धेरै वर्षपहिले मैले एउटा किस्सा सुनेको थिएँ।
कुनै समय अमेरिकाको एउटा ठूलो भवनमा तीन-चारवटा लिफ्ट थिए। एउटामा दुई जना जापानी, अर्कोमा दुई जना अमेरिकी र तेस्रोमा दुई जना चिनियाँ रहेछन्। चलिरहेका ती लिफ्ट कुनै कारणले एकसाथ बन्द भएछन्।
बन्द भएपछि लिफ्टमा सवार ती व्यक्तिहरू आपसमा संवाद गर्न थाले।
जापानी सवार लिफ्टमा दुवै जनाले एकअर्कालाई 'सरी' भन्दै झुकेर अभिवादन गरेछन्। अमेरिकीहरू एकले अर्कालाई गाली गर्न थालेछन् र एकआपसमा मुद्दा हाल्ने धम्की दिएछन्। चिनियाँहरू चाहिँ व्यापारको आइडियाबारे छलफल गर्न थालेछन्।
जहाँ जहिले पनि चिनियाँहरूको प्राथमिकता व्यापारमै हुन्छ। लिफ्टमा अड्किँदा पनि व्यापारकै कुरा गरे।
किस्सा सकियो, अब कुरा मूल विषयको।
आरक्षण यस्तो व्यवस्था हो जसको प्रयोजन ऐतिहासिक रूपमा पछाडि पारिएका मूलतः अल्पसंख्यक समुदायको जीवनस्तर उकास्नमा हुन्छ। मलेसिया यस्तो देश हो जहाँ भूमिपुत्र भनिने लगभग ६३ प्रतिशत मलेसियालीहरूका लागि आरक्षण व्यवस्था छ। अल्पसंख्यक मानिने २१ प्रतिशत चिनियाँ मूलका र सात प्रतिशत भारतीय मूलका मलेसियालीका लागि आरक्षण छैन।
त्यहाँ उद्योगधन्दा र व्यापार–व्यवसाय चिनियाँ मूलका मलेसियालीहरूको कब्जामा छ। भारतीय मूलका मानिसहरूले पनि व्यापार–व्यवसायमा वर्चश्व स्थापित गरेका छन्। अंग्रेजहरूले उपनिवेश बनाएका सबै जसो मुलुकमा भारतीयहरू पुगेका छन्।
विदेशी मूलका व्यक्तिहरूको वर्चश्वले रैथाने मलेसियालीहरूलाई अप्ठ्यारो पर्ने देखेर बहुसंख्यककै लागि आरक्षण व्यवस्था गरिएको हो।
चिनियाँहरू संसारका सबैजसो मुलुकमा पुगेका छन्। भारतकै कलकत्तामा समेत चिनियाँ टाउन छ। यसले उनीहरू व्यापार–व्यवसायमा कति माहिर हुन्छन् भन्ने देखाउँछ।
केही वर्षपहिले हाम्रो एउटा टोली चीन भ्रमणमा जाँदा अनुभव गरेको कुरा यहाँ प्रस्तुत गर्नु यो लेखको मुख्य उद्देश्य हो। हामी तीन दिनका लागि बेइजिङ बसाइका क्रममा थियौं। त्यहाँ पुगेपछि संसारका सात वटा आश्चर्यमध्ये एक मानिने र चन्द्रमाबाट समेत देखिन्छ भनिने मानवनिर्मित संरचना ग्रेटवाल हेर्ने अवसर गुमाउने कुरै थिएन।
करिब ३० वर्ष उमेरकी चिनियाँ युवती हाम्रो गाइड थिइन्। उनले हामीलाई बिहानै बेइजिङबाट गाडीमा करिब तीन घन्टाको यात्रामा पुगिने ग्रेटवाल पुर्याइन्।
हाम्रो समूहमा १० जना थियौं, हामीलाई गाइड शुल्क तिर्न खासै गाह्रो थिएन। माथि डाँडाको ग्रेटवाल पुग्न केबलकारको व्यवस्था रहेछ।
हामी संसारको एक आश्चर्यको संरचनामा रमाउन थाल्यौं। विभिन्न मुलुकका राष्ट्राध्यक्ष पनि ग्रेटवाल हेर्न पुग्ने रहेछन्। तीमध्ये अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि रहेछन्।
हामी केबुल कार चढ्ने बेलामा यो गुन्डुलामा बिल क्लिन्टन चढेका थिए भन्दै हाम्री गाइडले त्यसको महत्व र रोमाञ्चकता बढाइन्। हामीमध्ये जो त्यो गुन्डुलामा बस्न पाए उनीहरू निकै रमाए।
पर्यटकलाई अझ महत्वसहित जानकारी दिन हरेक टिकटसँगै एउटा मिनी डिस्क पनि दिइएको थियो जसमा चिनियाँ र अंग्रेजी भाषामा ग्रेटवालको बारेमा छोटो डकुमेन्ट्री थियो। तीन-चार वटा घोडा एकैचोटि कुद्न मिल्नेजस्तो फराकिलो ग्रेटवालमा तलमाथि गर्दै फोटा खिच्दै रमायौं।
एउटा डाँडाको टुप्पोमा निकै टाढाबाट समेत देख्न सकिने गरी चिनियाँ अक्षरमा केही लेखिएको थियो।
हाम्री गाइडले त्यहाँ 'हामी अध्यक्ष माओप्रति बफादार छौं' भनेर लेखिएको जानकारी गराइन्।
त्यस्तो डाँडामा अध्यक्ष माओप्रति बफादारी छ भनेर किन लेख्नुपरेको हो भनेर सोध्यौं। उनका अनुसार त्यो वाक्य सांस्कृतिक क्रान्तिताका लेखिएको हो जो अहिलेसम्म पनि जस्ताको तस्तै छ र पर्यटकका लागि आकर्षण बनेको छ।
चिनियाँ सांस्कृतिक क्रान्तिभन्दा धेरै पछि जन्मेकी ती युवतीलाई उनी माओलाई कसरी हेर्छिन् भनेर सोध्यौं।
उनले भनिन्– माओले आफ्नो जीवनकालमा जे जति काम गरे त्यो ७० प्रतिशत ठीक थियो तर ३० प्रतिशत काम गलत गरे।
उनको भनाइले हामीलाई अहिलेको पुस्ताले माओलाई कसरी लिँदो रहेछ भन्ने कुरा थोरै भए पनि थाहा पाउन सजिलो भयो।
करिब तीन घन्टा ग्रेटवाल घुमघाम गरेर हामी बेइजिङ फर्कियौं। हामीले अरनिकोले बनाएको प्यागोडा हेर्यौं र त्यसमा रमायौं।
गाइडले दुइटा यस्ता ठाउँमा लगिन् जसले चिनियाँहरूको व्यापारिक दिमाग उजागर गरिदियो।
रेशमको कपडा बुन्ने निकै पुरानो उद्योग रहेछ। त्यहाँ कामदारहरू थोरै थिए। केही सेल्सगर्ल्स थिए जो सीमित अंग्रेजी बोल्थे।
एक सेल्सगर्लले हामीलाई रेशमका कपडा बनाउने तरिका र त्यसको महत्वका बारेमा बेलिविस्तार लगाइन्। त्यहाँ रेशमबाट बनेका थरीथरीका कपडा र सामानहरू थिए। त्यहाँ पुरानो शैलीमा रेशमबाट कपडा बनाउने पुरानै मेसिनहरू थिए।
रेशम यसै पनि सामान्य नभई निकै महत्वको वस्तु हो भन्ने हामीले बुझेका थियौं। यसप्रति आकर्षित हुनु स्वाभाविक थियो। हामीमध्ये धेरैले विभिन्न सामान किन्यौं। मैले त्यति बेला करिब तीन सय युआन अर्थात नेपाली पाँच हजार रूपैयाँमा एउटा पातलो सिरक किनेँ।
सेल्सगर्लले स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायी, जाडोमा न्यानो हुने र गर्मीमा नपोल्ने हुन्छ भनेर त्यसको बखान गरिन्। रेशमको कपडाको बारेमा केही थाहा भए पनि मेरा लागि सिरक बिल्कुलै नयाँ सामग्री भएकाले उत्साहका साथ किनेँ।
त्यसको प्रयोग चाहिँ सेल्सगर्लले भनेजस्तो नभई सामान्य नै लाग्यो। म ठगिएँ त भन्दिनँ तर दाबी गरेजस्तो अचम्मको पनि होइन रहेछ।
रेशमको उद्योगपछि गाइडले हामीलाई अर्को एउटा ठूलो स्टोरमा लगिन्। त्यहाँ अनेक थरीका चियापत्ती किन्न पाइँदो रहेछ। चियापत्तीका अनेक प्रकारहरू हेर्दा चिनियाँहरूले चियाको सम्वर्द्धन र प्रवर्द्धन कसरी गरेका रहेछन् भन्ने देखिन्थ्यो।
त्यो स्टोरमा हामीलाई एउट टेबलको वरिपरि बसाए। त्यहाँ पनि सीमित अंग्रेजी बोल्ने सेल्सगर्लले चिनियाँ चियाको बखान गरिन्। उनले विभिन्न प्रकारका चिया देखाइन्। वर्षौंदेखि 'एज्ड' गरिएको (उमेर लेखिएको) चियाको बारेमा बताइन्।
हामीले खाने चिया बुट्यानबाट टिपिन्छ भन्ने देखेको र सुनेको हो। त्यहाँ त सयौं वर्ष पुराना बोटबाट संकलन गरिएको पातको चिया भनेर ससाना कचौरामा पिउन दिए।
हामीलाई त्यहाँ कम्तीमा दस प्रकारको चिया खुवाए। मैले कुनै पनि चियाको फरक स्वाद महसुस गरिनँ, जुन खाए पनि उस्तैउस्तै थियो।
सेल्सगर्लले ती चियाका अनेक विशेषता र औषधीय महत्वका बारेमा बताइन्।
हामीमध्ये एक जनाले करिब दस हजार नेपाली रूपैयाँ बराबरको अनेक थरी चिया किने। सम्भवतः हामी दस जनालाई थोरैथोरै गर्दै खुवाएको चियाको रकम तिनै साथीबाट असुलियो!
यसै पनि चिनियाँहरूले व्यापारमा संसारै पिटेका छन्। पर्यटनलाई व्यापारसँग जोड्न कस्तो प्रकारको सिप चाहिन्छ भन्ने कुरा हामीले चिनियाँहरूबाट सिक्नुपर्छ जस्तो लाग्यो।
पर्यटकहरूलाई आकर्षित गर्न युवतीहरूलाई प्रभावकारी तरिकाले प्रस्तुत हुन र सामान किनौंकिनौं लाग्ने बनाउन उनीहरूको कला साँच्चै तारिफयोग्य लाग्यो।
म मान्छु र भन्छु चिनियाँहरू व्यापारमा साँच्चै माहिर छन्!