यसपटकको निर्वाचनमा नेपालका तीन वटै ठूला दल नेकपा (एमाले),नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ अघिल्लो पटकको तुलनामा साढे १६ लाखभन्दा बढी मत गुमाएका छन्।
ठूला दलहरूले प्राय: निर्वाचनमा एक-अर्काको मत तान्ने गर्छन्। यसरी मुख्य प्रतिस्पर्धीको मत तानेर आफू ठूलो हुन्छन्। तर यसपालिको चुनावमा यी तीनै दलको मत नयाँ दलले लगेका छन्। परिणामस्वरूप यी तीनै वटा दल दुब्लाएका छन्।
अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मत सदर भएको छ। यो मत पाँच वर्षअघि भन्दा धेरै हो। त्यो बेला ९५ लाख ४४ हजार ७ सय ७९ मत मात्र सदर भएको थियो।
समानुपातिकको थोरै मतगणना अझै बाँकी भएकाले दलहरूको मत केही थपिनेछ। तर अहिले दलहरूले पाएको प्रतिशतमा खासै धेरै परिवर्तन आउने छैन। यसपालि मतदाता संख्या नै बढेकाले जम्मा सदर मत पनि धेरै भएको हो। नत्र यसपालि पाँच वर्ष अघिको तुलनामा खसेको मत प्रतिशत भने कम छ।
अब कुन दल कति दुब्लायो र यी दलहरूले पाउने त्यो सम्भावित मत यसपालि क-कसले लगे, विस्तारमा हेरौं।
यसपालि समानुपातिकतर्फ सबैभन्दा धेरै मत नेपाली कांग्रेसले गुमाएको छ। पाँच वर्षअघि २०७४ मा कांग्रेसले जम्मा सदर मतको ३२.७७ प्रतिशत पाएको थियो। यसपालि पनि कांग्रेसले कम्तीमा यो प्रतिशत कायम राख्न सकेको भए ३४ लाख १४ हजार मत ल्याउँथ्यो। तर उसले २६ लाख ६० हजार मत मात्र ल्याएको छ। अर्थात् उसले ७ लाख ५४ हजार मत गुमाएको छ।
एमालेले पाँच वर्ष अघिको चुनावमा सदर मतको ३३ प्रतिशत ल्याएको थियो। यसपालि पनि त्यति नै प्रतिशत कायम गरेको भए एमालेले ३४ लाख ३८ हजार मत ल्याउँथ्यो। उसले यसपालि २७ लाख ८८ हजार मत मात्र पाएको छ। अर्थात् पाँच वर्ष अघिको तुलनामा यसपालि ६ लाख ४४ हजार मत गुमाएको छ।
संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि यसपालि उल्लेख्य मात्रामा मत गुमाएको छ। पाँच वर्षअघि माओवादी केन्द्रले सदर मतको १३.६५ प्रतिशत पाएको थियो। यसपालि पनि त्यति प्रतिशत कायम राखेको भए १४ लाख २२ हजार मत पाउने थियो। तर सो दलले ११ लाख ६२ हजार मात्र पाएको छ। यसरी माओवादी केन्द्रले पनि २ लाख ६० हजार मत गुमाएको छ।
कसले लग्यो यी ठूला तीन दलको १६ लाख बढी मत?
यो प्रश्नको उत्तर खोज्नुअघि मधेसका प्रमुख दलले पाँच वर्षअघि र यसपालि पाएको मतको थोरै विश्लेषण गरौं।
२०७४ सालमा मधेसका दुई ठूला दल अहिलेका जसपा र लोसपाले जम्मा सदर मतको ९.८६ प्रतिशत मत ल्याएका थिए।
यसपालि मधेसमा जनमत पार्टीका रूपमा सिके राउत नेतृत्वको नयाँ दल जन्मिएको छ। यो दलको उदयले खासगरी लोसपाको मत घटाएको छ। तर पनि यी ३ मधेसी दलको मत प्रतिशत जोड्दा यसपालि पनि १० प्रतिशतभन्दा कम नै छ। पाँच वर्षअघि दुई मधेसी दलले जम्मा ९ लाख ८२ हजार मत ल्याएका थिए भने यसपालि ९ लाख ८० हजार जति छ।
त्यसैले ठूला तीन दलको मत मधेसी पार्टीले खोसेको देखिन्न। बरू यसपालि मतदाता बढेकाले मधेसको पनि जनमत पार्टी बाहेकको अरू मत नयाँ दलतिर गएको देखिन्छ।
तीन दलले गुमाएको साढे १६ लाख बढी मत यसपालि मुख्यगरी चार वटा नयाँ दलले लगेको देखिन्छ।
यसको सबैभन्दा ठूलो हिस्सा यसपालि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले लगेको देखिन्छ। यो दलले यसपालि ११ लाख २४ हजार मत ल्याएको छ।
तीन दलका मतको दोस्रो ठूलो हिस्सा राप्रपाले लगेको देखिन्छ। पाँच वर्षअघि राप्रपाका दुई घटकले जम्मा २ लाख ८४ हजार लाख जति मत पाएका थिए। यसपालि राप्रपाले ५ लाख ८६ हजार मत पाएको छ। अर्थात् ३ लाख मत बढाएको छ।
त्यसैगरी नेकपा (एकिकृत समाजवादी) र पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ९४ हजार र २ लाख ७२ हजार मत ल्याएका छन्। यी दुबै नयाँ दल हुन्।
यसरी रास्वपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पाएको मत र यसपालि राप्रपाले थपेको मत जोड्दा झन्डै २० लाख पुग्छ।
यी दलले मुख्य तीन दलको भागबाट साढे १६ लाख मत र अरू छरिएको साढे तीन लाख मत लगेको देखिन्छ।
नयाँ दलप्रति जनताको रूझान र समानुपातिक सूचीमा समावेश भएका कांग्रेसका नेताका कारण आफ्नो दलको मत यसपालि घटेको कांग्रेस नेताहरूको बुझाइ छ।
कांग्रेस महामन्त्री गगन थापाले सेतोपाटीसँगको कुराकानीमा पनि समानुपातिक सूची हेरेर मतदाता रिसाएको बताएका थिए।
‘हाम्रा मतदाता यसपटक कांग्रेसको समानुपातिक सूची हेरेर हामीसँग रिसाए। त्यसैले हाम्रो लोकप्रिय मत गुम्यो,’ थापाले भनेका छन्।
एमालेका निर्वाचन विभाग प्रमुख विष्णु रिमाल एमालेको ग्रामीण क्षेत्रको मत राप्रपा गएको र सहरी क्षेत्रको मत राष्ट्रिय स्वतन्त्र पार्टीमा जाँदा यसपटक मत घटेको बताउँछन्।
‘ग्रामीण क्षेत्रमा एमालेको मत राप्रपाले लगेको छ भने सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको छ। यही कारण हामीले समानुपातिकमा भोट गुमायौं,’ रिमालले भने।
माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकमा यसबारे छलफलसमेत भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको परिणामलाई सन्तोषजनक भनेका थिए भने प्रतिनिधि सभामाको समग्र परिणामप्रति असन्तुष्टि जनाएका थिए।
‘प्रतिनिधि सभामा हामी नराम्ररी खुम्चियौं। यसबारे निर्मम समीक्षा गर्दै सच्चिन जरूरी छ,’ उनको भनाइ थियो।
उपमहासचिव मातृका यादवले निरन्तर सत्तामा रहेर पनि जनताका अपेक्षा पूरा गर्न नसक्दा माओवादी खुम्चिएको बताएका छन्।
‘हामी निरन्तरमा सत्तामा बस्यौं तर जनताले अपेक्षा गरेका काम पूरा गर्नेतर्फ ध्यान दिएनौं। हामीसँग जनता रिसाउनु स्वाभाविक नै हो। पार्टीका लागि यो परिणाम अनपेक्षित हो तर जनताको सन्देश बुझेर सच्चिनुपर्छ,’ उनले भनेका छन्।