मान्छे भएर…यो त्यो गर्न हुन्न भन्ने कुरा गर्न थालेपछि झिझो लाग्छ। अनि बहस सुरू, किन?
आमाको कुराले अनायसमै मनमा कुराहरू खेल्न थाले।
‘दिन आफ्नो रात अर्काको भन्नुको तात्पर्य के? २० वर्षदेखि हिँडिरहेको बाटोमा राति अफिसबाट आउँदा हिँड्नुपर्यो भने पनि दिन आफ्नो रात अर्काको भन्ने डाइलग खान्छु। किन सधैं हिँड्ने बाटोमा छोरी मान्छे राति हिँड्न डराउनुपर्ने? किन छोरीहरूलाई रातमा नहिँड भनेर रोक्नुको सट्टा यसरी हिँड्नुपर्छ भनेर शिक्षा दिन सक्षम नभएको? किन हिँड्ने वातावरण सृजना गर्न नसकेको?’
लामो जामको बसाइँपछि बाह्र बजेतिर कलंकीमा माइक्रो रोकियो। मान्छे झरेर झोला पनि बोक्न नपाउँदै पठाओ र ट्याक्सी ड्राइभरहरू ‘कता जाने हो’ भनेर सबैलाई तान्न खोज्दै थिए। कोही त्यसैमा गए त कोही आफ्ना मान्छेलाई कुर्दै सामान झिक्दै थिए। यो क्रम चलिरहेको थियो।
म लास्ट सिटमा बसेको थिएँ। बिस्तारै सबै जना झरेपछि झोला निकाल्दै थिएँ। म पनि ड्राइभरहरूको त्यो व्यवहारबाट अछुतो रहने कुरै भएन।
आइहाले सोध्न ‘बहिनी कता जाने हो? मिलाएर लगिदिन्छु।’
चुप लागेर बसेँ। किनकि उनीहरूको कामै सोध्ने हो भन्ने बुझेकी थिएँ।
बेलुकी छ बज्दा नै प्राय: पठाओहरू अफलाइन जान रूचाउँछन् र अहिले मध्यरातमा त अफलाइनमा मात्रै जान खोज्छ भन्ने हेक्का नभएको पनि होइन।
सम्झिएँ ती समाचारहरू जब अफलाइन पठाओमा जाँदा लुटिएर कुटिएका घटना, सम्झिएँ दुर्घटना हुँदा यात्रु आफैंलाई सकस भएको। यस्ता घट्ना सुनेकै कारण अनलाइन बुक गरेरमात्र जाने निर्णय गरी मनसाय पहिले नै बनाइसकेको थिएँ।
तीन वटा झोला माइक्रोबाट झिकेर फुटपाथमा ठिङ्ग उभिएँ। वरिपरिबाट ट्याक्सी र अफलाइन पठाओले यसरी सोधिरहेका थिए कि मानौं उनीहरूले हामीलाई निःशुल्क लगिदिन खोज्दैछन्।
माइक्रोबाट झरेकाहरू प्रायः आफ्नो बाटो लागिसकेका थिए। कोही ट्याक्सी त कोही अफलाइन पठाओमै घर गइरहेका थिए।
म भने फोन निकालेर पठाओ बुक गर्नतिर लागेँ। पठाओ बुक के गर्न खोज्दै थिएँ, पुरानो भइसकेको फोनले पनि यहीबेला साथ दिएन। लोकेसन नै देखाएन।
एकातिर ट्याक्सी ड्राइभर र अफलाइन पठाओले ‘कता जाने हो’ भन्दै चुप लागेर बसेको मान्छेलाई डिस्टर्ब गर्दै थिए। अर्कातिर फोनले झोंक चलाइरहेको थियो।
चुप लागेर बसिरहेको मान्छेलाई कता जाने हो भनेर सोध्नु ठूलो कुरा भएन। तर उनीहरूले जुन शैलीमा सोधिरहेका थिए, कुराकानी गरिरहेका थिए त्यो आपत्तिजनक थियो। उनीहरूले रातको समयमा एक जान केटी बसेको देखेर त्यस्तो व्यवहार गरेको मलाई आभास भयो।
कतिलाई ‘दाइ म जाने भए त आफैं बोलाउँथें नि!’ भनेर समेत जवाफ दिएँ।
कति भने आएर बाइक र ट्याक्सी सोध्नलाई रोक्ने र जवाफ नदिँदा पनि रोकेर केहीबेरसम्म एकटकले हेरिरहने।
फोन रिस्टार्ट गरें। त्यसपछि पठाओ बुक गरेँ। त्यहाँ बसेको झन्डै पन्ध्र बीस मिनेटमा १० जना मान्छेले अफलाइन पठाओको लागि सोधे होलान्। तर बुक गरेनन्।
तर पनि अफलाइनमा जान मन लागेन। पाँच-सात पटकसम्म बुक गर्छु त्यसपछि पनि केही भएन भने दाइलाई बोलाउँछु भनेर सोचेँ।
ट्याक्सीमा गएर किन फजुल खर्च गर्नु जस्तो भयो। अनि अनलाइन पठाओ गर्नै लागिपरिरहेँ।
त्यहीबीच सहरको एकान्त रातलाई केहीबेर नियाल्न पनि मन लागिहाल्यो। त्यहाँको स्पर्श लिन मन लाग्यो।
किनभने मलाई आजभोलि रातहरू एकदमै प्रिय लाग्न थालेका छन्। ती अँध्यारो रातमा देखिएको जुन र तारालाई हेर्न खुबै रूचाउने भएकी छु। कहिलेदेखि यस्तो गर्ने भए त्यो याद छैन तर जुन र तारालाई साँची राखी धेरै कुराहरू आकाशलाई सुनाउने गर्छु। ऊ आजभोलि मेरो मित्र बनेको छ। नजिकको विश्वासिलो मित्र।
मैले उसलाई कुराहरू सुनाउँदा न त मेरो कुरा कसैले सुन्न नै सक्छ न त उसले कसैलाई भनिदिन्छ भन्ने त्रास नै रहन्छ। हो त्यही भएर मेरो असल मित्र भएको हो ऊ।
कसैले नसुनोस् उसले मात्र ध्यान दिएर मलाई सुनोस् भनी मेरा कुराहरू सधैं राति मात्र उसलाई सुनाउने गर्छु।
अनि यो कुरा पनि उसलाई सुनाउँदै पठाओ बुक गर्दै थिएँ।
मध्यरात पौने एक बजेको हुँदो हो ट्याक्सी ड्राइभर र पठाओले सोध्न छोडेका थिएनन्। एसेप्ट पनि गरेका थिएनन्।
प्रायः को प्रश्न हुन्थ्यो-
‘कता जाने हो?’
जान चाहिँ घर जाने हो। तर म अनलाइनमा मात्रै जान्छु। अफलाइनमा जान्नँ।
‘मिलाएर लगिदिन्छु। हिँड्नुस् न।’
‘होइन दाइ। म अनलाइनमा मात्रै जाने हो, अनलाइनमा जाने हो भने हिँड्नुस् नत्र भने होस्।’
‘पैसा मिलाएर गरिदिन्छु हिँड्नुस् न’
‘पैसाको कुरा होइन दाइ, म अनलाइनमा मात्र जाने हो।’
त्यति भनेपछि कतिपय राइडरहरू फर्किएर जान्थे। कतिपय राइडरहरू डबलभन्दा बढी पैसा भन्ने र बार्गेनिङ गर्ने काम गर्थे।
यतिकै पठाओ बुक के गर्दै थिएँ। फेरि सोध्न आइपुगे एकजना राइडर।
‘बुक गरिरहेको हो?’
‘हजुर हो।’
‘कता जाने हो नि तपाईं?’
‘बल्खु नजिक हो। यति धेरै राइडरहरू जाने हो भनेर यहाँ सोध्न आउँछन् तर कुनै पनि राइडरले एसेप्ट गरिरहेको छैनन्।’
‘हिँड्नु न त म लगिदिन्छु।’
‘तर म त अनलाइनमा मात्रै जाने हो।’
‘त्यति नै पैसा दिनुस् न त के भो र!’
‘कुरा पैसाको मात्रै होइन दाइ, म अनलाइनमा मात्रै जाने हो।’
‘तपाईंको कसैले पनि एसेप्ट गर्दैनन् नि अहिले त।’
‘एकछिन हेर्छु, गरेन भने दाइलाई बोलाउँछु।’
एकछिन उनी पनि चुप लागेर बसे। म पनि कसैले एसेप्ट गर्छ कि भन्ने आशमा प्रयास गर्दै बसिरहेँ।
ती राइडरसँग कुरा गर्दा नै उनका अर्का साथी, ‘ऊ त्यही (देखाउँदै) जाँदा पनि एक हजार पाक्यो यार लट्री लाग्यो’ भनेर मख्ख पर्दै सुनाउँदै थिए।
‘अनि जाने होइन रे?’ मसँग कुरा गरेका दाइलाई ती राइडरले प्रश्न गरे।
उनले जवाफमा ‘जान त जाने। तर अनलाइनमा मात्रै जाने भनेर बसेको रहेछ’ भन्दै उत्तर दिए।
अनि के सोचे कुन्नी ती राइडरले ‘तपाईं त्यो क्यान्सिल गर्नुस्, तपाईंको कसैले एसेप्ट गर्दैनन्’ भनेर भन्न थाले।
एकछिन त अक्कमक्क परेँ।
अनि फेरि भन्न सुरू गरेँ, ‘मैले थाहा पाएँ तपाईं किन अनलाइन जान खोज्नुभएको भनेर। अब फेरि बुक गर्नुस्, म एसेप्ट गर्छु।’
अनलाइन जान तयार भएपछि मैले पनि चुप लागेर बुक गरेँ। उनले एसेप्ट गरे।
‘झोला कुन हो र? यही हो?’ भन्दै ठूलो झोला बोकेर मकालु पेट्रोल पम्प नजिक उनी लागेँ। म पनि अरू दुइटा झोला बोकेर उनको पछि लागेँ।
झोला बोकेर बाइक राखेको ठाउँतिर के जाँदै थिए। एक जनाले ‘नानु कता जाने, आउनुस् मिलाएर लगिदिन्छु’ भनेर सोधिहाल्यो।
मलाई झनक्क रिस उठ्यो। कारण थियो त्यो मान्छेको बोलाइको लवज।
शान्त भएर ‘म कसैको नानी सानी होइन’ भनेर चर्को स्वरमा भनेँ।
मेरो चर्को स्वरले गर्दा एकाएक सबैको नजर ममा केन्द्रित भयो। सबैले एकटकले हेरे। म चुप लागेँ।
‘कसै न कसैको त होला नि हाम्रो नभए पनि’, अर्को मान्छेले भन्यो।
पहिलेदेखि नै कुनै राइडरले अनलाइन एसेप्ट नगरेर रिस उठेको थियो। अनि यता ती राइडर र ड्राइभरको व्यवहार। अनि दिमाग सड्कियो।
‘जोसुकैको भए पनि तपाईंहरूको चाहिँ होइन। त्यही भएर विचार गरेर बोल्नुस्।’
उताबाट मेरो झोला बोकेको राइडरले ‘मसँग गइराको हो’ भन्यो।
‘यिनीहरूले जाने हो कि भनेर तपाईंलाई सोधेका हुन्। नराम्रोसँग भन्न खोजेका होइनन्’ भनेर भन्यो।
‘ए तँसँग पो गइरा हो केटा। लोकेशनमा नलग है। उता (स्वयम्भूतिर देखाउँदै) जंगलतिर लैजा’ भन्यो।
त्यतिबेलासम्म बाइकमा चढिसकेकी थिएँ। म चुप लागेँ। तिनीहरूसँग बोल्न उचित ठानिनँ।
तर पनि मनमा भने आशंकाको घेराले घेरिरहेको थियो। अनि राइडरसँग कुरा गर्न थालेँ।
अघि तपाईंको साथीहरूले भनेको कुरा सुनेर लहलहैमा लाग्नुहोला कसलाई बोकिरहनुभएको छ भनेर याद गर्नुहोला है!
‘किन र! त्यस्तो गर्छु जस्तो लाग्यो र?’
त्यस्तो लागेको भए त आउँदिनँ थिएँ होला नि तर पनि भन्नु उपयुक्त ठानेँ।
‘त्यसको चिन्ता नलिनु। त्यस्तो हुँदैन, तिनीहरूले त यतिकै जिस्किएका हुन्। तपाईं सिरियस हुनुभयो। ए…को हो नि तपाईं (उनले जिस्किँदै सोधेँ)?’
मैले राति एक बजेको समयमा सेफ साइडमा बस्न उपयुक्त सोचेँ, ‘रिपोर्टर’
उनी चुप लागे।
आफ्नो रियल लोकेसन र घर अन्जानलाई देखाउन हुँदैन भनेर घर पुग्न दुई मिनेट अगाडि नै रोक्न लगाएँ। पैसा दिएँ।
उनी पर नपुगेसम्म अरूको घर अगाडि बसेँ। फोन गरेर आमालाई ढोका खोल्न भनें अनि उनी पर पुगेपछि घरतिर लागेँ। घरपुग्दा सवा एक जस्तो बजेको थियो।
मनमा भने अघिकै कुराहरू सल्बलाइरहेका थिए। अनि सोचें- कस्तो सोमत नभाका अफलाइन राइडर!