स्थानीय तह निर्वाचनका लागि तोकिएको मौन अवधिमा चितवनमा केन्द्रीय नेताको दौडधुप बढेको छ।
मौन अवधिमा कुनै पनि माध्यमबाट भोट माग्न नपाउने भनिए पनि पार्टीका केन्द्रीय नेतानै मतदातालाई प्रभावमा पार्नेगरि दौडधुप गरिरहेका छन्। भरतपुरको निर्वाचनलाई लक्षित गरेर उनीहरूले आचारसंहिताको ख्यालै नगरी मतदातासँग भोट मागिरहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबारबाटै चितवनमा छन्। स्थलमार्गहुँदै भरतपुर आइपुगेका उनले बुधवार भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेद्वार रेनु दाहालको निवासमा बसेर कार्यकर्तालाई भेटेका थिए।
स्थानीयबासीकाअनुसार प्रचण्डले राति अबेरसम्म छोरी रेनुको निवासमा बसेर कार्यकर्ता भेटेका थिए। उनी त्यहाँ रहँदा नजिकको सडकमा पार्किङ गरिएका गाडीको लाम लागेको थियो।
त्यसअघि उनले भरतपुरको एक होटलमा भेला राखेर गठबन्धनका उम्मेदवारलाई जिताउने गरि लाग्न निर्देशन दिएका थिए। उक्त भेलामा कांग्रेसका नेता शंकर भण्डारी पनि सहभागी थिए।
प्रचण्डले बिहीबार पश्चिम चितवन र माडीका विभिन्न ठाउँमा पुगेर मतदाता भेटेका छन्। बिहानै माडी पुगेका उनले त्यहाँको एक होटलमा बसेर गठबन्धनका नेता, उम्मेदवार, मतदातालाई भेटेका थिए। माडीमा पनि गठबन्धनबाट माओवादी केन्द्रले मेयर पाएको छ।
त्यहाँ माओवादी भित्र प्रचण्ड समूह र नारायणकाजी श्रेष्ठको समूहका बीचमै भित्री द्वन्द्व छ। माडी नारायणकाजी श्रेष्ठ समूहको परम्परागत प्रभाव भएको क्षेत्र हो। उनी त्यसैलाई व्यवस्थापन गर्न माडी पुगेको अनुमान गरिएको छ।
त्यसपछि उनी पश्चिम चितवनका विभिन्न गाउँमा पुगेका थिए।
भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले चितवनमा गरेको दौडधुपको विषयमा मौखिक उजुरीहरू परेका छन्। 'लिखित उजुरी त आएको छैन, मौन अवधिमा मतदाता भेटेर आचारसंहिताको धज्जी उडाइयो यसलाई रोक्नुपर्यो भनेर मौखिक उजुरी आइरहेको छ,' उक्त स्रोतले सेतोपाटीलाई भन्यो।
पूर्वप्रधानमन्त्री जिल्ला आएपछि सुरक्षा निकायका प्रमुखहरु पनि उनीसँगै छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका उम्मेद्वार रेनु दाहालको विषयमा त केही लिखित उजुरी नै परेका छन्। पर्चा बाँडेको, महानगरको स्रोत साधन दुरुपयोगलगायतका विषयमा दाहालविरुद्ध उजुरी परेको स्रोतले बतायो।
कार्यालयले उनलाई दुई पटक स्पष्टिकरण सोधिसकेको छ। दाहाल बुधबार पनि मौन अवधिलाई बेवास्ता गर्दै पश्चिम चितवनका विभिन्न स्थानमा भोट माग्न पुगेकी थिइन्।
गठबन्धनको अर्को दल नेपाली कांग्रेसका नेता शंकर भण्डारी पनि भरतपुर बसेर मतदातालाई भेटिरहेका छन्। उनले कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा रहेका कार्यकर्ता तथा मतदातालाई भेटेर गठबन्धनतिर तान्न प्रयास गरिरहेका छन्। उनले भरतपुर हाइटमा रहेको होटल सिराइचुलीमा बसेर मतदातालाई फकाउने गरेका छन्।
भरतपुरमा नेकपा एमालेका उम्मेद्वार विजय सुवेदी र उक्त पार्टीका अन्य नेताविरुद्ध भने उजुरी परेको छैन।
एमाले चितवनले भन्यो- निर्वाचन आचारसंहिताको चरम उल्लंघन
नेकपा एमाले चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको भन्दै एमालेले आवश्यक छानबिन गरी उक्त कार्य रोक्न माग गरेको छ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा राज्य पक्षबाट भएको यस्ता कार्यले निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आममतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न एमाले चितवन जोडदार माग गर्दछ।’