भरतपुर महानगरपालिकाको मेयर यसपालि कांग्रेसलाई चाहिन्छ भन्दै जिल्लाका नेताहरू शीर्ष नेताका घरदैलो चहार्दै गर्दा कृष्णलाल सापकोटा चौरासी पूजा गर्दै थिए।
जिल्लाका नेता केन्द्रीय नेताको दैलो चहार्दा चहार्दा थाके तर मनाउन सकेनन्। कांग्रेसकै नेतृत्वमा रहेको सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय गर्यो।
केन्द्रीय नेताले यसपालि पनि भरतपुरको मेयर आफूलाई राख्न नसकिएको जानकारी जिल्लाका नेताहरूलाई गराए।
चितवनमा यसपालि कांग्रेसबाहेक अन्य दललाई भोट हाल्न पर्दैन भन्ने नारा लिएर चुनाव जितेको नेतृत्व चुइक्क बोल्न सकेन।
चौरासी कटेका सापकोटाले भने पार्टी नेतृत्वलाई चुनौती दिए। लौरो टेक्दै पाटी कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरे।
अरूले नआँटे पार्टीको निर्णयविरूद्ध विद्रोह गरेर मेयरमा आफैं लड्ने उद्घोष गरे।
सयौं कार्यकर्ता सहभागी भेलाले भरतपुर नगरपालिका हुँदा उपमेयर बनिसकेका पूर्वसांसद जगन्नाथ पौडेललाई मेयरको उम्मेदवार बनाउने घोषणा गर्यो। यो प्रस्ताव सापकोटाले नै राखेका थिए।
वैशाख १२ गते पूर्वसांसद रहेका पुराना कांग्रेस नेता भीमबहादुर श्रेष्ठ र पूर्वसभापति टीकाराम न्यौपानेसँगै सापकोटा जगन्नाथ पौडेललाई लिएर उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
त्यसपछिका चार दिन उम्मेदवार पौडेलमाथि पार्टीले राज्यसत्ताकै दुरूपयोग गरेर उम्मेदवारी फिर्ता लिन दबाब दियो।
प्रधानमन्त्रीदेखि मन्त्रीहरूले उनलाई विभिन्न आश्वासन दिँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरे तर पौडेल मानेनन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाको दूत बनेर भरतपुरमा ४४ घण्टा बिताएका गृहमन्त्री बालकृष्ण खाणले जगन्नाथलाई मनाउन सापकोटालाई उनकै निवास बेलचोकमा पुगेर आग्रह गरेका थिए। तर सापकाटाले गृहमन्त्रीलाई त्यसो गर्न नसकिने भनेर फर्काइदिए।
वैशाख १६ गते बिहान कांग्रेसले एउटा सूचना जारी गर्यो। त्यसमा लेखिएको थियो- पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवार बनेका, उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुनेछ। त्यही दिन साँझ पाँच बजे पौडेल र उनको समर्थक मिना खरेलसँगै सापकोटा पनि पार्टीबाट निष्कासित भए।
धेरैलाई लागेको थियो जगन्नाथलाई पार्टीले फकाउँछ, सापकोटालगायतका अन्य विद्रोही पनि ठेगान लाग्छन्। तर न जगन्नाथ हल्लिए न त उनलाई साथ दिने कार्यकर्ता।
जब पार्टीको निर्णयपछि तीनै जना निष्कासनमा परे धेरैले ठानेका थिए उनीहरूको दिन अब सकिए। तर ८४ वर्षे कृष्णलाल जगन्नाथ र उनका शुभेच्छुकहरूसँग काँधमा काँध मिलाउँदै चुनावी मैदानमा उत्रिएका छन्।
उनको हाउभाउ पार्टीप्रति निरास कार्यकर्ताको जस्तो छैन, बरू अझै पनि पार्टीलाई बनाउन सकिन्छ भन्ने सोचको देखिन्छ।
शनिबार कार्यकर्ताको माझमा भेटिएका सापकोटालाई हामीले सोध्यौं-६७ वर्ष कांग्रेसको क्रियाशील सदस्य भएका तपाईंलाई पार्टीले निष्कासन गर्दा कस्तो लाग्यो?
उनले जवाफ दिए–मलाई न चिन्ता लाग्यो, न दुःख। २०१२ सालमा क्रियाशील सदस्य भएको मेरो २०१७ सालमा सदस्यता नवीकरण भएको थियो। मैले पार्टीको महाधिवेशनमा भाग लिएँ। त्यही सालमा राजाले प्रजातन्त्र समाप्त पारे। त्यसपछिका ३० वर्ष मेरो क्रियाशील सदस्यता नवीकरण भएन। तर म कांग्रेस भइरहें। त्यो कागज नवीकरण नभएर मेरो कांग्रेसी जाँदैन। कागज जसले दियो उसले लान सक्छ तर मेरो विवेक भित्र विकास भएको प्रजातन्त्रको तस्वीर त कसैले खोस्नै सक्दैन।
उनले नेता आफ्नो बुद्धिको स्तरअनुसार कार्यकर्तामाथि व्यवहार गर्ने बताए।
‘मैले जान्या लोकतन्त्र भनेको जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु हो। कम्तीमा स्थानीय तहमा स्वतन्त्रतापूर्वक मतदानको वातावरण हुनुपर्छ। जनताको नजिक रहने सरकार सिंहदरबार जस्तो हुनुहुँदैन,’ सापकोटा भन्छन्, ‘हाम्रा नेतालाई सत्तामा बसिरहने स्वार्थ होला। को–को सँग गठबन्धन गर्छन्। जिल्लाको निर्णयलाई कत्ति पनि सुन्दैनन्।’
उनले बालुवाटारबाट हुकुम लादेर प्रजातन्त्रको विपरीत गएकाले उनीहरूको बुद्धि फिरोस् भन्ने कामनाका साथ विद्रोह गरेको बताए।
उनले महाभारतमा भिष्मपिता महले कर्णलाई भनेको श्लोक स्मरण गर्दै आफूमा पनि उनको जस्तो साहस बाँकी रहेकाले जुनसुकै घडीमा जुनसुकै मोर्चामा लड्न तयार रहेको बताए।
‘म बुढो छु तर मेरो विवेक बुढो छैन,’ उनले भने।
चितवन कांग्रेसका पूर्वसभापति सापकोटाले मेयरको उम्मेदवार बनेका जगन्नाथ पौडेल योग्य उम्मेदवार भएकाले उनले चुनाव जित्ने विश्वास गरेको बताए।
‘कांग्रेसको उम्मेदवार जगन्नाथ हुन्, गाउँ–गाउँमा कांग्रेसबाट जितेका नेता र कार्यकर्ताले उनैलाई भोट दिन्छन्,’ कृष्णलालले भने।
सापकोटा एक पटक नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि भएका थिए।
चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एक पटक र बहुदलपछि २०४८ र २०५७ सालमा कांग्रेस चितवनको सभापति बनेका थिए।
उनी जिल्ला विकास समिति चितवनको पहिलो सभापति हुन्। त्यतिखेर उनले जिविस महासंघको नेतृत्व पनि गरेका थिए।