ग्लोबल नेपाली
काठमाडौंका विश्वविख्यात कार्की सन् २०१२ मा बंगलादेशमा एमबिबिएस पढ्दै थिए।
उनका मामाघरका हजुरबुबाको कलेजोमा समस्या आयो। भारत गएर कलेजो प्रत्यारोपण गर्ने तयारी हुँदै थियो, हजुरबुबाको मृत्यु भयो।
त्यही घटनाले विश्वविख्यातलाई कलेजो प्रत्यारोपण सर्जन बन्ने प्रेरणा दियो।
सन् २०१६ अन्त्यमा एमबिबिएस सकेर उनी नेपाल फर्किए। त्यसपछि सशस्त्र प्रहरी अस्पतालमा एक वर्ष काम गरे र सन् २०२० मा बेलायत गए।
'मलाई हजुरबुबाको घटनाले कलेजो प्रत्यारोपणमै काम गर्नुपर्छ भन्ने लाग्यो। मेरो एक जना मामाले कलेजो प्रत्यारोपणकै कारण नयाँ जीवन पाउनुभयो। कलेजोका कारण म र मेरो परिवारलाई असर गरेकाले मलाई यसमै काम गर्ने हुटहुटी भएको हो,' उनले भने।
बेलायत गएको केही समयपछि उनले त्यहाँको जनरल मेडिकल काउन्सिलको परीक्षा पास गरे। त्यसपछि उनलाई काम गर्ने बाटो पनि खुल्यो।
उनका अनुसार कलेजो प्रत्यारोपण सर्जनका लागि ६ वर्षे कार्यक्रम हुन्छ। त्यसअघि झन्डै चार वर्ष जनरल सर्जरीकै प्रशिक्षण लिनुपर्छ। उनी अहिले योर्कसायर एन्ड हम्बर स्कुल अफ सर्जरी अन्तर्गत लिड्स टिचिङ हस्पिटलमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत छन्।
लिड्स अस्पताल बेलायतका ठूला अस्पतालमध्ये एक हो। यो अस्पतालमा बेलायतकै सबभन्दा धेरै कलेजो प्रत्यारोपण हुने उनले बताए।
'म अहिले प्यांक्रियाज सर्जरी (शल्यक्रिया) मा छु। अब आउने दुई–तीन वर्ष मेरो काम मिर्गौला र कलेजो प्रत्यारोपणमा हुनेछ। मैले एकैचोटि ८ वर्षको तालिम गर्ने मौका पाएकाले मलाई सहज भयो,' विश्वविख्यातले भने, 'अहिलेसम्मलाई आधार मान्ने हो भने मेरो पढाइ आधा सकिएको छ। त्यसपछि पुनः अनुसन्धान गर्नुपर्ने भएकाले पिएचडी सक्न अझै तीन वर्ष जति लाग्छ।'
पिएचडी सकेर पनि फेलोसिप लगायत कार्यक्रम आवश्यक हुने भएकाले कलेजो प्रत्यारोपणमा मात्र केन्द्रित भएर काम गर्न अझै १० वर्ष लाग्ने उनले बताए।
दस वर्षपछि मात्र आफ्नै नेतृत्वमा कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्था आउने उनको अनुमान छ।
पारिवारिक कारण नठोक्किएको भए सायद उनी यति लामो प्रक्रियामा लाग्ने थिएनन्।
अहिले उनी प्यांक्रियाजको बाहेक एपेन्डिसाइटिस, हर्निया र आन्द्रा बन्द भएको समस्याको अपरेसन गर्छन्।
बेलायत र नेपालमा शल्यक्रिया प्रक्रिया उस्तै भए पनि काम गर्ने ढाँचामा केही फरक छ। सामूहिकता र बिरामीलाई पर्याप्त जानकारी दिने अभ्यास बेलायतमा धेरै उत्कृष्ट रहेको उनले बताए।
ज्ञानको कुरामा भने नेपालका चिकित्सक विश्वका कुनै पनि देशका भन्दा कम क्षमतावान नरहेको उनको दाबी छ।
बेलायतमा भए पनि उनी कतिपय काम नेपालका प्राविधिकहरूसँग जोडिएर गर्छन्।
'बेलायतमा सर्जिकल सिमुलेसन फेलो भएर काम गर्दा मैले केही कोर्सहरू समेत डिजाइन गरेको थिएँ। त्यसै क्रममा आविष्कारको कुरा आयो। मेरो चाहना भनेकै सर्जिकल कोर्स बनाउने अनि सर्जिकल सिमुलेसन र शिक्षामै हो,' उनले भने, 'त्यसै क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसका इन्जिनियरहरूसँग मिलेर मैले एपेन्डिक्सको नयाँ मोडल पत्ता लगाएँ। मैले बनाएको सिलिकन बेस मोडल अहिले रोयल कलेज अफ सर्जरीमा प्रयोग हुन्छ।'
विद्यार्थीहरूले त्यो मोडलमा अभ्यास गर्छन् अनि मात्र वास्तविक अपरेसन गर्छन्।
विश्वविख्यात आफूले सिकेको सीप नेपालमा फैलाउन चाहन्छन्।
'बेलायतमा सिकेको सीप नेपालका कुनाकुना पुर्याउने मेरो लक्ष्य हो,' विश्वविख्यातले भने।