यही वैशाख ३ गते दिउँसो विवेकशील साझा पार्टीको जिल्ला समिति बैठकले २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेलाई भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनाउने निर्णय गर्यो। बैठकस्थलबाट केही साथी लिएर उनी कटहरचोकस्थित आफ्नो घर पुगे।
एउटा कोठामा रहेको इन्जिनियरिङ कार्यकक्षलाई सम्पर्क कार्यालय बनाए। सामान्य छलफलपछि साथीहरू बिदा भए।
त्यतिन्जेलमा सञ्चारमाध्यममा प्रवीन भरतपुरमा मेयरको उम्मेदवार बनेको खबर छाइसकेको थियो। साथीहरू घरबाट बिदा भएपछि प्रवीनका बुबा बाबुराम रिसाउनुसम्म रिसाए।
मध्यमस्तरको परिवारबाट इन्जिनियरिङ क्षेत्रमा लम्किँदै गरेको छोरो सकेसम्म विदेश जाओस्, विदेश नगए पनि देशमै मिहिनेत गरोस् भन्ने बाबुको चाहना थियो। छोरो मेयरको उम्मेदवार बनेको थाहा पाएपछि बाबुलाई लाग्यो– छोरोले अब कमाउने होइन, भएको घर पनि बेच्ने भयो।
प्रवीनले सन् २०१६ मा भारतको बैङ्लोरबाट मेकानिकल इन्जिनियरिङको पढाइ पूरा गरेका थिए। भारतमै राम्रो अवसर पाए पनि उनी घर फर्के।
त्यसो त इन्जिनियरिङको पढाइ सुरू गर्नुअघि नै उनीमाथि पढाइ र रोजगारीका लागि विदेश जान दबाब थियो। उनले काठमाडौंमा अंग्रेजी भाषा कक्षा लिए तर पासपोर्ट बनाएनन्। आफ्नो इन्जिनियरिङ पढाइका लागि अभिभावकलाई मनाए।
पढाइ सकेर फर्केपछि उनले नवलपुरको दुम्कौलीस्थित चौधरी ग्रुपको उद्योगमा काम पाए तर विदेश जानुपर्छ भन्ने दबाब कम भएन। उद्योगमा बिदा लिएर अंग्रेजी भाषा परीक्षामा सहभागी भए। उनले कन्सल्टेन्सीमा कागजपत्र बुझाए तर मनले आफ्नै कदम स्वीकार गरेन।
एक दिन अंग्रेजी भाषा परीक्षाको नतिजा देखाउँदै प्रवीनले बाबुलाई भने, ‘यो नम्बरले म अस्ट्रेलिया जान सक्छु तर मलाई मन छैन। यहीँ केही गर्ने अवसर दिनुस्।’ आमा नीतादेवीले श्रीमानलाई सम्झाइन्। प्रवीन तत्काल विदेश जान नपर्ने भयो।
‘यस्तो हालत मेरो मात्रै होइन, मेरो उमेर समूहका धेरैको छ। उनीहरू देशको अवस्थालाई कारण मान्दै विदेशिएका छन्,’ मेयरका उम्मेदवार प्रवीन काफ्ले भन्छन्, ‘यो अवस्थामा सुधार गर्न नयाँ सोच चाहियो। युवाहरूलाई स्वदेशमै राम्रो गर्न सकिन्छ भनेर उदाहरण देखाउने कोही त हुनुपर्यो। मेरो उम्मेदवारी युवाहरूलाई आँट दिन हो।’
देशमा परिवर्तन सम्भव छ भन्ने विश्वास आफूलाई रहेको प्रवीन बताउँछन्। दक्ष जनशक्ति पलायन हुनुको मुख्य दोषी देशको शिक्षा र प्रशासन प्रणाली हो भन्ने उनको ठहर छ। ‘नेपालको शिक्षाले युवालाई स्वरोजगार बनाउन सकेको छैन, उद्यमशीलताको विकास गर्न नसकेको छैन,’ उनी भन्छन्, ‘पढाइको सिप प्रयोग गरेर स्वरोजगार बन्न सक्ने शिक्षा आवश्यक तर स्वरोजगार र उद्यमी बन्न प्रोत्साहन गर्ने प्रशासन छैन।’
नेपालमा कर्मचारीको व्यवहार ठिक नरहेको प्रवीनको निष्कर्ष छ। ‘एसईई दिएका किशोरकिशोरी नागरिकता बनाउन सरकारी कार्यालय जाँदा त्यहाँका कर्मचारीको व्यवहारबाट दिक्क भएर विदेश जाने सोच्न थाल्छन्,’ प्रवीन भन्छन्, ‘सबै युवा विदेशिने हो भने सुधार गर्ने कसले भन्ने कुरा सोच्नु आवश्यक छ।’
मेयरका उम्मेदवार बनेका प्रवीनको लक्ष्य भरतपुरमा रेल चलाउने छैन। उनी सबै सडक फराकिला र कालोपत्रे बनाउन चाहन्छन्। नयाँ विमानस्थल बनाउने र पानीजहाज चलाउने सपना पनि छैन। उनले ससाना कुरामा परिवर्तनको सपना देखेका छन् जो ठूला पूर्वाधार निर्माणका मुख्य आधार हुन्।
प्रवीनका अनुसार विकासका ठूला आयोजना सुरु गर्नुअघि सरकारी विद्यालयको अवस्था सुधार गर्नुपर्छ। निजी विद्यालयहरू युवालाई विदेश पठाउने उद्योगका रूपमा विकास भएको उनको ठहर छ। निजीमा विद्यालयमा पढ्न नसकेका अधिकांश युवा विदेश जान नसक्ने र देशमै रोजगारी गर्न पनि नसक्ने अवस्थामा रहेको उनको भनाइ छ।
‘निजी विद्यालयमा भन्दा राम्रा संरचना, राम्रो तलब सुविधा पाउने शिक्षक हुँदा पनि सामुदायिक विद्यालयमा किन पढाइ राम्रो हुन सकेको छैन, शौचालय किन फोहोर छ, पंखा किन चल्दैन, फर्निचर किन राम्रो छैन,’ प्रवीन भन्छन्, ‘यो सबै पत्ता लगाएर स्थानीय तहले सामुदायिक विद्यालयको उचित व्यवस्थापन गर्नुपर्छ, उद्यमशीलता विकास गर्ने स्थानीय पाठ्यक्रम तयार गरेर लागू गर्नु पर्छ। काम स्थानीय तहबाटै सुरु गर्नु पर्छ।’
देशमा एक जनामात्रै नेता गतिलो भए पनि लाखौँ बालबालिका योग्य बन्न सक्छन् र देशले ठूलो फड्को मार्न सक्छ भन्ने प्रवीनको विश्वास छ। भरतपुरमा कम्तीमा दुई वटा अन्तर्राष्ट्रियस्तरका विद्यालय सञ्चालन गर्ने उनको लक्ष्य छ। सामुदायिक विद्यालयबाट दक्ष जनशक्ति उत्पादन गरेर समाजमा परिवर्तन ल्याउन सकिने पनि उनको विश्वास छ।
प्रवीन आफ्नो नगरको शैक्षिकस्तर सुधार गरेर युवाको विदेश पलायन रोक्न चाहन्छन्। उनले सरकारी कार्यालयले दिने सेवा छिटोछरितो बनाउन अत्यावश्यक ठानेका छन्।
‘समय पछ्याउन र युवाको मनोविज्ञान बुझ्न नसक्ने पुराना कर्मचारीलाई ससम्मान बिदा गर्नुपर्ने हुनसक्छ। क्षमतावान युवाहरू स्तरीय सेवा दिन पालो पर्खिएर बसेका छन्,’ उनी भन्छन्, ‘सेवाग्राहीमा सरकारी कार्यालय जानै नपरे हुन्थ्यो भन्ने धारणा रहेसम्म देशको उन्नति हुँदैन।’ सरकारी कर्मचारीलाई शिष्टता र विनम्रताको तालिम आवश्यक रहेको उनको निष्कर्ष छ।
सरकारी कार्यालयको सेवा ‘डिजिटलाइज’ गरी सकेसम्म कार्यालय पुग्नै नपर्ने प्रबन्ध गर्ने योजना आफूसँग रहेको प्रवीनको भनाइ छ। उनका अनुसार भरतपुरमा धेरै अस्पताल भए पनि विपन्नले सहज सेवा पाउन सकेका छैनन्। कम्तीमा हरेक वडामा ल्याबसहितको एउटा क्लिनिक हुनुपर्छ, विपन्नले निःशुल्क स्वास्थ्य सेवा पाउने सुविधा हुनुपर्छ।
साठी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र रिपोर्ट पनि घरमै उपलब्ध गराउन सकिने उनको विश्वास छ।
श्रमिक र विपन्न परिवारको जीवनस्तर सुधार गर्न कृषि उत्पादन बढाउने र रोजगारीका कार्यक्रम चलाउने उनको योजना छ। स्थानीय कृषि उत्पादन जोगाउन चिस्यान केन्द्र चलाउने, कृषि क्षेत्र बिचौलियामुक्त बनाउने र स्थानीय स्तरमा उत्पादन हुने वस्तुको आयात नियन्त्रण गर्ने पनि उनको योजना छ।
प्रवीनले उद्योग–व्यवसायमा करसँग डराउने प्रवृत्ति अन्त्य गर्न चेतनामूलक कार्यक्रम चलाउने सोचेका छन्। भ्रष्टाचारमुक्त, सफा र हरियालीयुक्त भरतपुर निर्माण उनको लक्ष्य हो। ढल व्यवस्थापन उनको प्राथमिकतामा छ। खेलकुद, व्यायम र योगका पूर्वाधार बढाउन चाहन्छन्। पर्यटन विकास र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण पनि उनको प्राथमिकतामा छ।
प्रवीनका अनुसार उनी भरतपुरको दीर्घकालीन विकासको गुरुयोजना बनाउन चाहन्छन्। आन्तरिक आय बढाउँदै गुरुयोजनाअनुरूप भरतपुरको विकास गर्न चाहन्छन्।
‘महानगरको आय अहिले करिब एक अर्ब रुपैयाँ छ। हामीले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आय बढाउनुपर्नेछ,’ उनी भन्छन्, ‘स्रोत बढेपछि ठूला आयोजनातर्फ लाग्न सकिन्छ।’
प्रवीनले भरतपुरका सडक पैदलयात्री र साइकलयात्रीका लागि अनुकूल बनाउने पनि सोचेका छन्। नारायणी नदीमा तटबन्ध निर्माण उनको प्राथमितामा छ। महानगरको आन्तरिक आय बढाएर २० प्रतिशत बजेट शिक्षामा खर्च गर्न चाहन्छन्।
प्रवीन आफ्नो उद्देश्य, योजना र लक्ष्य सुनाउँदै घरदैलो अभियानमा लागेका छन्। उनीसँग उपमेयर पदका उम्मेदवार पुष्पा सापकोटासहितको टोली चुनाव प्रचारमा सक्रिय छ।
‘तडकभडक नगरी सामान्यरूपमा मतदाताको घरदैलोमा पुगेका छौं। जिताउनुभयो भने बोलेका कुरा पूरा गर्छौ भनेका छौँ,’ प्रवीन भन्छन्, ‘अब क्रान्तिका ठूला भाषणमा होइन, आममानिसको जीवनस्तर सुधारमा केन्द्रित हुन आवश्यक छ।’
भरतपुरको विकासको सपना बोकेका प्रवीन ‘मातृभूमि नेपाल’ नामको इन्जिनियरिङ फर्म चलाउँछन्। यसले आगलागी नियन्त्रण, उद्योगको संरचना निर्माण, आन्तरिक डिजाइन र व्यवस्थापन लगायतको काममा परामर्श सेवा दिन्छ।
बुबाले विस्तारै छोराको उद्देश्य र लक्ष्य बुझ्ने र आफूलाई सहयोग गर्ने प्रवीनको विश्वास छ।
यो पनि हेर्नुहोस्