नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठकले पार्टी एकताबद्ध गरेको बताएका छन्।
सोमबार बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने चुनौती पछिल्लो समय देखिएको तर स्थायी कमिटी बैठकबाट त्यो चुनौतीलाई पूरा गर्दै पार्टी एकताबद्ध बनाएको बताएका हुन्।
'देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्व दायी भूमिका खेल्यो। यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो। त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं र पार्टी एकताबद्ध भएको छ,' उनले भने।
अध्यक्ष प्रचण्डले पार्टीलाई एकतबद्ध बनाउने विषयमा सामूहिक प्रतिबद्धता व्यक्त भएको पनि बताए।
'अब देखि हामी अझ सुदृढ एकताका साथ, सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं। सामूहिक प्रतिबद्धता गरेका छौं,' उनले भने।
बैठकले फेरि एकचोटी जनतामा जाने र देशमा देखापरेका बेथितिको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय भएको अध्यक्ष प्रचण्डले बताए।