हामीलाई सानैदेखि विभिन्न तरिकाले भारत असुरक्षित देश हो, त्यहाँ जाँदा विशेष सावधानी अपनाउनुपर्छ, नत्र जहाँसुकै लुटिने डर हुन्छ भनेर सतर्क हुन सिकाइन्थ्यो।
भारतीय सिनेमा प्रायः हामी सबैको जीवनको अंग थियो। त्यसमा देखाइने चोरी, डकैती, लुटपाट र ठगीका कथाहरूले पनि भारत साँच्चै बदमासहरूको देश हो कि भन्ने पनि हाम्रो मानसपटलमा भइरहन्थ्यो।
व्यवहारमा पनि त्यस्तै हो कि भन्ने लाग्थ्यो। मैले कयौं पटक भारतका विभिन्न सहर र गाउँहरूको भ्रमण गरेको छु। एकपटक हामी केही साथीहरू तत्कालीन विहारको सहर राँची जाँदै थियौं। हेर्दै डर लाग्ने, खाइलाग्दो ज्यानका, जुँगा पालेका र बन्दुक बोकेका केही व्यक्तिहरू हामी चढेको रात्रिबसमा चढे। उनीहरूले ठन्डीबाट बच्न खास्टो ओढेका थिए। करिब ३० किलोमिटर यात्रा गरेर उनीहरू एउटा निर्जन ठाउँमा ओर्ले।
उनीहरू बसमा चढ्दा हामीलाई यिनीहरू अवश्य पनि लुटेरा हुन भन्ने लाग्यो। उनीहरू बसमा चढेपछि यात्रुहरूमा सन्नाटा छायो। ती हतियारधारीहरू बसमा हुन्जेल कोही पनि बोलेन।
बस अघि बढेपछि उनीहरू को थिए भन्ने कुरा चल्यो। बसको चालकले ती व्यक्ति यात्रुको सुरक्षाका लागि आएका प्रहरी हुन् भन्यो। उसले भनेअनुसार त्यो इलाकामा लुटेराहरूको बिगबिगी भएकाले प्रहरीले बसमा यात्रुलाई सुरक्षा दिन्छन्।
मुम्बईको सडकपेटीका पसलहरूमा घुम्दा एक जनाले फुजीको नेगेटिभ फिल्म बेच्न ल्यायो।
उसले भन्यो– कारखानाबाट चोरी गरेर ल्याएको हो, बजार भाउभन्दा आधामा पाउँछौ!
त्यति बेला फोटो खिच्न नेगेटिभ फिल्म चाहिने जमाना थियो। आधा दाममा पाइएको फुजी फिल्ममा मन लोभियो। मैले एक दर्जन फिल्म किनेँ।
पछि खोलेर हेर्दा त सबै पत्रु चिज मात्रै रहेछ। यसरी म ठगिएँ।
एकपटक दिल्लीको पालिका बजारमा एक व्यक्ति निकै सस्तोमा पेनड्राइभ बेच्दै थियो। मन लोभिएर किनेँ। प्रयोग गर्न खोज्दा थाहा भयो, त्यो त कामै नगर्ने रहेछ।
लुटपाट हुनुभन्दा त यस्तो घटना सामान्य हो जस्तो लाग्यो।
मध्य युरोपेली देश हंगेरी कुनै बेला सोभियत ब्लकको बलियो कम्युनिस्ट राष्ट्र थियो। सोभियत संघको पतनसँगै हंगेरी पनि प्रजातान्त्रिक युगमा प्रवेश गर्यो, विदेशी नागरिकका लागि खुला भयो।
एकपटक कुनै एउटा सेमिनारमा भाग लिने सिलसिलामा हामी तीन जना नेपाली जर्मनीको म्युनिख हुँदै हंगेरी पुगेका थियौं। तीनमध्ये एक जना राष्ट्रिय योजना आयोगका सदस्य भए। एक जना राष्ट्रिय महिला आयोगको सदस्य तथा महिला अधिकारकर्मी थिइन्।
हामी सबै एक प्रकारले देश खाएर शेष भएका व्यक्ति थियौं। हामीलाई युरोपमा कसैले ठग्ला, लुट्ला भन्ने लागेकै थिएन। मध्य युरोपेली मुलुक हंगेरी कला, संस्कृति र संगीतका हिसाबले अद्वितीय छ भन्दा फरक पर्दैन। त्यहाँका बासिन्दाहरू आफ्नो कला, गीतसंंगीत, नाच इत्यादि सडकमै पनि प्रस्तुत गरिरहेका हुन्छन्। ससाना स्कुले विद्यार्थी र वयस्कहरूसमेत यसमा सम्मिलित भएका हुन्छन्।
राजधानी बुडापेस्ट ‘बुडा’ र ‘पेस्ट’ नामका दुई वटा सहर मिलेर बनेको रहेछ। यी दुई सहरलाई दानुवे नदीले छुट्याउँदो रहेछ।
दानुवे नदीमा पुराना शैलीका र आधुनिक थुप्रै पुलहरू बनेका रहेछन्, पर्यटकहरूका लागि आकर्षणको केन्द्र। एउटा निकै पुरानो शैलीको पुलमा ऐश्वर्य राय र अजय देवगन अभिनित चलचित्र ‘हम दिल दे चुके सनम’ को अन्तिम दृश्य छायांकन गरिएको रहेछ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बलिउड फिल्मले समेत महत्व दिएको त्यो पुल पर्यटकहरूका लागि आकर्षणको केन्द्र नहुने कुरै भएन।
हामी जुन सेमिनारका लागि गएका थियौं त्यसको अन्तिम दिनको भोलिपल्टै नेपाल फर्किने कार्यक्रम थियो।
दानुवे नदीमा मध्यमखालका जहाजहरू चलिरहेका हुन्थे। जहाजको अगाडि बसेका धेरै पर्यटकहरू 'टाइटनिक' सिनेमामा हात फिँजाएको जस्तो पोज दिइरहेका हुन्थे। पुलमा बसेकाहरूले त्यसका मजा लिन्थे।
सेमिनारको अन्तिम दिन हामी पनि त्यस्तै मजा लिने उद्देश्यले एउटा ठूलो झोलुंगे पुलमा गयौं। गृष्म ऋतुको समय थियो। यता नेपालमा बेलुका सात बजे अँध्यारो हुन्छ। बुडापेस्टमा रातको दस बजे पनि मध्य दिउँसो जस्तो हुँदो रहेछ।
त्यही उज्यालोको फाइदा लिँदै हामी घुम्दै थियौं। हजारौंको संख्यामा हिँडिरहेका पर्यटकमाझ कुनै पनि हिसाबले असुरक्षित महसुस गर्ने कुरा भएन।
हामी पुलबाट नदीको दृश्य हेर्दै गर्दा आफूलाई ब्राजिलियन बताउने एक व्यक्तिले नक्सा देखाउँदै यो ठाउँ कहाँ पर्छ भनेर सोध्यो। उसको अंग्रेजी भाषा त्यति राम्रो थिएन। हामी पनि यो ठाउँका लागि नयाँ हौं, थाहा छैन भनेर उम्किन खोज्यौं। उसले त हामीलाई पिछा गर्यो।
निकै बेरमा हामी कसै गरी उसको पिछाबाट उम्कियौं। हामी होटल फर्किने क्रममा नेपालको ठमेलजस्तो पर्यटकहरूको अत्यन्त भिडभाड हुने र चारैतिर बाटो भएको ठाउँमा पुग्यौं। युरोपका निकै पुराना सहरहरूमध्ये एक भएकाले त्यहाँका बाटाघाटा निकै साँघुरा थिए, हाम्रो ठमेल जस्तै।
त्यही मौकामा आफूलाई ब्राजिलियन बताउने केही कालो वर्णको अर्को व्यक्तिले हामीलाई मेरो फोटो खिचिदिन्छौ भनेर सोध्यो। सामान्यतया हामी पनि बाटोतिर कतै आफ्नो फोटो खिचाउन पर्यो भने अपरिचित व्यक्तिलाई अनुरोध गर्छौं नि, त्यस्तै।
हामीले उसको अनुरोध अस्वीकार गर्ने कुरै भएन। एकपछि अर्को गर्दै कहिले उसले त कहिले हामीले फोटो खिच्यौं, खिचायौं पनि। त्यति बेला डिजिटल क्यामरा प्रशस्तै प्रयोगमा आइसकेको थियो। त्यो व्यक्तिको क्यामरा चाहिँ रिल (फोटो फिल्म) हाल्नुपर्ने र अटो फोकसवाला थियो।
उसले हामीलाई गल्लीको एउटा कुनामा लग्यो र फोटो खिच्न लगायो। कुनातिर पुग्नेबित्तिकै गोरो, अग्लो र आँखा निकै कुइरा भएको एक व्यक्ति आयो र ब्राजिलियन हुँ भन्नेलाई समात्यो।
उसले हामी सबैलाई भन्यो– गल्लीमा लागुऔषधको कारोबार हुन्छ, म पुलिस हुँ, मैले तिमीहरूको पर्स चेक गर्नुपर्छ। त्यस
री चेक गर्नुको औचित्य पुष्टि नहुँदै त्यो ब्राजिलियन भन्ने व्यक्ति लल्याकलुलुक हुँदै आफ्नो पर्स त्यो व्यक्तिलाई दियो। पुलिस हुँ भन्ने व्यक्तिले आफ्नो एउटा परिचयपत्र पनि देखायो। त्यो सक्कली थियो कि नक्कली, हामीले खुट्याउन सक्ने कुरा भएन। उसले हामीमाथि ड्रग डिलर जस्तो व्यवहार गर्न थाल्यो। खुब तर्सायो।
अनाहकमा फसिने जस्तो अवस्था आयो। गर्दै नगरेको अपराधमा पुलिस थानामा पुगिने हो कि भन्ने भयो।
हामी दुई नेपाली पुरुष सँगै थियौं। त्यो व्यक्तिले साथै आएकी अर्की नेपाली सहभागी अधिकारकर्मी महिलालाई पनि हाम्रो नजिक बोलायो। उनी गल्लीतिर पसेकी थिइनन्, अलिक पर चौबाटौमै थिइन्। अनिष्ट परेको सुइँको पाउनासाथ भाग्न सफल भइन्।
हामी दुई जनाको त सातोपुत्लो गइहल्यो। हाम्रो पर्स आफूलाई पुलिस भन्ने व्यक्तिलाई सुम्पियौं। भइपरी टार्न मैले केही युरो नगदै बोकेको थिएँ, साथीसँग केही डलर थियो।
त्यो व्यक्तिले छिटोछिटो हाम्रो नगद गन्यो र पर्स फिर्ता गर्यो।
अनि भन्यो– सरी, यो अपराध हुने ठाउँ हो, मैले तिमीहरूलाई दुःख दिएँ।
उसले हामीलाई छोड्यो। ठूलो अनिष्टबाट बच्यौं भन्ने ठानेर हामी होटल फर्कियौं। ढुक्कले सास फेर्दै पर्समा भएको नगद गन्दा त हाम्रो होस उड्यो। त्यो व्यक्तिले हामी दुवैको पर्सबाट आधाभन्दा बढी रकम लगेछ।
हामी भोलिपल्टै फर्किनुपर्ने थियो। अलमलमा पर्यौं। के गर्ने, के नगर्ने, होस हराएजस्तो भयो।
हामीले होटलको म्यानेजरलाई घटनाको वृत्तान्त सुनायौं। उसले हामीलाई ढाडस दियो, केही पेय निःशुल्क दियो र सोध्यो– तिमीहरू प्रहरीलाई खबर गर्छौ त?
प्रहरीकहाँ जाँदैमा हाम्रो रकम फिर्ता आउने होइन भन्ने हामीलाई लाग्यो। धन्य, लुटिनुभन्दा ठूलो घटना भएन भन्ने पनि भयो।
होटलको म्यानेजरले प्रहरीकहाँ इमेल पठाऔं र हेरौं, उसले के गर्छ भन्यो। हामीले उसको कुरा मान्यौं।
मैले 'रब्ड इन डे लाइट' शीर्षक राखेर प्रहरीको ठेगानामा इमेल पठाएँ तर कुनै जवाफ आएन। हामी लुटिएको लुटियै भयौं। पछि बुझ्दा थाहा भयो, भित्री गल्लीहरूमा लुटपाट गर्ने समूहहरू हुँदा रहेछन्। तिनलाई प्रहरीले पनि खासै केही गर्दो रहेनछ।
उक्त घटनाले अपराधको कुनै सीमा हुँदैन भन्ने कुरा चरितार्थ गर्यो। हाम्रो जीवनको एउटा सिकाइ पनि भयो।