चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोचक अवस्थामा पुगेको छ। अहिलेसम्म दस हजार मात्र मतगणना भए पनि वडा नम्बर ३ को मतगणना सुरू भएसँगै मतपरिणाम रोमाञ्चकता थपिएको छ।
भरतपुर महानगरको मेयर बन्न नेकपा माओवादी केन्द्रकी रेनु दाहाल, नेकपा एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल मैदानमा छन्। अहिलेसम्म मतगणनामा रेनु र विजयबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
वडा नम्बर ३ को मतगणना सुरू भएसँगै जगन्नाथ पौडेलको भुइँकटहर चुनाव चिह्नमा झन्डै २० प्रतिशतका दरले मत आउन थालेको हो। अन्य वडामा उनले ११ प्रतिशत मत पाएका थिए। जारी मतगणनाको यही 'ट्रेन्ड' अन्य केही वडामा पनि कायम रहे भरतपुरमा रेनु दाहाललाई जितका लागि सकस पर्ने देखिन्छ।
भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ। कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा यही वडामा बसोबास गर्छन्। उनी चितवन कांग्रेसमा तीन पटकसम्म सभापति भएका व्यक्ति हुन्। उनै सापकोटा यसपटक जगन्नाथको मेयर पदका प्रस्तावक छन्।
वडा नम्बर ३ को मगणनामा यसपटक अर्को एउटा नयाँ ट्रेन्ड पनि देखापरको छ। कांग्रेसका मतदाताले एमालेका वडाध्यक्षका उम्मेदवारलाई मत दिएका छन्। जबकि ती सबै मत कांग्रेसका उपमेयर उम्मेदवारले पनि पाइरहेका छन्।
कांग्रेसको वडा नम्बर ३ मा यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने बेलामा विवाद भएको थियो। त्यसको प्रतिबिम्ब गणनामा देखिएको छ। वडा नम्बर ३ को अध्यक्षका लागि कांग्रेसबाट तारामित्र पण्डितको नाम मात्र सिफारिस भएको थियो। तर क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले आफैंलाई उम्मेदवार बनाउने निर्णय गरेका थिए।
त्यो निर्णयलाई लिएर कांग्रेसको वडाभित्रै फाटो देखिएको थियो। तारामित्र पण्डितले स्वतन्त्र उम्मेदवारी दिएपछि वडामै विवाद समेत भएको थियो। तर उनले मतगणना अघि उम्मेदवारी फिर्ता लिएका थिए। यद्यपि विवादको असर वडामा देखापरेको छ।
कांग्रेसको गढ मानिने वडा नम्बर ३ बाट २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले राम्रो मत पाएका थिए। यद्यपि विजयले यसपटक मत आकर्षण गरेका छैनन्। बरू मत भुइँकटहरमा गएको छ। त्यसले रेनुलाई हानी गर्न सक्छ। ३२४४ मत खसेको वडामा अहिलेसम्म २२१५ मत गणना भएको छ। त्यसमा भुँइकटहरमा अघिल्लो वडाको तुलनामा धेरै मत खसेका छन्।
यसपछि गणना हुने वडा नम्बर ४ जगन्नाथकै मेयर पदकी समर्थक मिना खरेलको वडा हो। खरेललाई कांग्रेसले कारवाही गरिसकेको छ। त्यहाँ कांग्रेसी कार्यकर्ता रुष्ट छन्। त्यसको असर मतपरिणाममा देखिए रेनुलाई थप असर पर्छ।
त्यस्तै वडा नम्बर ५, ६ र ७ बाट पनि रेनुलाई मत कम आउन सक्छ। वडा नम्बर ७ जगन्नाथको आफ्नै वडा हो। यी वडाहरूबाट कति मत यताउता हुन्छन् यो भरतपुरका लागि निर्णायक सावित हुनसक्छ।