गत निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर-१ को वडाध्यक्ष जित्दा नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारको मतान्तर १५ मात्रै थियो।
अहिले गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले त्यतिखेर ल्याएको मत जोड्दा १७९८ हुन्छ। त्यतिखेर एमालेले ११६२ मत ल्याएको थियो।
यसपालि उक्त गठबन्धनका केशव महर्जनसँग एक्लै लडेका एमालेका वडाध्यक्ष उम्मेदवार शुक्रराज श्रेष्ठ जम्मा ८४ मतले पराजित भए। गठबन्धनकी उम्मेदवार रेनु दाहालले यो वडामा एमालेका विजय सुवेदीलाई १२१ भोटले पछि पारिन्।
यो मतबाट एमाले उत्साहित थियो।
'कांग्रेस, माओवादीसहितको गठबन्धनसँग प्रतिस्पर्धा गर्दा मेयरमा ३-४ सयले नै पछाडि परिन्छ कि जस्तो लागेको थियो। तर अवस्था हामीले सोचेभन्दा राम्रो देखियो,' मतगणना सकिएपछि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले सेतोपाटीसँग भनेका थिए, '२ त हाम्रो राम्रो भएको वडा हो। त्यहाँ राम्रो लिड गर्छौं।'
गठबन्धनका नेताहरू भने यो वडाबाट आएको भोटबाट सन्तुष्ट थिएनन्। उनीहरूले यो वडाबाट मेयरमा ३ सयभन्दा बढीको अग्रता लिने र वडाध्यक्षमा सहज जित निकाल्ने आकलन गरेका थिए। यो वडामा कांग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ सय ३० मत ल्याइदिए। त्यति मत उक्त वडाबाट आउला भन्ने आकलन स्वयं पौडेलले गरेका थिएनन्। पौडेलको यो भोट गठबन्धनका लागि घातक हुन सक्ने देखिन्छ। उनले लगातार ११ प्रतिशत मत ल्याइरहेका छन्।
राम्रो मतको आकलन गरिएकै वडामा सोचेजस्तो भोट नआउँदा गठबन्धनका नेताहरूले वडा नम्बर २ बाट राम्रो मत आउला भन्ने सोचेका थिएनन्। किनकी गत निर्वाचनमा एमालेले यो वडाबाट १९२६ भोट ल्याएको थियो।
त्यतिखेर कांग्रेस र माओवादीले ल्याएको भोट जोड्दा २१२४ हुन्छ।
तर वडा नम्बर २ मा आएको मतबाट एमाले उत्साहित हुन सकेन। राम्रै भोटले अग्रता लिने आकलन गरेको यो वडामा एमालेले अग्रता लिए पनि सकेन। गठबन्धनले एमालेका मेयरका उम्मेदवारलाई ३ मतले पछाडि पार्यो।
एमालेले जितेको वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार मनोज रानाभाटले ४७ भोटले जित हात पारे।
जगन्नाथको भुइँकटहरले यो वडामा पनि ११ प्रतिशत मत ल्यायो।
'यो वडामा जस्तो भोट आउने सोचेका थियौं त्यस्तो आएन,' एमालेका जिल्ला अध्यक्ष न्यौपानेले भने, 'तर पनि आत्तिने अवस्था छैन। हाम्रो राम्रो मत आउने अरू धेरै वडा बाँकी नै छन्।'
उनले धेरै मतदाता रहेका वडा नम्बर १०, ११, १२, पश्चिम चितवनका वडा नम्बर १८, २३, २४, २७ र २८ मा राम्रो मत आउने विश्वास रहेको बताए। एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले सुरूआतका केही वडाको मत हेरेर आकलन गर्न नसकिने बताए।
'हामीलाई धेरै भोट आउने वडाहरू अझै बाँकी छन्, अहिले नै के होला भन्न सकिने अवस्था छैन,' सुवेदीले भने, 'पश्चिम चितवन मैले धेरै समय बिताएको क्षेत्र हो। त्यहाँका कांग्रेस मतदाताले मलाई पनि भोट दिएका छन्। भुइँकटहरमा पनि त्यताबाट राम्रो भोट आउँछ।'
एमाले कांग्रेसका बागी जगन्नाथले ल्याएको भोटले उत्साहित देखिन्छ। जगन्नाथको भुइँकटहरको प्रभाव वडा नम्बर ३, ४, ५, ६, ७, १५ मा अझ राम्रो रहेकाले त्यहाँ गठबन्धन पछि पर्ने सक्ने एमालेका एक नेता बताउँछन्।
गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल भने भुइँकटहरमा आएको भोटले असर नपार्ने बताउँछिन्।
'गठबन्धन भित्रको केही भोट बाहिर गएको त देखियो तर त्यसले हामीलाई असर गर्छ जस्तो लाग्दैन,' दाहालले भनिन्, 'हाम्रो मुख्य प्रभाव भएका ठाउँहरू त बाँकी नै छन्। मैले कम्तीमा २ हजार मतले जित्छु भन्ने अनुमान छ।'
यद्यपि गठबन्धनका नेताहरू जगन्नाथले ल्याइरहेको भोटबाट सशंकित छन्। बागमती प्रदेशका उद्योग मन्त्री रहेका कांग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठले मतगणना गरिएका दुई वटा वडामा जगन्नाथको यति धेरै भोट आउने कल्पना पनि नगरिएको बताए।
'हामीले उनको प्रभाव भएका ठानेका वडा त अब आउँदैछ,' कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मन्त्री श्रेष्ठ भन्छन्, 'कम आकिएका वडामा त त्यत्रो ल्याए। अन्त के हुने हो भन्नै नसकिने भयो।'
तर कांग्रेस चितवनका सभापति राजेश्वर खनाल भने जगन्नाथले ल्याएको भोटले गठबन्धनलाई जित्न थप सहज हुने दाबी गर्छन्।
'भोटको ट्रेन्ड हेर्दा भुइँकटहरमा यही अनुपातमा भोट आउनु भनेको त गठबन्धनलाई राम्रो हो,' खनालले भने, 'नत्र त्यो भोट एमालेलाई जान सक्थ्यो।'
माओवादी केन्द्रले वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५ तथा पश्चिम चितवनका वडाहरूबाट कांग्रेसको मत गठबन्धनमा राम्रो आउने आशा राखेको छ। पश्चिम चितवनमा मेयरकी उम्मेदवार दाहालको पपुलर मत पनि राम्रो रहेको दाबी माओवादी केन्द्रको छ।
'उनले मेयर हुँदा गरेका कामको प्रभाव मतमा देखिन्छ,' माओवादी केन्द्रका एक नेता भन्छन्, 'हामीले जित्ने त लगभग निश्चित छ।'
गत निर्वाचनमा भरतपुरका वडा नम्बर १ र २ बाट एमालेका मेयर उम्मेदवार देवीप्रसाद ज्ञवालीले दाहालले भन्दा एक हजार बढी मत ल्याएका थिए। अहिले सुवेदी यी दुई वडाको मत गनेर भ्याउँदा दाहालभन्दा ३ भोटले पछाडि छन्।