भरतपुरको पाँच दलीय गठबन्धनले वृद्धवृद्धालाई धार्मिक भ्रमणमा लैजानेदेखि महिलालाई निःशुल्क बस सेवा उपलब्ध गराउने योजना अघि सारेको छ।
भरतपुर महानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मेयरकी उम्मेदवार रेनु दाहालले ज्येष्ठ नागरिकहरुलाई वर्षमा एक पटक देशभित्र धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण गराउने योजना रहेको बताइन्।
उनले महानगरभित्र सार्वजनिक इलेक्ट्रिक बस सञ्चालनको प्रकृया सुरु गर्ने बताइन्। 'यो सेवामा असहाय, ७० वर्ष नाघेका र महिलालाई निःशुल्क गरिनेछ। विद्यार्थीलाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिनेछ,' दाहालले भनिन्, 'यसका लागि ७ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्नेछौं।'
उनले अबको २ वर्षमा भरतपुरमा मापदण्ड पुगेका सबै सडकहरु कालोपत्रे गर्ने बताइन्।
गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा भरतपुरलाई बेरोजगारीमुक्त महानगर बनाउने उल्लेख छ। दाहालले पहिलो वर्ष प्रत्येक वडाका ५० र दोस्रो वर्ष १०० जनालाई स्वरोजगार बनाउने योजना रहेको बताइन्। शैक्षिक प्रमाणपत्र र तालिम प्राप्त प्रमाणपत्र धितो राखेर उद्यमशीलताका लागि ऋण उपलब्ध गराइने उनले बताइन्।
'श्रम सूचना बैंकको स्थापना गरी विभिन्न पेशा, व्यवसाय र सीप भएका नागरिकको सूचना संकलन गरी रोजगारमा लगाउने, प्राविधिक विषयमा बेरोजगार हुन नदिन रोजगार बैंक स्थापना गरी उचित पेशाअनुसार न्यूनतम पारिश्रमिकसहित रोजगारीको व्यवस्था मिलाउनेछौं,' उनले भनिन्।
कृषि व्यवसायमा संलग्न सबै किसानको पहिचान वर्गिकरण गर्दै एकीकृत तथ्यांक तयार गरि किसान पेन्सनको व्यवस्था गर्ने गठबन्धनले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।
मेयर दाहालले सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने र वडाहरुमा बहुतल्ले भवन बनाएर आवास विहीनका लागि एकीकृत बस्ती विकास गर्ने बताइन्। उनले महानगरको फोहोर स्मार्ट व्यवस्थापनका लागि पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्ने बताइन्। कोरियन सरकारको २ सय २५ करोड रुपैयाँ आर्थिक अनुदानमा भरतपुरको वैज्ञानिक फोहोर व्यवस्थापन सम्झौता अन्तिम चरणमा पुगेको उनले बताइन्।
गठबन्धनले महानगरलाई डिजिटल प्रविधिमैत्री बनाउने, भरतपुर विमानस्थललाई बिस्तार गरी सुविधासम्पन्न बनाउने, गौतमबुद्ध अन्तर्राष्ट्रीय रंगशालाको बाँकी काम पूरा गर्ने, नारायणगढ र भरतपुरका चोकहरुमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सहीदचोक, हाकिम चोक र मालपोत चोकमा आकासे पुल बनाउने, सिटीहलको निर्माण पुरा गर्ने, क्याम्पाचौरलाई मिनी रंगशालाकारुपमा विकास गर्ने, पूर्वाधार विकासको गुरुयोजना स्वीकृत गरि सही अनुरुप योजना छनोट, प्राथमिकता र लगानीको पद्धती निर्माण गर्ने लक्ष्य लिएको छ।
यस्तो छ प्रतिबद्धता पत्र: