एउटा मानिसको जीवनका उच्चतम आकांक्षाहरू के के हुन्छन्? मान्छे यो धर्तीमा आएपछि उसका न्यूनतम आवश्यकताहरू गाँस, बास र कपास हुन्छन्। ती सबै प्राप्त छ भने उच्चतम आकांक्षाहरू के के हुन सक्छन्?
यसमा संसारभर अलगअलग मान्यताहरू हुन सक्छन्।
मैले पश्चिमा देशहरूको भ्रमणका क्रममा साथीहरूसँग गफिँदा सुनेको हुँ– अमेरिकन लाइफ, जापानी वाइफ, चाइनिज फूड र ब्रिटिस घर।
संसारका धेरै मानिसको जीवनको आकांक्षा अमेरिका पुग्ने र त्यहाँ जीवन बिताउने हुन्छ। यसको एउटा ज्वलन्त उदाहरण अमेरिकाले विश्वभरबाट हरेक वर्ष माग्ने ५० हजार 'डिभी' मा नेपालबाटै लाखौंको संख्यामा युवाहरूले आवेदन गर्नु हो। जापानी महिलाहरू बफादार र समर्पित भएकाले उनीहरूलाई श्रीमती बनाउने आकांक्षा भएको होला।
विभिन्न परिकारहरूले स्वादिलो चाइनिज फूड अर्थात चिनियाँ खाना संसारभरका मानिसहरूको रोजाइमा छ। नेपालमा पनि एकसे एक चिनियाँ परिकारहरू पाइन्छन्। हामीले खाने चाउचाउ सबैभन्दा सामान्य उदाहरण हो। चाउचाउका धेरै परिकारहरू छन्।
बेलायतीहरूका घर ठूला र भव्य हुँदैनन् तर त्यहाँ चाहिने सामान र सुविधाहरूको उच्चतम संयोजन हुन्छ। उनीहरूले त्यसलाई प्रकृतिसँग पनि जोड्ने गरेका हुन्छन्।
सहरी जीवनबाट त्राण पाउन फार्म हाउसको अवधारणा बेलायतीहरूले नै ल्याएका हुन्। भारतका पहाडी क्षेत्रहरूमा बनेका हिल स्टेसनहरूलाई त्यसकै उदाहरणका रूपमा लिन सकिन्छ।
यहाँ भने मैले चिनियाँ खानाका विषयमा चर्चा गरेको छु। यो मेरो यात्राअनुभव हो।
मैले विभिन्न प्रकारका चिनियाँ खाना काठमाडौंमा २०३५ सालदेखि नै खान पाएको हुँ। जति ठूलो रेस्टुरेन्टमा गयो, त्यति नै बढी परिकार पाइन्छन्। ठूला होटलले खानाको नाम देखाउँछन्। सानामा त त्यो पनि थाहा हुँदैन।
मलाई भने चीनमै चिनियाँ खाना खाँदा कस्तो होला भन्ने जिज्ञासा हुन्थ्यो।
मेरो दिमागमा नेपालमा वा अन्य ठाउँमा खाएको चिनियाँ खानाभन्दा चीनमा खाँदा पक्कै मिठो होला भन्ने थियो।
केही वर्षअघि काठमाडौंबाट ल्हासा हुँदै छेन्दु, त्यसपछि बेइजिङ र त्यहाँबाट मंगोलिया जाने कार्यक्रम थियो। काठमाडौंबाट मंगोलियासम्मको यात्राको बीचमा चीन परेको हुँदा आउने–जाने क्रममा पाँच दिन चीनमा बिताउने अवसर पाएको थिएँ।
ल्हासाका लागि चाइना एयरबाट हाम्रो उडान दिउँसो एक बजे थियो। अन्तर्राष्ट्रिय उडानमा तीन घन्टापहिले नै विमानस्थल पुग्नुपर्ने नियम हुन्छ। हामी ११ बजे पुगेका थियौं।
काठमाडौंबाट दिल्ली उड्ने सबै जहाजहरूले राम्रो खाना त दिन्छन् नै कतिले त बियर पनि दिन्छन्।
चाइना एयरमा पहिलोपटक चढ्न लागेकाले उसले पनि राम्रो खाना दिन्छ भन्ने विश्वास थियो। घरबाट सामान्य नास्ता पनि नगरी निस्किएको थिएँ। उडान समयमै भयो।
करिब आधा घन्टापछि विमान परिचारिकाहरूले यात्रुहरूलाई ड्रिंक्स र खाना बाँड्न थाले। हाम्रो अपेक्षाविपरीत हामीले सामान्य खालको बर्गर र जुस पायौं। हामीलाई लाग्यो त्यो त स्टार्टर मात्रै हो। करिब सवा घन्टाको उडानपछि ल्हासा पुगियो। खाना त्यतिमै सीमित भयो।
ल्हासा विमानस्थल ल्हासा सहरभन्दा धेरै बाहिर रहेछ। ल्हासा सहर हवाईजहाजबाट पनि हेर्ने अवसर पाइएन। उडानबाट तिब्बतमा सांग्पो भनिने ब्रह्मपुत्र नदीमाथिबाट उड्दै विमान अवतरण भयो।
हाम्रो उडान बेइजिङसम्मै भए पनि ल्हासा एयरपोर्टको ट्रान्जिट निकै लामो थियो। हवाईजहाजभित्र खाएको बर्गरले धान्ने कुरा भएन। ट्रान्जिटमा खाना पाउने व्यवस्था पनि थिएन। यसकारण ल्हासाबाट तीन घन्टाको छेन्दुसम्मको उडान कुर्नुको विकल्प थिएन।
सेचुवान राज्यको राजधानी सहर छेन्दुसम्मको उडान काठमाडौं–ल्हासा भन्दा तीनगुणा लामो भएकाले तिब्बतसँग नेपालसँगको सामिप्य परापूर्वकालदेखि नै किन रहेछ भन्ने बुझ्न गाह्रो परेन।
ल्हासाबाट छेन्दुको उडानमा हामीलाई इटालियन स्वादको स्पागेटी दिइयो, त्यो पनि अत्यन्त चिसो। त्यस्तो चिसो स्पागेटी हामीले कहिल्यै खाएका थिएनौं। पेट त भरिएन नै, मुख पनि बिग्रियो।
छेन्दुबाट बेइजिङको उडान करिब चार घन्टाको थियो। दुई वटा फ्लाइटमा चाइना एयरले खुवाएको खानाले अब राम्रो खाना पाउने आशा मारिसकेको थियो। त्यो फ्लाइटमा पनि हामीलाई सामान्य बर्गर दिइयो।
रातको करिब १० बजे बेइजिङ एरपोर्टमा उत्रेपछि अर्को दिन बिहान ७ बजे नै मंगोलियाको उलनवटोरतर्फ उड्नुपर्ने थियो। त्यतिन्जेल कुनै होटलमा आराम गर्नुपर्थ्यो।
घरबाट बिहान दस बजे नै निस्किएपछि टन्न दालभात खानुपर्ने पेटमा एयर चाइनाले दिएको खानाले न त कुनै स्वाद दिएको थियो न भोक नै मेटेको थियो। रातको एघार बजे हामी एउटा रेस्टुरेन्टमा गयौं। हामीलाई एउटा ठूलो घ्याम्पोमा राखिएका भ्यागुताले ट्वारट्वार आवाजमा स्वागत गरे।
ती भ्यागुता विशेष परिकारको रूपमा पकाइने थाहा भयो। हामीले ज्युँदो भ्यागुताको मासु खाने कल्पना गरेकै थिएनौं। चाउमिन र फ्राइड राइस मगायौं, त्यसले कुनै स्वाद दिएन।
उलनवटोरका लागि पाँच घन्टाको उडान पनि एयर चाइनाबाटै थियो। उसले दिने खाना पनि सामान्य बर्गर नै थियो। जहाजमा हामीले कुनै विशिष्ट चिनियाँ खानाको स्वाद लिन पाएनौं।
पाँच दिन मंगोलिया बसेर बेइजिङ फर्केपछि हाम्रो बसाइ एउटा चारतारे होटलमा भयो। त्यहाँ ब्रेकफास्ट खाने व्यवस्था थियो। त्यसमा कन्टिनेन्टल खाना दिइएको थियो। टोस्ट, अम्लेट, बेकन, जुस, फलफूल सबै थियो। नुडल्स पनि थियो गुलियो स्वादमा।
लन्च खाने ठाउँ ग्रेटवाल वरिपरिको स्ट्रिट भयो। त्यहाँ मैले मःमः खाने विचार गरेँ। हामीले नेपालमा खानेभन्दा विशिष्ट होला भन्ने मेरो अपेक्षा थियो। त्यस्तो भएन। राम्ररी पाकेको थिएन। मासु केको हो भन्ने पनि थाहा भएन। स्वाद पनि निकै फरक थियो। खुर्सानीको धूलो तेलमा डुबाइएको तर गुलियो स्वादको अचार थियो।
हामीले काठमाडौंमा खाने मःमः भन्दा बिल्कुलै फरक स्वाद थियो। वासिङ्टन डिसीको चाइना टाउनमा खाएको फ्राइड मःमः भन्दा पनि फरक स्वाद।
साँझ बेइजिङ सहरको एउटा रेस्टुरेन्टमा छिरेपछि देखियो, सबै टेबलमा ग्यास चुलो जोडिएको छ। शाकाहार होस् वा मांसाहार, अर्डर गरिएको सबै परिकार उसिनेको तर नपाकेको अवस्थामा ल्याइन्थ्यो।
अब टेबलमा रहेको चुलोमा पानी भकभकी उमाल्ने, त्यसमा केही ससहरू हाल्ने, अनि टेबुलमा खाना आएको चाइनिज स्टिकले त्यो भाँडामा हाल्दै–झिक्दै खाने, हामीले त्यसै गर्यौं।
रेस्टुरेन्टमा आएका चिनियाँहरू त्यसैगरी खाइरहेका देखिन्थे। हाम्रा लागि उसिनेर खाएको खानाभन्दा फरक भएन।
भोलिपल्ट हामी छेन्दु सहर गयौं। त्यहाँ ठूलो र धेरै राम्रो त होइन, ठिकै स्तरको एउटा रेस्टुरेन्टमा पस्यौं। त्यहाँ पनि बेइजिङमा जस्तै टेबलमा ग्यास चुलो थियो। खानाका केही परिकारहरू झिरमा उनेर 'शो-केस' मा राखिएका थिए।
आफूलाई मनपरेको परिकार झिरको हिसाबले किनेर ग्यास चुलोमा उम्लिएको पानीमा डुबाउँदै खानुपर्यो। सोया सस र खुर्सानीको सस हालेर खाने भएकाले स्वास्थ्यको दृष्टिले राम्रै होला तर वास्तविक चाइनिज स्वादको खाना पाँच दिन चीन बस्दा पनि खान पाइएन।
बेइजिङमा तीन दिन बस्दा नेपाली दूतावास जाने अवसर पनि मिल्यो। टंक कार्की राजदूत थिए। हामी दूतावास पुगेको एक घन्टापछि उनी आइपुगे। उनी चीनको अर्को कुनै सहरको भ्रमणबाट फर्केका थिए।
उनले नेपाल–चीन सम्बन्धका बारेमा धेरै कुरा बताए।
चिनियाँ पर्यटकबारे उनको भनाइ थियो– नेपालले चिनियाँ पर्यटक भित्र्याउन धेरै ठूलो काम गर्नु पर्दैन, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा आधिकारिक चिनियाँ पाठ्यपुस्तकमा पार्न सकियो भने भइहाल्छ। यसो भए ठूलो संख्यामा चिनियाँहरू संख्यामा नेपाल आउन सक्छन्।
उनले उक्त काम गर्न नेपालको कर्मचारीतन्त्रले नचाहेको गुनासो गरे।
नेपाली दूतावासबाट बिदा भएर हामी नजिकै रहेको भारतीय रेस्टुरेन्टमा लन्चका लागि गयौं। करिब एक हप्तादेखि नेपाली खाना नपाएका हामीलाई भारतीय रेस्टुरेन्टको खाना घरकै जस्तो स्वादिलो लाग्यो।
अहिले सलमान खानको 'किसी की भाइ किसी की जान' फिल्म चल्दै छ। 'कपिल शर्मा शो' मा यस फिल्मको प्रचार गर्ने क्रममा उनले भनेअनुसार फिल्म 'ट्युबलाइट' की चिनियाँ हिरोइन जु जुका लागि भारतीय स्वादको चिनियाँ खाना दिइएको थियो।
उनले चिनियाँ खाना मिस गरेकी होलिन् भनेर सोध्दा भारतीय स्वादको चिनियाँ खाना झन् स्वादिलो लाग्यो भनिन् रे।
मैले के थाहा पाएँ भने खाना यस्तो चिज हो, जुनसुकै देशमा उत्पत्ति भए पनि जुन ठाउँमा पुग्छ। त्यहीँको स्वादअनुरूप ढल्दै जान्छ र आफ्नै स्वाद बन्छ। यो जरूरी छैन कि उत्पत्ति भएकै देशको स्वाद सबैतिर पुगोस्।