निर्वाचन आयोगले मंगलबार ‘नो, नट अगेन’ नामका फेसबुक पेज र ग्रुपमा विभिन्न दलका शीर्ष नेताहरूलाई गालीगलौज गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न र नरोकिए कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गर्यो। ‘नो, नट अगेन’ नामका तीन वटा पेज र समग्र अभियानले नै विभिन्न दलका शीर्ष नेताविरूद्ध घृणा फैलाएकाले बन्देज लगाउनु परेको आयोगको भनाइ छ। आयोगको उक्त निर्णयको सामाजिक सञ्जालका केहीले विरोध गरेका छन्।
शीर्ष नेताहरूविरूद्ध बोल्न नपाइने भन्दै आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकविरूद्ध र शीर्ष नेताका पक्षमा निर्णय गरेको भन्दै आलोचना भएको छ।
नेकपा (एमाले) का नेता भीम रावलले बुधबार बिहान ट्विट गर्दै भनेका छन्- कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।
उनले आयोगको यो निर्णयले एमालेको दशौं महाधिवेशनमा आफूलाई मत नदिन भन्दै गरिएको खुला प्रचारको सम्झना दिलाएकव बताएका छन्।
आयोगले भने मंगलबारको निर्णय संगठित रूपमा पेज नै चलाएर दुष्प्रचार र गालीगलौजसहित अमुक दलका उम्मेदवारलाई समर्थन गर्ने अभिप्रायसमेत देखिएकाले त्यस्ता पेज तथा गतिविधिलाई आयोगले बन्देज लगाउन खोजेको बताएको छ।
‘शीर्ष नेताहरूको फोटो राखेर त्यसमा क्रस गर्दै वा उहाँहरूको विषयमा द्वेषपूर्ण अभिव्यक्ति र गालगलौज गरेको देखियो। कुनै पेजमा अमुक दलको प्रचार पनि भेटियो। आयोगले त्यस्ता गतिविधिलाई नियमन गर्दै कारबाहीको चेतावनी दिएको हो,’ आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सेतोपाटीसँग भने।
आयोगले मुख्यत: एउटै नाम नो, नट अगेन भएका तीन वटा पेजलाई प्रष्ट तोकेको छ। यी पेजबाट उम्मेदवारहरूप्रति लाञ्छनापूर्ण अभिव्यक्ति प्रकाशन भएको आयोगको ठहर छ। ३० हजार बढी फलोअर्स रहेको No, Not Again ले मंसिर ४ वारपार भन्दै शीर्ष नेताहरूलाई विदाई गर्नुपर्ने अभियान चलाएको छ। शीर्ष नेताहरूको फोटो राखेर त्यस पेजबाट शेयर गरेको तस्बिरमा भनिएको छ, ‘अबको निर्वाचनबाट स-सम्मान बिदा गरौं, भूमाफिया तस्कर, दलाल र व्यापारीसँगको सेटिङमा सामेल भएर देशलाई खोक्रो बनाउने नेताहरूले देशको अर्थतन्त्र र विकासको काम अघि बढाउन सक्दैनन्।’
मधेस केन्द्रित दलका नेताहरूको तस्बिर राख्दै जनमत सत्ताको भर्याङ मात्रै नभएको र सत्ता लिप्सा मात्रै रहेकाहरूलाई बिदा गर्नुपर्ने भन्दै पोष्टर बनाइएको छ।
अर्को पेज No. Not Again का १९ हजार सदस्य छन्। त्यस पेजबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार भइरहेको छ। त्यस पेजमा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र मत भन्दै स्वतन्त्र पार्टीको विज्ञप्ति समेत राखेको देखिएको छ भने प्रमुख दलहरूलाई दलाल भन्दै गालीगलौज गरिएका पोष्ट समेत छन्।
यस्तै, १२ हजार सदस्य रहेको No Not Again पेजबाट समेत घृणात्मक अभिव्यक्ति सहितका प्रचार भइरहेको भन्दै आयोगले तत्काल बन्द गर्न निर्देशन दिएको हो। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘'No, Not Again", "NO NOT AGAIN" र "No. Not again" समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
के- आधारमा आयोगले लगायो बन्देज?
आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालनाका निम्ति त्यस्ता पेजलाई बन्देज गरिएको बताएको छ। आचार संहिताको व्याख्या र परिभाषामा कस्ता विषय द्वेषपूर्ण र घृणात्मक भन्ने उल्लेख छ। जसमा भनिएको छ, ‘द्वेषपूर्ण अभिव्यक्ति भन्नाले प्रत्यक्ष वा परोक्ष रूपमा जाति, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, लैङ्गिकता, उमेर, अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई इंगित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढावा दिने किसिमका वचन, लिखत वा व्यवहार सम्झनुपर्छ।’
ती पेजमार्फत् विद्यमान राजनीतिक व्यवस्था र यसलाई नेतृत्व गरिरहेका नेताहरूमाथि घृणा फैलाउने पोष्ट भएको पाइएकाले आचार संहिता अनुसारनै बन्देज लगाएको सहायक प्रवक्ता अर्यालले बताए।
‘विद्यमान राजनीतिक व्यवस्था तथा राजनीतिक दलका उम्मेदवाहरूप्रति ह्वीम फैलाएर जनमतलाई मोड्ने उद्देश्य सहितका पोष्ट समेत रहेको र द्वेषपूर्ण अभिव्यक्ति समेत रहेकाले हामीले बन्देज लगाएका हौं,’ उनले भने।
आचार संहिता २०७९ को खण्ड ४ को ट मा निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा झूटा साइट खोल्न वा सञ्चालन गराउन नहुने उल्लेख छ। यस्तै ठ मा भनिएको छ, ‘सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने दुष्प्रचार गर्ने भ्रामक सूचना सम्प्रेषण गर्ने अपमान गर्ने हेट स्पिच गर्नेजस्ता भ्रामक टिप्पणी गर्न वा गराउन नहुने।’
सामाजिक सञ्जालमा आएका यस्ता गतिविधलाई शेयर वा ट्याग गर्न पनि प्रयोगकर्तालाई निषेध गरिएको छ।
‘कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने गरी तोडमोड गरी सामाजिक सञ्जालमा शेयर ट्याग वा प्रतिकमेन्ट गराउन नहुने’ आचार संहितामा उल्लेख छ।
यसको मतलब अब प्रयोकर्ताले नो नट अगेन पेजका द्वषेपूर्ण अभिव्यक्ति शेयर गर्न पाउने छैनन्।
यसको मतलब के नो नट अगेन भनेर आम मतदाताले पनि अब सामाजिक सञ्जालमा लेख्न नपाउने हो त? यसको जवाफमा आयोगका सहायक प्रवक्ता कमल भट्टराईले भने,‘सभ्य भाषामा लेख्ने कुरालाई आयोगले बन्देज लगाउँदैन। तर नो नट अगेनका नाम दिएर घृणा र द्वेष फैलाए त्यसलाई आयोगले कारबाहीको दायरामा ल्याउने हो। एजेण्डाका सवालमा जति पनि बहस गर्न पाइयो। तर अमुक नेताहरूलाई मात्रै टार्गेट गरेर गालीगलौज गर्न कसैले पाउँदैनन्। नो नट अगेनभित्रका अराजक क्रियाकलापमा आयोगले बन्देज लगाएको हो। नो नट अगेन लेख्नै नपाइने भन्ने होइन।’
आयोगको चेतावनीका बाबजुद् अराजक र द्वेषपूर्ण टिप्पणी जारी राखे आयोगले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र निर्वाचन कसुर तथा सजाए ऐनका आधारमा कारबाही गर्ने चेतावनी दिएको छ।