चितवनको भरतपुर महानगरपालिकामा अहिले मतगणना जारी छ। सत्तारूढ गठबन्धनबाट भरतपुरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरीसमेत रहेकी निवर्तमान मेयर रेनु दाहाल उम्मेदवार छन्। एमालेबाट प्रदेश सांसदबाट राजीनामा दिएर विजय सुवेदी उम्मेदवार बनेका छन्।
दाहाल र सुवेदीको यो प्रतिष्पर्धाबीच जगन्नाथ पौडेलको उम्मेदवारीले भरतपुरको मतपरिणाम के होला भन्नेमा राष्ट्रव्यापी चासो छ।
कांग्रेस नेता पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका थिए। शीर्ष नेतृत्वले जति फकाउन खोज्दा पनि उनले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरे।
प्रारम्भिक मत परिणाममा पौडेलले लगातार ११ प्रतिशत मत पाइरहेका छन्। उनले जति धेरै मत पाउँछन् गठबन्धनकी उम्मेदवारलाई दाहाललाई त्यति नै चुनौती थपिन्छ।
३०० मत गन्दा उनले ३५ मत पाएका थिए। ४०० मत गन्दा जगन्नाथ पौडेलले ४५ मत ल्याए। ४५० मत गन्दा पौडेलले ५१ मत ल्याएका छन्।
अहिले भरतपुर-१ को मत गणना चलिरहेको छ। यो वडा नेपाली कांग्रेसको प्रभाव बढी रहेको वडा हो। गत निर्वाचनमा पनि यहाँबाट कांग्रेसले नै वडाध्यक्ष जितेको थियो। अहिले भोट गनिरहेको रामपुर क्षेत्र माओवादी केन्द्रको प्रभाव क्षेत्र हो।
यो वडालाई एमालेले आफू कमजोर भएको ठान्ने गरेको थियो। तर यहाँ पनि राम्रो भोट आइरहँदा ऊ उत्साहित छ।
जगन्नाथलाई यो वडामा केही एमाले मतदाताले पनि भोट दिएका छन्। जगन्नाथलाई भोट हाल्ने केहीले बाँकी सबै रूख र केहीले बाँकीमा गठबन्धनका उम्मेदवारलाई भोट दिएका छन्।
कांग्रेसको उम्मेदवार नभएपनि रूखमा भोट दिने, रूख र जगन्नाथको चिन्ह भुइँकटहर दुबैमा भोट हालेर बदर भएका पनि केही छन्। मेयरमा करिब पाँच प्रतिशत मत बदर भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडा नम्बर १ देखि लगातार गन्दै जाने बताएको छ।
वडा नम्बर २ बाट पहिले एमाले विजयी भएको थियो। त्यसपछिका ३, ४, ५, ६, ७, ८, ९ नम्बर वडा कांग्रेको राम्रो प्रभाव भएको वडा हो। वडा नम्बर ७ जगन्नाथको आफ्नै वडा हो। वडा नम्बर १०, ११ र १२ पहिले एमालेले जितेको हो। १० र १२ का वडाध्यक्ष पछि एकीकृत समाजवादीतिर लागे। वडा नम्बर १० मा गठबन्धनले कांग्रेसलाई उम्मेदवार बनाएको छ।
भरतपुरको सहरी क्षेत्रका वडाहरू यिनै हुन्। यसपछि पश्चिम चितवनका वडाहरुमा कांग्रेसको प्रभाव बढी छ। जगन्नाथको भोट ती क्षेत्रबाट पनि राम्रै आउन सक्छ।
सेतोपाटीले गरेको सर्वेक्षणमा यो क्षेत्रका धेरै कांग्रेस कार्यकर्ता कसलाई भोट दिने विषयमा खुलेका थिएनन्।